सीधै सामग्रीमा जाने

के बाइबल विज्ञानसित मेल खान्छ?

के बाइबल विज्ञानसित मेल खान्छ?

बाइबलको जवाफ

 मेल खान्छ। बाइबल विज्ञानको किताब नभए पनि यसमा विज्ञानसम्बन्धी बताइएका कुराहरू सही छन्‌। बाइबलमा विज्ञानसम्बन्धी भएका तथ्यहरू बाइबल लेखिएको समयका थुप्रै मानिसले विश्‍वास गर्ने कुराभन्दा बिलकुलै फरक थियो। बाइबल विज्ञानसित मेल खान्छ भनेर प्रस्ट पार्ने केही उदाहरण विचार गरौँ।

  •   ब्रह्‍माण्ड सृष्टि गरिएको थियो। (उत्पत्ति १:१) तर थुप्रै पुराना दन्त्यकथाअनुसार ब्रह्‍माण्ड सृष्टि गरिएको थिएन बरु यो ठूलो धमाका भएर आफसेआफ उत्पत्ति भएको थियो। बेबिलोनीहरूले दुइटा महासागरबाट देवताहरू आएर ब्रह्‍माण्डलाई जन्म दिएका थिए भनेर विश्‍वास गर्थे। अरू दन्त्यकथाहरूअनुसार ब्रह्‍माण्ड एउटा बडेमाको अण्डाबाट निस्केको थियो।

  •   ब्रह्‍माण्ड प्राकृतिक नियमहरूअनुसार चल्छ, देवताहरूको इच्छाअनुसार होइन। (अय्युब ३८:३३; यर्मिया ३३:२५) संसारभरि फैलिएका विभिन्‍न दन्त्यकथाअनुसार देवताहरूले के गर्नेछन्‌ भनेर मानिसहरूलाई थाह हुँदैन अनि तिनीहरूको निर्दयी कामले गर्दा मानिसहरूले दुःख पाउँछन्‌।

  •   पृथ्वी कुनै आडविना झुन्डिरहेको छ। (अय्युब २६:७) प्राचीनकालका मानिसहरू पृथ्वी चेप्टो छ अनि यसलाई कुनै राक्षस वा जनावरले थामेको छ, जस्तै: भैँसी वा कछुवाले भनेर विश्‍वास गर्थे।

  •   महासागर र अन्य स्रोतबाट पानी वाफ भएर बादल बन्छ अनि पछि बादल पानी, हिउँ वा असिनाको रूपमा बर्सिन्छ। यसरी बर्सिएको पानी खोलानालामा बग्छ। (अय्युब ३६:२७, २८; उपदेशक १:७; यसैया ५५:१०; आमोस ९:६) प्राचीन ग्रीकहरू महासागरको पानी जमिनमुनिबाट गएर खोलानालामा बग्छ भनेर विश्‍वास गर्थे अनि यस्तो सोचाइ १८ औँ शताब्दीसम्म व्याप्त थियो।

  •   अहिलेका पहाडहरू कुनै समय समुद्रमुनि थिए। (भजन १०४:६,) तर विभिन्‍न दन्त्यकथाअनुसार देवताहरूले पहाडहरू अहिले जस्ता छन्‌, त्यस्तै बनाएका थिए।

  •   सरसफाइमा ध्यान दिँदा मानिस स्वस्थ हुन्छ। प्राचीन समयका इस्राएलीहरूलाई सरसफाइसम्बन्धी विभिन्‍न नियम दिइएको थियो। जस्तै: सिनु छोएपछि नुवाइधुवाइ गर्नुपर्ने, सरुवा रोग लागेको व्यक्‍तिलाई अलग्गै राख्नुपर्ने अनि मलमूत्रको उचित तरिकामा व्यवस्थापन गर्नुपर्ने। (लेवी ११:२८; १३:१-५; व्यवस्था २३:१३) तर त्यतिबेलाका मिश्रीहरूको एउटा उपचारविधिमा भने घाउमा मानिसको मलमूत्र मिसाएर बनाइएको औषधी प्रयोग गरिन्थ्यो।

के बाइबलमा विज्ञानसित मेल नखाने जानकारीहरू छन्‌?

