सीधै सामग्रीमा जाने

येसु किन मर्नुभयो?

येसु किन मर्नुभयो?

बाइबलको जवाफ

मानिसहरूको पाप क्षमा होस्‌ र तिनीहरूले कहिल्यै मर्नु नपर्ने जीवन पाऊन्‌ भनेर येसु मर्नुभयो। (रोमी ६:२३; एफिसी १:७) साथै अत्यन्तै कठिन परीक्षाको सामना गर्नुपर्दा समेत मानिस परमेश्‍वरप्रति वफादार रहन सक्छ भनेर येसुको मृत्युले प्रमाणित गऱ्‍यो।​—हिब्रू ४:१५.

एक जना मानिसको मृत्युले कसरी यत्ति ठूलो काम गर्न सक्यो?

  1. येसुको मृत्युले गर्दा “हामीले आफ्ना पापहरूको क्षमा पायौँ।”​—कलस्सी १:१४.

    परमेश्‍वरले पहिलो मानिस आदम सृष्टि गर्नुहुँदा तिनी त्रुटिरहित थिए अर्थात्‌ तिनमा कुनै पाप थिएन। तर परमेश्‍वरको आज्ञा पालन नगर्ने छनौट गरेर आदमले पाप गरे। आदमको यस्तो अनाज्ञाकारिताले गर्दा तिनका सबै सन्तानमाथि ठूलो असर पऱ्‍यो। बाइबल भन्छ, “एक जना मानिसको अनाज्ञाकारिताले गर्दा धेरै जना पापी भए।”​—रोमी ५:१९.

    येसु पनि त्रुटिरहित हुनुहुन्थ्यो तर उहाँले कहिल्यै पाप गर्नुभएन। त्यसैले “हाम्रा पापहरूका लागि उहाँ प्रायश्‍चितको बलिदान” हुन सक्नुहुन्थ्यो। (१ युहन्‍ना २:२) जसरी आदमको अनाज्ञाकारिताले गर्दा मानिसहरूमाथि पापको दाग लाग्यो, त्यसैगरि येसुको मृत्युले गर्दा उहाँमाथि विश्‍वास गर्नेहरू सबैको पापको दाग मेटियो।

    एक अर्थमा आदमले मानवजातिलाई पापको दासत्वमा बेचे। येसुले भने मानवजातिको लागि स्वेच्छाले आफ्नो जीवन दिएर तिनीहरूलाई पापको दासत्वबाट छुटाउनुभयो र आफ्नो निम्ति किन्‍नुभयो। त्यसकारण “यदि कसैले पाप गरिहाल्यो भने पनि बुबासँग हाम्रो निम्ति एक जना मदतगार हुनुहुन्छ अर्थात्‌ येसु ख्रिष्ट, जो धर्मी हुनुहुन्छ।”​—१ युहन्‍ना २:१.

  2. येसु मर्नुभयो “ताकि [उहाँमाथि] विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।”​—युहन्‍ना ३:१६.

    आदमलाई सधैँभरि बाँच्नको लागि सृष्टि गरिएको भए तापनि तिनले गरेको पापले गर्दा तिनले मृत्युदण्ड पाए। आदमद्वारा “पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु, त्यसैले मृत्यु सबै मानिसमा व्याप्त भयो किनकि तिनीहरू सबैले पाप गरे।”​—रोमी ५:१२.

    त्यसको विपरीत, येसुको मृत्युले उहाँमाथि विश्‍वास गर्नेहरू सबैको पापको दाग हटाउनुका साथै तिनीहरूलाई मृत्युबाट पनि छुटकारा दिने भयो। यस प्रबन्धबारे बाइबल यसो भन्छ: “जसरी पापले मृत्युसित मिलेर राजाले झैँ राज गऱ्‍यो, उसरी नै हाम्रा प्रभु येसु ख्रिष्टमार्फत असीम अनुग्रहले पनि राजाले झैँ राज गरोस्‌ र हामीलाई धर्मी ठहराउनुका साथै अनन्त जीवन पनि देओस्‌।”​—रोमी ५:२१.

