यहोवाका साक्षीहरूको परिचालक निकाय भनेको के हो?
परिचालक निकाय भनेको परिपक्व ख्रिष्टियनहरूको एउटा सानो समूह हो, जसले विश्वभरिका यहोवाका साक्षीहरूलाई निर्देशन दिन्छ। यस निकायले यी दुई वटा काम गर्छ:
यस निकायले यहोवाका साक्षीहरूको प्रकाशन, सभा तथा स्कुलहरूमार्फत दिइने बाइबलआधारित निर्देशन तयारी गर्ने कामको निरीक्षण गर्छ।—लुका १२:४२.
प्रचारकार्यको नेतृत्व लिएर अनि प्राप्त भएका अनुदानहरू के-कसरी प्रयोग गर्ने भन्ने कुराको निरीक्षण गरेर यस निकायले यहोवाका साक्षीहरूको विश्वव्यापी कामको रेखदेख गर्छ।
प्रथम शताब्दीमा “यरुसलेममा भएका प्रेषित र एल्डरहरू”-ले सम्पूर्ण मण्डलीको लागि महत्त्वपूर्ण निर्णय गर्थे र आज परिचालक निकायले त्यही नमुना पछ्याउँछ। (प्रेषित १५:२) प्रथम शताब्दीका ती वफादार पुरुषहरू नेता नभएजस्तै परिचालक निकायका सदस्यहरू पनि हाम्रो सङ्गठनको नेता होइनन्। यहोवा परमेश्वरले येसु ख्रिष्टलाई मण्डलीको शिरको रूपमा नियुक्त गर्नुभएको छ भन्ने कुरा स्विकार्दै तिनीहरू डोऱ्याइको लागि बाइबलमा भर पर्छन्।—१ कोरिन्थी ११:३; एफिसी ५:२३.
परिचालक निकायका सदस्यहरू को-को हुन्?
परिचालक निकायका सदस्यहरू यी हुन्: केनेथ कुक जुनियर, गेज फ्लिगल, गेरिट लोश, जेकब रम्फ, जेफ्रि ज्याक्सन, जेफ्रि विन्डर, जोडि जेड्लि, डेभिड स्प्लेन, मार्क स्यान्डर्सन, स्टिफन लेट् र स्यामुएल हर्ड। यी भाइहरू अमेरिकाको न्यु योर्कस्थित वारविकमा भएको हाम्रो मुख्यालयमा सेवा गर्छन्।
परिचालक निकायको संरचना कस्तो छ?
परिचालक निकायले हाम्रो कामको विभिन्न पक्षको निरीक्षण गर्न छ वटा समिति गठन गरेको छ; प्रत्येक सदस्यले यीमध्ये एक वा सोभन्दा धेरै समितिमा सेवा गर्छन्।
प्रकाशन समिति: बाइबलआधारित प्रकाशनको उत्पादन र ढुवानीसित सम्बन्धित कामको सुपरिवेक्षण गर्छ अनि सभाभवन, अनुवाद कार्यालय र शाखा कार्यालयको निर्माणसम्बन्धी गतिविधिको निरीक्षण गर्छ।
लेखन समिति: छापिएका प्रकाशनहरू र हाम्रो वेबसाइटमार्फत आध्यात्मिक भोजन दिने कामको निरीक्षण गर्छ र अनुवादसम्बन्धी कामको रेखदेख गर्छ।
शिक्षण समिति: सभा, स्कुल तथा अडियो-भिडियो सामग्रीद्वारा आध्यात्मिक भोजन दिने कामको सुपरिवेक्षण गर्छ।
संयोजन समिति: कानुनी मामिलाहरूको सुपरिवेक्षण गर्छ र यहोवाका साक्षीहरूले प्रकोप तथा आपत्कालीन परिस्थिति सामना गर्नुपर्दा र आफ्नो धार्मिक विश्वासको कारण सतावट भोग्नुपर्दा आवश्यक मदत दिन्छ।
सदस्य समिति: बेथेल सेवकहरू नियुक्त गर्ने र उनीहरूको आवश्यकता हेरविचार गर्ने कामको निरीक्षण गर्छ।
सेवा समिति: ‘राज्यको सुसमाचार’ प्रचार गर्ने कामको निरीक्षण गर्छ।—मत्ति २४:१४.
परिचालक निकायले यी समितिहरूमार्फत काम गर्नुका साथै यसका सदस्यहरू सङ्गठनको आवश्यकताबारे छलफल गर्न प्रत्येक हप्ता भेला हुन्छन्। यसरी भेला हुँदा परिचालक निकायका सदस्यहरू धर्मशास्त्रले के भन्छ भनेर छलफल गर्छन् र परमेश्वरको पवित्र शक्तिको डोऱ्याइअनुसार चलेर सर्वसम्मतिमा पुग्ने प्रयास गर्छन्।—प्रेषित १५:२५.
परिचालक निकायका सहयोगीहरू को हुन्?
परिचालक निकायका सहयोगीहरू यस निकायका समितिहरूलाई मदत गर्ने भरोसायोग्य ख्रिष्टियनहरू हुन्। (१ कोरिन्थी ४:२) यी सहयोगीहरू आफूलाई खटाइएको समितिमा काम गर्न सक्षम र अनुभवी हुन्छन् अनि प्रत्येक हप्ता हुने समितिको सभामा उपस्थित हुन्छन्। हुन त सहयोगीहरूले निर्णय गर्ने काममा भाग लिँदैनन् तर उपयोगी सुझाव र आवश्यक जानकारी दिन्छन्, समितिले गरेको निर्णय लागू गर्छन् र ती निर्णयको नतिजा कस्तो भयो भनेर नियमित रूपम जाँच्छन्। साथै परिचालक निकायले यी सहयोगीहरूलाई विश्वभरिका हाम्रा दाजुभाइ दिदीबहिनीकहाँ भ्रमण गर्न पठाउँछ र वार्षिक सभा वा गिलियडको दीक्षान्त समारोहजस्ता अवसरहरूमा भाषण दिने जिम्मा पनि सुम्पिन्छ।
समिति |
नाम |
---|---|
प्रकाशन |
|
लेखन |
|
शिक्षण |
|
संयोजन |
|
सदस्य |
|
सेवा |
|