अध्याय २२

हामीले किन झूट बोल्नु हुँदैन?

हामीले किन झूट बोल्नु हुँदैन?

मानिलिऊ, एउटी केटीले आमालाई यसो भन्छे: “हुन्छ, म स्कूल छुट्टी हुनेबित्तिकै घर आइहाल्छु।” तर ऊ घर नआई स्कूलमै साथीहरूसित खेलेर बसिरहन्छे र पछि आमालाई यसो भन्छे: “मिसले गर्दा नै ढिलो भयो।” के आमालाई त्यसो भन्‍नु ठीक हो?—

यो केटाले के गल्ती गरेको छ?

अथवा एक जना केटाले बुबालाई यसो भन्छ: “होइन, मैले घरभित्र बल खेलेकै छैन।” तर उसले वास्तवमा खेलेको थियो भने नि? उसले खेलेकै छैन भन्‍नु ठीक हो र?—

महान्‌ शिक्षकले हामीले गर्नुपर्ने सही कुराबारे बताउनुभयो। उहाँले भन्‍नुभयो: “तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ र ‘हुँदैन’ भने ‘हुँदैन’ होस्‌, किनकि यसभन्दा बढ्‌ताचाहिं त्यस दुष्टतर्फको हो।” (मत्ती ५:३७) येशूले यसो भन्‍नुको अर्थ के थियो?—हो, हामीले जे भन्छौं, त्यही गर्नुपर्छ।

सत्य बोल्नु कत्तिको महत्त्वपूर्ण छ भन्‍नेबारे बाइबलमा एउटा कथा छ। त्यो कथा दुई जना मानिसको हो। तिनीहरूले ‘हामी येशूका चेला हौं’ भन्थे। त्यो कथामा के भयो, हामी हेरौं है!

येशूको मृत्यु भएको दुई महिना नबित्दै टाढा-टाढाबाट थुप्रै मानिस यहूदीहरूको एउटा महत्त्वपूर्ण चाड मनाउन यरूशलेम आउँछन्‌। त्यो पेन्तिकोसको चाड थियो। त्यतिबेला प्रेषित पत्रुसले एउटा राम्रो भाषण दिन्छन्‌ जसमा तिनले यहोवाद्वारा पुनर्जीवित पारिनुभएका येशूबारे मानिसहरूलाई बताउँछन्‌। यरूशलेममा आउनेहरूमध्ये थुप्रैले येशूबारे पहिलो चोटि सुन्छन्‌। अब भने उनीहरू येशूबारे अझ धेरै सिक्न चाहन्छन्‌। त्यसोभए उनीहरू के गर्छन्‌?

उनीहरू सोचेभन्दा लामो समय त्यहाँ बस्छन्‌। तर केही समयपश्‍चात्‌ उनीहरूमध्ये कसै-कसैको पैसा सिद्धिन्छ र खानेकुरा किन्‍न उनीहरूलाई मदतको खाँचो पर्छ। यरूशलेम आएका यी पाहुनाहरूलाई त्यहाँ बस्ने चेलाहरू मदत गर्न चाहन्छन्‌। त्यसैले चेलाहरूमध्ये थुप्रैले आफूसित भएको कुरा बेचेर त्यसबाट आएको पैसा येशूका प्रेषितहरूलाई दिन्छन्‌। त्यसपछि प्रेषितहरूले खाँचोमा परेकाहरूलाई त्यो पैसा दिन्छन्‌।

