अध्ययन लेख २४

परमेश्‍वरको ज्ञानविरुद्ध उठ्‌ने हरेक तर्कवितर्कलाई उखेल्नुहोस्‌!

परमेश्‍वरको ज्ञानविरुद्ध उठ्‌ने हरेक तर्कवितर्कलाई उखेल्नुहोस्‌!

“परमेश्‍वरको ज्ञानविरुद्ध उठाइने तर्कवितर्क र हरेक विघ्नबाधालाई हामी उखेल्दै छौँ।”—२ कोरि. १०:५.

गीत १२४ सधैँ वफादार रहौँ!

परिचय a

१. प्रेषित पावलले अभिषिक्‍त ख्रिष्टियनहरूलाई कस्तो कडा सल्लाह दिए?

 प्रेषित पावलले यस्तो कडा सल्लाह दिए: “तिमीहरू यस युगको चालढालअनुसार चल्न छोड।” (रोमी १२:२) पावलले यी शब्दहरू प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई लेखेका थिए। परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरिसकेका र पवित्र शक्‍तिले अभिषेक भएका पुरुष तथा स्त्रीहरूलाई तिनले किन त्यस्तो कडा सल्लाह दिए?—रोमी १:७.

२-३. सैतानले कसरी हामीलाई परमेश्‍वरको विरुद्धमा उठाउने प्रयास गर्छ? हाम्रो दिमागमा “गहिरो जरा गाडेर बसेका” कुराहरूलाई हामी कसरी उखेल्न सक्छौँ?

पावल चिन्तित थिए किनभने कोही-कोही ख्रिष्टियनलाई सैतानको संसारमा व्याप्त हानिकारक तर्कवितर्क र मानव दर्शनले असर गरेको जस्तो देखिन्थ्यो। (एफि. ४:१७-१९) त्यस्ता कुराहरूले हामी जो-कोहीलाई पनि असर गर्न सक्छ। हामीलाई जसरी भए पनि यहोवाबाट टाढा लैजान यस युगको ईश्‍वर सैतानले विभिन्‍न चाल चल्छ। त्यसको एउटा चाल भनेको हाम्रो स्वार्थी लक्ष्य वा ख्याति कमाउन चाहने झुकावको नाजायज फाइदा उठाउनु हो। सैतानले हाम्रो पृष्ठभूमि, रहनसहन वा शिक्षादीक्षाको कुनै-कुनै पक्षलाई चलाएर हामीलाई त्यसको सोचाइमा ढाल्ने प्रयास गर्न सक्छ।

के हाम्रो दिमागमा “गहिरो जरा गाडेर बसेका कुराहरूलाई उखेल्न” सम्भव छ? (२ कोरि. १०:४) पावल कस्तो जवाफ दिन्छन्‌, ध्यान दिनुहोस्‌: “परमेश्‍वरको ज्ञानविरुद्ध उठाइने तर्कवितर्क र हरेक विघ्नबाधालाई हामी उखेल्दै छौँ अनि हरेक विचारलाई कैद गरेर ख्रिष्टप्रति आज्ञाकारी बनाइरहेका छौँ।” (२ कोरि. १०:५) हो, यहोवाको मदत पाएर हामी गलत तर्कवितर्कलाई हटाउन सक्छौँ। औषधीले विषको असरलाई निष्क्रिय पारेझैँ परमेश्‍वरको वचनले पनि सैतानको संसारले हामीमा पारेको विषालु असरलाई निष्क्रिय पार्न सक्छ।

“आफ्नो सोचाइ नयाँ बनाओ”

४. सत्य स्विकार्दा हामीमध्ये धेरैले कस्ता परिवर्तनहरू गर्नुपरेको थियो?

