आनन्दतर्फ लैजाने बाटो
उद्देश्यपूर्ण जीवन
मानिस थुप्रै तरिकामा अरू प्राणीभन्दा विशेष छ—हामी लेख्छौँ, चित्र कोर्छौँ, सृजना गर्छौँ अनि जीवनका महत्त्वपूर्ण प्रश्नहरूबारे सोच्छौँ: ब्रह्माण्ड किन अस्तित्वमा छ? मानिस कसरी आयो? जीवनको उद्देश्य के हो? हाम्रो भविष्य कस्तो छ?
केही मानिसहरू यस्ता प्रश्नहरूदेखि भाग्छन् किनभने तिनीहरूलाई जवाफ पाउनै सकिँदैन जस्तो लाग्छ। अरू कतिपयले भने जीवन क्रमविकासबाट आएकोले यी प्रश्नहरू बेकारका छन् भन्छन्। इतिहास र जीव विज्ञानका प्राध्यापक विलियम प्रोभिन यस्तो दाबी गर्छन्: “न कुनै भगवान् छ न कुनै उद्देश्य नै।” तिनी अझ थप्छन्: “न नैतिक मूल्यमान्यताको कुनै जग छ न जीवनको कुनै खास अर्थ नै।”
तर केही मानिसहरू यस्तो खोक्रो विचारधारालाई स्विकार्दैनन्। तिनीहरू ब्रह्माण्ड सुन्दर, स्पष्ट र व्यवस्थित भौतिक नियमहरूमा चल्छ भनी स्विकार्छन्। तिनीहरू प्रकृतिका अद्भुत डिजाइनहरू देखेर आश्चर्यचकित हुन्छन्, जसको नक्कल उतार्न प्रयास गरेर मानिसहरूले थुप्रै आविष्कार गरेका छन्। हरेक दिनको अनुभवले तिनीहरू प्रकृतिका यी जटिल र अद्भुत डिजाइनका पछाडि कुनै बुद्धिमान् निर्माताको हात छ भन्ने निष्कर्षमा पुग्छन्।
यस्तो तार्किक विश्लेषणले गर्दा केही क्रमविकासवादीहरू आफ्नो विचारधारा फेरि जाँच्न उत्प्रेरित भएका छन्। तीमध्ये दुई जनाको उदाहरण विचार गरौँ।
न्युरोसर्जन डा. एलेक्से मार्नोभ। तिनी भन्छन्: “म पढेको स्कुलहरूमा नास्तिकवाद र क्रमविकासबारे सिकाइन्थ्यो। ईश्वरमा विश्वास गर्नेलाई मूर्ख ठानिन्थ्यो।” सन् १९९० देखि तिनले आफ्नो सोचाइमा परिवर्तन गर्न थाले।
तिनी यसरी व्याख्या गर्छन्: “मैले सधैँ कुनै कुरा हुनुको पछाडि कस्ता तार्किक कारण छन्, बुझ्ने कोसिस गरेको छु। यसमा मानव मस्तिष्क पनि पर्छ। यो अचम्मको अङ्गलाई ब्रह्माण्डकै सबैभन्दा जटिल र बृहत् संरचना भन्न एकदम सुहाउँछ। तर के मस्तिष्क विभिन्न ज्ञान र सीप सिकेपछि अन्तमा मर्न डिजाइन भएको हो? यो कुरा चित्तै बुझेन। त्यसैले मैले सोच्न थालेँ: ‘हामी किन यहाँ छौँ? जीवनको उद्देश्य के हो?’ गहिरो अध्ययन-मननपछि सृष्टिकर्ता पक्कै हुनुहुन्छ भन्ने निष्कर्षमा पुगेँ।”
जीवनको उद्देश्यबारे थाह पाउने तीव्र इच्छाले एलेक्सेलाई बाइबल जाँच्न उत्प्रेरित गऱ्यो। पछि तिनकी श्रीमती, जो एक मेडिकल डाक्टर अनि नास्तिक थिइन्, तिनले पनि बाइबल अध्ययन गर्न थालिन्। सुरुमा तिनले आफ्नो श्रीमान्लाई गलत साबित गर्न बाइबल अध्ययन गरेकी थिइन्। तर अहिले दुवै जना ईश्वर हुनुहुन्छ भनी मनैदेखि विश्वास गर्छन् र मानिसजातिको लागि ईश्वरले राख्नुभएको उद्देश्यबारे धर्मशास्त्रबाट बुझेका छन्।
प्लाज्मा वैज्ञानिक डा. ह्वाबी यिन। ह्वाबी यिनले भौतिकशास्त्र अध्ययन गरिन् र निकै वर्ष प्लाज्माको विषयमा अनुसन्धान गरिन्। पदार्थको तीन अवस्था ठोस, तरल र ग्याँस हो भने प्लाज्मालाई चाहिँ चौथो अवस्था मानिन्छ। प्लाज्मा (सूर्यमा) प्रशस्त इलेक्ट्रोन र धनात्मक (+) आयोनहरू मिलेर बनेको हुन्छ।
ह्वाबी भन्छिन्: “जब हामी वैज्ञानिकहरू प्राकृतिक प्रक्रियाको विषयमा अध्ययन गर्छौँ, हामी सधैँ ती प्रक्रियाहरू एकदमै सङ्गठित भएको पाउँछौँ। यो स्पष्ट नियमहरूद्वारा मात्र सम्भव छ। ‘यस्ता नियमहरू कहाँबाट आउँछन्?’ भनी सोच्दा म तीनछक परेँ। ‘सामान्य खाना पकाउन प्रयोग गर्ने आगो त हामीले होसियार भई नियन्त्रणमा राख्नुपर्छ भने यत्रो सूर्यलाई कसले नियन्त्रणमा राखेको छ?’ अन्तमा बाइबलमा लेखिएको यो पहिलो वाक्य नै तार्किक जवाफ हो भन्ने निष्कर्षमा पुगेँ: ‘आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।’”—उत्पत्ति १:१.
विज्ञानले “कसरी” प्रश्नहरूको जवाफ पक्कै दिएको छ। जस्तै: मस्तिष्कका कोषहरूले कसरी काम गर्छन्? अनि सूर्यले कसरी ताप र प्रकाश उत्पादन गर्छ? तर एलेक्से र ह्वाबीले पत्ता लगाएजस्तै बाइबलले अझै महत्त्वपूर्ण “किन” प्रश्नहरूको जवाफ दिन्छ: ब्रह्माण्ड किन अस्तित्वमा छ? यो किन नियमहरूअनुसारै चल्छ? अनि हामी किन अस्तित्वमा छौँ?
पृथ्वीको विषयमा बाइबल यसो भन्छ: “[परमेश्वरले] त्यो व्यर्थको वस्तु सृष्टि गर्नुभएन, उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो।” (यशैया ४५:१८) हो, परमेश्वरले पृथ्वी बनाउनुको उद्देश्य छ। यसपछिको लेखले त्यो उद्देश्य हाम्रो भविष्यको आशासित कसरी सम्बन्धित छ भन्नेबारे स्पष्ट पार्छ।