    हुनत अझै पनि मानिसहरू मर्छन्‌। तैपनि परमेश्‍वरले असल मानिसहरूलाई अनन्त जीवन दिने र मरेकाहरूलाई फेरि जीवित पार्ने प्रतिज्ञा गर्नुभएको छ। यसरी मरेकाहरूले पनि येसुको मृत्युबाट लाभ उठाउनेछन्‌।​—भजन ३७:२९; १ कोरिन्थी १५:२२.

  3. येसु “मृत्युसम्मै आज्ञाकारी हुनुभयो” र जस्तोसुकै परीक्षा वा सतावट आइपरे तापनि मानिस परमेश्‍वरप्रति वफादार रहन सक्छ भनेर प्रमाणित गर्नुभयो।​—फिलिप्पी २:८.

    आदमसित त्रुटिरहित दिमाग र शरीर थियो। तैपनि तिनी परमेश्‍वरप्रति अनाज्ञाकारी भए किनकि तिनले स्वार्थी भएर आफ्नो अधिकारमा नभएको कुरा पाउन खोजे। (उत्पत्ति २:​१६, १७; ३:६) पछि परमेश्‍वरको प्रमुख शत्रु सैतानले पनि मानिसले कुनै स्वार्थ नराखी परमेश्‍वरको आज्ञा पालन गर्दैन भनेर बतायो। अझ ज्यानै खतरामा परेको छ भने त मानिसले झनै त्यसो गर्दैन भनेर सैतानले दाबी गऱ्‍यो। (अय्युब २:४) तर त्रुटिरहित मानिस येसुले भने परमेश्‍वरको आज्ञा पालन गर्नुभयो अनि अपमानजनक र पीडादायी मृत्यु भोग्नुपरे तापनि उहाँ परमेश्‍वरप्रति वफादार रहिरहनुभयो। (हिब्रू ७:२६) यसरी येसुले स्पष्टसित यो कुरा प्रमाणित गर्नुभयो: जस्तोसुकै परीक्षा वा सतावट आए तापनि मानिस परमेश्‍वरप्रति वफादार रहन सक्छ।

येसुको मृत्युबारे प्रश्‍नहरू

  • मानिसहरूलाई पाप र मृत्युबाट छुटकारा दिन येसु मर्नु किन आवश्‍यक पऱ्‍यो? परमेश्‍वरले मृत्युदण्डलाई सिधै खारेज गर्न मिल्दैनथ्यो र?

    परमेश्‍वरको व्यवस्थाले बताएअनुसार “पापले तिर्ने ज्याला मृत्यु हो।” (रोमी ६:२३) परमेश्‍वरले यो व्यवस्थाबारे आदमलाई अनजान राख्नुभएन बरु अनाज्ञाकारी हुँदा पाइने दण्ड मृत्यु हो भनेर तिनलाई बताउनुभयो। (उत्पत्ति ३:३) जब आदमले पाप गरे, तब “कहिल्यै झूट नबोल्नुहुने परमेश्‍वरले” आफ्नो वचन पूरा गर्नुभयो। (तितस १:२) आदमबाट तिनका सन्तानमा पाप मात्र होइन तर पापले तिर्ने ज्याला अर्थात्‌ मृत्यु पनि सऱ्‍यो।

    त्रुटिपूर्ण मानिसहरू मृत्युदण्ड पाउन योग्य छन्‌, तैपनि परमेश्‍वरले तिनीहरूलाई “प्रशस्तगरि . . . असीम अनुग्रह” देखाउनुभएको छ। (एफिसी १:७) मानिसजातिको उद्धार गर्न उहाँले येसुलाई त्रुटिरहित बलिदानको रूपमा यस पृथ्वीमा पठाउनुभयो। उहाँले मिलाउनुभएको यस प्रबन्धले न्यायको माग पूरा गर्नुका साथै उहाँको अपार कृपा पनि प्रकट गऱ्‍यो।

  • येसुको मृत्यु कहिले भएको थियो?

