के मैले बाइबलबाट सान्त्वना पाउन सक्छु?

के मैले बाइबलबाट सान्त्वना पाउन सक्छु?

बाइबलको जवाफ

 सक्नुहुन्छ। (रोमी १५:४) गाह्रो अवस्था र भावनात्मक पीडासित जुझिरहेकाहरूले बाइबलका कस्ता पदहरूबाट सान्त्वना पाएका छन्‌, केही उदाहरण विचार गरौँ।

यस लेखमा

 कठिनाइ

 भजन २३:४: “निस्पट्ट अन्धकार छाएको बेँसीमा म हिँड्‌नुपरे पनि मलाई कुनै कुराको डर छैन किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ।”

 अर्थ: परमेश्‍वरलाई प्रार्थना गरेर र उहाँको वचन बाइबलमा भर परेर डोऱ्‍याइ खोज्दा हामी साहसी भई कठिनाइहरूको सामना गर्न सक्छौँ।

 फिलिप्पी ४:१३: “किनकि जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।”

 अर्थ: परमेश्‍वरले हामीलाई जस्तोसुकै समस्याको सामना गर्ने बल दिन सक्नुहुन्छ।

 प्रियजनको मृत्यु

 उपदेशक ९:१०: “त्यहाँ तिमीले न कुनै काम गर्न न केही सोच्न नै सक्नेछौ अनि तिमीसित न ज्ञान न बुद्धि नै हुनेछ।”

 अर्थ: मरिसकेकाहरूले सास्ती भोगिरहेका छैनन्‌ र तिनीहरूले हामीलाई कुनै हानि पुऱ्‍याउन पनि सक्दैनन्‌। तिनीहरू अचेत अवस्थामा छन्‌।

 प्रेषित २४:१५: “फेरि जीवित हुनेछन्‌।”

 अर्थ: परमेश्‍वर मरिसकेका हाम्रा प्रियजनलाई फेरि जीवित पार्न सक्नुहुन्छ।

 अचाक्ली दोषी भावना

 भजन ८६:५: “हे यहोवा, a तपाईँ असल हुनुहुन्छ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ; तपाईँलाई पुकार्ने सबैलाई तपाईँ प्रशस्तगरि अटल प्रेम देखाउनुहुन्छ।”

 अर्थ: परमेश्‍वरले साँचो मनले पश्‍चात्ताप गर्ने र गल्ती नदोहोऱ्‍याउन दृढ सङ्‌कल्प गर्नेहरूलाई क्षमा दिनुहुन्छ।

 भजन १०३:१२: “पूर्वबाट पश्‍चिम जति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा राखिदिनुभएको छ।”

 अर्थ: परमेश्‍वरले क्षमा दिनुहुँदा उहाँले हाम्रो पाप हामीले सोच्न सक्ने भन्दा पनि धेरै टाढा पुऱ्‍याउनुहुन्छ। उहाँ त्यो गल्ती घरीघरी कोट्ट्याउने वा सजाय दिइरहने गर्नुहुन्‍न।

 निराशा

 भजन ३१:७: “तपाईँले मेरो दुःख देख्नुभएको छ; मेरो वेदना तपाईँलाई थाह छ।”

 अर्थ: परमेश्‍वरलाई तपाईँले भोग्नुपरेको दुःख थाह छ। अरूले तपाईँको मनभित्रको कुरा बुझ्न नसके पनि यहोवाले भने त्यो बुझ्नुहुन्छ।

 भजन ३४:१८: “यहोवा टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।”

 अर्थ: तपाईँ निराश हुँदा परमेश्‍वरले तपाईँलाई साथ दिने वाचा गर्नुभएको छ। उहाँले तपाईँलाई पीडा सहन बल दिन सक्नुहुन्छ।

 रोगबिमार

 भजन ४१:३: “ऊ बिरामी पर्दा यहोवाले उसलाई ओछ्यानमै सम्हाल्नुहुनेछ।”

 अर्थ: परमेश्‍वरले तपाईँलाई गम्भीर स्वास्थ्य समस्यासित जुझ्न मदत गर्न सक्नुहुन्छ। उहाँले तपाईँलाई मनोशान्ति, सहने बल र सही निर्णय गर्न बुद्धि दिनुहुन्छ।

 यसैया ३३:२४: “त्यस देशको कुनै बासिन्दाले यसो भन्‍नेछैन: ‘म बिरामी छु।’”

 अर्थ: परमेश्‍वरले सबै मानिसहरू स्वस्थ हुने समय ल्याउनेछु भनेर प्रतिज्ञा गर्नुभएको छ।

 तनाव र चिन्ता

 भजन ९४:१९: “जब चिन्ता र फिक्रीले मलाई छोप्यो, तब तपाईँले मलाई सान्त्वना र दिलासा दिनुभयो।”

 अर्थ: अचाक्ली चिन्ताले सताउँदा परमेश्‍वरसित मदत माग्नुभयो भने उहाँले तपाईँलाई मनोशान्ति पाउन मदत गर्न सक्नुहुन्छ।

 १ पत्रुस ५:७: “तिमीहरूले आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”

 अर्थ: परमेश्‍वरले हाम्रो दुःख देख्नुहुन्छ र हामीले त्यसबारे उहाँलाई प्रार्थना गरेको चाहनुहुन्छ।

 युद्ध

 भजन ४६:९: “पृथ्वीबाट उहाँले युद्ध नामेट पार्नुहुन्छ।”

 अर्थ: परमेश्‍वरको राज्यले चाँडै युद्धहरू नामेट पार्नेछ।

 भजन ३७:११, २९: “नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌ अनि अपार शान्तिको आनन्द उठाउनेछन्‌। . . . धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।”

 अर्थ: असल मानिसहरूले पृथ्वीमा सधैँभरि अपार शान्तिको आनन्द उठाउनेछन्‌।

 भविष्यको चिन्ता

 यर्मिया २९:११: “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘तिमीहरूको निम्ति मैले के सोचेको छु, त्यो मलाई राम्ररी थाह छ। मैले तिमीहरूको शान्ति चिताएको छु, विपत्ति होइन। म तिमीहरूले उज्ज्वल भविष्य र आशा पाओ भन्‍ने चाहन्छु।’”

 अर्थ: परमेश्‍वरले आफ्ना मानिसहरूको भविष्य उज्ज्वल छ भनी आश्‍वासन दिनुभएको छ।

 प्रकाश २१:४: “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”

 अर्थ: तपाईँले अहिले देखिरहेका र भोगिरहेका सबै दुःखकष्ट हटाउनेछु भनेर परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको छ।

a परमेश्‍वरको नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।