यहोवाको वचनमा पाइने सत्य स्विकारेर उहाँको सेवा गर्ने निर्णय गर्दा तपाईँले के-कस्ता परिवर्तनहरू गर्नुपरेको थियो, सोच्नुहोस्‌ त! हामीमध्ये धेरैले आफूमा भएको खराब आनीबानी त्याग्नुपरेको थियो। (१ कोरि. ६:९-११) यहोवाको मदत पाएर त्यस्ता खराब आनीबानी त्याग्न सकेकोमा हामी कत्ति कृतज्ञ छौँ!

५. रोमी १२:२ ले बताएअनुसार हामीले कुन दुई वटा कदम चाल्नुपर्छ?

तर अबउसो हामीले कुनै परिवर्तन गर्नु पर्दैन भन्‍ने सोचाइ कहिल्यै राख्नु हुँदैन। हुनत हामीले पहिला गर्ने गरेका गम्भीर पापहरू बप्तिस्मा गर्नुअघि नै छोडिसक्यौँ। तर ती पापहरूमा फेरि फस्न हामीलाई लोभ्याउन सक्ने जुनसुकै कुराहरूबाट अलग्गै बस्न हामीले अहिले पनि भरमग्दुर प्रयास गरिरहनुपर्छ। हामी कसरी त्यसो गर्न सक्छौँ? पावल यस्तो जवाफ दिन्छन्‌: “तिमीहरू यस युगको चालढालअनुसार चल्न छोड बरु आफ्नो सोचाइ नयाँ बनाओ ताकि तिमीहरूमा पूरै परिवर्तन आओस्‌।” (रोमी १२:२) हो, हामीले दुइटा कदम चाल्नुपर्छ। पहिलो, हामी यस संसारको ‘चालढालअनुसार चल्न छोड्‌नुपर्छ’ अर्थात्‌ यस संसारले दिने आकारमा ढालिनु हुँदैन। दोस्रो, आफ्नो सोचाइ नयाँ बनाएर हामी “पूरै परिवर्तन” हुनुपर्छ।

६. येसुले मत्ति १२:४३-४५ मा भन्‍नुभएका शब्दहरूबाट हामी कुन कुरा सिक्छौँ?

यहाँ पावलले बताएको परिवर्तन बाहिरी रूपमा देखिने सतही परिवर्तन मात्र होइन। बरु यस्तो परिवर्तनले हाम्रो नसा-नसालाई छुन्छ। (“ पूरै परिवर्तन कि भेष परिवर्तन” भन्‍ने पेटी हेर्नुहोस्‌) हामीले आफ्नो सोचाइ नयाँ बनाउनुपर्छ। मतलब, हामीले आफ्नो भित्री मनोभाव, भावना र झुकावलाई परिवर्तन गर्नुपर्छ। त्यसैले हामी प्रत्येकले आफूलाई यस्तो प्रश्‍न सोध्नुपर्छ, ‘ख्रिष्टको अनुकरण गर्न मैले गरेका परिवर्तनहरू मुखौटो लगाएको जस्तो मात्र भएको छ कि मैले मेरो मन र सोचाइलाई समेत परिवर्तन गरिरहेको छु?’ यी दुई कुराबीच आकाश-जमीनको भिन्‍नता छ। मत्ति १२:४३-४५ मा येसुले भन्‍नुभएका शब्दहरूबाट हामीले के गर्नुपर्छ भनेर बुझ्न सक्छौँ। (पढ्‌नुहोस्‌) यी शब्दहरूमा यो गहन सत्य लुकेको छ: हामीले गलत सोचाइहरू हटाउनु मात्र पर्याप्त छैन तर त्यसको ठाउँमा परमेश्‍वरलाई मन पर्ने सोचाइ भर्नु पनि पर्छ।

“आफ्नो सोच्ने तरिकालाई नयाँ बनाइरहनुपर्छ”

७. हामी आफ्नो भित्री मनुष्यत्व कसरी परिवर्तन गर्न सक्छौँ?

