शास्त्रपदको व्याख्या

यर्मिया २९:११—​“जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु”

यर्मिया २९:११—​“जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु”

 “यहोवा a यस्तो घोषणा गर्नुहुन्छ, ‘तिमीहरूको निम्ति मैले के सोचेको छु, त्यो मलाई राम्ररी थाह छ। मैले तिमीहरूको शान्ति चिताएको छु, विपत्ति होइन। म तिमीहरूले उज्ज्वल भविष्य र आशा पाओ भन्‍ने चाहन्छु।’”—यर्मिया २९:११, नयाँ संसार अनुवाद।

 “किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्‍नुहुन्छ। “ती तिमीहरूका उन्‍नतिको निम्ति हुन्‌, नोक्सानीको निम्ति होइनन्‌, तिमीहरूलाई आशा र भविष्य दिनलाई।”—यर्मिया २९:११, नयाँ संशोधित संस्करण।

यर्मिया २९:११ को अर्थ

 यहोवा परमेश्‍वरले आफ्ना उपासकहरूसित शान्तिमय भविष्यको प्रतिज्ञा गर्नुभयो। हुनत यो प्रतिज्ञा उहाँले विगतका आफ्ना उपासकहरूसित गर्नुभएको हो। तर यसबाट हामी परमेश्‍वरको सोचाइ कस्तो छ भनेर बुझ्न सक्छौँ। उहाँ “आशा दिनुहुने परमेश्‍वर” हुनुहुन्छ। (रोमी १५:१३) वास्तवमा हामीले उज्ज्वल भविष्यको “आशा पाऔँ” भनेर उहाँले यस्ता प्रतिज्ञाहरू बाइबलमा रेकर्ड गर्न लगाउनुभयो।—रोमी १५:४.

यर्मिया २९:११ को प्रसङ्‌ग

 यी शब्दहरू यरुसलेमबाट बन्दी बनाएर बेबिलोन लगिएका इस्राएलीहरूलाई पठाइएको सन्देशको भाग थियो। b (यर्मिया २९:१) तिनीहरूले लामो समयसम्म निर्वासित जीवन बिताउनुपर्ने भएकोले परमेश्‍वरले तिनीहरूलाई त्यहाँ आफ्नो लागि घर बनाउन, बगैँचा लगाउन र बिहाबारी गरेर छोराछोरी जन्माउन भन्‍नुभयो। (यर्मिया २९:४-९) परमेश्‍वरले यसो पनि भन्‍नुभयो, “तिमीहरू बेबिलोनमा बसेको ७० वर्ष पूरा भइसकेपछि म तिमीहरूतर्फ ध्यान दिनेछु र तिमीहरूलाई फेरि [यरुसलेममा] फर्काएर आफ्नो प्रतिज्ञा पूरा गर्नेछु।” (यर्मिया २९:१०) यसरी परमेश्‍वरले तिनीहरूलाई बिर्सनेछैनँ र यरुसलेममा फर्कने तिनीहरूको आशा पूरा हुनेछ भनेर ग्यारेन्टी दिनुभयो।—यर्मिया ३१:१६, १७.

 परमेश्‍वरले इस्राएलीहरूसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुभयो। उहाँले भविष्यवाणी गर्नुभएझैँ फारसका राजा कोरेसले बेबिलोन कब्जा गरे। (यसैया ४५:१, २; यर्मिया ५१:३०-३२) त्यसपछि कोरेसले यहुदीहरूलाई घर फर्कन दिए। सत्तरी वर्षको निर्वासनपछि तिनीहरू फेरि आफ्नो ठाउँ यरुसलेम फर्कन पाए।—२ इतिहास ३६:२-२३; एज्रा ३:१.

 यर्मिया २९:११ मा गरिएको प्रतिज्ञा पूरा भयो। यसबाट अहिले परमेश्‍वरका प्रतिज्ञाहरूमा आशा राख्नेहरूले आश्‍वासन पाउँछन्‌। ती प्रतिज्ञाहरूमा परमेश्‍वरको राज्यले येसु ख्रिष्टको नेतृत्वमा पूरै पृथ्वीभरि ल्याउने शान्ति पनि समावेश छ।—भजन ३७:१०, ११, २९; यसैया ५५:११; मत्ति ६:१०.

यर्मिया २९:११ बारे गलत धारणाहरू

 गलत धारणा: परमेश्‍वरले प्रत्येक व्यक्‍तिको लागि खास “योजना” बनाउनुभएको छ।

 तथ्य: आफ्नो जीवन कसरी बिताउने हो भनेर छनौट गर्ने स्वतन्त्रता परमेश्‍वरले मानिसहरूलाई दिनुभएको छ। यर्मिया २९:११ मा बताइएको कुरा उहाँले बेबिलोनमा रहेका इस्राएलीहरूको समूहलाई भन्‍नुभएको थियो। उहाँ त्यो समूहले शान्तिमय भविष्य पाएको चाहनुहुन्थ्यो। (यर्मिया २९:४) तर परमेश्‍वरले प्रत्येक व्यक्‍तिलाई उहाँको प्रतिज्ञाबाट लाभ उठाउने कि नउठाउने भनेर छनौट गर्ने स्वतन्त्रता दिनुभएको थियो। (व्यवस्था ३०:१९, २०; यर्मिया २९:३२) ज-जसले ती प्रतिज्ञाबाट लाभ उठाउन चाहे, तिनीहरूले मनैदेखि प्रार्थना गरेर परमेश्‍वरको खोजी गरे।—यर्मिया २९:१२, १३.

 गलत धारणा: परमेश्‍वरले आफ्ना उपासकहरूलाई धनसम्पत्ति दिएर समृद्ध बनाउनुहुन्छ।

 तथ्य: कुनै-कुनै बाइबलमा यर्मिया २९:११ मा चलाइएको “उन्‍नति” भनेर अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “सुखशान्ति र सुस्वास्थ्य” भन्‍ने हुन्छ। यस पदको प्रसङ्‌ग विचार गर्ने हो भने परमेश्‍वरले आफ्ना उपासकहरूलाई धनसम्पत्ति नभई सुखशान्ति दिने प्रतिज्ञा गर्दै हुनुहुन्थ्यो। तिनीहरूको अस्तित्व मेटिने थिएन बरु एकदिन तिनीहरू यरुसलेममा फर्कने थिए।—यर्मिया २९:४-१०.

यर्मिया अध्याय २९ पढ्‌नुहोस्‌ अनि त्यहाँ भएका फुटनोटहरू र मार्जिनल रेफरेन्सका शास्त्रपदहरू पनि पढ्‌नुहोस्‌।

a साँचो ईश्‍वरको नाम यहोवा हो।—भजन ८३:१८.

b यर्मिया २९:११ बारे दी एक्सपोजिटर्स बाइबल कमेन्टरी भन्‍ने बाइबलसम्बन्धी एउटा किताबमा यस्तो लेखिएको छ: “बाइबलमा यो जत्तिको सुन्दर प्रतिज्ञा अरू पाउन गाह्रै छ। किनभने यो पदमा निर्वासनमा रहेका आफ्ना मानिसहरूप्रति याहवेको [यहोवाको] कोमल करुणा झल्किन्छ। उहाँले तिनीहरूलाई सकारात्मक अनि आशावादी हुने ठोस कारण दिनुभएको पाउँछौँ।”—खण्ड ७, पृष्ठ ३६०.