 निष्पक्ष भई जाँच्ने हो भने बाइबलमा त्यस्ता गलत जानकारीहरू छैनन्‌। मानिसहरू बाइबलमा विज्ञानसित मेल नखाने गलत जानकारीहरू छन्‌ भन्‍ने गर्छन्‌। जस्तै:

 मिथ्या: बाइबलले ब्रह्‍माण्ड २४ घण्टे ६ दिनमा सृष्टि गरिएको हो भन्छ।

 तथ्य: बाइबलमा बताइएअनुसार परमेश्‍वरले ब्रह्‍माण्ड युगौँयुगअघि सृष्टि गर्नुभएको हो। (उत्पत्ति १:१) उत्पत्ति अध्याय १ मा सृष्टिको प्रत्येक दिनलाई एउटा समयावधिको रूपमा वर्णन गरिएको छ र त्यो एक दिन कति लामो थियो भनेर तोकेरै बताइएको छैन। वास्तवमा आकाश र पृथ्वी सृष्टि गरिएको समयावधिलाई पनि “दिन” भनिएको छ।—उत्पत्ति २:४.

 मिथ्या: बाइबलले प्रकाश संश्‍लेषण (फोटोसिन्थेसिस) गर्न नभई नहुने सूर्य सृष्टि गरिनुअघि नै बोटबिरुवा सृष्टि भइसकेको थियो भन्छ।—उत्पत्ति १:११, १६.

 तथ्य: बाइबलमा आकाशका ताराहरूमध्ये एक, सूर्य बोटबिरुवाभन्दा अगाडि नै सृष्टि भइसकेको थियो भनेर बताइएको छ। (उत्पत्ति १:१) सृष्टिको पहिलो ‘दिनमै’ सूर्यको मधुरो किरण पृथ्वीमा आयो। सृष्टिको तेस्रो ‘दिनमा’ वायुमण्डल खुलेपछि प्रकाश संश्‍लेषण गर्न चाहिने पर्याप्त किरण पृथ्वीमा आयो। (उत्पत्ति १:३-५, १२, १३) पछि मात्र पृथ्वीबाट सूर्य प्रस्ट देखिन थाल्यो।—उत्पत्ति १:१६.

 मिथ्या: बाइबलले सूर्यले पृथ्वीलाई परिक्रमा गर्छ भन्छ।

 तथ्य: उपदेशक १:५ भन्छ: “सूर्य उदाउँछ, सूर्य अस्ताउँछ अनि फेरि उदाउनलाई त्यो हतारिँदै पहिलेकै ठाउँतिर जान्छ।” तर यसले पृथ्वीबाट हेर्दा सूर्यको चाललाई चित्रण गरेको जस्तो देखिन्छ। मानिसहरूलाई पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भनेर थाह भए तापनि तिनीहरू अहिले पनि “सूर्योदय” र “सूर्यास्त”-जस्ता शब्दहरू प्रयोग गर्छन्‌।

 मिथ्या: बाइबलले पृथ्वी चेप्टो छ भन्छ।

 तथ्य: बाइबलमा “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाका” भन्‍ने अर्थ दिन “पृथ्वीको कुनाकुना” भन्‍ने अभिव्यक्‍ति प्रयोग गरिएको छ। (प्रेषित १:८; फुटनोट) तर यसले पृथ्वी चेप्टो छ अथवा यसको किनारा छ भनेर जनाउँदैन। त्यसैगरि “पृथ्वीको चारै कुना” भन्‍ने अभिव्यक्‍तिले पूरै पृथ्वीलाई जनाउँछ। पूरै पृथ्वीलाई जनाउन अहिले पनि मानिसहरू चारै दिशा भन्‍नेजस्ता अभिव्यक्‍ति चलाउँछन्‌।—यसैया ११:१२; लुका १३:२९.

 मिथ्या: बाइबलले गोलाकारको परिधि त्यसको व्यासको तीन गुणा बढी हुन्छ भन्छ, जबकि पाइको (π) मान लगभग ३.१४१६ हो।

 तथ्य: पहिलो राजा ७:२३ र २ इतिहास ४:२ मा बताइएको ‘धातु ढालेर बनाइएको विशाल खड्‌कुँलोको’ व्यास १० हात र त्यसको “गोलाइ ३० हात” थियो। त्यो ठ्याक्कै नाप नभई नजिकको नाप हुन सक्छ। यो खड्‌कुँलोको भित्र र बाहिरको गोलाइ र व्यासको नाप पनि हुन सक्छ।