सीधै सामग्रीमा जाने

बाइबलले रिसबारे के भन्छ?

बाइबलले रिसबारे के भन्छ?

बाइबलको जवाफ

रिसाउने मानिस र तिनी वरपर भएकाहरूको लागि अनियन्त्रित रिस हानिकारक हुन्छ भनी बाइबल सिकाउँछ। (हितोपदेश २९:२२) कहिलेकाहीँ रिस उठ्‌नुपछाडि जायजै कारण भए तापनि “रिस” पालिराख्ने मानिसले उद्धार पाउने छैन भनी बाइबल बताउँछ। (गलाती ५:१९-२१) रिसलाई नियन्त्रणमा राख्न मदत गर्न सक्ने सिद्धान्तहरू बाइबलमा पाइन्छ।

 के रिसाउनु सधैँ गलत हो?

होइन। कुनै-कुनै अवस्थामा रिसाउनुपछाडि जायज कारणहरू हुन सक्छन्‌। जस्तै, आफ्ना केही सङ्‌गी उपासकहरूले थिचोमिचो भोगेको कुरा सुनेपछि नहेम्याह नाम गरेका वफादार पुरुषलाई “साह्रै रिस उठ्‌यो।”—नहेम्याह ५:६.

कहिलेकाहीँ परमेश्‍वरलाई पनि रिस उठ्‌छ। जस्तै, पुरातन समयका परमेश्‍वरका मानिसहरूले उहाँको मात्र उपासना गर्ने करार बाँधेका थिए; तर तिनीहरूले त्यो करार तोडे अनि झूटा देवताहरूलाई पुज्न थाले। यसो गर्दा “यहोवा परमेश्‍वरको क्रोध [तिनीहरूमाथि] दन्कियो।” (न्यायकर्ता २:१३, १४) तैपनि रिस यहोवा परमेश्‍वरको व्यक्‍तित्वको मुख्य पक्ष भने होइन। उहाँको रिस सधैँ जायज हुनुका साथै नियन्त्रित हुन्छ।—प्रस्थान ३४:६; यसैया ४८:९.

 कुन अवस्थामा रिसाउनु गलत हो?

कुनै जायज कारणविना रिसाउनु वा रिसलाई काबूमा राख्न नसक्नु गलत हो। तर त्रुटिपूर्ण मानिसहरू अक्सर यस्तै गर्छन्‌। आउनुहोस्‌ केही उदाहरण विचार गरौँ:

  • परमेश्‍वरले कयिनको भेटी अस्वीकार गर्नुहुँदा तिनी “रिसले चूर भए।” तिनी यति धेरै रिसाए कि तिनले आफ्नो भाइलाई मारे।—उत्पत्ति ४:३-८.

  • परमेश्‍वरले निनवेका मानिसहरूलाई अनुग्रह देखाउनुहुँदा भविष्यवक्‍ता योना “रिसले चूर भए।” तिनी त्यसरी “रिसले चूर हुनु ठीक” होइन भनेर परमेश्‍वरले तिनलाई सम्झाउनुभयो। बरु तिनले पश्‍चात्तापी मानिसहरूप्रति दया देखाउनुपर्ने थियो।—योना ३:१०–४:१, ४, ११. *

“रिस गर्ने मानिस परमेश्‍वरको धार्मिक स्तरबमोजिम चलिरहेको हुँदैन” भनेर यी उदाहरणहरूले देखाउँछ।—याकुब १:२०.

 तपाईँ कसरी आफ्नो रिसलाई काबूमा राख्न सक्नुहुन्छ?

