अध्याय २४

कहिल्यै नचोर्नू!

कहिल्यै नचोर्नू!

के कहिल्यै तिम्रो सामान चोरी भएको छ?—त्यतिबेला तिमीलाई कस्तो लाग्यो?—चोर्ने जोसुकै होस्‌, ऊ चोर हो र चोरलाई कसैले मन पराउँदैन। कुनै मानिस कसरी चोर बन्छ होला? के ऊ जन्मँदै चोर हुन्छ?—

हामीले भर्खरै सिक्यौं, मानिसहरू पापसहित जन्मेका हुन्छन्‌। त्यसैकारण हामी सबै त्रुटिपूर्ण छौं। तर कोही पनि जन्मँदै चोर हुँदैन। चोर राम्रै परिवारबाट आएको हुन सक्छ। उसका आमाबाबु, दाजुभाइ र दिदीबहिनी इमानदार होलान्‌। तर कुनै मानिसले पैसा वा त्यसले किन्‍न सक्ने सरसामानको लोभ गर्छ भने त्यस्तो चाहनाले गर्दा ऊ चोर बन्‍न सक्छ।

सबैभन्दा पहिलो चोर को थियो, तिमी भन्‍न सक्छौ?—अब यसबारे छलफल गरौं है! स्वर्गमा हुँदादेखि नै महान्‌ शिक्षकले त्यो चोरलाई चिन्‍नुहुन्थ्यो। त्यो एक जना स्वर्गदूत थियो। तर परमेश्‍वरले सबै स्वर्गदूतलाई त्रुटिरहित बनाउनुभएको थियो भने त्यो एक जनाचाहिं कसरी चोर बन्यो त?—यो किताबको अध्याय ८ मा सिकेझैं त्यसले अरूको कुरा पाउने चाहना गऱ्‍यो। त्यो के थियो, तिमीलाई सम्झना छ?—

परमेश्‍वरले पहिलो लोग्नेमान्छे र स्वास्नीमान्छे बनाइसकेपछि तिनीहरूले आफ्नो उपासना गरोस्‌ भन्‍ने इच्छा त्यो स्वर्गदूतले गऱ्‍यो। तिनीहरूबाट उपासनाको माग गर्ने अधिकार त्यससित थिएन। तिनीहरूले परमेश्‍वरको मात्र उपासना गर्नुपर्थ्यो। तर त्यसले त्यो चोऱ्‍यो! आदम र हव्वालाई आफ्नो उपासना गर्न लगाएर त्यो स्वर्गदूत चोर बन्यो। त्यो सैतान अर्थात्‌ दियाबल बन्यो।

कुनै मानिस केले गर्दा चोर बन्छ?—अरूको कुरा पाउने चाहनाले गर्दा। यो चाहना यति बलियो हुन सक्छ कि त्यसले गर्दा असल मानिसहरूसमेत खराब काम गर्न पुग्छन्‌। कहिलेकाहीं चोर बन्‍नेहरू आफूले गरेको खराब कामको लागि कहिल्यै पछुतो गर्दैनन्‌ र फेरि असल काम गर्दैनन्‌। यस्ताहरूमध्ये एक जना येशूको प्रेषित थियो। उसको नाम यहूदा इस्करियोत हो।

चोर्नु हुँदैन भनी यहूदालाई थाह थियो किनभने उसलाई सानोदेखि नै परमेश्‍वरको व्यवस्था सिकाइएको थियो। परमेश्‍वरले एकचोटि स्वर्गबाट आफ्ना मानिसहरूलाई यसो भनेको उसलाई थाह थियो: “चोरी नगर्नू।” (प्रस्थान २०:१५) ठूलो भएपछि यहूदाले महान्‌ शिक्षकलाई भेट्यो र उहाँको चेला बन्यो। पछि येशूले आफ्ना १२ जना प्रेषितलाई छान्‍नुभयो। त्यसमध्ये यहूदा पनि थियो।

येशू र उहाँका प्रेषितहरू सँगसँगै यात्रा गर्नुहुन्थ्यो। सँगै खाना खानुहुन्थ्यो। अनि उहाँहरूको सबै पैसा एउटा कन्तुरमा हालिन्थ्यो। येशूले त्यो कन्तुरको जिम्मा यहूदालाई दिनुभयो। पक्कै पनि, कन्तुरमा भएको पैसा यहूदाको थिएन। तर पछि यहूदाले के गऱ्‍यो, तिमीलाई थाह छ?—

यहूदाले किन चोऱ्‍यो?