    यहुदीहरूको निस्तार चाडको दिन दिउँसो तीन बजेतिर येसुको मृत्यु भएको थियो। (मर्कुस १५:​३३-३७) आधुनिक क्यालेन्डरअनुसार त्यो दिन इ.सं. ३३, अप्रिल १, शुक्रबारको दिन पर्छ।

  • येसुको मृत्यु कहाँ भएको थियो?

    येसुलाई “खप्पर स्थान अर्थात्‌ हिब्रूमा गलगथा भनिने ठाउँमा” मृत्युदण्ड दिइएको थियो। (युहन्‍ना १९:​१७, १८) येसुको समयमा त्यो ठाउँ यरुसलेम “सहरको ढोकाबाहिर” पर्थ्यो। (हिब्रू १३:१२) त्यो ठाउँ सम्भवतः डाँडामाथि थियो किनकि येसुलाई मृत्युदण्ड दिइँदा केही मानिसहरूले “टाढैबाट हेरिरहेका” थिए भनी बाइबल बताउँछ। (मर्कुस १५:४०) तर गलगथा हाल कहाँ पर्छ भनेर यकिनका साथ भन्‍न सकिने कुनै आधार छैन।

  • येसुको मृत्यु कसरी भयो?

    येसुलाई क्रुसमा टाँगिएको थियो भनेर थुप्रैले विश्‍वास गर्छन्‌। तर बाइबल यसो भन्छ: “हाम्रा पिता-पुर्खाहरूका परमेश्‍वरले येसुलाई बौराएर उठाउनुभयो, जसलाई तपाईंहरूले रूखमा झुन्ड्याई मार्नुभयो।” (प्रेषित ५:​३०, ट्रिनिटेरियन बाइबल सोसाइटी) येसुलाई मार्न प्रयोग गरिएको साधनलाई जनाउन बाइबल लेखकहरूले दुई वटा ग्रीक शब्द चलाएका छन्‌। ती हुन्‌: स्टाउरोस्‌ जाइलन। यी शब्दहरूले एउटा सिङ्‌गो खम्बा वा ठाडो काठलाई बुझाउँछ भनी थुप्रै शास्त्रविद्‌हरू बताउँछन्‌।

  • येसुको मृत्युको सम्झना कसरी गर्नुपर्छ?

    यहुदीहरूले वर्षेनी मनाउने निस्तार चाडको रात येसुले आफ्ना चेलाहरूसित एउटा साधारण किसिमको जमघट गर्नुभयो र यस्तो आज्ञा दिनुभयो: “मेरो सम्झनामा यो गर्नेगर।” (१ कोरिन्थी ११:२४) त्यसको केही घण्टापछि येसुलाई मारियो।

    बाइबलका लेखकहरूले येसुलाई निस्तार चाडमा बलि चढाइने थुमासित तुलना गरे। (१ कोरिन्थी ५:७) जसरी निस्तार चाडले इस्राएलीहरूलाई दासत्वबाट छुटकारा पाएको कुरा सम्झाउँथ्यो, त्यसैगरि येसुको मृत्युको स्मरणार्थले ख्रीष्टियनहरूलाई पाप र मृत्युबाट छुटकारा पाएको कुरा सम्झाउँछ। चन्द्र पात्रोअनुसार वर्षमा एक पटक नीसान १४ को दिन निस्तार चाड मनाइन्थ्यो। त्यसैगरि सुरु-सुरुका ख्रीष्टियनहरू पनि स्मरणार्थ उत्सव वर्षको एक पटक मनाउँथे।

    हरेक वर्ष नीसान १४ कै दिनमा संसारभरिका लाखौँ मानिसहरूले येसुको मृत्युको सम्झना गर्छन्‌।