सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 आनन्दतर्फ लैजाने बाटो

सन्तुष्टि र उदारता

सन्तुष्टि र उदारता

मानिसहरूले आनन्द र सफलतालाई भौतिक सम्पत्तिको आधारमा मापन गरेको तपाईँले कत्तिको सुन्‍नुभएको छ? यस्तो विचारधाराको प्रभावमा परेर लाखौँ मानिस अझ धेरै पैसा कमाउन घण्टौँ काममा घोटिन्छन्‌। तर के पैसा र सरसम्पत्तिले चिरस्थायी वा साँचो आनन्द दिन सक्छ? अनुसन्धानहरूले के देखाउँछ?

जर्नल अफ ह्‍यापिनेस स्टडिस नामक एक पत्रिकाअनुसार हाम्रो आधारभूत आवश्‍यकता पूरा भएपछि पैसाले हामीलाई थप आनन्द दिँदैन। वास्तवमा पैसा आफै नै समस्या होइन। तर “पैसाप्रतिको मोहचाहिँ समस्या हो,” मोनिटर अन साइकोलोजी नामक अर्को पत्रिका टिप्पणी गर्छ। यी शब्दहरू करिब दुई हजार वर्षअघि बाइबलमा लेखिएको यो सुझावसँग मिल्दोजुल्दो छ, ‘पैसाको प्रेम सबै किसिमका हानिकारक कुराहरूको जड हो अनि यही प्रेमको पछि लागेर कोही-कोहीले आफूलाई चोटैचोट पुऱ्‍याएका छन्‌।’ (१ तिमोथी ६:९, १०) त्यस्ता चोटमा के-के समावेश छन्‌?

सम्पत्ति गुम्ने डरले चिन्ता र अनिद्रा। “थोरै खाओस्‌ कि धेरै खाओस्‌ परिश्रम गर्नेको निद्रा मीठो हुन्छ। तर धनीको धन धेरै भएकोले गर्दा त्यसलाई निद्रै लाग्दैन।”—उपदेशक ५:१२.

साँचो आनन्द पाउन नसक्दा निराशा। यस्तो निराशा छाउनुको कारण पैसाको लोभ हो किनभने मानिससित जति नै पैसा भए पनि कहिल्यै पुग्दैन। “जुन मानिसले रूपियाँ-पैसाको लोभ गर्छ त्यसलाई कहिल्यै प्रशस्त हुँदैन। औ धेरै धन-सम्पत्तिको लोभ गर्ने मानिसले त्यसबाट केही सुखभोग पाउनेछैन।” (उपदेशक ५:१०) साथै पैसाको लोभ गर्ने मानिस साँचो आनन्द दिने कुरालाई लत्याउन पछि पर्दैन। जस्तै: परिवार र साथीभाइहरूसित बिताउनुपर्ने अनमोल समय, धार्मिक गतिविधि आदि।

लगानी डुब्दा वा व्यापारमा घाटा लाग्दा शोक र तनाव। “धन-सम्पत्ति कमाउनको निम्ति कमाराजस्तै नघोटी, विवेकी मानिस बन्‌, र त्यो गर्न छोडिदे। तैँले यताउता हेर्न अघिनै त्यो गइहाल्छ, चील आकाशतिर उडेझैँ त्यसको पखेटा लाग्छ।”—हितोपदेश २३:४, ५.

 आनन्दित बनाउने गुणहरू

सन्तुष्टि। “हामीले यस संसारमा न केही ल्यायौँ न त केही बोकेर लैजान नै सक्छौँ। त्यसैले, खान, लाउन र बस्न पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौँ।” (१ तिमोथी ६:७, ८) सन्तुष्ट मानिसहरू गुनासो वा गनगन गर्ने गर्दैनन्‌। यस्तो मनोभावले गर्दा तिनीहरू अरूको डाह गर्दैनन्‌। तिनीहरू घाँटी हेरी हाड निल्ने भएकाले अनावश्‍यक चिन्ता र फिक्रीबाट मुक्‍त हुन्छन्‌।

उदारता। “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।” (प्रेषित २०:३५) उदार मानिसहरू आनन्दित हुन्छन्‌ किनभने तिनीहरू अरूलाई खुसी बनाउन सक्दा रमाउँछन्‌। अरूको लागि थोरै समय र शक्‍ति खर्च गर्न पाउँदा पनि तिनीहरू आनन्दित हुन्छन्‌। साथै तिनीहरूले प्रेम, आदर अनि उदार भई दिने साँचो साथीहरू प्रशस्तगरि पाउँछन्‌, जुन पैसाले किन्‍न सकिँदैन!—लूका ६:३८.

सरसम्पत्तिलाई भन्दा मानिसलाई महत्त्वपूर्ण ठान्‍ने मनोवृत्ति। “डाहसित खाएको मोटो बहरभन्दा प्रेमसित खाएको सागपात असल हो।” (हितोपदेश १५:१७) निचोड? अरूसितको मायालु सम्बन्ध सरसम्पत्तिभन्दा कता हो कता मूल्यवान्‌ हुन्छ अनि आनन्दित हुन नभई नहुने गुण प्रेम हो, जसबारे हामी पछिको लेखमा पनि विचार गर्नेछौँ।

दक्षिण अमेरिकाकी सबिनाले बाइबलमा दिइएका सिद्धान्तहरूको महत्त्व बुझिन्‌। श्रीमान्‌ले परिवारलाई छोडेर गएपछि सबिनालाई गुजारा चलाउन हम्मेहम्मे परेको थियो। आफ्नो र आफ्ना दुई छोरीको दैनिक आवश्‍यकता पूरा गर्न तिनले दुई ठाउँमा जागिर खाइन्‌। तिनी हरेक बिहान ४:०० बजे उठ्‌थिन्‌। सास फेर्ने फुर्सत समेत नहुने समयतालिका भए तापनि तिनले बाइबल अध्ययन गर्ने निर्णय गरिन्‌। नतिजा कस्तो भयो?

तिनको आर्थिक अवस्थामा एकाएक परिवर्तन त आएन तर जीवनलाई हेर्ने तिनको दृष्टिकोणमा भने आमूल परिवर्तन आयो। उदाहरणको लागि, धार्मिक गतिविधिमा भाग लिएर तिनी आनन्दित भइन्‌। (मत्ती ५:३) तिनी यहोवा परमेश्‍वरको उपासक थिइन्‌ र आफूजस्तै उपासकहरूमाझ साँचो साथी भेट्टाइन्‌। साथै आफूले सिकेका कुराहरू बाँडेर तिनले अरूलाई दिँदाको आनन्द अनुभव गरिन्‌।

बाइबल भन्छ, “असल कामैले ऊ बुद्धिमान्‌ हो भनेर प्रमाणित गर्छ।” (मत्ती ११:१९) यो कुरा विचार गर्दा आनन्दित हुन सन्तुष्टि र उदारता चाहिन्छ अनि सरसम्पत्तिलाई भन्दा मानिसलाई महत्त्वपूर्ण ठान्‍नुपर्छ भनेर प्रमाणित हुन्छ।