के हाम्रो स्वाभाविक झुकाव वा भित्री मनुष्यत्व परिवर्तन गर्न सम्भव छ? परमेश्‍वरको वचन यस्तो जवाफ दिन्छ: “तिमीहरूले आफ्नो सोच्ने तरिकालाई नयाँ बनाइरहनुपर्छ र नयाँ व्यक्‍तित्व धारण गर्नुपर्छ, जुन धार्मिकता अनि वफादारीको मागबमोजिम परमेश्‍वरको इच्छाअनुसार सृष्टि भएको थियो।” (एफि. ४:२३, २४) हो, हाम्रो भित्री मनुष्यत्व परिवर्तन गर्न सम्भव छ तर त्यसो गर्न सजिलोचाहिँ छैन। हामीले आफ्ना गलत चाहनालाई दबाउनु र गलत काम नगर्नु मात्र पर्याप्त छैन। हामीले “आफ्नो सोच्ने तरिका” नै परिवर्तन गर्नुपर्छ। यसको मतलब हो, हामीले आफ्नो चाहना, झुकाव र मनसाय परिवर्तन गर्नुपर्छ। यसो गर्न निरन्तर प्रयास गरिरहनुपर्छ।

८-९. एक जना भाइको अनुभवले हाम्रो भित्री मनुष्यत्व परिवर्तन गर्नुपर्ने महत्त्वलाई कसरी प्रस्ट पार्छ?

आउनुहोस्‌, विगतमा हिंस्रक जीवन बिताएका एक जना भाइको अनुभव विचार गरौँ। तिनले रक्सी खान र झगडा गर्न छोडेपछि तिनी बप्तिस्माको लागि योग्य भए। यसले गर्दा तिनको टोलछिमेकमा सबैले राम्रो साक्षी पाए। तर बप्तिस्मा गरेको धेरै समय नबित्दै तिनले आसै नगरेको तरिकामा तिनको जाँच भयो। एक साँझ, रक्सीले मात्तिएको एक जना मान्छे तिनको घरमा आयो र तिनीसित निहुँ खोज्यो। सुरुमा त हाम्रो भाइले आफूलाई काबूमा राखे र झगडा गरेनन्‌। तर त्यो मान्छेले यहोवाको नामको निन्दा गर्न थालेपछि भने हाम्रो भाइलाई असह्‍य भयो। तिनी बाहिर निस्के र त्यो मान्छेलाई पिटे। तिनले किन त्यसो गरे? बाइबल अध्ययन गर्दै जाँदा तिनले आफ्नो हिंस्रक स्वभावलाई दबाउन त सिके तर आफ्नो सोच्ने तरिकालाई परिवर्तन गर्न भने सकेका थिएनन्‌। अर्को शब्दमा भन्‍ने हो भने, तिनले आफ्नो भित्री मनुष्यत्व परिवर्तन गरेका थिएनन्‌।

तर हाम्रो भाइले हार मानेनन्‌। (हितो. २४:१६) एल्डरहरूको मदत पाएर तिनले राम्रो प्रगति गरिरहे। तिनी पछि गएर एल्डरको जिम्मा सम्हाल्न योग्य भए। एक साँझको कुरा हो, तिनी वर्षौँअघि जस्तो परिस्थितिमा परेका थिए, फेरि त्यस्तै परिस्थितिमा परे। एक जना मान्छे रक्सीले मात्तिएर राज्यभवनबाहिर आयो। त्यो मान्छेले एक जना एल्डरलाई कुट्‌नै लागेको थियो। हाम्रो भाइले के गरे? तिनले शान्तपूर्वक अनि नम्र हुँदै त्यो मान्छेलाई सम्झाइबुझाइ गरे, तनावपूर्ण वातावरणलाई साम्य पारे अनि लरखराइरहेको त्यो मान्छेलाई घरसम्म पुग्न मदत गरे। हाम्रो भाइले किन त्यसो गरे? किनकि तिनले आफ्नो सोच्ने तरिका नै परिवर्तन गरिसकेका थिए। तिनले आफ्नो भित्री मनुष्यत्व परिवर्तन गरेर शान्तिप्रिय र नम्र मानिस बनिसकेका थिए। यस्तो परिवर्तनले यहोवाको प्रशंसा गऱ्‍यो!

