सीधै सामग्रीमा जाने

बाइबलमा उल्लिखित स्त्रीहरू​—हामी उनीहरूबाट के सिक्न सक्छौँ?

बाइबलमा उल्लिखित स्त्रीहरू​—हामी उनीहरूबाट के सिक्न सक्छौँ?

बाइबलको जवाफ

बाइबलमा त्यस्ता थुप्रै स्त्रीबारे उल्लेख गरिएको छ, जसबाट हामी थुप्रै बहुमूल्य पाठ सिक्न सक्छौँ। (रोमी १५:४; २ तिमोथि ३:१६, १७) यस लेखमा बाइबलमा उल्लेख गरिएका केही स्त्रीबारे छोटकरीमा चर्चा गरिएको छ। तीमध्ये धेरैले हामीले अनुकरण गर्नुपर्ने राम्रो उदाहरण छोडेर गएका छन्‌। अरूबाट भने हामी चेतावनीमूलक पाठ सिक्न सक्छौँ।—१ कोरिन्थी १०:११; हिब्रू ६:१२.

  अबिगेल

अबिगेल को थिइन्‌? उनी एक जना धनी तर निर्दयी पुरुष नाबालकी पत्नी थिइन्‌। तर अबिगेल भने समझदार र नम्र स्त्री थिइन्‌। उनी सुन्दरी थिइन्‌ र उनमा यहोवालाई मन पर्ने थुप्रै असल गुणहरू थिए।—१ समुएल २५:३.

उनले के गरिन्‌? अबिगेलले चालेको बुद्धिमानी कदमले गर्दा एउटा ठूलो विपत्ति टऱ्‍यो। उनी र नाबाल बसोबास गर्ने इलाकामा इस्राएलका भावी राजा दाउद भगुवा जीवन बिताइरहेका थिए। दाउद र तिनका मानिसहरूले नाबालको भेडाको बगाललाई चोरहरूबाट सुरक्षा दिएका थिए। एकदिन दाउदले नाबालकहाँ केही सन्देशवाहक पठाएर खाना माग्दा नाबालले तिनीहरूलाई बेइज्जत गरेर खाली हात फर्काइदिए। यो सुनेर दाउद रिसले चूर भए। त्यसैले तिनी र तिनका मानिसहरू नाबाल र उसको घरानाका सबैलाई मार्न निस्के।—१ समुएल २५:१०-१२, २२.

आफ्नो पतिको त्यस्तो व्यवहारबारे थाह पाएपछि अबिगेलले तुरुन्तै कदम चालिन्‌। उनले आफ्ना सेवकहरूलाई दाउद र तिनका मानिसहरूकहाँ केही खानेकुरा लिएर पठाइन्‌ र उनी आफै पनि दाउदसित कृपाको लागि बिन्ती गर्न तिनीहरूको पछिपछि गइन्‌। (१ समुएल २५:१४-१९, २४-३१) दाउदले उनको उपहार पाए, उनको नम्रता देखे अनि उनको बुद्धिमानी सल्लाह पनि सुने। आफूलाई रक्‍तदोषी हुनदेखि जोगाउन परमेश्‍वरले नै उनलाई पठाउनुभएको हो भन्‍ने कुरा दाउदले स्विकारे। (१ समुएल २५:३२, ३३) पछि नाबालको मृत्यु भयो अनि अबिगेलले दाउदसित विवाह गरिन्‌।—१ समुएल २५:३७-४१.

अबिगेलबाट हामी के सिक्न सक्छौँ? अबिगेल सुन्दरी र सम्पन्‍न भए पनि उनी आफूप्रति सन्तुलित दृष्टिकोण राख्थिन्‌। उनी आफूले गर्दै नगरेको गल्तीको लागि क्षमा माग्न तयार भइन्‌ किनकि उनी शान्ति कायम गर्न चाहन्थिन्‌। अवस्था तनावग्रस्त भए पनि उनले कौशलता, साहस र बुद्धि देखाउँदै अनि नआत्तिकन त्यस अवस्थालाई सम्हालिन्‌।

