सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 तनावबाट मुक्‍ति पाउनुहोस्‌

तनावको सामना कसरी गर्ने?

तनावको सामना कसरी गर्ने?

तनावको सामना गर्न तपाईँले आफ्नो शारीरिक स्वास्थ्य, अरूसँगको व्यवहार अनि तपाईँको लागि साँच्चै महत्त्वपूर्ण कुराहरू जस्तै, तपाईँको लक्ष्य र प्राथमिकताहरू, त्यसबारे विचार गर्नुपर्ने हुन्छ। यस लेखमा केही व्यावहारिक सिद्धान्त विचार गर्नेछौँ, जसले तपाईँलाई तनावको सामना गर्न र सायद कम गर्न पनि मदत दिन सक्छ।

भोलिको चिन्ता नगर्नुहोस्‌

“भोलिको चिन्ता कहिल्यै नगर किनभने भोलिको चिन्ता भोलिले नै गर्नेछ।”—मत्ति ६:३४.

अर्थ: हामी दिनदिनै विभिन्‍न चिन्ताहरूसित जुझ्नुपर्छ। तर भोलिको चिन्ता आजै गरेर आजको चिन्ता नबढाउनुहोस्‌। भोलिको चिन्ता नगर्नुहोस्‌।

  • चिन्ताले तनाव निम्त्याउँछ। त्यसैले यसो गर्नुहोस्‌: पहिलो, कुनै-कुनै चिन्ता टार्न सकिँदैन भनेर मानिलिनुहोस्‌। आफूले सुल्झाउनै नसक्ने कुराबारे धेरै चिन्ता लिँदा तनाव उत्पन्‍न हुन्छ। दोस्रो, हामीले जे हुन्छ भनेर चिन्ता लिइरहेका हुन्छौँ, प्रायजसो त्यस्तो नहुन पनि सक्छ भनेर स्विकार्नुहोस्‌।

व्यावहारिक हुनुहोस्‌

“माथिबाट आउने बुद्धि . . . व्यावहारिक हुन्छ।”—याकुब ३:१७.

अर्थ: आफू वा अरूबाट बढ्‌तै आशा नगर्नुहोस्‌।

  • नम्र हुनुहोस्‌, व्यावहारिक माग गर्नुहोस्‌ अनि आफ्नो र अरूको सीमितता बुझ्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँको र अरूको तनाव कम हुनेछ र यसले गर्दा नतिजा राम्रो हुनेछ। साथै सधैँ गम्भीर नहुनुहोस्‌, कहिलेकाहीँ हँसीमजाक पनि गर्नुहोस्‌। चाहे खुसीमा हाँसौँ वा दुःखमा, हाँस्दा तनाव कम हुन्छ अनि अनुहार पनि उज्यालो हुन्छ।

 केले गर्दा तनाव हुन्छ, पत्ता लगाउनुहोस्‌

“समझदार मानिस शान्त रहन्छ।”—हितोपदेश १७:२७.

अर्थ: नकारात्मक भावनाहरू छन्‌ भने हामी राम्रोसँग सोच्न सक्दैनौँ। त्यसैले नआत्तिनुहोस्‌।

  • केले गर्दा तपाईँलाई तनाव हुन्छ, पत्ता लगाउनुहोस्‌। त्यतिबेला तपाईँले देखाउने प्रतिक्रिया याद गर्नुहोस्‌। जस्तै: तनाव हुँदा तपाईँ के सोच्नुहुन्छ, कस्तो महसुस गर्नुहुन्छ अनि कस्तो व्यवहार गर्नुहुन्छ, याद गर्नुहोस्‌। सकिन्छ भने लेखेर राख्नुहोस्‌। तनावको बेला देखाउने प्रतिक्रियाबारे सजग भयौँ भने सही तरिकामा तनावको सामना गर्न सक्छौँ। साथै आफूलाई तनाव दिने कुराहरूलाई जीवनबाट हटाउने तरिकाहरूबारे सोच्नुहोस्‌। त्यसो गर्न सकिँदैन भने ती कुराहरूलाई कम गर्ने तरिकाहरू पत्ता लगाउनुहोस्‌। यसको लागि तपाईँले आफ्नो कामको तालिका वा समय मिलाउनुपर्ने हुन सक्छ।

  • आफ्नो दृष्टिकोण परिवर्तन गर्नुहोस्‌। तपाईँलाई जुन कुराले तनाव हुन्छ, अरूलाई त्यही कुराले तनाव नहुन सक्छ। यसको कारण के हो? आफूले हेर्ने दृष्टिकोण। यी तीन वटा सुझाव विचार गर्नुहोस्‌:

    1. १. तुरुन्तै गलत निष्कर्ष ननिकाल्नुहोस्‌। उदाहरणको लागि, तपाईँ लाइनमा हुनुहुन्छ तर एक जना व्यक्‍ति पालो मिचेर अगाडि जान्छ। त्यतिबेला उसले नराम्रो व्यवहार गऱ्‍यो भनेर सोच्नुभयो भने तपाईँ दुःखी हुनुहुनेछ। बरु तिनको मनसाय राम्रो थियो भनेर सोच्नुभए कसो होला? के थाह, तपाईँको सोचाइ सही पनि त हुन सक्छ।

    2. २. सकारात्मक पक्ष हेर्नुहोस्‌। डाक्टरलाई भेट्‌न वा एयरपोर्टमा लामो लाइनमा बसिरहन दिक्कलाग्दो हुन्छ। तर तपाईँले त्यस समयलाई केही पढ्‌न वा केही सानोतिनो काम गर्न वा इमेल चेक गर्नमा बिताउनुभयो भने तपाईँलाई त्यति गाह्रो लाग्नेछैन।

    3. ३. फराकिलो दृष्टिकोण राख्ने कोसिस गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌, ‘के यो समस्याले भोलि वा अर्को हप्ता ठूलो रूप लेला?’ ससाना समस्या र गम्भीर समस्याबीच फरक छुट्ट्याउनुहोस्‌।

 व्यवस्थित हुनुहोस्‌

“सबै कुरा शिष्टतासाथ अनि व्यवस्थित ढङ्‌गले होस्‌।”—१ कोरिन्थी १४:४०.

अर्थ: व्यवस्थित हुँदै काम गर्नुहोस्‌।

  • हामी सबैलाई आफ्नो काम अनि तालिकामा उतारचढाव आएको मन पर्दैन। काम सार्ने बानी छ भने त्यसले हाम्रो तालिकामा उतारचढाव ल्याउँछ, जसले गर्दा हामी तनावग्रस्त हुन्छौँ। साथै यसले गर्दा कामहरू थुप्रिँदै जान्छ। निम्न सल्लाहहरू लागू गरे कसो होला?

    1. १. व्यावहारिक तालिका बनाएर त्यसैअनुसार चल्नुहोस्‌।

    2. २. तपाईँ के-कस्ता कारणले काम सार्ने गर्नुहुन्छ, पत्ता लगाउनुहोस्‌ र सुधार्नुहोस्‌।

सन्तुलित जीवनशैली अपनाउनुहोस्‌

“मरुन्जेल मेहनत गरेर बतासलाई खेद्‌नुभन्दा बरु केही बेर आराम गर्नु नै बेस हो।”—उपदेशक ४:६.

अर्थ: काममा जोतिने मानिसहरू आफूले “मरुन्जेल मेहनत गरेर” कमाएको फल उपभोग गर्न सक्दैनन्‌। आफूले गरेको कामबाट आनन्द उठाउन तिनीहरूसँग न समय, न त शक्‍ति नै बाँकी हुन्छ।

  • काम र पैसाप्रति उचित दृष्टिकोण राख्नुहोस्‌। पैसा धेरै हुँदैमा आनन्दित हुन्छ र तनाव हुँदैन भन्‍न सकिँदैन। बरु उल्टै धेरै पैसाले तनाव बढाउँछ। उपदेशक ५:१२ यसो भन्छ, “धनी मानिसको प्रशस्त धनसम्पत्तिले गर्दा उसलाई निद्रै लाग्दैन।” त्यसैले आफूसँग जति छ, त्यतिमै सन्तुष्ट हुनुहोस्‌।

  • रमाइलो गर्न समय निकाल्नुहोस्‌। आफूलाई मन पर्ने काम गर्दा तपाईँलाई तनाव हुँदैन। तर कुनै-कुनै मनोरञ्जनले स्फूर्ति दिँदैन; जस्तै: टिभी हेर्ने।

  • प्रविधिलाई त्यसको ठाउँमा राख्नुहोस्‌। बारम्बार इमेल हेर्ने अथवा सामाजिक सञ्जाल चलाउने नगर्नुहोस्‌। कामको समयबाहेक अरू बेला कामसँग सम्बन्धित इमेल चेक नगर्नुहोस्‌।

 आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्‌

“शारीरिक तालिमबाट केही फाइदा त हुन्छ।”—१ तिमोथि ४:८.

