सीधै सामग्रीमा जाने

साँचो धर्म कसरी चिन्‍न सक्छु?

साँचो धर्म कसरी चिन्‍न सक्छु?

बाइबलको जवाफ

साँचो धर्म मान्‍ने र नमान्‍ने मानिसहरूबीचको भिन्‍नता थाह पाउन बाइबलमा दिइएको एउटा उदाहरणले मदत गर्छ। बाइबल भन्छ: “तिनीहरूका फलबाटै तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। के मानिसहरूले कहिल्यै काँडाको झाङबाट अङ्‌गुर र जङ्‌गली झारबाट अन्जीर बटुल्छन्‌ र?” (मत्ती ७:१६) जसरी तपाईं फल हेरेर अङ्‌गुरको बोट हो कि काँडाको झाङ भनेर छुट्ट्याउन सक्नुहुन्छ, त्यसैगरि तपाईं कुन साँचो धर्म हो भनेर त्यसको फलबाट अर्थात्‌ कामबाट छुट्ट्याउन सक्नुहुन्छ। तल दिइएका साँचो धर्मका विशेषताहरूले पनि यसो गर्न मदत गर्छ:

  1. १. साँचो धर्मले बाइबलमा आधारित सत्य सिकाउँछ, मानव दर्शनमा आधारित होइन। (यूह. ४:२४; १७:१७) यसमा आत्माबारेप्रमोदवन अर्थात्‌ सुन्दर बगैंचामा सधैंभरि बाँच्ने आशाबारे सत्य कुरा सिकाउनु पनि समावेश छ। (भजन ३७:२९; यशैया ३५:५, ६; इजकिएल १८:४) साँचो धर्म झूटा धार्मिक शिक्षाहरूको पर्दाफास गर्न पनि पछि हट्‌दैन।—मत्ती १५:९; २३:२७, २८.

  2. २. साँचो धर्मले परमेश्‍वरलाई चिन्‍न मदत गर्छ अनि उहाँको नाम यहोवा हो भनेर पनि सिकाउँछ। (भजन ८३:१८; यशैया ४२:८; यूहन्‍ना १७:३, ६) यसले परमेश्‍वरलाई चिन्‍न सम्भव छैन वा उहाँ कसैको वास्ता गर्नुहुन्‍न भनेर सिकाउँदैन। बरु हामी उहाँको नजिक भएको उहाँ चाहनुहुन्छ भनेर सिकाउँछ।—याकूब ४:८.

  3. ३. परमेश्‍वरले येशू ख्रीष्टमार्फत हाम्रो उद्धार गर्नुहुन्छ भनेर साँचो धर्मले सिकाउँछ। (प्रेषित ४:१०, १२) यसका सदस्यहरू येशूका आज्ञाहरू पालन गर्छन्‌ र उहाँको नमुना पछ्याउन सक्दो गर्छन्‌।—यूहन्‍ना १३:१५; १५:१४.

  4. ४. साँचो धर्मले मानिसजातिको समस्याको समाधान परमेश्‍वरको राज्यले मात्र गर्छ भनेर जोड दिन्छ। यसका सदस्यहरू जोसका साथ यस राज्यबारे अरूलाई बताउँछन्‌।—मत्ती १०:७; २४:१४.

  5. ५. साँचो धर्मले निःस्वार्थ प्रेम देखाउन प्रोत्साहन दिन्छ। (यूहन्‍ना १३:३५) यसले हरप्रकारका मानिसहरूको आदर गर्न सिकाउँछ। साथै सबै जाति, संस्कृति, भाषा र पृष्ठभूमिका मानिसहरूलाई स्विकार्छ। (प्रेषित १०:३४, ३५) यसका सदस्यहरू सबैलाई प्रेम गर्ने भएकोले युद्धमा भाग लिंदैनन्‌।—मीका ४:३; १ यूहन्‍ना ३:११, १२.

  6. ६. साँचो धर्ममा तलब लिएर काम गर्ने धर्मगुरुहरू हुँदैनन्‌। यसले आफ्ना सदस्यहरूलाई उच्च धार्मिक पदवी वा उपाधि पनि दिंदैन।—मत्ती २३:८-१२; १ पत्रुस ५:२, ३.

  7. ७. साँचो धर्म राजनैतिक मामिलाहरूमा तटस्थ रहन्छ। (यूहन्‍ना १७:१६; १८:३६) यसका सदस्यहरू सरकारी अख्तियारवालाहरूको आदर गर्छन्‌ र अधीनमा बस्छन्‌। तिनीहरू बाइबलको यो सिद्धान्तअनुसार चल्छन्‌: “जे-जे सम्राट्‌का [सरकारी अख्तियारवालाका] हुन्‌, सम्राट्‌लाई र जे-जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई देओ।”—मर्कूस १२:१७; रोमी १३:१, २.

  8. ८. साँचो धर्म कुनै रीतिथिति वा औपचारिकतामा मात्र सीमित हुँदैन बरु यसको शिक्षा जीवनको हरेक पक्षमा लागू हुन्छ। यसका सदस्यहरू बाइबलमा दिइएका उच्च नैतिक स्तरअनुरूप जीवन बिताउँछन्‌। (एफिसी ५:३-५; १ यूहन्‍ना ३:१८) करकापमा परेर वा मन नलागी-नलागी होइन तर तिनीहरू रमाई-रमाई “आनन्दित परमेश्‍वरको” सेवा गर्छन्‌।—१ तिमोथी १:११.

  9. ९. साँचो धर्म मान्‍नेहरूको सङ्‌ख्या थोरै हुन्छ। (मत्ती ७:१३, १४) परमेश्‍वरको इच्छाअनुरूप चलेको हुनाले तिनीहरूलाई प्रायः हेला गरिन्छ, बदनाम गरिन्छ अनि सताइन्छ।—मत्ती ५:१०-१२.

‘मलाई यो धर्म सही लाग्छ’ भन्दैमा त्यो साँचो धर्म नहुन सक्छ

आफ्नो व्यक्‍तिगत विचारधाराको आधारमा मात्रै धर्म छनौट गर्दा खतरा हुन सक्छ। बाइबलमा यस्तो समयबारे भविष्यवाणी गरिएको छ, जब मानिसहरूले ‘आफूलाई जे सुन्‍न मन पर्छ, त्यही मात्र सुनाउने शिक्षकहरू भेला पार्छन्‌।’ (२ तिमोथी ४:३) त्यसको ठीक उल्टो, बाइबलले हामीलाई “परमेश्‍वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना” गर्ने धर्म मान्‍न प्रोत्साहन दिन्छ, जुन त्यत्ति लोकप्रिय नहुन सक्छ।—याकूब १:२७; यूहन्‍ना १५:१८, १९.