नेपाली
मुस्कान—बाँड्‌न सक्ने उपहार
https://cms-imgp.jw-cdn.org/img/p/102017006/univ/art/102017006_univ_sqr_xl.jpg
g17 सङ्‌ख्या १ पृ. ८-९

मुस्कान—बाँड्‌न सक्ने उपहार

मुस्कान—बाँड्‌न सक्ने उपहार

कसैले न्यानो मुस्कान छरिदिंदा तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? तपाईं पनि मुस्कुराउनुहुन्छ होला। तपाईंलाई खुसी लाग्छ होला। हो, साथीहरू होस्‌ वा चिन्दै नचिनेको व्यक्‍ति—मनैदेखि मुस्कुराउँछ भने तपाईं पनि मुस्कुराउन उत्प्रेरित हुनुहुन्छ र तपाईंलाई राम्रो लाग्छ। मग्दलिना नाम गरेकी महिला यसो भन्छिन्‌: “मेरो श्रीमान्‌ जोर्ज अहिले बितिसक्नुभयो। उहाँको मुस्कान एकदमै प्यारो थियो। उहाँसँग आँखा जुध्दा म सुरक्षित अनि ढुक्क महसुस गर्थें।”

मनैदेखिको मुस्कानले खुसी, आनन्दित र सन्तुष्ट भएको कुराको सङ्‌केत दिन्छ। एसोसिएसन फर साइकोलोजिकल साइन्सको एक अनलाइन पत्रिका, अब्जर्भर-को (अङ्‌ग्रेजी) एउटा लेखमा यस्तो लेखिएको छ: “हामीलाई मुस्कुराउन कसैले सिकाउनु पर्दैन। . . . भर्खरै जन्मिएको शिशुले पनि अनुहारको हावभाव धेरै हदसम्म ठम्याउन सक्छ।” त्यस लेखमा यस्तो पनि भनिएको छ: “कसैको मुस्कानले त्यो व्यक्‍तिबारे थुप्रै कुरा बताउनुका साथै ऊसित कस्तो व्यवहार गर्ने भन्‍नेबारे विचार गर्न पनि मानिसहरूलाई मदत गर्छ।”

अमेरिकाको हार्भर्ड विश्‍वविद्यालयका अनुसन्धानकर्ताहरूले वृद्ध बिरामीहरूको एक समूह बनाए र उनीहरूलाई हेरविचार गर्ने व्यक्‍तिहरूको अनुहारको हावभावअनुसार बिरामीहरूको प्रतिक्रिया अध्ययन गरे। आफूलाई हेरविचार गर्नेहरूको अनुहारको हावभाव “न्यानो, मायालु र चासो दिएको खालको देख्दा” बिरामीहरू अझ सन्तुष्ट भएको र उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आएको कुरा अनुसन्धानकर्ताहरूले बताए। यसको विपरीत, हेरविचार गर्नेहरूको अनुहारको हावभाव नराम्रो हुँदा बिरामीहरूको स्वास्थ्यमा नकारात्मक असर पऱ्‍यो।

मुस्कुराउनुभयो भने यसले तपाईंलाई पनि लाभ पुऱ्‍याउँछ। अध्ययनअनुसार यसले तपाईंको आत्मविश्‍वास र आनन्द बढाउँछ अनि तनाव कम गर्छ। ठुस्स परेर बस्दाचाहिं नतिजा उल्टो हुन्छ।

मुस्कानले “मेरो आत्मविश्‍वास बढायो”

अगाडि चर्चा गरिएकी मग्दलिना दोस्रो विश्‍वयुद्धको समयमा एक यहोवाको साक्षी थिइन्‌। नाजी विचारधारालाई समर्थन नगरेको कारण उनी र उनको परिवारको अरू सदस्यलाई जर्मनीको राभेन्सब्रूक यातना शिविरमा लगियो। उनले यसो भनिन्‌, “कहिलेकाहीं सुरक्षाकर्मीहरूले हामीलाई अरू कैदीसँग कुरा गर्न दिंदैनथे। तर हाम्रो अनुहारको हावभावलाई भने उनीहरूले केही गर्न सकेनन्‌। मेरी आमा र दिदी मुस्कुराइरहनुभएको देखेर मेरो आत्मविश्‍वास बढ्यो र अझै सहेर बस्ने हौसला पाएँ।”

सायद फिक्रीहरूले गर्दा तपाईंलाई मुस्कुराउने कारण भेट्टाउन गाह्रो लाग्न सक्छ। तर याद राख्नुहोस्‌, हाम्रो सोचाइले हाम्रो भावनालाई असर गर्छ। (हितोपदेश १५:१५; फिलिप्पी ४:८, ९) त्यसैले गाह्रो भए तापनि सकारात्मक र रमाइला कुराहरूबारे विचार गर्ने कोसिस गर्नुहोस्‌। a थुप्रैले बाइबल पढेर र ईश्‍वरलाई प्रार्थना गरेर यसो गर्न सकेका छन्‌। (मत्ती ५:३; फिलिप्पी ४:६, ७) बाइबलमा ‘आनन्द’, ‘खुसी’ अनि यीजस्तै शब्दहरू सयौं पटक उल्लेख गरिएको छ। तपाईंले पनि बाइबलको एक-दुई पृष्ठ दिनहुँ पढ्‌नुभए कसो होला? के थाह, तपाईं पनि पहिलाभन्दा अझ मुस्कुराउनुहुनेछ कि?

अरू मुस्कुराऊन्‌ भनेर नपर्खनुहोस्‌। आफै अग्रसर हुनुहोस्‌। यसो गरेर तपाईंले अरूको दिनमा अलिकति भए पनि खुसी थपिदिन सक्नुहुन्छ। तपाईंको मुस्कान साँच्चै ईश्‍वरले दिनुभएको उपहार हो। यसले तपाईं तपाईंको मुस्कान देख्नेहरूलाई लाभ पुऱ्‍याउँछ।

a नोभेम्बर २०१३ को अङ्‌ग्रेजी ब्यूँझनुहोस्‌! को “के तपाईं ‘सबै दिन हर्षित’ हुनुहुन्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।