सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा

आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा

“अचानक दाइको मृत्यु हुँदा म छाँगाबाट खसेझैँ भएँ। उहाँ बितेको महिनौँ पछि पनि मलाई उहाँको यादले सताइरहन्थ्यो। मलाई भित्र भित्रै छुरा रोपेझैँ हुन्थ्यो। कहिलेकाहीँ मलाई एकदमै रिस उठ्‌थ्यो। दाइ किन मर्नुभयो होला भनेर सोच्ने गर्थेँ। दाइसित समय बिताउन नपाएकोमा मलाई निक्कै पछुतो लागेको छ।” —भेनेसा, अस्ट्रेलिया

मृत्युको कारण आफूले माया गरेको व्यक्‍ति गुमाउनु पर्दा तपाईँ पनि शोकमा पर्नुभयो अनि एक्लो महसुस गर्नुभयो होला। साथै तपाईँलाई रिस पनि उठ्यो होला। दोषी महसुस गर्नुका साथै डर पनि लाग्यो होला। अनि तपाईँलाई आफ्नो जीवनको कुनै अर्थ छैन जस्तो लाग्यो कि?

शोक गर्नु भनेको कमजोरीको चिन्ह होइन। किनभने शोक गर्दा तपाईँ उक्‍त व्यक्‍तिलाई कति धेरै माया गर्नुहुन्छ भनेर देखिन्छ। तर के पीडादायी शोकबाट मुक्‍ति पाउन सम्भव छ?

हामी कसरी सहन सक्छौँ

आफ्नो पीडा कहिल्यै निको नहुने जस्तो देखिए तापनि यी सल्लाहहरू लागू गर्दा तपाईँले सहने बल पाउनुहुनेछ:

आफ्नो पीडा नलुकाउनुहोस्‌

सबैको शोक गर्ने तरिका एउटै हुन्छ भन्‍ने छैन। तर शोकमा पर्दा रोयौँ भने हाम्रो पीडा केही हदसम्म कम हुन्छ। माथि उल्लेख गरिएकी भेनेसा यसो भन्छिन्‌: “म आफ्नो पीडा कम गर्न रुने गर्थेँ।” आफ्नो बहिनी गुमाएकी सोफिया यसो भन्छिन्‌: “विगतको कुरा सम्झनु भनेको घाउ सफा गर्नु जस्तै हो। यसो गर्दा पीडा त हुन्छ, तर घाउ भने बिस्तारै निको हुन्छ।”

आफ्नो भावना अरूलाई पोखाउनुहोस्‌

कहिलेकाहीँ तपाईँलाई एक्लै रहन मन लाग्छ होला। तर शोकको पीडा गह्रौँ भारीजस्तै हो। यसलाई एक्लै बोक्न नखोज्नुहोस्‌। आफ्नो बुबा गुमाएका सत्र वर्षका जारेड यसो भन्छन्‌: “मैले आफ्नो भावना  अरूलाई बताएँ। सायद मैले आफ्नो भावना राम्रोसित व्यक्‍त गरिन होला तर यसो गर्दा मेरो मन हल्का भयो।” सुरुको लेखमा उल्लेख गरिएकी जेनिस अझै यसो भन्छिन्‌: “अरूसित कुरा गर्दा मैले निक्कै सान्त्वना पाएँ। उहाँहरू मेरो भावना बुझ्नुहुन्थ्यो। यसले गर्दा मैले एक्लो महसुस गरिनँ।”

अरूको मदत स्विकार्नुहोस्‌

एक जना डाक्टर यसो भन्छन्‌: “शोकमा डुबेकाहरूले सुरुदेखि नै आफ्नो साथीभाइ अनि नातेदारबाट मदत स्विकार्दा तिनीहरूलाई आफ्नो पीडा सहन निक्कै मदत मिल्छ।” तपाईँका साथीहरू तपाईँलाई मदत गर्न चाहिरहेका हुन सक्छन्‌। तर कसरी मदत गर्ने भनेर तिनीहरूलाई थाह नहुन सक्छ। त्यसैले आफूलाई कस्तो मदत चाहिएको छ, उनीहरूलाई बताउनुहोस्‌।—हितोपदेश १७:१७.

परमेश्‍वरसित नजिक हुनुहोस्‌

टिना यसो भन्छिन्‌: “क्यान्सरले गर्दा मेरो श्रीमान्‌को अचानक मृत्यु भयो। त्यसैले म आफ्नो सबै चिन्ता-फिक्री परमेश्‍वरलाई बताउँथेँ। म हरेक बिहान ‘मलाई सहने बल दिनुहोस्‌’ भनेर परमेश्‍वरलाई पुकार्थेँ। परमेश्‍वरले मलाई यत्ति धेरै मदत गर्नुभयो कि म त्यो बयानै गर्न सक्दिनँ।” बाइस वर्षकी छँदा आफ्नी आमा गुमाएकी टार्सा यसो भन्छिन्‌: “दिनहुँ बाइबल पढ्‌दा मैले निकै सान्त्वना पाएँ। यसले मलाई हौसला दियो।”

फेरि जीवित हुने आशाबारे कल्पना गर्नुहोस्‌

टिना अझै यसो भन्छिन्‌: “सुरुमा त मलाई मरेकाहरू फेरि जीवित हुने आशाले केही सान्त्वना दिएन। किनकि मलाई मेरो श्रीमान्‌ र मेरा छोराहरूलाई बुबा चाहिएको थियो। श्रीमान्‌ बितेको अहिले चार वर्ष भइसक्यो। म अहिले यस आशामा मनन गर्ने गर्छु, म उहाँलाई फेरि भेट्‌ने समयको कल्पना गर्छु। यसो गर्दा म आनन्दित हुन्छु।”

तपाईँको पीडा तुरुन्तै कम नहोला। तर भेनेसाको अनुभवबाट एउटा कुरामा भने पक्का हुन सक्छौँ। तिनी भन्छिन्‌: “तपाईँलाई आफ्नो चोट कहिल्यै निको हुँदैन जस्तो लाग्न सक्छ। तर बिस्तारै तपाईँको मनको घाउ पुरिँदै जानेछ।”

तपाईँलाई आफूले माया गरेको व्यक्‍तिको यादले सताइरहन्छ होला तर तपाईँको जीवन त्यहीँ समाप्त हुँदैन। परमेश्‍वरको मायालु मदत पाएर तपाईँले असल मित्रहरूको न्यानो सङ्‌गतिबाट आनन्द उठाउन सक्नुहुन्छ। अनि उद्देश्‍यपूर्ण जीवन बिताउन सक्नुहुन्छ। चाँडै परमेश्‍वरले मरेकाहरूलाई ब्युँताउनु हुनेछ। तपाईँले फेरि आफूले माया गरेको व्यक्‍तिलाई भेटेको परमेश्‍वर चाहनुहुन्छ। त्यसपछि तपाईँको मनको चोट सदाको लागि निको हुनेछ।