सीधै सामग्रीमा जाने

वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी के हो?

वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी के हो?

 सन्‌ १८८४ मा अमेरिकाको कमनवेल्थ अफ पेन्सिलभेनिया कानुनअन्तर्गत स्थापना भएको वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिलभेनिया एउटा संस्था हो। यो मुनाफा कमाउने उद्देश्‍यले स्थापना भएको संस्था होइन। यस संस्थालाई यहोवाका साक्षीहरूले संसारभर आफ्नो गतिविधि सञ्चालन गर्न प्रयोग गरेका छन्‌ जसमा बाइबल तथा बाइबलआधारित साहित्यहरू प्रकाशन गर्ने काम पनि पर्छ।

 यस संस्थाको बडापत्रअनुसार यसको उद्देश्‍य “धार्मिक, शैक्षिक र परोपकारी” सेवा दिनु हो। विशेषगरि “येशू ख्रीष्टको अधीनमा भएको परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नु र त्यसबारे सिकाउनु” यसको उद्देश्‍य हो। निम्तो पाएकाहरू मात्र यस संस्थाको सदस्य हुन सक्छन्‌; धेरै अनुदान दिनेहरू होइन। संस्थाका सदस्यहरू र निर्देशकहरूले यहोवाका साक्षीहरूको परिचालक निकायलाई सहयोग गर्छन्‌।

अन्य कानुनी संस्था

 वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिलभेनियाबाहेक विभिन्‍न देशमा यहोवाका साक्षीहरूका अन्य थुप्रै कानुनी संस्था छन्‌। ती संस्थाहरूको नाममा “वाच टावर,” “वाचटावर” अथवा यीमध्ये एउटाको अनुवाद प्रयोग गरिएको छ।

 यी संस्थाहरू स्थापना भएदेखि नै यसले विभिन्‍न काम सुचारु ढङ्‌गमा अघि बढाउन मदत गरेको छ। जस्तै:

  •   लेखन तथा प्रकाशन। हामीले लगभग २५ करोड ३० लाख बाइबल प्रकाशन गरेका छौं। हाम्रा प्रकाशनहरू १,०५० भन्दा धेरै भाषामा उपलब्ध छन्‌। हाम्रो वेबसाइट jw.org मा ३०० भन्दा धेरै भाषामा निश्‍शुल्क रूपमा अनलाइन बाइबल पढ्‌न सकिन्छ अनि “परमेश्‍वरको राज्य के हो?” जस्ता प्रश्‍नहरूको बाइबलआधारित जवाफ पनि पाइन्छ।

  •   शिक्षा। हामी बाइबलका शिक्षा सिकाउने विभिन्‍न स्कुल सञ्चालन गर्छौं। उदाहरणको लागि, सन्‌ १९४३ देखि १० हजारभन्दा धेरै यहोवाका साक्षीहरूले गिलियड स्कुलको विशेष तालिमबाट लाभ उठाएका छन्‌। यो तालिमले गर्दा तिनीहरूले मिसनरीको रूपमा सेवा गर्न सकेका छन्‌ अथवा हाम्रो विश्‍वव्यापी कार्यलाई सुदृढ बनाउन र टेवा पुऱ्‍याउन सकेका छन्‌। साथै हरेक हप्ता यहोवाका साक्षीहरूलगायत लाखौं मानिसहरू मण्डलीका सभाहरूमा उपस्थित हुन्छन्‌ र निर्देशन पाउँछन्‌। हामी साक्षरता कक्षा पनि सञ्चालन गर्छौं अनि विद्यार्थीलाई लेखपढ गर्न सिकाउन हामीले १३६ भाषामा पाठ्यपुस्तक पनि उपलब्ध गराएका छौं।

  •   परोपकारी कार्य। मानिसहरूले गर्दा निम्तिएको विपत्तिमा परेकाहरू हुन्‌ या प्राकृतिक विपत्तिमा परेकाहरू, हामीले उनीहरूलाई भौतिक सहयोग गरेका छौं। जस्तै: सन्‌ १९९४ मा रूवाण्डामा जातीय संहार हुँदा अनि सन्‌ २०१० मा हाइटीमा गएको भूकम्पजस्ता प्राकृतिक प्रकोपको बेला हामीले मानिसहरूलाई मदत गरेका थियौं।

 हुन त हाम्रा संस्थाहरूमार्फत हामीले थुप्रै काम गर्न सकेका छौं तर हामीले गर्ने सबै काम यी संस्थाहरूमा मात्र निर्भर छैन। प्रचार गर्ने र सिकाउने जिम्मेवारी परमेश्‍वरबाट पाएका हौं अनि यो हरेक ख्रीष्टियनको आफ्नै दायित्व हो। (मत्ती २४:१४; २८:१९, २०) परमेश्‍वरले हाम्रो काममा साथ दिइरहनुभएको छ र यसलाई बढाइरहनुभएको छ भन्‍ने कुरामा हामी ढुक्क छौं।—१ कोरिन्थी ३:६, ७.