बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
“म पहिलाजस्तो रिसाहा स्वभावको छैनँ”
जन्म मिति: १९७३
जन्म स्थान: युगाण्डा
पृष्ठभूमि: हिंस्रक र जँड्याहा
मेरो विगत
मेरो जन्म युगाण्डाको गोम्बा जिल्लामा भयो। त्यहाँका प्रायजसो मानिस असाध्यै गरिब थिए। हाम्रो गाउँमा बिजुली थिएन। त्यसैले हामी राती लालटिन बाल्थ्यौँ।
मेरो आमाबुबा खेतीकिसानी गर्नुहुन्थ्यो र उहाँहरू युगाण्डाबाट रूवाण्डा सर्नुभएको थियो। उहाँहरूले कफी र केरा खेती गर्नुहुन्थ्यो अनि केराबाट त्यहाँको एकदमै लोकप्रिय रक्सी ‘वारागी’ बनाउनुहुन्थ्यो। उहाँहरूले कुखुरा, बाख्रा, बङ्गुर र गाई पाल्नुभएको थियो। मेरो रहनसहन र पृष्ठभूमिले गर्दा श्रीमतीले सधैँ आफ्नो श्रीमान्ले भनेको मान्नुपर्छ र तिनले कहिल्यै आफ्नो विचार व्यक्त गर्नु हुँदैन भनेर सोच्थेँ।
तेइस वर्षको छँदा म रूवाण्डामा बसाइँ सरेँ। त्यहाँ म आफ्नै उमेरका साथीहरूसित डान्स क्लबहरूमा जान्थेँ। एउटा डान्स क्लबमा त म यत्ति धेरै जान्थेँ कि पछिपछि त त्यहाँको म्यानेजरले मलाई सित्तैँमा भित्र जान दिन्थे। मलाई मारकाटले भरिएको फिल्म हेर्न खुबै रमाइलो लाग्थ्यो। म हुर्केको वातावरण अनि मनोरञ्जनले गर्दा म असाध्यै हिंस्रक र जँड्याहा भएँ।
सन् २००० देखि म स्कोलास्टिक काबाग्विरा भन्ने केटीसित बस्न थालेँ र हाम्रो तीन जना छोराछोरी पनि भयो। अनि मैले सानैदेखि सिकेजस्तै उसले मलाई अभिवादन गर्दा वा मसित केही कुरा माग्दा घुँडा टेकेको चाहन्थेँ। मलाई हाम्रो परिवारसित भएको सबै कुरा मेरो सम्पत्ति हो र त्यसलाई आफूले चाहेजसरी चलाउन पाउँछु भन्ने सोचाइ राख्थेँ। म राती घरबाट निस्कन्थेँ र बिहान ३ बजेतिर प्रायजसो मात्तिएर फर्कन्थेँ। मैले ढोका ढकढक्याउँदा स्कोलास्टिकले खोल्न ढिला गरी भने म उसलाई पिट्ने गर्थेँ।
त्यतिबेला म एउटा सेक्युरिटी कम्पनीमा सुपरभाइजरको रूपमा काम गर्थेँ र तलब पनि राम्रै थियो। स्कोलास्टिकले म सुध्रिएला भन्ने आसमा मलाई पेन्टिकोस्टल चर्च जान कर गर्न थाली। तर मलाई त्यसमा कुनै चासो थिएन। त्यही समयतिर म अर्की केटीसित नजिक हुन थालेँ। मेरो रिसाहा स्वभाव र अनैतिक आचरणले गर्दा स्कोलास्टिक माइत गएर बस्न थाली र तीन जना छोराछोरीलाई पनि सँगै लगी।
हाम्रो एक जना पाको साथीले मलाई खराब आनीबानी त्याग्न सल्लाह दिए। तिनले मलाई स्कोलास्टिकसँगै बस्न प्रोत्साहन दिए। ‘तिमीले आफ्नो छोराछोरीलाई त्यसरी आफूबाट अलग राख्नु हुँदैन’ भनेर तिनले मलाई सम्झाए। त्यसैले २००५ मा मैले रक्सी खान छोडेँ र अर्की केटीलाई छोडेर स्कोलास्टिकसँगै बस्न थालेँ। हामीले २००६ मा विवाह गऱ्यौँ। तैपनि मेरो रिसाहा स्वभाव जस्ताको तस्तै थियो र म आफ्नी श्रीमतीलाई अझै पनि दुर्व्यवहार गर्ने गर्थेँ।
बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?
