सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पहिल्यै खुलस्त कुराकानी गर्नु महत्त्वपूर्ण छ

परिवारमा कसैलाई प्राणघातक रोग लाग्दा

परिवारमा कसैलाई प्राणघातक रोग लाग्दा

चवन्न वर्ष पुगेका उमेशलाई ब्रेन ट्युमर भएको थाह पाउँदा तिनकी श्रीमती सुजाता छाँगाबाट खसेझैं भइन्‌। * डाक्टरहरूले उमेशसँग अब केही महिना मात्र बाँकी छ भनेर बताए। सुजाता भन्छिन्‌, “डाक्टरको कुरामा विश्वासै गर्न सकिनँ। के गर्ने कसो गर्ने केही सोच्नै सकिरहेको थिइनँ। सबै कुरा सपनाजस्तै लाग्यो। यस्तो होला भनेर मैले सोचेकै थिइनँ।”

अरू थुप्रैले पनि सुजाताले जस्तै महसुस गरेका छन्‌। प्राणघातक रोग जोसुकैलाई जहिले पनि लाग्न सक्छ। खुसीको कुरा, थुप्रै मानिस परिवारमा कसैलाई प्राणघातक रोग लाग्दा उनीहरूको हेरचाह गर्न तयार हुन्छन्‌। तर उनीहरूको हेरचाह गर्न कहाँ सजिलो छ र! परिवारका सदस्यहरूले उनीहरूलाई कसरी ढाडस दिन र हेरचाह गर्न सक्छन्‌? उनीहरूको हेरचाह गर्ने व्यक्तिले विभिन्न भावनात्मक उतारचढाबको कसरी सामना गर्न सक्छन्‌? बिरामीको अवस्था नाजुक हुँदै जाँदा के-के हुन सक्छ? सुरुमा, प्राणघातक रोग लागेको बिरामीको हेरचाह गर्नु किन सजिलो छैन विचार गरौं।

वर्तमान चुनौती

चिकित्सा विज्ञानको विकासले गर्दा मानिसहरू अझ लामो समयसम्म बाँच्न सम्भव भएको छ। एक शताब्दी अघि जतिसम्म विकसित देशहरूमा समेत मानिसहरूको औसत आयु निकै कम हुने गर्थ्यो। मानिसहरू सरुवा रोग वा दुर्घटनाको कारण छिट्टै मर्थे। अस्पतालहरू थोरै भएकोले बिरामीहरूको मृत्यु नहोउन्जेल परिवारले घरमै उनीहरूको हेरचाह गर्थे।

आज चिकित्सा क्षेत्रमा हासिल भएका उपलब्धिहरूको कारण विभिन्न रोगको उपचार पत्ता लागेको छ। पहिले-पहिले रोगको कारण मानिसहरू छिट्टै मर्थे तर अहिले भने औषधी उपचारद्वारा धेरै वर्षसम्म बाँच्न सम्भव भएको छ। तैपनि, रोगलाई पूर्णरूपमा निर्मूल भने पार्न सकिएको छैन। कोही-कोही बिरामीहरू गम्भीर रोग लागेकोले आफ्नो हेरविचार गर्नै नसक्ने अवस्थामा पुगेका छन्‌। त्यस्ता व्यक्तिहरूको हेरचाह गर्न झन्‌-झनै गाह्रो र चुनौतीपूर्ण भएको छ।

अहिले प्राणघातक रोग लागेका बिरामीहरूलाई प्रायः अस्पतालमै राखिन्छ। त्यसैले अवस्था नाजुक हुँदै जाँदा बिरामीलाई  के-कस्ता समस्याहरू हुन सक्छन्‌ भन्नेबारे परिवारका सदस्यहरूलाई थाह नहुन सक्छ। के गर्ने कसो गर्ने थाह नभएकोले बिरामीको रेखदेख गर्न असाध्यै गाह्रो लाग्न सक्छ। तपाईं के गर्न सक्नुहुन्छ?