  ईजेबेल

ईजेबेल को थिइन्‌? उनी इस्राएलका राजा आहाबकी पत्नी थिइन्‌। उनी गैर-इस्राएली थिइन्‌ र यहोवाको उपासना गर्दैन थिइन्‌। उनी कनानी देवता बाआलको उपासना गर्थिन्‌।

उनले के गरिन्‌? रानी ईजेबेल अरूलाई दबाएर राख्थिन्‌ अनि उनी निर्दयी र हिंस्रक थिइन्‌। उनले बाआलको उपासनालाई र त्यससित सम्बन्धित यौन अनैतिकतालाई बढावा दिइन्‌। उनले साँचो परमेश्‍वर यहोवाको उपासनालाई नामेट पार्ने प्रयास पनि गरिन्‌।—१ राजा १८:४, १३; १९:१-३.

ईजेबेलले आफ्नो स्वार्थ पूरा गर्न झूट र हत्याको सहारा लिइन्‌। (१ राजा २१:८-१६) तर परमेश्‍वरले भविष्यवाणी गर्नुभएअनुसारै उनले दर्दनाक मृत्यु भोग्नुपऱ्‍यो र उनको लासलाई गाडिएन।—१ राजा २१:२३; २ राजा ९:१०, ३२-३७.

ईजेबेलबाट हामी के सिक्न सक्छौँ? ईजेबेल हाम्रो लागि चेतावनीमूलक उदाहरण हुन्‌। उनी नैतिक रूपमा भ्रष्ट थिइन्‌ र आफ्नो चाहना पूरा गर्न जुन हदसम्म जान पनि तयार थिइन्‌। त्यसैले निर्लज्ज र अनैतिक काम गर्ने अनि कसैको अधीनमा बस्न नचाहने स्त्रीलाई बुझाउन उनको नाम प्रयोग गरिन्छ।

  एस्तर

एस्तर को थिइन्‌? उनी एक यहुदी थिइन्‌, जसलाई फारसी राजा आहासुरसले महारानी बनाउन रोजेका थिए।

उनले के गरिन्‌? महारानी एस्तरले आफ्ना मानिसहरूलाई जातीय संहारबाट जोगाउन आफ्नो अख्तियार चलाइन्‌। एउटा निश्‍चित दिनमा फारस साम्राज्यमा बसोबास गर्ने सम्पूर्ण यहुदीहरूको हत्या गर्ने राजकीय उर्दी जारी भएको छ भन्‍ने कुरा उनले थाह पाइन्‌। यो षड्यन्त्र रच्ने मानिस प्रधानमन्त्री हामान थिए। (एस्तर ३:१३-१५; ४:१,) आफ्नो ज्यानको खतरा भए पनि उनले आफ्नो नातेदार मोर्दकैको मदत लिएर त्यस षड्यन्त्रबारे आफ्नो पति आहासुरसलाई थाह दिइन्‌। (एस्तर ४:१०-१६; ७:१-१०) आहासुरसले एस्तर र मोर्दकैलाई अर्को उर्दी जारी गर्ने अनुमति दिए, जसअनुसार यहुदीहरूले आफ्नो बचाउको लागि लड्‌न सक्थे। त्यसपछि यहुदीहरूले आफ्ना शत्रुहरूमाथि ठूलो जित हासिल गरे।—एस्तर ८:५-११; ९:१६, १७.

एस्तरबाट हामी के सिक्न सक्छौँ? महारानी एस्तरले साहस र नम्रता देखाउने सन्दर्भमा उत्कृष्ट उदाहरण बसालिन्‌। (भजन ३१:२४; फिलिप्पी २:३) आफ्नो सुन्दरता र अख्तियारको घमन्ड नगरी उनले अरूको सल्लाह र मदत स्विकारिन्‌। उनले आफ्नो पतिसित कौशलता र आदर देखाउँदै तर निडर भएर कुरा गरिन्‌। अनि यहुदीहरू ठूलो खतरामा परेको बेला उनले साहसी भएर आफू पनि एक यहुदी हुँ भनेर चिनाइन्‌।

  दबोरा

दबोरा को थिइन्‌? उनी भविष्यवक्‍ता थिइन्‌। यहोवा परमेश्‍वरले इस्राएलीहरूबाट आफूले चाहेको कुरा उनीमार्फत प्रकट गर्नुहुन्थ्यो। इस्राएलीहरूमाझ कुनै समस्या खडा हुँदा त्यसलाई सुल्झाउन पनि परमेश्‍वर उनलाई चलाउनुहुन्थ्यो।—न्यायकर्ता ४:४, ५.