हननिया र तिनकी श्रीमती सफीरा जो यरूशलेम मण्डलीका सदस्य हुन्‌, तिनीहरूले आफ्नो एउटा जग्गा बेच्छन्‌। कसैले पनि तिनीहरूलाई जग्गा बेच्न भनेका थिएनन्‌। तिनीहरू आफ्नै इच्छाले त्यसो गर्छन्‌। तर तिनीहरूले जग्गा बेच्नुको कारण येशूका नयाँ चेलाहरूप्रतिको मायाले गर्दा थिएन। वास्तवमा आफूहरू त्यत्ति असल नभए तापनि हननिया र सफीरा मानिसहरूले आफूहरूबारे राम्रो सोचेको चाहन्थे। त्यसैले तिनीहरू जग्गा बेचेर आएको सबै पैसा अरूलाई मदत गर्न दिंदैछौं भनेर मानिसहरूलाई बताउने निर्णय गर्छन्‌। खासमा तिनीहरूले आफूले पाएको पैसाको केही भाग मात्र दिंदैछन्‌ तर सबै पैसा दिंदैछु भनी मानिसहरूलाई बताउँछन्‌। यसबारे तिमीलाई कस्तो लाग्छ?—

हननिया प्रेषितहरूलाई भेट्‌न आउँछन्‌। तिनले उनीहरूलाई त्यो पैसा दिन्छन्‌। पक्कै पनि, तिनले सबै पैसा दिएका छैनन्‌ भन्‍ने कुरा परमेश्‍वरलाई थाह छ। त्यसैले हननियाले ढाँटिरहेका छन्‌ भनेर परमेश्‍वरले प्रेषित पत्रुसलाई थाह दिनुहुन्छ।

हननिया पत्रुससित के झूट बोल्दैछन्‌?

त्यसपछि पत्रुस यसो भन्छन्‌: ‘ए हननिया, तिमीले सैतानलाई किन यसो गर्न दियौ? त्यो जग्गा तिम्रै थियो। त्यो तिमीले बेच्नु पर्दैनथ्यो। अनि बेचिसकेपछि पनि त्यसबाट आएको पैसा के गर्ने भन्‍ने निर्णय तिमी आफैले गर्न सक्थ्यौ। तर तिमी किन सबै पैसा दिएको ढोंग गर्छौ जबकि तिमी त्यसको केही भाग मात्र दिंदैछौ? तिमीले हामीलाई मात्र होइन तर परमेश्‍वरलाई ढाँटेका छौ।’

यो एकदमै गम्भीर कुरा हो। हननिया झूट बोल्दैछन्‌! तिनले आफूले भनिरहेको कुरा गरिरहेका छैनन्‌। तिनी केवल त्यसो गरिरहेको ढोंग गर्दैछन्‌। त्यसपछि के हुन्छ, बाइबल हामीलाई यसरी बताउँछ: ‘पत्रुसको कुरा सुनेर हननिया भुइँमा पछारिए अनि मरे।’ परमेश्‍वरले प्रहार गर्नुभएकोले नै हननिया मरेका हुन्‌! त्यसपछि तिनलाई बाहिर लगेर गाडिन्छ।

झूट बोलेकोले हननियालाई के हुन्छ?

लगभग तीन घण्टापछि सफिरा आउँछिन्‌। तर तिनको श्रीमान्‌लाई के भयो तिनलाई थाह छैन। त्यसैले पत्रुसले तिनलाई सोध्छन्‌: “मलाई भन, के तिमीहरू दुई जनाले त्यो जमिन यत्तिमै बेचेका हौ त?”

सफिरा जवाफ दिन्छिन्‌: ‘हो, हामीले त्यत्तिमै बेचेका हौं।’ तर तिनी झूट बोल्दैछिन्‌! तिनीहरूले जग्गा बेचेपछि आएको पैसाको केही भाग आफूसितै राखेका थिए। त्यसैले परमेश्‍वरले सफिरालाई पनि प्रहार गर्नुहुन्छ र तिनी मर्छिन्‌।—प्रेषित ५:१-११.

