अध्याय १७

आनन्दित हुने तरिका

आनन्दित हुने तरिका

यहोवा किन “आनन्दित परमेश्‍वर” हुनुहुन्छ?

हामी सबै आनन्दित हुन चाहन्छौं नि, होइन र?— तर थुप्रै मानिस आनन्दित छैनन्‌। किन तिमीलाई थाह छ?— किनभने तिनीहरूले आनन्दित हुने तरिका नै सिकेका छैनन्‌। थुप्रै सरसामान जोरजाम गऱ्‍यो भने आनन्दित हुन सकिन्छ भनी तिनीहरू सोच्छन्‌। तर ती सामानहरू पाइसकेपछि पनि तिनीहरू आनन्दित रहिरहन सक्दैनन्‌।

आनन्दित हुने एउटा मुख्य तरिका छ। महान्‌ शिक्षकले भन्‍नुभयो: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।” (प्रेषित २०:३५) ल अब भन त, हामी कसरी आनन्दित हुन सक्छौं?— हो, अरूलाई केही दिएर अनि तिनीहरूका लागि केही गरिदिएर हामी आनन्दित हुन सक्छौं। के तिमीलाई यो कुरा थाह थियो?—

यसबारे हामी अझै विचार गरौं है! येशूले उपहार पाउने मानिस खुसी हुनेछैन भन्‍नुभएको हो र?— अहँ, उहाँले त्यसो भन्‍नुभएको होइन। तिमीलाई अरूले उपहार दिएको मनपर्छ नि, होइन र?— हो, हामी सबैलाई मनपर्छ। राम्रो उपहार पाउँदा हामी खुसी हुन्छौं।

तर दिंदा झन्‌ धेरै आनन्दित हुन सक्छौं भनी येशूले भन्‍नुभयो। त्यसोभए मानिसहरूलाई सबैभन्दा धेरै उपहार कसले दिनुभएको छ?— हो, यहोवा परमेश्‍वरले।

परमेश्‍वरले “सबै मानिसहरूलाई जीवन, सास अनि सबै थोक दिनुहुन्छ” भनी बाइबल बताउँछ। उहाँले घाम-पानी पनि दिनुहुन्छ। घाम-पानीले गर्दा बोटबिरुवाहरू बढ्‌न सक्छन्‌ र यसरी हामी खानेकुरा पाउँछौं। (प्रेषित १४:१७; १७:२५) बाइबलमा यहोवालाई “आनन्दित परमेश्‍वर” भनी बताइएकोमा छक्क मान्‍नुपर्दैन! (१ तिमोथी १:११) हामीले अरूलाई केही दिंदा पनि परमेश्‍वर आनन्दित हुनुहुनेछ। अनि हामी आफै पनि आनन्दित हुन सक्छौं।

सबै मीठो खानेकुरा आफैले मात्र खानुको सट्टा के गऱ्‍यौ भने तिमी झनै आनन्दित हुन सक्छौ?

त्यसोभए हामी अरूलाई के दिन सक्छौं? तिमीलाई के दिऊँ जस्तो लाग्छ?— उपहार दिनको लागि कहिलेकाहीं पैसा चाहिन्छ। उपहार किन्दा तिमीले पैसा तिर्नुपर्छ। त्यसैले यदि तिमी त्यस्तो उपहार दिन चाहन्छौ भने पैसा जम्मा गर्नुपर्ने हुन सक्छ।

तर सधैं किनेर उपहार दिनुपर्छ भन्‍ने छैन। उदाहरणका लागि, चर्को घाम लागिरहेको दिनमा एक गिलास चिसो पानी पिउँदा निकै मज्जा आउँछ। त्यसैले तिर्खाएको कुनै मानिसलाई एक गिलास चिसो पानी दिन्छौ भने तिमीले अरूलाई दिंदा पाइने आनन्द महसुस गर्न सक्छौ।

कहिलेकाहीं तिमी र तिम्री आमा मिलेर मीठो खानेकुरा पकाउन सक्छौ। त्यसो गर्नु रमाइलो हुन्छ। तर ती सबै आफैले मात्र खानुको सट्टा के गऱ्‍यौ भने तिमी अझै आनन्दित हुन सक्छौ?— हो, तिमी आफ्ना साथीहरूलाई पनि अलिकति दिन सक्छौ। के तिमीलाई कहिलेकाहीं यसो गर्न मनपर्छ?—

महान्‌ शिक्षक र उहाँका प्रेषितहरूलाई अरूलाई दिंदा पाइने आनन्दबारे थाह थियो। उहाँहरूले अरूलाई के दिनुभयो, तिमीलाई थाह छ?— उहाँहरूले मानिसहरूलाई संसारकै सबैभन्दा राम्रो कुरा दिनुभयो। उहाँहरूलाई परमेश्‍वरबारे सत्य कुरा थाह थियो र त्यो सुसमाचार अरूलाई खुसीसाथ सुनाउनुभयो। अनि यो उहाँहरूले सित्तैमा गर्नुभयो।