अर्थ: नियमित व्यायामले शरीर स्वस्थ बनाउँछ।

  • स्वस्थकर बानी विकास गर्नुहोस्‌। शारीरिक क्रियाकलापले स्वास्थ्य राम्रो बनाउँछ र तनावको सामना गर्न मदत गर्छ। नियमित रूपमा पोसिलो खानेकुरा खानुहोस्‌। पर्याप्त आराम गर्नुहोस्‌।

  • तनावको समाधान गर्न चुरोट खाने, ड्रग्स लिने अनि रक्सी पिउनेजस्ता हानिकारक उपाय नअपनाउनुहोस्‌। समयको दौडान यसले गर्दा तपाईँको स्वास्थ्यमा असर गर्नुका साथै धेरै मेहनत गरेर कमाएको पैसा पनि खेर जान्छ। यसले गर्दा तनाव झनै बढ्‌छ।

  • तनाव धेरै बढ्यो भने डाक्टरकहाँ जानुहोस्‌। डाक्टरको सल्लाह लिन अप्ठेरो नमान्‍नुहोस्‌।

 प्राथमिकता तय गर्नुहोस्‌

“अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, . . . पक्का गर्न सक।”—फिलिप्पी १:१०.

अर्थ: आफ्नो प्राथमिकता राम्ररी विचार गरेर निर्धारण गर्नुहोस्‌।

  • सूचीमा महत्त्वपूर्ण कामहरूलाई सबैभन्दा माथि राख्नुहोस्‌। यसो गर्दा तपाईँ महत्त्वपूर्ण काममा ध्यान दिन सक्नुहुन्छ। कुन-कुन काम तुरुन्तै गर्नु पर्दैन र कुन-कुन काम अरूलाई दिन वा पन्छाउन सकिन्छ, त्यो थाह पाउन सक्नुहुन्छ।

  • तपाईँ कसरी समय बिताउँदै हुनुहुन्छ, एक हप्ताको रेकर्ड लेख्नुहोस्‌। त्यसपछि समयको सदुपयोग गर्ने तरिका खोज्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँको तनाव कम हुनेछ।

  • आराम गर्ने समय छुट्ट्याउनुहोस्‌। अलिकता मात्र भए पनि आराम गर्दा स्फूर्ति पाउनुका साथै तपाईँको तनाव पनि कम हुन्छ।

मदत माग्नुहोस्‌

“चिन्ताले मन भारी बनाउँछ तर मीठो बोलीले मन हल्का बनाउँछ।”—हितोपदेश १२:२५.

अर्थ: दयालु र मायाले भरिएका शब्दहरूले तपाईँलाई उत्साह दिन्छ।

  • भरोसायोग्य व्यक्‍तिलाई सबै कुरा भन्‍नुहोस्‌। तिनले तपाईँको सोचाइ सच्याउन वा तपाईँले याद नगर्नुभएको उपाय देखाइदिन सक्छन्‌। यसले गर्दा तपाईँको बोझ कम हुन्छ।

  • मदत माग्नुहोस्‌। के तपाईँ अरूलाई काम दिन वा बाँडेर गर्न सक्नुहुन्छ?

  • तपाईँको सहकर्मीले गर्दा तनाव भइरहेको छ भने त्यसलाई कसरी सुल्झाउन सकिन्छ, विचार गर्नुहोस्‌। जस्तै: तिनको कुनचाहिँ व्यवहारले तपाईँलाई तनाव भइरहेको छ, तिनको चित्त नदुख्नेगरि बताउनुहोस्‌। (हितोपदेश १७:२७) त्यसो गर्दा पनि तनाव कम भएन भने तिनीसँग बिताउने समय कम गर्नुहोस्‌।

 आध्यात्मिक आवश्‍यकताको ख्याल राख्नुहोस्‌

“आनन्दित हुन्‌ ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत हुन्छन्‌।”—मत्ति ५:३.

अर्थ: हामीलाई गाँस, बास र कपास भएर मात्र पुग्दैन। आध्यात्मिक कुरा पनि चाहिन्छ। खुसी हुन आफ्नो आध्यात्मिक आवश्‍यकताप्रति सजग हुनुका साथै त्यसलाई पूरा पनि गर्नुपर्छ।

  • प्रार्थनाले ठूलो मदत दिन्छ। परमेश्‍वर हामीलाई यस्तो निम्तो दिनुहुन्छ: “तिमीहरूले आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।” (१ पत्रुस ५:७) प्रार्थना र मननले मनोशान्ति दिन्छ।—फिलिप्पी ४:६, ७.

  • परमेश्‍वरसँग घनिष्ठ बनाउने कुराहरू पढ्‌नुहोस्‌। यस पत्रिकामा लेखिएका सिद्धान्त बाइबलबाट लिइएका हुन्‌, जुन हाम्रो आध्यात्मिक आवश्‍यकता पूरा गर्नका लागि लेखिएका हुन्‌। यसले “बुद्धि र सोच्ने क्षमता” विकास गर्छ। (हितोपदेश ३:२१) हरेक दिन बाइबल पढ्‌ने लक्ष्य राख्नुहोस्‌। बाइबलको हितोपदेश भन्‍ने किताबबाट सुरु गर्दा राम्रो हुन्छ।