वारविक फोटो ग्यालरी भाग ७ (सेप्टेम्बर २०१६ देखि फेब्रुअरी २०१७ सम्म)
यहोवाका साक्षीहरूको नयाँ मुख्यालयको निर्माणकार्य सम्पन्न भइसकेको छ अनि स्वयम्सेवकहरूले ती भवनहरू प्रयोग गर्न थालिसकेका छन्। सेप्टेम्बर २०१६ र फेब्रुअरी २०१७ को बीचमा के-कस्ता कामहरू गरियो, यस फोटो ग्यालरीमा हेर्नुहोस्।
वारविकको निर्माणकार्य सम्पन्न भएको फोटो। माथि बायाँदेखि घडी घुम्ने दिशामा:
१. सवारीसाधन मर्मत भवन
२. घुम्न आउनेहरूको पार्किङ् भवन
३. मर्मतकार्य गरिने भवन/आवासमा बस्नेहरूको पार्किङ्
४. ‘ख’ आवास
५. ‘घ’ आवास
६. ‘ग’ आवास
७. ‘क’ आवास
८. कार्यालय/सेवा भवन
सेप्टेम्बर ८, २०१६—वारविक निर्माणस्थल
वारविक मुख्यालयका सबै भवन अहिले प्रयोगमा छन्। सेप्टेम्बरको सुरुतिर निर्माणकार्यका स्वयम्सेवकहरू र ब्रूक्लिनका सदस्यहरू गरी लगभग ५०० जनाजति वारविकमा सेवा गरिरहेका थिए।
सेप्टेम्बर २०, २०१६—कार्यालय/सेवा भवन
“यहोवाको नामको लागि छानिएका मानिसहरू” प्रदर्शनी कक्षको प्रवेशद्वारको भित्तामा राखिएका टाइलहरू कत्तिको टल्किएका छन् भनेर निरीक्षण गर्दै एक कामदार। यस प्रदर्शनीले ऐतिहासिक समयबारे बताउने भएकोले यी टाइलहरू पुराना देखिऊन् भनेर विशेष ध्यान दिइयो।
सेप्टेम्बर २८, २०१६—कार्यालय/सेवा भवन
यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य स्टिफन लेट्त्यस दिनको बिहानको उपासनाको चेयरम्यान हुनुहुन्थ्यो, जुन वारविकबाट पहिलो पटक प्रसारण गरिएको थियो। त्यस बिहान भाइ लेट्ले मुख्यालयको निर्माणकार्यमा भाग लिएका र यस कार्यमा कुनै न कुनै तरिकामा सघाएका २७,००० स्वयम्सेवकप्रति कृतज्ञता ज्ञापन गर्न चिठी पढ्नुभयो।
अक्टोबर ३, २०१६—कार्यालय/सेवा भवन
एक सिकर्मी “यहोवाको नामको लागि छानिएका मानिसहरू” प्रदर्शनी कक्षको मुख्य प्रवेशद्वारमा राखिने बोर्डमा अक्षर टाँस्दै। यस प्रदर्शनीले यहोवाका साक्षीहरूको सन् १८७० को दशकदेखि अहिलेसम्मको आधुनिक इतिहास झल्काउँछ।
अक्टोबर ५, २०१६—कार्यालय/सेवा भवन
लेखन समितिका सदस्यहरू आफ्ना सहायकहरूसित र लेखन विभागका सदस्यहरूसित छलफल गर्दै। त्यहाँ भएका ठूला स्क्रिनहरूमा भविष्यमा प्रकाशित हुने प्रकाशनहरूमा प्रयोग गरिने चित्र तथा तस्बिर देखिन्छ अनि अरू भवनमा भएका विभागहरूका भाइहरूसित कुराकानी गर्न पनि यी स्क्रिनहरू प्रयोग गरिन्छ। यहाँ भएको टेबुल हामीले केही वर्षअघि अनुदानमा पाएका थियौँ र यसलाई ब्रूक्लिनबाट वारविक ल्याइएको हो।