उनले के गरिन्‌? भविष्यवक्‍ता दबोराले साहसी भएर परमेश्‍वरका उपासकहरूलाई साथ दिइन्‌। यहोवाबाट निर्देशन पाएपछि उनले बाराकको नेतृत्वमा इस्राएली सेनालाई आफूहरूमाथि थिचोमिचो गर्ने कनानीहरूसित युद्ध गर्न पठाइन्‌। (न्यायकर्ता ४:६, ७) बाराकले दबोरालाई पनि आफूसँगै आउन आग्रह गर्दा उनी डराउनुको साटो तिनीसँग जान तुरुन्तै राजी भइन्‌।—न्यायकर्ता ४:८, ९.

परमेश्‍वरले इस्राएलीहरूलाई विजयी तुल्याउनुभएपछि दबोरा र बाराकले यहोवाको प्रशंसा गर्दै एउटा गीत गाए, जुन गीतको केही अंश दबोराले रचिन्‌। त्यस गीतमा उनले कनानीहरूलाई हराउन अर्की साहसी स्त्री याएलले खेलेको भूमिकाबारे बताएकी छिन्‌।—न्यायकर्ता अध्याय ५.

दबोराबाट हामी के सिक्न सक्छौँ? दबोरा आत्मत्यागी र साहसी स्त्री थिइन्‌। उनले अरूलाई परमेश्‍वरको नजरमा असल काम गर्न प्रोत्साहन दिइन्‌ अनि मानिसहरूले त्यसो गर्दा उनले उदार भएर त्यसको श्रेय तिनीहरूलाई नै दिइन्‌।

  • दबोराबारे थप कुरा बुझ्न “मैले तिमीहरूलाई एउटी आमाले झैँ सम्हालेँ” भन्‍ने अङ्‌ग्रेजी लेख हेर्नुहोस्‌।

  दलिला

दलिला को थिइन्‌? उनी ती नै स्त्री थिइन्‌, जससित इस्राएलका न्यायकर्ता सिमसोनको माया बसेको थियो।—न्यायकर्ता १६:४, ५.

उनले के गरिन्‌? उनले पलिस्तियाली शासकहरूबाट पैसा लिएर सिमसोनलाई धोका दिइन्‌, जसलाई परमेश्‍वरले इस्राएलीहरूलाई पलिस्तियालीहरूको हातबाट बचाउन चलाइरहनुभएको थियो। पलिस्तियालीहरूले तिनलाई आफ्नो काबूमा लिन सकेनन्‌ किनकि तिनी असाध्यै बलिया थिए। (न्यायकर्ता १३:५) त्यसैले पलिस्तियाली शासकहरूले दलिलाको मदत लिए।

सिमसोन यत्ति बलियो हुनुको कारण पत्ता लगाउन पलिस्तियालीहरूले दलिलालाई घूस दिए। दलिलाले घूस लिइन्‌ अनि थुप्रै चोटिको प्रयासपछि उनले सिमसोनको बलको राज पत्ता लगाइन्‌। (न्यायकर्ता १६:१५-१७) त्यसपछि उनले त्यो राज पलिस्तियालीहरूलाई बताइन्‌ र तिनीहरूले सिमसोनलाई पक्रेर झ्यालखानामा हाले।—न्यायकर्ता १६:१८-२१.