एक दिनको कुरा हो, प्रेषित पावल र तिनका मिल्ने साथी लूकाले एउटी स्त्रीलाई भेटे। ती स्त्री पनि अरूलाई दिंदा पाइने आनन्द पाउन चाहन्थिन्‌। तिनीहरूले ती स्त्रीलाई नदीको किनारामा भेटे। त्यो प्रार्थना गर्ने ठाउँ हो भन्‍ने सुनेर पावल र लूका त्यहाँ गएका थिए। अनि हुन पनि तिनीहरू त्यहाँ पुग्दा केही स्त्रीहरू प्रार्थना गरिरहेका थिए।

पावलले ती स्त्रीहरूलाई यहोवा परमेश्‍वर र उहाँको राज्यको सुसमाचारबारे बताउन थाले। ती स्त्रीहरूमध्ये एक जनाको नाम लिडिया थियो। उनले पावलको कुरा ध्यान दिएर सुनिन्‌। त्यसपछि त्यो सुसमाचार आफूलाई असाध्यै मन पऱ्‍यो भनेर देखाउन उनले केही गर्न चाहिन्‌। त्यसैले पावल र लूकालाई उनले यस्तो बिन्ती गरिन्‌: “यदि तपाईंहरू म यहोवाप्रति वफादार छु भनी सम्झनुहुन्छ भने कृपया मेरो घरमा आएर बस्नुहोस्‌।” अनि उनले कर गरेर तिनीहरूलाई आफ्नो घर लगिछाडिन्‌।—प्रेषित १६:१३-१५.

पावल र लूकालाई लिडिया के भन्दैछिन्‌?

परमेश्‍वरका यी सेवकहरूलाई आफ्नो घरमा ल्याउन पाउँदा लिडिया एकदमै खुसी भइन्‌। पावल र लूकाले आफूलाई यहोवा र येशूबारे अनि सधैंभरि कसरी बाँच्ने भन्‍नेबारे सिक्न मदत गरेकोले उनले तिनीहरूलाई माया गरिन्‌। पावल र लूकालाई केही खाना र आराम गर्ने ठाउँ दिन पाएकोमा लिडिया खुसी भइन्‌। लिडिया साँच्चै दिन चाहन्थिन्‌। त्यसैले यसरी दिन पाउँदा उनी आनन्दित भइन्‌। हामीले पनि यो कुरा बिर्सनु हुँदैन। कोही-कोही मानिस हामीले उपहार दिनै पर्छ भन्छन्‌। तर मन नलागी-नलागी उपहार दिंदा हामी आनन्दित हुन सक्दैनौं।

पावल र लूकालाई दिन पाउँदा लिडिया किन आनन्दित छिन्‌?

उदाहरणका लागि, तिमीले मीठो चकलेट खानै लागेका छौ तर मैले त्यो चकलेट ‘अरू केटाकेटीलाई पनि देऊ न!’ भनें भने के तिमी खुसीसाथ दिन्छौ?— तर चकलेट भएको बेला आफूलाई मनपर्ने साथी भेट्यौ भनेचाहिं के गर्छौ नि? तिमी आफैले त्यो साथीलाई पनि दिन्छु भन्‍ने सोचेका हौ भने के तिमी आनन्द महसुस गर्दैनौ र?—

कहिलेकाहीं हामीलाई कुनै मानिसको यति धेरै माया लाग्छ कि हामी उसलाई आफूसित भएको सबै कुरा दिन चाहन्छौं। परमेश्‍वरप्रतिको माया बलियो हुँदै जाँदा हामीले यस्तै महसुस गर्नुपर्छ।

आफूसँग भएको सबै कुरा दिंदा यी गरिब आइमाई किन आनन्दित भइन्‌

त्यस्तै सोचाइ राख्ने एउटी गरिब आइमाईलाई महान्‌ शिक्षक चिन्‍नुहुन्थ्यो। उहाँले ती आइमाईलाई यरूशलेमको मन्दिरमा देख्नुभयो। तिनीसित दुईवटा साना सिक्काबाहेक अरू केही थिएन। तर तिनले ती दुवै सिक्का अनुदान वा उपहारको रूपमा मन्दिरको दानपात्रमा खसालिन्‌। अरूले जबरजस्ती गरेकोले तिनले त्यो खसालेकी थिइनन्‌। तिनले के गरिन्‌ भन्‍ने कुरा त्यहाँ भएका धेरैजसोले थाहै पाएनन्‌। यहोवालाई साँच्चै माया गरेको कारण तिनले आफूखुसी त्यसो गरेकी थिइन्‌। आफूले त्यसरी दिन सकेकोमा तिनी आनन्दित भइन्‌।—लूका २१:१-४.

हामीले अरूलाई विभिन्‍न तरिकामा दिन सक्छौं। केही तरिका तिमी भन्‍न सक्छौ कि?— मनदेखि नै दिएका छौं भने हामी आनन्दित हुन्छौं। त्यसैले त महान्‌ शिक्षक हामीलाई यसो भन्‍नुहुन्छ: “दिने गर।” (लूका ६:३८) त्यसो गऱ्‍यौं भने हामीले अरूलाई आनन्दित बनाइरहेका हुनेछौं। अनि सबैभन्दा धेरै आनन्दितचाहिं हामी आफै हुनेछौं!

मत्ती ६:१-४; लूका १४:१२-१४ अनि २ कोरिन्थी ९:७ बाट अरूलाई दिंदा हामी कसरी आनन्दित हुन सक्छौं भन्‍नेबारे अझै बढी सिकौं।