१०. आफ्नो भित्री मनुष्यत्व परिवर्तन गर्न हामीले के गर्नुपर्छ?

१० यस्ता परिवर्तनहरू रातारात हुँदैनन्‌ अनि यी आफसेआफ हुने कुरा पनि होइनन्‌। हामीले वर्षौँसम्म “भरमग्दुर प्रयत्न” गरिरहनुपर्ने हुन सक्छ। (२ पत्रु. १:५) हामीले लामो समयदेखि यहोवाको सेवा गरिरहेका छौँ भन्दैमा यस्ता परिवर्तनहरू स्वतः हुने होइन। हामीले आफ्नो भित्री मनुष्यत्वलाई परिवर्तन गर्न कडा मेहनत गर्नुपर्छ। यस्तो परिवर्तन गर्न हामीले केही आधारभूत कदम चाल्नुपर्छ। तीमध्ये केही कदम के-के हुन्‌, अब केलाऔँ।

हाम्रो सोच्ने तरिका कसरी परिवर्तन गर्न सक्छौँ?

११. प्रार्थनाले हामीलाई आफ्नो सोच्ने तरिका परिवर्तन गर्न कसरी मदत गर्छ?

११ पहिलो महत्त्वपूर्ण कदम प्रार्थना हो। भजनरचयिताले जस्तै हामीले पनि यसरी प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्‌ अनि मभित्र नयाँ र स्थिर मन हालिदिनुहोस्‌।” (भज. ५१:१०) हामीले आफ्नो सोच्ने तरिका परिवर्तन गर्नु आवश्‍यक छ भनेर मानिलिनुपर्छ र यहोवासित मदत माग्नुपर्छ। यस्तो परिवर्तन गर्न यहोवाले मदत गर्नुहुनेछ भनेर हामी कसरी पक्का हुन सक्छौँ? इजकिएलको समयका अटेरी इस्राएलीहरूबारे यहोवाले गर्नुभएको यो प्रतिज्ञाबाट हामी प्रोत्साहन पाउन सक्छौँ: “म तिनीहरू सबैलाई एकजुट पार्नेछु र तिनीहरूमा नयाँ सोचाइ हालिदिनेछु। . . . म कोमल मन [अर्थात्‌, परमेश्‍वरको डोऱ्‍याइ तुरुन्तै स्विकार्ने मन] दिनेछु।” (इज. ११:१९; फुटनोट) यहोवा ती इस्राएलीहरूलाई परिवर्तन गर्न मदत दिन इच्छुक हुनुहुन्थ्यो। उहाँ हामीलाई पनि मदत दिन इच्छुक हुनुहुन्छ।

१२-१३. (क) भजन ११९:५९ अनुसार हामीले केमा मनन गर्नुपर्छ? (ख) हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

१२ दोस्रो महत्त्वपूर्ण कदम मनन हो। दिनहुँ परमेश्‍वरको वचन ध्यान दिएर पढ्‌दा हामीले मनन गर्न पनि समय निकाल्नुपर्छ। अर्थात्‌, आफूले कस्ता सोचाइ र भावनाहरू परिवर्तन गर्नुपर्छ भनेर गहिरिएर सोच्नुपर्छ। (भजन ११९:५९ पढ्‌नुहोस्‌; हिब्रू ४:१२; याकु. १:२५) मानव दर्शनहरूप्रति आकर्षित हुने कुनै झुकाव हामीसित छ भने हामीले त्यसलाई चिन्‍नुपर्छ। आफ्ना कमजोरीहरू के-के हुन्‌ भनेर इमानदार भई स्विकार्नुपर्छ अनि ती हटाउन कडा परिश्रम गर्नुपर्छ।

