सीधै सामग्रीमा जाने

स्कुलमा हुने दादागिरीको सामना गर्न युवाहरूले मदत पाए

स्कुलमा हुने दादागिरीको सामना गर्न युवाहरूले मदत पाए

दस वर्षीय ह्‍युगोले हालै बेलायतको परोपकारी संस्थाबाट डायना अवार्ड पाए। तिनले आफ्नो स्कुलका साथीहरूलाई दादागिरीको (बुलिङ) सामना गर्न मदत गरेकाले यस्तो पुरस्कार पाएका थिए।

ह्‍युगो भन्छन्‌, “म यो पुरस्कारको श्रेय मुक्का नहानी दादागिरीको सामना गर्नुहोस्‌ (अङ्‌ग्रेजी) भन्‍ने ह्वाइटबोर्ड भिडियोलाई दिन चाहन्छु। jw.org मा भएको त्यो भिडियोबाट सिकेको कुराले गर्दा नै म दादागिरीसम्बन्धी सद्‌भावना राजदूत हुन सकें।”

“संसारभरका युवा र केटाकेटीहरूले हरेक दिन दादागिरीको सामना गर्नुपरेको छ . . . तर . . . यसको सामना गर्न तपाईं केही गर्न सक्नुहुन्छ।” (मुक्का नहानी दादागिरीको सामना गर्नुहोस्‌ भन्‍ने भिडियोबाट साभार गरिएको)

ह्‍युगोले उक्‍त भिडियो सुरुमा आफ्ना शिक्षकहरूलाई देखाए। शिक्षकहरूलाई भिडियो मन पऱ्‍यो अनि उनीहरूले सबै विद्यार्थीलाई jw.org वेबसाइट देखाउने प्रबन्ध मिलाए। अहिले ह्‍युगोको स्कुलका आठदेखि दस वर्षका थुप्रै विद्यार्थी नियमित रूपमा jw.org चलाउँछन्‌। यो वेबसाइटले तिनीहरूलाई दादागिरीजस्ता समस्याको सामना गर्न मात्र मदत गरेको छैन, कसरी साँचो मित्र बनाउने? जस्ता प्रश्‍नहरूको जवाफ भेट्टाउन पनि मदत गरेको छ।

व्यावहारिक सुझावबाट युवाहरू लाभ उठाउँछन्‌

बेलायतको अर्को स्कुलमा आठ वर्षीय एलाइजा दादागिरीको सिकार भएका थिए। तिनी र तिनको परिवारले मुक्का नहानी दादागिरीको सामना गर्नुहोस्‌ भन्‍ने भिडियो हेरे। दादागिरीको सिकार हुँदा के भन्‍ने र के गर्ने भनेर तिनीहरू सबै मिलेर अभ्यास गरे। यस्तो अभ्यासले समस्यासित डट्‌न एलाइजाको आत्मबल बढायो। पछि दादागिरी विरोध सप्ताहको बेला हेड सरले पूरै स्कुललाई उक्‍त भिडियो देखाए।

दादागिरी देखाउने समस्या बेलायतमा मात्र नभई संसारभरि नै छ। यो भिडियोले सबै युवाहरूलाई मदत गरिरहेको छ।

अमेरिकाकी दस वर्षीया आइभीले पनि यस्तै समस्याको सामना गर्नुपऱ्‍यो। उनी दादागिरी गर्ने साथीसित डराउँथिन्‌। मुक्का नहानी दादागिरीको सामना गर्नुहोस्‌ भन्‍ने भिडियो हेरेपछि उनले ती केटीको सामना गर्ने आँट गरिन्‌। यसबारे उनले आफ्नो शिक्षकसित कुरा गरिन्‌ र तिनीबाट पनि मदत पाइन्‌। दादागिरी गर्ने उनको सहपाठीले उनीसित माफी मागिन्‌। अहिले दुई जनाबीच राम्रो सम्बन्ध छ।

यहोवाका साक्षीहरू युवाहरूको हितमा चासो लिन्छन्‌। हामी तिनीहरूको लागि मदतकारी हुने व्यावहारिक जानकारी प्रकाशन गरिनै रहनेछौं जसले तिनीहरूलाई दादागिरीजस्तो दिनहुँ आइपर्ने समस्याको सामना गर्न मदत गर्नेछ।