अग्रिम योजना बनाउनुहोस्

आफ्नो प्रियजनलाई प्राणघातक रोग लाग्दा सुरुमा उल्लेख गरिएको सुजातालाई जस्तै थुप्रैलाई सहिनसक्नु पीडा हुन्छ। मनमा डर र चिन्ता भए तापनि भविष्यमा आउन सक्ने परिस्थितिको लागि तपाईं कसरी तयार हुन सक्नुहुन्छ? परमेश्वरको एक सेवकले यसरी प्रार्थना गरे: “आफ्ना दिन गनेर बस्न हामीलाई सिकाउनुहोस्, र हामीले बुझ्ने हृदय पाऔं।” (भजन ९०:१२) हो, बुद्धिमानीपूर्वक ‘आफ्ना दिन गन्न’ अर्थात्‌ बाँकी भएको समय प्रियजनसँग अर्थपूर्ण तरिकामा बिताउन सकूँ भनी यहोवा परमेश्वरलाई प्रार्थना गर्नुहोस्।

यसो गर्न राम्रो योजना बनाउनु आवश्यक छ। यदि तपाईंको प्रियजन बोल्न सक्नुहुन्छ र कुरा गर्न चाहनुहुन्छ भने उहाँ बोल्न नसक्ने अवस्थामा हुँदा उहाँको लागि कसले निर्णय गरिदिएको चाहनुहुन्छ भनेर सोध्नु राम्रो हुन्छ। कृत्रिम श्वासप्रश्वास यन्त्रको (भेन्टिलेटर) मदतले जीवन लम्ब्याउने वा नलम्ब्याउने, सघन उपचार कक्षमा (आईसियू) राख्ने वा नराख्ने अथवा कुनै खास उपचारविधि अपनाउने वा नअपनाउने भन्नेबारे उहाँसँग खुलस्त कुराकानी गर्नुहोस्। यसो गर्दा निर्णय गरिदिने जिम्मेवारी पाएका परिवारको सदस्यले कुनै पछुतो मान्नुपर्ने छैन अनि गलतफहमी पनि हुनेछैन। बिरामीसँग पहिल्यै खुलस्त कुराकानी गर्दा परिवारका सदस्यहरूले बिरामीको राम्रोसँग हेरचाह गर्न सक्छन्‌। बाइबल भन्छ, “परामर्श विनाको योजना विफल हुन्छ।”—हितोपदेश १५:२२.

कसरी मदत दिने

हेरचाह गर्ने व्यक्तिले बिरामीलाई सजिलो महसुस गराउनुपर्छ। मृत्युसँग लडिरहेका बिरामीलाई सान्त्वना र आश्वासन चाहिन्छ। उनीहरू एक्लो छैनन्‌ र अरूले उनीहरूलाई धेरै माया गर्छन्‌ भन्ने कुरामा विश्वस्त पार्नुपर्छ। कसरी यसो गर्न सकिन्छ? बिरामीको आत्मबल बढाउने वा बिरामीलाई मनपर्ने कुनै गीत गाउन वा किताब पढिदिन सक्नुहुन्छ। परिवारको कसैले हात समातेर सान्त्वनाका केही शब्द बोलिदिंदा पनि थुप्रैले मन हल्का भएको महसुस गर्छन्‌।

भेट्‌न आएका व्यक्तिहरू को हुन्‌ भनेर चिन्न बिरामीलाई मदत गर्नुहोस्। एउटा रिपोर्टअनुसार: “पाँचवटा इन्द्रियहरूमध्ये अन्तसम्म काम गरिरहने इन्द्रिय कान हो। बिरामी निदाइरहेको जस्तो  देखिए तापनि तिनको कान भने टाठै हुन सक्छ। त्यसैले बिरामीको अगाडि तिनको चित्त दुख्ने कुरा नगर्नुहोस्।”

सम्भव छ भने सँगै प्रार्थना गर्नुहोस्। बाइबलमा पनि यसो गरेको विवरण पाइन्छ। प्रेषित पावल र उनका सहकर्मीहरूमाथि सहनै नसक्ने भयङ्‌कर बोझ आइपरेको थियो। उनीहरूको ज्यानको समेत ठेगान थिएन। यस्तो अवस्थामा तिनीहरूले के गरे? पावलले विनम्र भई आफ्नो साथीहरूलाई यसरी आग्रह गरे: “हाम्रो लागि उत्कट बिन्ती चढाएर तिमीहरूले पनि हामीलाई मदत गर्न सक्छौ।” (२ कोरिन्थी १:८-११) चिन्तामा डुब्दा र गम्भीर बिरामी हुँदा मनैदेखि प्रार्थना गर्नु साँच्चै महत्त्वपूर्ण छ।