  • अनियन्त्रित रिसको खतराप्रति सचेत रहनुहोस्‌। कसै-कसैलाई रिस पोखाउनु आफ्नो बलियो पक्ष हो जस्तो लाग्न सक्छ। तर वास्तवमा आफ्नो रिसलाई काबूमा राख्न नसक्नु गम्भीर कमजोरी हो। “रिस थाम्न नसक्ने मानिस पर्खाल भत्किएको सहरजस्तै हो।” (हितोपदेश २५:२८; २९:११) अर्कोतर्फ हामीले रिसलाई काबूमा राख्न सक्यौँ भने हामीले साँचो बल र समझदारी देखाइरहेका हुन्छौँ। (हितोपदेश १४:२९) बाइबल यसो भन्छ: “हतपती नरिसाउने मानिस वीर योद्धाभन्दा असल हो।”—हितोपदेश १६:३२.

  • पछि पछुताउनुपर्ने केही कुरा गर्नुअघि नै आफ्नो रिसलाई काबूमा राख्नुहोस्‌। भजन ३७:८ यसो भन्छ: “रिसाउन छोड र क्रोध त्यागिदेऊ; व्याकुल भएर कुकर्मतिर नलाग।” याद गर्नुहोस्‌, रिसले हामीलाई “कुकर्मतिर” डोऱ्‍याउनुअघि नै हामी रिसाउन छोड्‌न सक्छौँ। एफिसी ४:२६ यसो भन्छ: “क्रोध गर तर पाप नगर।”

  • रिस उठेपछि सम्भव भएमा त्यस ठाउँबाटै निस्कनुहोस्‌। बाइबल यसो भन्छ: “झगडा सुरु हुनु पानीको बाँध फुट्‌नुजस्तै हो; झगडा चर्किनुअघि नै त्यस ठाउँबाट निस्किहाल।” (हितोपदेश १७:१४) अरूसितको मतभेद सकेसम्म छिटो सुल्झाउनु बेस भए तापनि तपाईँ र अर्को व्यक्‍तिले शान्त भई कुरा गर्न सक्नको लागि पहिला आफ्नो रिसलाई साम्य पार्नुपर्ने हुन सक्छ।

  •  तथ्य थाह पाउनुहोस्‌। हितोपदेश १९:११ यसो भन्छ: “अन्तर्दृष्टि भएको मानिसले रिसलाई काबूमा राख्छ।” कुनै निष्कर्षमा पुग्नुअघि सबै तथ्य थाह पाउनु बुद्धिमानी हो। सबै पक्षको कुरा सुनेमा जायज कारणविना रिसाउने सम्भावना कम हुन्छ।—याकुब १:१९.

  •  मनोशान्तिको लागि प्रार्थना गर्नुहोस्‌। प्रार्थनाले हामीलाई ‘मानिसको समझभन्दा बाहिरको परमेश्‍वरको शान्ति’ अनुभव गर्न मदत गर्न सक्छ। (फिलिप्पी ४:७) परमेश्‍वरको पवित्र शक्‍ति पाउने मुख्य तरिका प्रार्थना हो। पवित्र शक्‍तिले हामीलाई शान्ति, धीरज र आत्मसंयमजस्ता गुणहरू विकास गर्न मदत गर्छ।—लुका ११:१३; गलाती ५:२२, २३.

  •  आफ्नो सङ्‌गतिबारे होसियार हुनुहोस्‌। हामी जस्तो मानिससित सङ्‌गत गर्छौँ, त्यस्तै हुन्छौँ। (हितोपदेश १३:२०; १ कोरिन्थी १५:३३) त्यसैले बाइबलमा यस्तो चेतावनी दिइएको छ: “गरम मिजासको मानिससित सङ्‌गत नगर अनि सानो कुरामा पनि जङ्‌गिने मानिससित नबस। नत्र त तिमीले उनीहरूको सिको गर्नेछौ अनि आफै पासोमा पर्नेछौ।”—हितोपदेश २२:२४, २५.

^ अनु. 6 स्पष्ट छ, परमेश्‍वरले सच्याउनुहुँदा योनाले स्विकारे र रिस पालिराखेनन्‌ किनभने परमेश्‍वरले तिनलाई बाइबलको एउटा भाग लेख्न चलाउनुभयो, जुन तिनकै नामबाट चिनिन्छ।