दलिलाबाट हामी के सिक्न सक्छौँ? दलिला हाम्रो लागि चेतावनीमूलक उदाहरण हुन्‌। लोभमा फसेर तिनले यहोवा परमेश्‍वरको सेवकलाई छल गरिन्‌ र आफ्नो स्वार्थको लागि उनलाई धोका दिइन्‌।

  मरियम (मार्थाकी बहिनी र लाजरसकी दिदी)

मरियम को थिइन्‌? उनको भाइ लाजरस र उनकी दिदी मार्थाले जस्तै मरियमले पनि येसुसित घनिष्ठ मित्रता गाँसेकी थिइन्‌।

उनले के गरिन्‌? मरियमले येसुलाई परमेश्‍वरको छोराको रूपमा स्विकारेर थुप्रै चोटि कृतज्ञता व्यक्‍त गरेकी छिन्‌। येसु सँगै हुनुभएको भए उहाँले लाजरसलाई बचाउनुहुने थियो भन्‍ने कुरामा उनले आफ्नो विश्‍वास व्यक्‍त गरिन्‌ र पछि येसुले लाजरसलाई जीवित पार्नुहुँदा उनी त्यहाँ उपस्थित थिइन्‌। मरियमले काममा सघाउनुको सट्टा येसुको कुरा सुनेर बस्दा मार्थाले उनको आलोचना गरिन्‌। तर मरियमले आध्यात्मिक कुरालाई प्रथम स्थान दिएकोले येसुले उनको प्रशंसा गर्नुभयो।—लुका १०:३८-४२.

अर्को एकपटक मरियमले येसुको शिर र पाउमा “महँगो सुगन्धित तेल” खन्याएर आतिथ्य देखाइन्‌। (मत्ति २६:६, ७) त्यहाँ उपस्थित अरूले मरियमले पैसाको नोक्सानी गरेको भन्दै उनको आलोचना गरे। तर येसुले उनको पक्षमा बोल्दै यसो भन्‍नुभयो: “सारा संसारभरि जहाँ-जहाँ [परमेश्‍वरको राज्यको] सुसमाचार प्रचार गरिन्छ, त्यहाँ-त्यहाँ यस स्त्रीले गरेको कुरा पनि उसको सम्झनामा सुनाइनेछ।”—मत्ति २४:१४; २६:८-१३.

मरियमबाट हामी के सिक्न सक्छौँ? मरियमले आफ्नो विश्‍वास बलियो बनाएकी थिइन्‌। उनले अन्य कामकुरालाई भन्दा परमेश्‍वरको उपासनालाई प्रथम स्थानमा राखिन्‌। अनि येसुलाई गहिरो आदर गरेको देखाउन उनी धेरै पैसा खर्च गर्नसमेत तयार भइन्‌।

  मरियम (मोसाकी दिदी)

मरियम को थिइन्‌? उनी मोसा र हारुनकी दिदी थिइन्‌। बाइबलमा भविष्यवक्‍ताको रूपमा चिनाइएको पहिलो स्त्री मरियम थिइन्‌।

उनले के गरिन्‌? भविष्यवक्‍ताको रूपमा उनले मानिसहरूलाई परमेश्‍वरको सन्देश सुनाउने जिम्मेवारी पाएकी थिइन्‌। उनले इस्राएलमा महत्त्वपूर्ण ओहदा पाएकी थिइन्‌ र परमेश्‍वरले लाल समुद्रमा मिश्री सेनालाई नाश गर्नुभएपछि उनले अरू पुरुषहरूसँगै विजयगान गाइन्‌।—प्रस्थान १५:१, २०, २१.

केही समयपछि मरियम र हारुनले मोसाको आलोचना गर्न थाले। सायद तिनीहरूमा डाह र घमन्ड उत्पन्‍न भएको थियो। परमेश्‍वरले तिनीहरूको गनगन “सुनिरहनुभएको थियो” र उहाँले तिनीहरूलाई कडा सल्लाह दिनुभयो। (गन्ती १२:१-९) त्यसपछि परमेश्‍वरले मरियमलाई कुष्ठरोगले प्रहार गर्नुभयो किनकि सुरुमा मोसाको आलोचना गर्ने उनी नै थिइन्‌। मोसाले परमेश्‍वरसित मरियमको तर्फबाट बिन्ती गरेपछि उनी निको भइन्‌। सात दिन छाउनीबाहिर एक्लै बसेपछि उनी छाउनीमा फर्किन्‌।—गन्ती १२:१०-१५.