वास्तविकता स्विकार्नुहोस्

आफ्नो प्रियजनको मृत्यु नजिकै छ भन्ने कुरा सोच्दा समेत हाम्रो मन छियाछिया हुन्छ। यस्तो हुनु अनौठो कुरा होइन। वास्तवमा हामी मर्नुपर्ने गरी सृष्टि गरिएका थिएनौं। (रोमी ५:१२) त्यसैले मृत्युलाई परमेश्वरको वचनमा “शत्रु” भनिएको छ। (१ कोरिन्थी १५:२६) तसर्थ आफ्नो प्रियजनको मृत्यु हुने कुरा स्विकार्न गाह्रो लाग्नु स्वाभाविक हो।

परिवारका सदस्यहरूले पछि आउन सक्ने अवस्था पहिल्यै विचार गर्दा डर कम गर्न र परिस्थिति अझ सहज बनाउन मदत पाउन सक्छन्‌। भविष्यमा बिरामीलाई हुन सक्ने केही कुराहरूबारे “ जीवनका अन्तिम हप्ताहरू” शीर्षकको पेटीमा उल्लेख गरिएका छन्‌। उक्त पेटीमा उल्लेख गरिएका कुरा सबै बिरामीलाई नहुन पनि सक्छ वा यो क्रमिक रूपमा नदेखिन सक्छ। तर धेरैजसो बिरामीले भने पेटीमा उल्लेख गरिएका केही न केही कुरा अनुभव गर्छन्‌।

प्रियजनको मृत्यु हुँदा नजिकको साथी र शुभचिन्तकहरूलाई खबर गर्नुहोस्। साथै, बिरामीको हेरचाह गरेको व्यक्ति र शोकसन्तप्त परिवारले उनीहरूको प्रियजन अरू नै कुनै लोकमा तड्पिरहेका छैनन्‌ भन्ने कुरा बुझ्नु पनि आवश्यक छ। “मरेकाहरूले ता केही पनि जान्दैनन्‌” भनी सृष्टिकर्ता बताउनुहुन्छ। यो कुराबाट हामी सबैले सान्त्वना पाउन सक्छौं।—उपदेशक ९:५.

सबैभन्दा राम्रो हेरचाह गर्नुहुने

अरूले मदत दिंदा स्विकार्नुहोस्

तपाईंको प्रियजन बिरामी भएको बेलामा मात्र होइन तर उहाँको मृत्युपछि शोक सहन पनि परमेश्वरमा भर पर्नु आवश्यक छ। परमेश्वरले अरू मानिसहरू चलाएर उनीहरूको सान्त्वनादायी बोली र कामद्वारा तपाईंलाई मदत दिन सक्नुहुन्छ। सुजाता भन्छिन्‌, “अरूले मदत दिंदा त्यो स्विकार्न तयार भएँ। उहाँहरूबाट हामीले निकै मदत पायौं। म र मेरो श्रीमान्‌लाई यहोवाले नै यसो भनिरहनुभएको हो जस्तो लाग्यो, ‘तिमीहरूको दुःखमा साथ दिन म तिमीहरूसितै छु।’ म यो कुरा कहिल्यै बिर्सन सक्दिनँ।”

हो, यहोवा सबैभन्दा उत्तम तरिकामा हाम्रो हेरचाह गर्नुहुन्छ। हाम्रो सृष्टिकर्ता भएकोले उहाँ हाम्रो दुःख अनि पीडा राम्रोसँग बुझ्नुहुन्छ। उहाँ हामीलाई आवश्यक मदत र प्रोत्साहन दिन सक्नुहुन्छ। उहाँ यसो गर्न इच्छुक पनि हुनुहुन्छ। अझ खुसीको कुरा, उहाँले पृथ्वीबाट चाँडै मृत्यु नामेट पार्ने र आफ्नो सम्झनामा भएका मानिसहरूलाई पुनर्जीवित गर्ने प्रतिज्ञा गर्नुभएको छ। (यूहन्ना ५:२८, २९; प्रकाश २१:३, ४) त्यसपछि सबै जनाले प्रेषित पावलले झैं यसो भन्नेछन्‌: “हे मृत्यु, तेरो विजय खै? हे मृत्यु, तेरो खील खै?”—१ कोरिन्थी १५:५५.

^ अनु. 2 नामहरू परिवर्तन गरिएका छन्‌।