अक्टोबर २०, २०१६—कार्यालय/सेवा भवन
संयोजन समितिका एक जना सहायक अनि त्यस समितिअन्तर्गत काम गर्ने अरू सदस्यहरू सुपर टाइफुन हाइमा (लाविन) नामको शक्तिशाली आँधीको चपेटामा परेकाहरूलाई कसरी मदत गर्ने भनेर छलफल गर्दै। अघिल्लो दिन मात्रै त्यस आँधीले फिलिपिन्समा ठूलो क्षति पुऱ्याएको थियो। भिडियो-कनफेरेन्सिङ उपकरणले गर्दा मुख्यालयका विभागले त्यस्तो आकस्मिक अवस्थामा तुरुन्तै संसारभरका शाखा कार्यालयहरूसित सम्पर्क गर्न अनि आवश्यक प्रबन्ध मिलाउन सकेका छन्।
अक्टोबर २८, २०१६—मर्मतकार्य गरिने भवन/आवासमा बस्नेहरूको पार्किङ्
यस पोखरीले मर्मतकार्य गरिने भवन र मुख्य प्रवेश बाटोलाई छुट्ट्याएको छ। वारविकमा भएका यो र अरू पोखरीहरूको पानीबाट फोहोर-मैला हटाएर सफा राख्न प्राकृतिक तरिका अपनाइन्छ। यो तरिका अपनाएकोले जल निकासी प्रणाली जडान गर्न लाग्ने खर्चमा ५० प्रतिशत कम गर्न सकिएको छ। साथै यसरी सफा पारिएको पानी खोलामा मिसिँदा त्यसवरपरका जीवजन्तु तथा वनस्पतिलाई फाइदा पुगेको छ।
नोभेम्बर ४, २०१६—कार्यालय/सेवा भवन
केही भाइहरू सामानहरू ओसार्दै। मुख्यालयका सदस्यहरूलाई ब्रूक्लिनबाट वारविकमा भएको नयाँ आवासमा सार्न लगभग ८० जना कामदारहरूले मदत गरे।
डिसेम्बर १४, २०१६—कार्यालय/सेवा भवन
पीठो मिश्रण गर्ने भाँडाबाट मुछिएको पीठोको ठूलो डल्लो बेन्चमा झार्दै। ४५ केजीभन्दा धेरै तौलको पीठो मुछ्नुपर्ने भएकोले यस्तो किसिमको भाँडामा सजिलै र सुरक्षित तरिकामा मुछ्न सकिन्छ। वारविकको बेकरीमा रिटार्डर/प्रुफर भन्ने उपकरण पनि छ र त्यस उपकरणको तापक्रम र आर्द्रता आवश्यकताअनुसार थप-घट गरेर पीठोलाई खमिरा बनाउन सकिन्छ। कम जनशक्ति प्रयोग गरेर यस स्वचालित उपकरणमा हरेक हप्ता सयौँ पाउरोटी बनाउन सम्भव भएको छ।
डिसेम्बर १४, २०१६—मर्मतकार्य गरिने भवन/आवासमा बस्नेहरूको पार्किङ्
बिल्डिङ सर्भिसेसका सदस्यहरूले मर्मतकार्य गरिने भवनबाट फोहोरको डङ्गुर बाहिर लैजाँदै। वारविकका प्रायजसो भवनहरू एकअर्कासित जोडिएका छन् तर ब्रूक्लिनका भवनहरू यस्ता थिएनन्। यसले गर्दा थोरै जनशक्ति र गाडी प्रयोग गरेर फोहोर र प्रशोधन गर्न सकिने वस्तुहरू व्यवस्थापन गर्न सजिलो भएको छ।
डिसेम्बर १४, २०१६—कार्यालय/सेवा भवन
खुम्चिएको सर्टलाई पानीले भिजाइँदै छ। यसलाई युनिभर्सल फर्म फिनिसरमा राखेर आइरन गरिन्छ। वारविकको लन्ड्री विभागले हरेक हप्ता लगभग ५ हजार केजी लुगा धुन्छ। यी लुगाहरू छ्यासमिस नहोस् भनेर यसमा बार-कोड लेबल लगाइएको छ। यी लेबलहरू लन्ड्रीको विभिन्न ठाउँहरूमा स्क्यान गरिन्छ अनि ठीक-ठीक विभाग र कोठामा पुऱ्याइन्छ।