परमेश्‍वरले सुधार्नुहुँदा मरियमले त्यो स्विकारिन्‌ भनेर बाइबलले सङ्‌केत गर्छ। सयौँ वर्षपछि परमेश्‍वरले मरियमले पाएको विशेष सुअवसरबारे उल्लेख गर्दै इस्राएलीहरूलाई यसो भन्‍नुभयो: “मोसा, हारुन र मरियमलाई मैले तिमीहरूको अघिअघि पठाएँ।”—मिका ६:४.

मरियमबाट हामी के सिक्न सक्छौँ? मरियमको विवरणबाट परमेश्‍वर आफ्नो उपासकहरूले एकअर्कालाई वा एकअर्काको बारेमा के भन्छन्‌, त्यसमा चासो राख्नुहुन्छ भनेर देखिन्छ। यस विवरणबाट परमेश्‍वरलाई खुसी तुल्याउने हो भने हामी घमन्डी वा डाही हुनु हुँदैन भन्‍ने कुरा पनि सिक्न सक्छौँ। किनकि हामीमा यस्ता अवगुणहरू छन्‌ भने अरूको प्रतिष्ठामा आँच पुर्‌याउने हदसम्म पुग्न सक्छौँ।

  मरियम (येसुकी आमा)

मरियम को थिइन्‌? उनी एक यहुदी युवती थिइन्‌ र येसुलाई जन्म दिँदा उनी कन्या थिइन्‌। परमेश्‍वरले आफ्नो छोराको जीवन चमत्कारपूर्ण तरिकामा उनको गर्भमा सारिदिनुभयो।

उनले के गरिन्‌? मरियमले नम्र भई परमेश्‍वरको इच्छाअनुसार गरिन्‌। एक जना स्वर्गदूत उनीकहाँ देखा परे अनि उनी गर्भवती हुनेछिन्‌ र उनले प्रतिज्ञा गरिएको मसीहलाई जन्म दिनेछिन्‌ भनेर बताए। त्यतिबेला मरियमको युसुफसँग मगनी भइसकेको थियो। (लुका १:२६-३३) उनले त्यो जिम्मेवारी आनाकानी नगरी स्विकारिन्‌। येसुको जन्म भएपछि मरियम र युसुफको अरू चार जना छोरा र कम्तीमा दुई जना छोरी जन्मिए। त्यसैले मरियम कन्या रहिनन्‌। (मत्ति १३:५५, ५६) मरियमले विशेष सुअवसर पाएकी थिइन्‌। तैपनि उनले पृथ्वीमा येसुको सेवाको दौडान वा ख्रिष्टियन मण्डलीको सदस्य भएपछि अरूबाट प्रशंसा खोजेको र मानिसहरूले उनलाई विशेष ओहदा दिएको कुनै छनक पाइँदैन।

मरियमबाट हामी के सिक्न सक्छौँ? मरियम एक वफादार स्त्री थिइन्‌, जसले एउटा गम्भीर जिम्मेवारी कुनै आनाकानी नगरी स्विकारिन्‌। उनीसित धर्मशास्त्रको राम्रो ज्ञान थियो। मरियमले लुका १:४६-५५ मा रेकर्ड गरिएका शब्दहरू व्यक्‍ति गर्दा उनले लगभग २० पटक धर्मशास्त्रबाट उद्धरण गरिन्‌ जस्तो देखिन्छ।

  • मरियमबारे थप कुरा बुझ्न “येशूकी आमाको उदाहरणबाट हामी के सिक्न सक्छौं?” भन्‍ने लेख हेर्नुहोस्‌।