१३ उदाहरणको लागि, आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘के मेरो मनको कुनै कुनामा अझै पनि ईर्ष्या वा डाह बाँकी छ?’ (१ पत्रु. २:१) ‘के म आफ्नो पृष्ठभूमि, शिक्षादीक्षा वा आर्थिक स्तरमा कता-कता घमन्ड गर्छु?’ (हितो. १६:५) ‘यदि कसैसित मसँग भएको जस्तै सरसामान छैन वा कोही मभन्दा बेग्लै जातका हुन्‌ भने के म तिनलाई तुच्छ नजरले हेर्छु?’ (याकु. २:२-४) ‘के म सैतानको संसारले दिने कुराहरूप्रति आकर्षित हुन्छु?’ (१ युह. २:१५-१७) ‘के म अनैतिक र हिंस्रक मनोरञ्जनतर्फ आकर्षित हुन्छु?’ (भज. ९७:१०; १०१:३; आमो. ५:१५) यी प्रश्‍नहरूको जवाफले हामीले सुधार गर्नुपर्ने क्षेत्रहरू औँल्याइदिन सक्छ। हाम्रो मनमा “गहिरो जरा गाडेर” बसेको हुन सक्ने सोचाइ वा भावनालाई हटायौँ भने हामीले स्वर्गमा बस्नुहुने बुबा यहोवालाई खुसी तुल्याइरहेका हुन्छौँ।—भज. १९:१४.

१४. राम्रो साथीसङ्‌गति छान्‍नु किन अत्यावश्‍यक छ?

१४ तेस्रो अत्यावश्‍यक कदम राम्रो साथीसङ्‌गति छान्‍नु हो। हामीले महसुस गरेका होऔँ या नहोऔँ, हाम्रो साथीसङ्‌गतिले हामीलाई निकै असर गर्छ। (हितो. १३:२०) हाम्रो काम गर्ने ठाउँ वा स्कुलमा परमेश्‍वरलाई मन पर्ने तरिकामा सोच्न सिकाउने साथीहरू छैनन्‌ होला। तर सभामा भने हामी सबैभन्दा उत्तम किसिमको साथीसङ्‌गति पाउन सक्छौँ। सभामा जाँदा हामी “प्रेम र सुकर्म गर्न” उत्साहित अर्थात्‌ उत्प्रेरित हुन्छौँ।—हिब्रू १०:२४, २५, फुटनोट।

“विश्‍वासमा अटल हुँदै जाओ”

१५-१६. सैतानले हाम्रो सोचाइ कसरी परिवर्तन गर्न खोज्छ?

१५ तर यो कुरा नबिर्सनुहोस्‌, सैतान हाम्रो सोचाइ परिवर्तन गर्न लागिपरेको छ। परमेश्‍वरको वचनको सत्यले हामीमा पारेको असरलाई निष्क्रिय पार्न सैतानले हरेक किसिमको तर्कवितर्क चलाउँछ।

१६ अदनको बगैँचामा सोधेको जस्तै प्रश्‍न सोध्न सैतानले अहिलेसम्म छोडेको छैन। त्यसले हव्वालाई यस्तो प्रश्‍न सोधेको थियो: “के परमेश्‍वरले . . . साँच्चै भन्‍नुभएको हो?” (उत्प. ३:१) सैतानको वशमा परेको यस संसारमा हाम्रो मनमा शङ्‌का उब्जाउने यस्ता प्रश्‍नहरू अक्सर सुन्‍ने गर्छौँ: ‘के परमेश्‍वरले समलिङ्‌गी विवाहलाई साँच्चै स्विकार्नुहुन्‍न? के तपाईँले क्रिसमस र जन्मदिन मनाएको परमेश्‍वर साँच्चै चाहनुहुन्‍न? के तपाईँको परमेश्‍वर तपाईँले रगत लिएको साँच्चै चाहनुहुन्‍न? के मायालु परमेश्‍वरले बहिष्कार भएका प्रियजनहरूसित तपाईँले सरसङ्‌गत गरेको साँच्चै चाहनुहुन्‍न?’