डिसेम्बर २०, २०१६—मर्मतकार्य गरिने भवन/आवासमा बस्नेहरूको पार्किङ्
एक जना मिस्त्री लिफ्ट जाँच्दै र त्यसको मर्मतसम्भार गर्दै। यो कामले सामान दुरुस्त राख्न र सुरक्षितसाथ प्रयोग गर्न मदत गर्छ।
जनवरी १०, २०१७—कार्यालय/सेवा भवन
“विश्वास कामद्वारा देखाउँछन्” प्रदर्शनीको लागि डिस्प्ले गर्ने कम्प्युटर एप्लिकेशनको त्रुटि सुधार्दै एक कम्प्युटर विज्ञ।
जनवरी ११, २०१७—कार्यालय/सेवा भवन
सन् १९०३ मा बनिएको साइकल प्रदर्शनीको लागि तयार गर्दै सिकर्मीहरू। अनुदान दिइएको यो साइकल वारविकको “यहोवाको नामको लागि छानिएका मानिसहरू” प्रदर्शनीमा राखिनेछ। यसले बाइबल विद्यार्थीहरूले (अहिले यहोवाका साक्षी भनिन्छ) गरेको मेहनत र त्याग झल्काउँछ किनकि यिनीहरूले बाइबलको सन्देश फैलाउन यस्ता साधनहरू प्रयोग गरेका थिए।
जनवरी १२, २०१७—कार्यालय/सेवा भवन
“सृष्टिसम्बन्धी फोटो-चलचित्र”-सित सम्बन्धित सामानहरू प्रदर्शनमा राख्ने ठाउँको शीशा जडान गर्दै सिकर्मीहरू। यो रङ्गीन चित्र र छोटा दृश्यहरू भएको चलचित्र हो, जुन सन् १९१४ मा पहिलो पटक देखाइएको थियो अनि त्यस वर्ष लगभग ९० लाख मानिसले त्यो हेरेका थिए।
जनवरी १२, २०१७—कार्यालय/सेवा भवन
जुरिक ल्याटिन बाइबलको सन् १५४४ को संस्करणलाई “बाइबल र परमेश्वरको नाम” प्रदर्शनीमा राख्न ग्राफिक आर्टिस्ट (छपाइको लागि डिजाइन गर्ने व्यक्ति) र आर्किभिस्टहरू (पुराना चिजबिजहरू सँभालेर राख्ने व्यक्ति) काम गर्दै। बाइबलमा देखिएको रातो बाण चिन्हले परमेश्वरको नाम यहोवालाई देखाउँछ। आर्किभिस्टहरू पुराना बाइबलहरू संरक्षण गर्न होसियार भई काम गर्छन्। उदाहरणको लागि, पानाहरू जोगाउन पोलिस्टरको पातलो झिल्ली लगाइन्छ, यो ग्यालरी तापक्रम र आर्द्रता नियन्त्रित ठाउँ हो अनि नाजुक पानाहरू बिग्रिन नदिन फाइबर-अप्टिक लाइटिङलाई पनि मिलाएर राखिएको छ।
जनवरी १६, २०१७—कार्यालय/सेवा भवन
पाहुनाहरू २३ मिटर अग्लो हाम्रो टावरबाट वारविक परिसरका भवनहरू अवलोकन गर्दै। आफै घुम्न सकिने यस प्रदर्शनीको बुकिङ अनि वारविकका भवनहरूमा घुम्ने प्रबन्ध सन् २०१७ को अप्रिल ३ देखि खुला भयो। भ्रमण गर्न चाहनेहरूले भ्रमणको लागि अनलाइन रिजर्भ गर्नुपर्छ र यो हाम्रो वेबसाइटको हाम्रो बारेमा > कार्यालय तथा भ्रमण अन्तर्गत गर्न सकिन्छ।
