के तपाईँ अरूलाई तिनीहरू जुनसुकै उमेर, देश वा धर्मको भए तापनि मदत गर्न इच्छुक हुनुहुन्छ?

खाँचोमा परेकाहरूलाई मदत गर्नेहरूले पाउने आशिष्‌

खाँचोमा परेकाहरूलाई मदत गर्नेहरूले पाउने आशिष्‌

संसारभरि धेरैजसो मानिसलाई गाँस र बासको अभाव छ। केहीले भने उज्ज्वल भविष्यको आशा पाउन सकेका छैनन्‌। हामीले खाँचोमा परेका यस्ता मानिसहरूलाई मदत गर्दा ईश्‍वरको अनुमोदन र आशिष्‌ कसरी पाउन सक्छौँ?

पवित्र धर्मशास्त्र के भन्छ?

“गरिबलाई दया देखाउनु यहोवालाई सापटी दिनुजस्तै हो; त्यसको इनाम उहाँले दिनुहुन्छ।”—हितोपदेश १९:१७.

खाँचोमा परेकाहरूलाई मदत गर्नुको अर्थ के हो?

येसुले डाँकुहरूले हमला गरेर अधमरो छोडेर गएको एक जना मानिसको उदाहरण बताउनुभयो। (लुका १०:२९-३७) एक जना अनजान मानिस उसको नजिक आएर घाउमा मलहमपट्टी लगाइदियो। बेग्लै जातिको भए तापनि उसले मदत गऱ्‍यो।

त्यस दयालु मानिसले घाइतेलाई मलहमपट्टी गरिदिनु र चाहिने कुराहरू दिनुका साथै उसलाई सान्त्वना दियो र उसको पीडा कम गर्न मदत पनि गऱ्‍यो।

यस उदाहरणबाट हामी के सिक्न सक्छौँ? हामीले खाँचोमा परेकाहरूलाई मदत गर्न सकेजति सबै गर्नुपर्छ भनेर येसुले बुझाउन खोज्दै हुनुहुन्थ्यो। (हितोपदेश १४:३१) पवित्र धर्मशास्त्रले ईश्‍वरले गरिबी र दुःखकष्ट चाँडै हटाउनुहुन्छ भनेर सिकाउँछ। ईश्‍वरले कसरी र कहिले त्यसो गर्नुहुन्छ भनेर हामी सोच्छौँ होला। मायालु ईश्‍वरले तपाईँको लागि साँचेर राख्नुभएको आशिष्‌हरूबारे यसपछिको लेखमा छलफल गरिनेछ।