यहूदाले झिक्न नपर्ने समयमा पनि त्यो कन्तुरबाट पैसा झिक्न थाल्यो। अरूले नदेखेको बेलामा उसले त्यसो गर्थ्यो र अझै धेरै पैसा हात पार्न अरू तरिका पनि खोज्न थाल्यो। उसको ध्याउन्‍नै पैसा मात्र भयो। यस्तो गलत चाहनाले गर्दा महान्‌ शिक्षकको मृत्यु हुनुभन्दा केही दिनअघि कस्तो घटना घट्यो, अब हेरौं है!

येशूको साथी लाजरसकी दिदीको नाम मरियम थियो। तिनले एकदमै राम्रो तेल ल्याएर येशूको पाउमा खन्याइदिइन्‌। तर यहूदाले गनगन गऱ्‍यो। किन, तिमीलाई थाह छ?—‘त्यो तेल बेचेर गरिबहरूलाई दिन सकिन्छ’ भनेर उसले भन्यो। तर वास्तवमा ऊ कन्तुरमा अझ धेरै पैसा जम्मा होस्‌ भन्‍ने चाहन्थ्यो। यसरी जम्मा भयो भने पछि उसले त्यसबाट चोर्न सक्थ्यो।—यूहन्‍ना १२:१-६.

आफूलाई दयालु व्यवहार गर्ने मरियमलाई दुःख नदिन येशूले यहूदालाई भन्‍नुभयो। उहाँको यो कुरा यहूदालाई मन परेन। त्यसैकारण ऊ येशूका शत्रु, मुख्य पुजारीहरूकहाँ गयो। तिनीहरू येशूलाई पक्रन चाहन्थे तर अरू मानिसहरूले नदेख्ने गरी रातमा।

यहूदाले पुजारीहरूलाई भन्यो: ‘तपाईंहरूले मलाई पैसा दिनुहुन्छ भने म येशूलाई कसरी पक्रन सकिन्छ, त्यो बताउँछु। मलाई कति पैसा दिनुहुन्छ?’

पुजारीहरूले यस्तो जवाफ दिए: ‘हामी तिमीलाई तीस टुक्रा चाँदी दिन्छौं।’—मत्ती २६:१४-१६.’

यहूदाले त्यो पैसा लियो। त्यसो गर्नु भनेको महान्‌ शिक्षकलाई ती मानिसहरूको हातमा बेचिदिनुसरह थियो! कसैले त्यस्तो खराब काम गरेको के तिमी कल्पना गर्न सक्छौ?—पैसा चोरेर कोही चोर बन्छ भने उसले यस्तै खराब कामहरू गर्न थाल्छ। यस्तो मानिसले अरू व्यक्‍ति वा परमेश्‍वरलाई भन्दा पनि पैसालाई बढी माया गर्छ।

सायद तिमी भन्छौ: ‘म यहोवा परमेश्‍वरलाई जत्तिको माया अरू कुनै कुरालाई कहिल्यै गर्नेछैनँ।’ त्यस्तो सोचाइ राख्नु प्रशंसनीय कुरा हो। येशूले यहूदालाई प्रेषित छान्‍नुहुँदा उसलाई पनि त्यस्तै लागेको हुनुपर्छ। ऊजस्तै पछि चोर बनेकाहरूलाई पनि त्यस्तै लागेको थियो होला। हामी तिनीहरूमध्ये कोही-कोहीको कुरा गरौं है!

आकान र दाऊद के खराब कुरा सोचिरहेका छन्‌?

आकान नाम गरेका परमेश्‍वरका एक जना सेवक पनि पछि चोर बनेका थिए। तिनी महान्‌ शिक्षक जन्मनुभन्दा धेरै अघिका मानिस थिए। आकानले एउटा राम्रो ओढ्‌ने, सुनको एउटा साँप्ला र चाँदीका केही टुक्रा देखे। ती कुराहरू तिनका थिएनन्‌। ती यहोवाका थिए भनी बाइबल बताउँछ किनभने ती कुराहरू परमेश्‍वरका मानिसहरूका शत्रुहरूबाट लिइएको थियो। तर आकानले ती कुराहरूको यत्ति धेरै लोभ गरे कि तिनले ती चोरे।—यहोशू ६:१९; ७:११, २०-२२.