जनवरी १९, २०१७—कार्यालय/सेवा भवन
आर्किभिस्टले सन् १६११ को किङ जेम्स भर्सन बाइबल प्रदर्शनीमा राख्दै। यो बाइबल किङ जेम्स भर्सन-को पहिलो संस्करण हो अनि अहिले हतपती पाइँदैन। वारविकमा काम गर्नेहरूले यो बाइबल प्रदर्शनीमा राख्न विशेष तरिकामा डिजाइन गरेर ठाउँ तयार पारेका हुन्।
जनवरी १९, २०१७—कार्यालय/सेवा भवन
टोपी प्रदर्शनीमा राख्दै ग्राफिक आर्टिस्ट। यो टोपी जोसेफ एफ. रदरफोर्डको हो। उहाँले सय वर्षअघि यहोवाका साक्षीहरूमाझ नेतृत्व लिनुभएको थियो। यो ग्यालरी “यहोवाको नामको लागि छानिएका मानिसहरू” प्रदर्शनीको भाग हो र यसले परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न सुरुसुरुका साक्षीहरूले गरेको मेहनत झल्काएको छ।
जनवरी २०, २०१७—कार्यालय/सेवा भवन
अडियो रेकर्डिङ टिमको मदत लिएर आफै घुम्न सकिने “बाइबल र परमेश्वरको नाम” प्रदर्शनीको लागि रेकर्डिङ गरिँदै। यो स्टुडियो र अरू सरसामानहरू ब्रूक्लिनबाट वारविकमा ल्याइयो। सार्न र मिलाउन लगभग एक हप्ताभन्दा लामो समय लाग्यो अनि त्यसपछि यहाँ काम सुरु भयो। यो स्टुडियोमा (प्याटर्सनको वाचटावर शैक्षिक केन्द्रमा रहेको मुख्य रेकर्डिङ स्टुडियोको भागमा) अङ्ग्रेजी भाषाको नयाँ संसार अनुवाद, प्रहरीधरहरा, ब्यूँझनुहोस्!, jw.org का लेखहरू अनि अन्य प्रकाशनहरूको रेकर्डिङ गरिन्छ।
जनवरी २७, २०१७—कार्यालय/सेवा भवन
फोटोहरू राखिएको डिस्प्लेको छेउमा रङ लगाउँदै सहायक सिकर्मी। यी फोटोहरू तीन-आयामिक (3D) तरिकामा राखिएका छन्, जुन “यहोवाको नामको लागि छानिएका मानिसहरू” प्रदर्शनीको भाग हो। यहाँ १९ औँ शताब्दीका बाइबल विद्यार्थीहरूको ऐतिहासिक फोटोहरू हेर्न पाइन्छ।
फेब्रुअरी १५, २०१७—कार्यालय/सेवा भवन
मनिषको नमुना आकृतिमा रङ लगाउँदै एक कलाकार। मनिष यहोवाको साथी बनौँ भिडियो शृङ्खलाको पात्र हो। यसलाई ग्यालरीमा राखिनेछ। यस प्रदर्शनीले यहोवाका साक्षीहरूले केटाकेटीहरूको लागि तयार पारेका सामग्री तथा कार्यक्रममा जोड दिनेछ।
फेब्रुअरी १५, २०१७—कार्यालय/सेवा भवन
“यहोवाको नामको लागि छानिएका मानिसहरू” प्रदर्शनीको लागि फोटोहरू र विभिन्न चिन्हहरू काट्दै एक सिकर्मी। यी तीनै वटा प्रदर्शनीको आयोजना गर्न २५० भन्दा धेरै मानिसहरूले काम गरे। तिनीहरू कामको सुरुदेखि अन्तसम्मै खटे। क्याबिनेट बनाउने, बिजुलीको काम गर्ने, टाइल राख्ने अनि भिडियो खिँच्ने मानिसहरूका साथै कम्प्युटर प्रोग्रामर, डिजाइनर अनि लेखकहरूले यस काममा भाग लिए।