१७. आफूले विश्‍वास गरेका कुराहरूमा शङ्‌का उब्जाउने प्रश्‍नहरू मनमा आउँदा हामीले के गर्नुपर्छ? कलस्सी २:६, ७ ले बताएअनुसार परिणाम कस्तो हुनेछ?

१७ आफूले विश्‍वास गरेका कुराहरूमा हामी पक्का हुनुपर्छ। आफ्नो मनमा उब्जेका महत्त्वपूर्ण प्रश्‍नहरूलाई अनुत्तरित नै रहन दियौँ भने त्यसले पछि गएर हामीले विश्‍वास गरेका कुराहरूमा ठूलो शङ्‌का उब्जाउन सक्छ। त्यस्ता शङ्‌का उपशङ्‌काले हाम्रो सोचाइलाई टेढोमेढो बनाउन र हाम्रो विश्‍वासलाई तहसनहस पार्न सक्छ। त्यसोभए हामीले के गर्नुपर्छ? परमेश्‍वरको वचनले हामीलाई आफ्नो सोचाइ पूरै परिवर्तन गर्न सल्लाह दिन्छ। त्यसो गऱ्‍यौँ भने “परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ” भनी हामी आफैले राम्ररी थाह पाउन सक्नेछौँ। (रोमी १२:२) नियमित रूपमा अध्ययन गऱ्‍यौँ भने आफूले बाइबलबाट सिकेका कुराहरू सत्य हुन्‌ भनेर हामी आफैले राम्ररी थाह पाउन सक्नेछौँ। तब यहोवाका स्तरहरू सही हुन्‌ भनेर हामी पूर्णतया पक्का हुनेछौँ। अनि बलियो जरा भएको रूखजस्तै हामी पनि गहिरो जरा गाडेर “विश्‍वासमा अटल” हुनेछौँ।—कलस्सी २:६, ७ पढ्‌नुहोस्‌।

१८. सैतानको संसारको विषालु असरलाई निष्क्रिय पार्न केले मदत गर्नेछ?

१८ तपाईँको विश्‍वासलाई अरू कसैले अटल बनाइदिन सक्दैन। त्यसैले आफ्नो सोच्ने तरिकालाई नयाँ बनाइरहनुहोस्‌। निरन्तर प्रार्थना गर्नुहोस्‌; यहोवाको पवित्र शक्‍तिको लागि बिन्ती गर्नुहोस्‌। गहिरो मनन गर्नुहोस्‌; आफ्नो सोचाइ र मनसाय केलाइरहनुहोस्‌। राम्रो साथीसङ्‌गति छान्‍नुहोस्‌; आफ्नो सोचाइलाई पूरै परिवर्तन गर्न मदत गर्ने व्यक्‍तिहरूसित सङ्‌गत गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँले सैतानको संसारको विषालु असरलाई निष्क्रिय पार्न सक्नुहुनेछ र “परमेश्‍वरको ज्ञानविरुद्ध उठाइने तर्कवितर्क र हरेक विघ्नबाधालाई” उखेल्न सफल हुनुहुनेछ।—२ कोरि. १०:५.

गीत ५० समर्पणको प्रार्थना

a हाम्रो पृष्ठभूमि, रहनसहन र शिक्षादीक्षाले हाम्रो सोचाइलाई राम्रो या नराम्रो तरिकामा असर गरिरहेको हुन्छ। कुनै-कुनै गलत मनोभावले हामीमा गहिरो जरा गाडेको हामीले महसुस गरेका छौँ होला। हामीमा जरा गाडेको हुन सक्ने गलत झुकावहरूलाई कसरी हटाउन सक्छौँ भनेर हामी यस लेखबाट सिक्नेछौँ।