के तपाईँलाई थाह थियो?
बाइबलकालीन समयमा भण्डारेहरूले के काम गर्थे?
बाइबलकालीन समयमा भण्डारेले अर्को मानिसको घर वा सम्पत्तिको रेखदेख गर्ने काम गर्थ्यो। “भण्डारे” भनी अनुवाद गरिएको हिब्रू र ग्रीक शब्दले कहिलेकाहीँ निरीक्षकलाई वा ठूलो घरानाको व्यवस्थापकलाई बुझाउँछ।
कुलपिता याकुबका छोरा युसुफ मिश्रमा दासको रूपमा लगिएका थिए। त्यतिबेला तिनी आफ्नो मालिकको घरको भण्डारे पनि बने। वास्तवमा मिश्री मालिकले “सबथोक युसुफको हातमा” सुम्पेका थिए। (उत्प. ३९:२-६) पछि युसुफ आफै पनि मिश्रको शक्तिशाली शासक भए र तिनले आफ्नो घरको रेखदेख गर्न भण्डारे नियुक्त गरे।—उत्प. ४४:४.
येसुको समयमा जग्गाधनीहरू प्रायः सहरमा बस्थे र उनीहरूको जग्गाजमिनचाहिँ सहरदेखि टाढा हुन्थ्यो। त्यसैले उनीहरूले जग्गाजमिनको रेखदेख गर्ने कामदारहरूको दैनिक गतिविधिको निरीक्षण गर्न भण्डारेहरू नियुक्त गर्थे।
भण्डारेको रूपमा काम गर्न को योग्य हुन्थ्यो? प्रथम शताब्दीका रोमी लेखक काल्येमलले भनेअनुसार निरीक्षक अर्थात् भण्डारेको रूपमा नियुक्त गरिने दासले त्यस काममा “अनुभव हासिल गरेको” हुनुपर्थ्यो। तिनी आफूले पाएको “अख्तियार गम्भीरतापूर्वक लिने र क्रूर नभई त्यसलाई प्रयोग गर्न सक्ने” व्यक्ति हुनुपर्थ्यो। तिनले अझै यसो भने: “तर सबैभन्दा महत्त्वपूर्ण कुरा तिनले आफूलाई थाह नभएको कुरा पनि थाह भएको जस्तो गर्नु हुँदैनथ्यो बरु सधैँ सिक्न इच्छुक हुनुपर्थ्यो।”
परमेश्वरको वचनमा ख्रिष्टियन मण्डलीको कुनै-कुनै गतिविधिलाई बुझाउन प्रतीकात्मक अर्थमा भण्डारेको उदाहरण प्रयोग गरिएको छ। जस्तै, प्रेषित पत्रुसले ख्रिष्टियनहरूलाई “परमेश्वरको असीम अनुग्रहको असल भण्डारेको रूपमा . . . एकअर्काको सेवा गर्न” प्रोत्साहन दिए।—१ पत्रु. ४:१०.
लुका १६:१-८ मा उल्लेख गरिएको विवरणमा येसुले पनि भण्डारेको उदाहरण प्रयोग गर्नुभयो। साथै आफू राजाको रूपमा उपस्थित हुँदा देखिने चिन्हबारे भविष्यवाणी गर्नुहुँदा येसुले “विश्वासी र बुद्धिमान् दास” अर्थात् ‘विश्वासी भण्डारे’ नियुक्त गर्नेछु भनेर आफ्ना अनुयायीहरूलाई आश्वासन दिनुभयो। (मत्ति २४:४५-४७; लुका १२:४२) त्यस भण्डारेको प्रमुख काम अन्तको समयमा येसुका चेलाहरूको लागि निरन्तर आध्यात्मिक भोजनको प्रबन्ध गर्नु थियो। त्यस भण्डारेले हाम्रो विश्वासलाई अझ बलियो बनाउने प्रकाशनहरू तयार पार्छ र संसारभरि उपलब्ध गराउँछ। ती प्रकाशनहरू पढ्न पाएकोमा हामी कत्ति कृतज्ञ छौँ!