  मरियम मग्दलिनी

मरियम मग्दलिनी को थिइन्‌? उनी येसुको वफादार चेली थिइन्‌।

उनले के गरिन्‌? येसु र उहाँका चेलाहरूसँगै यात्रा गरेका केही स्त्रीमध्ये एक जना मरियम मग्दलिनी पनि थिइन्‌। उहाँहरूको भौतिक आवश्‍यकता पूरा गर्न उनले उदार भएर आफ्नो सम्पत्ति खर्च गरिन्‌। (लुका ८:१-३) उनी येसुको सेवाको कामको अन्तसम्मै उहाँको पछि लागिन्‌ र उहाँलाई मृत्युदण्ड दिइँदा पनि उनी त्यहाँ उपस्थित थिइन्‌। मृत्युबाट जीवित हुनुभएको येसुलाई देख्ने पहिलो स्त्रीहरूमध्ये एक जना उनी पनि थिइन्‌।—युहन्‍ना २०:११-१८.

मरियमबाट हामी के सिक्न सक्छौँ? मरियम मग्दलिनीले येसुको सेवाको दौडान उदार भएर उहाँलाई सघाइन्‌ र उहाँप्रति वफादार रहिन्‌।

  मार्था

मार्था को थिइन्‌? उनी लाजरस र मरियमकी दिदी थिइन्‌। उनीहरू यरुसलेमनजिकै बेथानि भन्‍ने गाउँमा बस्थे।

उनले के गरिन्‌? मार्थाले येसुसित घनिष्ठ मित्रता गाँसेकी थिइन्‌। “मार्था, तिनकी बहिनी र लाजरसलाई येसु माया गर्नुहुन्थ्यो।” (युहन्‍ना ११:५) मार्था अतिथिसत्कार गर्न मन पराउँथिन्‌। येसु एकचोटि उनको घरमा आउनुभएको बेला मरियम येसुसँगै बसेर उहाँको कुरा सुनिरहेकी थिइन्‌ तर मार्था भने पकाउनमा व्यस्त थिइन्‌। मरियमले काममा नसघाएको कुरा उनले येसुलाई बताइन्‌। येसुले मायालुपूर्वक मार्थाको सोचाइ सच्याउनुभयो।—लुका १०:३८-४२.

लाजरस बिरामी पर्दा मार्था र उनकी बहिनीले येसुलाई बोलाउन पठाए किनकि उहाँले भाइलाई निको पार्न सक्नुहुन्छ भनेर उनीहरू विश्‍वस्त थिए। (युहन्‍ना ११:३, २१) तर दुःखको कुरा, लाजरसको मृत्यु भयो। मार्थाले येसुसँग गरेको कुराकानीबाट उनी मरेकाहरू फेरि जीवित हुने बाइबलको प्रतिज्ञामा र येसुले आफ्नो भाइलाई फेरि जीवित पार्न सक्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त थिइन्‌ भन्‍ने कुरा देखिन्छ।—युहन्‍ना ११:२०-२७.

मार्थाबाट हामी के सिक्न सक्छौँ? मार्था अतिथिसत्कार गर्न खुबै मन पराउँथिन्‌। उनी सल्लाह पाउँदा आनाकानी नगरी स्विकार्थिन्‌। उनी आफ्नो भावना र विश्‍वासबारे खुलेर कुरा गर्थिन्‌।

  याएल

याएल को थिइन्‌? उनी गैर-इस्राएली हेबेरकी पत्नी थिइन्‌। याएल साहसी भएर परमेश्‍वरका मानिसहरूको पक्षमा खडा भइन्‌।

उनले के गरिन्‌? कनानी सेनाको सेनापति सिसरा याएलको पालमा आउँदा उनले तुरुन्तै कदम चालिन्‌। सिसरा इस्राएलसितको लडाइँमा पराजित भएका थिए। त्यसैले तिनी इस्राएली सेनादेखि लुक्न र केही बेर आराम गर्न याएलको पालमा आइपुगे। याएलले तिनलाई आफ्नो पालभित्र बोलाइन्‌ र आराम गर्न भनिन्‌। अनि सिसरा निदाएपछि उनले तिनलाई मारिन्‌।—न्यायकर्ता ४:१७-२१.