सन् २००८ मा जोएल नाम गरेका एक यहोवाका साक्षी मेरो घरमा आउनुभयो र मलाई बाइबलबारे बताउनुभयो। केही महिनासम्म उहाँ र बोनाभेन्चर भन्ने अर्को साक्षी मेरो घरमा नियमित रूपमा आउनुभयो। म उहाँहरूसित वादविवाद गर्थेँ। मैले उहाँहरूलाई थुप्रै प्रश्न सोधेँ, विशेषगरि प्रकाशको किताबबारे। तर वास्तवमा मेरो उद्देश्य साक्षीहरूलाई गलत ठहराउनु थियो। जस्तै, प्रकाश ७:९ मा “ठूलो भीड . . . [परमेश्वरको] सिंहासन र पाठोको [येसु ख्रिष्ट] अगाडि” उभिरहेको छ भनेर बताइएको छ। तर साक्षीहरूले चाहिँ ठूलो भीड भनेको पृथ्वीमा जीवन पाउने मानिसहरू हुन् भनेर सिकाउँथे। यसो भन्न सक्नुको आधार के छ भनेर मैले उहाँहरूलाई सोधेँ। जोएलले झिजो नमानी मेरा प्रश्नहरूको जवाफ दिनुभयो। जस्तै, उहाँले मलाई यसैया ६६:१ देखाएर यो पृथ्वी परमेश्वरको “पाउदान” हो भनेर बताउनुभयो। यो कुरा विचार गर्दा ठूलो भीड वास्तवमै पृथ्वीमा परमेश्वरको सिंहासनअगाडि उभिरहेको छ भनेर मैले बुझेँ। अनि भजन ३७:२९ बाट धर्मीहरू पृथ्वीमा सधैँभरि बाँच्नेछन् भनेर थाह पाएँ।
आखिरमा म बाइबल अध्ययन गर्न राजी भएँ। त्यसैले बोनाभेन्चरले स्कोलास्टिक र मलाई बाइबल अध्ययन गराउन थाल्नुभयो। अध्ययन गर्दै जाँदा मैले जीवनमा छाँटकाँट गर्ने हौसला पाएँ। मैले श्रीमतीलाई आदर गर्न सिकेँ र मलाई अभिवादन गर्दा वा केही माग्नुपर्दा घुँडा टेक्नुपर्दैन पनि भनेँ। मैले हाम्रो परिवारसित भएको सबै कुरा मेरो सम्पत्ति हो भन्न पनि छोडेँ। मैले हिंस्रक फिल्महरू पनि हेर्न छोडेँ। यस्तो छाँटकाँट गर्न सजिलो थिएन। यसको लागि मैले आफूमा आत्मसंयम र नम्रता विकास गर्नुपऱ्यो।
बाइबलले मलाई असल श्रीमान् बन्न मदत गऱ्यो
यसको केही वर्षअघि मैले हाम्रो जेठो छोरा क्रिष्टियनलाई युगाण्डामा आफन्तको बस्न पठाएको थिएँ। तर व्यवस्था ६:४-७ पढेपछि छोराछोरीको हेरविचार गर्ने जिम्मेवारी हाम्रो हो र त्यसमा तिनीहरूलाई परमेश्वरका स्तरहरू सिकाउनु पनि समावेश छ भनेर हामीले बुझ्यौँ। छोरालाई घर फर्काएर ल्याउँदा छोरा र हामी श्रीमान्-श्रीमती पनि खुसी भयौँ।
मैले कसरी लाभ उठाएको छु?
मैले यहोवा कृपालु परमेश्वर हुनुहुन्छ भनेर सिकेको छु अनि मेरो गलत मनोवृत्ति र आचरणको लागि उहाँले मलाई क्षमा दिइसक्नुभयो भन्ने कुरामा मलाई पूरा विश्वास छ। मेरी श्रीमती स्कोलास्टिक पनि मसँगै बाइबल अध्ययन गर्न राजी हुँदा म धेरै खुसी भएँ। हामीले यहोवालाई आफ्नो जीवन समर्पण गऱ्यौँ अनि डिसेम्बर ४, २०१० मा सँगै बप्तिस्मा गऱ्यौँ। अहिले हामी एकअर्कालाई भरोसा गर्छौँ अनि परिवारमा बाइबल सिद्धान्तहरू लागू गर्छौँ। अहिले म कामबाट सीधै घर फर्किन्छु। म उसलाई दयालु र आदरपूर्ण तरिकामा व्यवहार गर्छु अनि मैले रक्सी खान पनि छोडिसकेको छु। अनि म पहिलाजस्तो रिसाहा स्वभावको छैनँ। यस्तो परिवर्तन देखेर मेरी श्रीमती धेरै खुसी छे। सन् २०१५ मा म मण्डलीमा एल्डर नियुक्त भएँ। हाम्रो पाँच जना छोराछोरीमध्ये तीन जनाले बप्तिस्मा गरिसकेका छन्।
यहोवाका साक्षीहरूसित अध्ययन गर्न थालेपछि मैले तिनीहरूले सिकाएको सबै कुरा अन्धाधुन्ध विश्वास गरिनँ। बरु तिनीहरूले मेरा प्रश्नहरूको बाइबलबाटै जवाफ दिएको कुरा मलाई धेरै मन पऱ्यो। स्कोलास्टिक र मैले साँचो परमेश्वरको सेवा गर्नेहरू उहाँको स्तरअनुसार चल्नुपर्छ र त्यसलाई हल्कासित लिनु हुँदैन भन्ने कुरा बुझ्यौँ। यहोवाले मलाई आफ्नो सङ्गठनमा खिच्नुभएकोमा र उहाँको परिवारको भाग बन्ने सुअवसर दिनुभएकोमा म उहाँप्रति निकै आभारी छु। मेरो जीवनलाई फर्केर हेर्दा मैले के कुरा बुझेको छु भने यहोवाको मदत पाएर जो-कोहीले पनि जीवनमा आवश्यक छाँटकाँट गर्न सक्छन् र यहोवालाई खुसी बनाउन सक्छन्।