शास्त्रपदको व्याख्या
मत्ति ६:३४—“भोलिको निम्ति फिक्री नगर”
“भोलिको चिन्ता कहिल्यै नगर किनभने भोलिको चिन्ता भोलिले नै गर्नेछ। आजको लागि आजकै कष्ट पर्याप्त छ।”—मत्ति ६:३४, नयाँ संसार अनुवाद।
“भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दु:ख आजको निम्ति पर्याप्त छ।”—मत्ति ६:३४ नयाँ संशोधित संस्करण।
मत्ति ६:३४ को अर्थ
येसुले आफ्ना श्रोताहरूलाई भविष्यमा आउने समस्याहरूबारे अचाक्ली चिन्ता नगर्न यो कुरा भन्नुभयो। पछि के होला भनेर ज्यादै चिन्ता गर्नुको सट्टा एक दिनको लागि मात्र चिन्ता गर्दा तिनीहरूको बोझ हलुका हुने थियो।
येसुले भोलिको बारेमा सोच्नै हुँदैन वा भविष्यको लागि योजना बनाउनै हुँदैन भन्न खोज्नुभएको थिएन। (हितोपदेश २१:५) बरु उहाँले हामीलाई भोलि के होला भनेर अचाक्ली चिन्ता-फिक्री नगर्न प्रोत्साहन दिँदै हुनुहुन्थ्यो। यस्तो चिन्ता-फिक्रीले हाम्रो आनन्द खोस्न सक्छ र हामीले गर्नै पर्ने कामकुरामा ध्यान दिन बाधा पुग्न सक्छ। हामीले भविष्यमा आउन सक्ने समस्याहरूबारे आजै चिन्ता गरेर समाधान गर्न सक्दैनौँ। साथै हामीले जे होला भनेर चिन्ता गरिरहेका हुन्छौँ त्यो नहुन पनि सक्छ अथवा भइहाल्यो भने पनि हामीले सोचेजस्तो नराम्रो नहुन सक्छ।
मत्ति ६:३४ को प्रसङ्ग
यी शब्दहरू येसुले डाँडाको उपदेशमा भन्नुभएको थियो र यो हामी मत्ति अध्याय ५-७ मा पाउँछौँ, जुन एकदमै प्रख्यात छ। यस उपदेशमा येसुले अचाक्ली चिन्ताले हाम्रो जीवन सुधार्न वा लम्ब्याउन सक्दैन भनेर बुझाउन खोज्दै हुनुहुन्थ्यो। (मत्ति ६:२७) हामीले परमेश्वरलाई पहिलो स्थानमा राख्यौँ भने भोलीको अचाक्ली चिन्ता गर्नुपर्दैन भनेर पनि येसुले बताउनुभयो। परमेश्वरले बोटबिरुवा र जनावरहरूको त ख्याल राख्नुहुन्छ भने आफ्ना सेवकहरूको पनि ख्याल राख्नुहुन्छ।—मत्ति ६:२५, २६, २८-३३.
मत्ति अध्याय ६ पढ्नुहोस् अनि त्यहाँ भएका फुटनोटहरू र मार्जिनल रेफ्रेन्सका शास्त्रपदहरू पनि पढ्नुहोस्।