अर्को उदाहरण पनि छ। धेरैअघि यहोवाले दाऊदलाई इस्राएलीहरूको राजा हुन छान्‍नुभएको थियो। एक दिनको कुरा हो, दाऊदले एउटी सुन्दर स्त्री बेतशेबालाई देखे। तिनले बेतशेबालाई हेरिनै रहे र आफ्नी श्रीमती बनाएर घरमा ल्याउने विचार गरिरहे। तर उनी उरियाहकी श्रीमती थिइन्‌। दाऊदले के गर्नुपर्थ्यो?—

बेतशेबालाई पाउने इच्छालाई दाऊदले त्याग्नुपर्थ्यो। तर तिनले त्यसो गरेनन्‌। तिनले उनलाई आफ्नो घरमा ल्याए। त्यसपछि उरियाहलाई मार्ने चाल चले। दाऊदले किन यस्ता खराब कामहरू गरे?—किनभने तिनले अरूकी श्रीमती पाउने चाहना गरिरहे।—२ शमूएल ११:२-२७.

अब्शालोमलाई किन चोर भन्‍न सकिन्छ?

दाऊदले पछुतो गरेको कारण यहोवाले तिनलाई बाँच्न दिनुभयो। तर त्यसपछि दाऊदले धेरै समस्या भोग्नुपऱ्‍यो। जस्तै तिनको छोरा अब्शालोमले राजाको रूपमा दाऊदको ठाउँ लिन खोजे। त्यसैले मानिसहरू दाऊदलाई भेट्‌न आउँदा अब्शालोमले तिनीहरूलाई अगाँलो हाल्थे र म्वाई खान्थे। बाइबल बताउँछ: “अब्शालोमले इस्राएलीहरूका प्यार आफूतिर खिचे” अर्थात्‌ तिनीहरूको मन चोरे। दाऊदको सट्टामा आफूलाई राजाको रूपमा चुन्‍न उनले मानिसहरूलाई मनाउन सके।—२ शमूएल १५:१-१२.

आकान, दाऊद र अब्शालोमले जस्तै तिमीले कहिल्यै कुनै कुराको एकदमै चाह गरेका छौ कि?—त्यो अर्कै मानिसको हो भने उसको अनुमतिविना लिनु भनेको चोर्नु हो। सबैभन्दा पहिलो चोर सैतानले के चाह्‍यो, के तिमीलाई सम्झना छ?—हो, त्यसले मानिसहरूले परमेश्‍वरको होइन, आफ्नै उपासना गरोस्‌ भन्‍ने चाहना गऱ्‍यो। त्यसकारण आदम र हव्वालाई आफूले भनेको कुरा मान्‍न लगाएर सैतानले चोरी गऱ्‍यो।

कुनै सामान कसले प्रयोग गर्ने भनेर त्यो सामानको मालिकले मात्र भन्‍न सक्छ। उदाहरणका लागि, तिमी अरू केटाकेटीसित उनीहरूको घरमा खेल्न जान्छौ होला। तिमीले त्यहाँको सामान आफ्नो घरमा लैजान मिल्छ?—तिम्रो साथीको आमा वा बुबाले ‘हुन्छ, लैजाऊ’ भन्‍नुभयो भने मात्र तिमीले त्यो लैजान सक्छौ। तर नसोधी अरूको घरबाट कुनै सामान लैजानु भनेको चोरी हो।

तिमीलाई चोरूँ-चोरूँ जस्तो किन लाग्न सक्छ?—किनभने तिमीलाई अरूको सरसामान देखेर लोभ लाग्न सक्छ। तिमीले चोरेको अरूले नदेखे तापनि कसले चाहिं देख्नुहुन्छ?—हो, यहोवा परमेश्‍वरले देख्नुहुन्छ। अनि परमेश्‍वरले चोरी गर्नुलाई घृणा गर्नुहुन्छ भनी हामीले बिर्सनु हुँदैन। परमेश्‍वर र आफ्नो छिमेकीप्रतिको प्रेमले तिमीलाई चोर नबन्‍न मदत गर्छ।

चोरी गर्नु गलत हो भनी बाइबलले स्पष्ट पार्छ। मर्कूस १०:१७-१९; रोमी १३:९ अनि एफिसी ४:२८ पढौं है!