हननिया र सफिराको घटनाबाट हामी के सिक्न सक्छौं?—परमेश्‍वर झूट बोल्नेहरूलाई मन पराउनुहुन्‍न। हामीले सधैं सत्य बोलेको उहाँ चाहनुहुन्छ। तर धेरैजसो मानिस झूट बोलेर केही बिग्रिंदैन भन्‍ने गर्छन्‌। के उनीहरूको कुरा साँचो हो त?—झूट बोलेकोले नै पृथ्वीमा बिमारी, पीडा अनि मृत्युको सुरुवात भयो भन्‍ने कुरा के तिमीलाई थाह छ?—

पहिलो झूट कसले बोल्यो भनी येशूले भन्‍नुभयो र त्यसको परिणाम के भयो?

दियाबलले पहिलो स्वास्नीमान्छे हव्वासित झूट बोलेको थियो भन्‍ने कुरा सम्झ त! परमेश्‍वरले नखानू भनेको फल खाएर उहाँको आज्ञा तोडे पनि तिनी मर्नेछैनन्‌ भनेर त्यसले हव्वालाई भनेको थियो। हव्वाले त्यसको कुरा पत्याइन्‌ र फल खाइन्‌। तिनले आदमलाई पनि त्यो खान दिइन्‌। यसरी तिनीहरू पापी भए र तिनीहरूका सबै छोरीछोरी पनि पापी नै जन्मिने भए। पापी भएकोले नै तिनीहरूका सबै छोरीछोरीले दुःख पाए र मरे। सबै दुःखकष्टको सुरुवात कसरी भयो?—हो, एउटा झूटबाट।

त्यसैले त येशूले दियाबल “झूटा हो र झूटको बुबा हो” भन्‍नुभयो! सबैभन्दा पहिला त्यसले नै झूट बोलेको थियो। कसैले झूट बोल्दा उसले दियाबलले सुरुमा गरेझैं गरिरहेको हुन्छ। कुनै बेला झूट बोल्नै पर्ने जस्तो महसुस गर्दा हामीले यो कुरा याद गर्नुपर्छ।—यूहन्‍ना ८:४४.

कस्तो अवस्थामा झूट बोल्नै पर्ने जस्तो तिमीलाई लाग्न सक्छ?—कुनै गल्ती गर्दा होइन र?—नचाहँदा-नचाहँदै तिमी कुनै सामान बिगार्न सक्छौ। यो सामान कसरी बिग्रियो भनी कसैले सोध्दा ‘मैले होइन, मेरो दाइ वा भाइ अथवा मेरी दिदी वा बहिनीले बिगारेको’ भन्‍न मिल्छ र? अथवा केही थाह नपाएझैं गर्न मिल्छ?—

कस्तो अवस्थामा तिमी झूट बोल्नै पर्ने महसुस गर्न सक्छौ?

तिमीले गृहकार्य गर्नुपर्ने थियो तर त्यो पूरा सकाएका छैनौ भने नि? ‘मैले सबै सकाइसकें’ भन्‍न मिल्छ र?—हामीले हननिया र सफिरालाई सम्झनुपर्छ। तिनीहरूले केही-केही कुरा लुकाए, पूरै सत्य बोलेनन्‌। अनि तिनीहरूलाई प्रहार गर्नुभएर परमेश्‍वरले पूरै सत्य नबोल्नु कत्तिको खराब हो भनेर देखाउनुभयो।

त्यसैकारण हामी जेसुकै गरौं, यदि त्यसबारे झूट बोल्छौं भने अवस्था झनै बिग्रिन्छ। अनि हामीले आधाआधी मात्र सत्य बोल्नु हुँदैन। बाइबल बताउँछ: “सत्य बोल।” बाइबल अझै यसो पनि भन्छ: “एक-अर्कालाई नढाँट।” यहोवा सधैं सत्य बोल्नुहुन्छ र हामीले पनि सधैं सत्य बोलेको उहाँ चाहनुहुन्छ।—एफिसी ४:२५; कलस्सी ३:९.

हामीले सधैं सत्य बोल्नुपर्छ। प्रस्थान २०:१६; हितोपदेश ६:१६-१९; १२:१९; १४:५; १६:६ अनि हिब्रू ४:१३ ले यही कुरा बताउँछ।