शान्तिमय सम्बन्ध कायम राख्न चाहिने सल्लाहहरू

शान्तिमय सम्बन्ध कायम राख्न चाहिने सल्लाहहरू

हामी चाहे घरमा होऔँ वा काममा अथवा साथीभाइसित, सृष्टिकर्ताले अरूसित कसरी शान्तिमय सम्बन्ध कायम राख्न सकिन्छ भनेर हामीलाई सिकाउनुभएको छ। धेरै मानिसहरूलाई मदतकारी साबित भएको उहाँका केही सल्लाह विचार गरौँ।

क्षमा गर्न तयार हुनुहोस्‌

“यदि कसैको विरुद्धमा केही गुनासो छ भने पनि एकअर्कालाई . . . खुला मनले क्षमा गरिरहो।”—कलस्सी ३:१३.

हामी सबैले गल्ती गर्छौँ। हामीले अरूको चित्त दुखाउन सक्छौँ वा अरूले हाम्रो चित्त दुखाउन सक्छन्‌। अवस्था जस्तोसुकै भए तापनि हामी अरूलाई क्षमा दिन तयार हुनुपर्छ र अरू पनि हामीलाई क्षमा दिन तयार हुनुपर्छ। क्षमा गर्दा हामीलाई चित्त दुखाउने व्यक्‍तिप्रति नकारात्मक भावना राख्नदेखि हामी जोगिन्छौँ। हामी “खराबीको बदला खराबी” गर्दैनौँ र हाम्रो चित्त दुखाउने व्यक्‍तिको गल्तीहरू वा कमीकमजोरीहरू कोट्याइ राख्दैनौँ। (रोमी १२:१७) तर हाम्रो चित्त असाध्यै दुखेको छ र त्यो कुरा बिर्सनै सक्दैनौँ भने नि? त्यसो हो भने आफू र ती व्यक्‍ति मात्र बसेर त्यस विषयमा आदरपूर्वक कुरा गर्नुपर्छ। कुराकानी गर्दा हाम्रो लक्ष्य भनेको आफू सही र तिनी गलत भनेर देखाउने नभई शान्ति कायम गर्ने हुनुपर्छ।—रोमी १२:१८.

नम्र हुनुहोस्‌ र आदर देखाउनुहोस्‌

“नम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान।”—फिलिप्पी २:३.

हामी नम्र छौँ र अरूको आदर गर्छौँ भने मानिसहरू हामीसित सङ्‌गत गर्न रुचाउँछन्‌। हामी विचारशील छौँ, दयालु व्यवहार गर्छौँ र जानाजानी अरूको चित्त दुखाउँदैनौँ भनेर उनीहरूलाई थाह हुन्छ। तर हामीले आफूलाई अरूभन्दा श्रेष्ठ ठान्छौँ वा आफ्नै कुरामा ढिपी गर्छौँ भने अशान्ति वा तनाव सृजना गरिरहेका हुन्छौँ। परिणामस्वरूप मानिसहरू हामीसित सङ्‌गत गर्न रुचाउँदैनन्‌।

निष्पक्ष हुनुहोस्‌

“परमेश्‍वर पक्षपाती हुनुहुन्‍न। बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।”—प्रेषित १०:३४, ३५.

सृष्टिकर्ताले राष्ट्रियता, भाषा, सामाजिक ओहदा वा वर्णको आधारमा मानिसहरूसित व्यवहार गर्नुहुन्‍न। “उहाँले एउटै मानिसबाट जातिजातिका मानिसहरू बनाउनुभयो।” (प्रेषित १७:२६) त्यसैले सबै मानिस दाजुभाइ दिदीबहिनी हुन्‌। हामीले अरूलाई मर्यादा देखाउँदै दयालु व्यवहार गर्दा तिनीहरूलाई खुसी बनाइरहेका हुन्छौँ साथै हामी आफै पनि खुसी हुन्छौँ र सृष्टिकर्ता पनि हामीदेखि प्रसन्‍न हुनुहुनेछ।

कोमल स्वभावको हुनुहोस्‌

“कोमलता . . . धारण गर।”—कलस्सी ३:१२.

हामी कोमल स्वभावका छौँ भने अरूलाई सजिलो बनाइरहेका हुन्छौँ। हामी शान्त स्वभावका छौँ भने उनीहरूलाई हामीसित कुरा गर्न र हामीलाई सच्याउनुपर्दा समेत सजिलो लाग्न सक्छ। कोही व्यक्‍ति हामीसित रिसाउँदा हाम्रो कोमल बोलीले तिनलाई शान्त हुन मदत गर्न सक्छ। हितोपदेश १५:१ मा यस्तो लेखिएको छ: “मीठो जवाफले रिसलाई शान्त पार्छ तर कठोर बोलीले रिस उठाउँछ।”

उदार र धन्यवादी हुनुहोस्‌

“लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषित २०:३५.

आज धेरैजसो मानिसहरू आफ्नो स्वार्थ पूरा गर्न खोज्छन्‌ तर उदार मानिसहरूले मात्र साँचो खुसी पाउन सक्छन्‌। (लुका ६:३८) उदार मानिसहरू खुसी हुन्छन्‌ किनभने उनीहरू भौतिक कुराहरूलाई भन्दा मानिसहरूलाई माया गर्छन्‌। यही प्रेमले उनीहरूलाई धन्यवादी हुन र आफूप्रति उदार हुँदा कृतज्ञ हुन उत्प्रेरित गर्छ। (कलस्सी ३:१५) आफैलाई सोध्नुहोस्‌: ‘म स्वार्थी र कृतघ्न मानिससित सङ्‌गत गर्न चाहन्छु वा उदार र कृतज्ञ मानिससित?’ यसको मतलब? मानिसहरू तपाईँसित जस्तो व्यवहार गरेको चाहनुहुन्छ तपाईँले पनि अरूलाई त्यस्तै व्यवहार गर्नुपर्छ।—मत्ति ७:१२.