याएलको यस कामले दबोराले गरेको यो भविष्यवाणी पूरा गऱ्‍यो: “यहोवा परमेश्‍वरले सिसरालाई एउटी स्त्रीको हातमा सुम्पिदिनुहुनेछ।” (न्यायकर्ता ४:९) याएलले यस्तो साहसी काम गरेकोले उनलाई “स्त्रीहरूमध्ये सबैभन्दा आनन्दित” भनेर प्रशंसा गरियो।—न्यायकर्ता ५:२४.

याएलबाट हामी के सिक्न सक्छौँ? याएलले अग्रसरता र साहस देखाइन्‌। आफूले गरेको भविष्यवाणी पूरा गर्न परमेश्‍वर घटनालाई जुनसुकै मोड दिन सक्नुहुन्छ भनेर उनको उदाहरणले देखाउँछ।

  राहाब

राहाब को थिइन्‌? उनी कनानी सहर यरिहोमा बस्ने एक वेश्‍या थिइन्‌ तर पछि उनी यहोवा परमेश्‍वरको उपासक बनिन्‌।

उनले के गरिन्‌? राहाबले देशको जासुसी गर्न आएका दुई जना इस्राएलीलाई आफ्नो घरमा लुकाइन्‌। किनकि इस्राएलका परमेश्‍वर यहोवाले आफ्ना मानिसहरूलाई कसरी मिश्रबाट छुटाएर ल्याउनुभयो र पछि एमोरी भनिने जातिहरूको आक्रमणबाट उनीहरूलाई कसरी जोगाउनुभयो भनेर उनले सुनेकी थिइन्‌।

राहाबले ती जासुसहरूलाई मदत गरिन्‌ र इस्राएलीहरू यरिहोलाई नाश गर्न आउँदा आफू र आफ्नो घरानालाई जोगाउन बिन्ती गरिन्‌। तिनीहरू राजी भए तर केही सर्तहरू थिए: उनले तिनीहरूको योजना गोप्य राख्नुपर्थ्यो, इस्राएलीहरू आक्रमण गर्न आउँदा उनी र उनको परिवार घरभित्रै बस्नुपर्थ्यो र आफ्नो घर चिनाउन झ्यालमा रातो डोरी झुन्ड्याएर राख्नुपर्थ्यो। राहाबले सबै निर्देशन पालन गरिन्‌ अनि इस्राएलीहरूले यरिहोमाथि आक्रमण गर्दा उनी र उनको घराना जोगिए।

पछि राहाबले एक इस्राएलीसँग विवाह गरिन्‌ अनि उनी राजा दाउद र येसु ख्रिष्टको पुर्खा भइन्‌।—यहोसु २:१-२४; ६:२५; मत्ति १:५, ६, १६.

राहाबबाट हामी के सिक्न सक्छौँ? बाइबलमा राहाबलाई उल्लेखनीय विश्‍वास भएको स्त्रीको रूपमा चिनाइएको छ। (हिब्रू ११:३०, ३१; याकुब २:२५) उनको विवरणले परमेश्‍वर क्षमाशील र निष्पक्ष हुनुहुन्छ अनि जुनसुकै पृष्ठभूमिको भए तापनि उहाँमाथि भरोसा गर्नेहरूलाई आशिष्‌ दिनुहुन्छ भनेर देखाउँछ।

  • राहाबबारे थप कुरा बुझ्न “उनी ‘कामद्वारा धर्मी ठहरिइन्‌’” भन्‍ने अङ्‌ग्रेजी लेख हेर्नुहोस्‌।

  राहेल

राहेल को थिइन्‌? उनी लाबानकी छोरी र कुलपिता याकुबले मन पराएको पत्नी थिइन्‌।

उनले के गरिन्‌? राहेलले याकुबसित विवाह गरिन्‌ र तिनीबाट दुई जना छोरा जन्माइन्‌। ती छोराहरू पछि पुरातन इस्राएलको १२ कुलका स्थापकहरूमध्ये भए। राहेलले आफ्नो बुबाका भेडाहरू चराइरहेको बेला पहिलो चोटि याकुबलाई भेटेकी थिइन्‌। (उत्पत्ति २९:९, १०) उनकी दिदी लेआको तुलनामा उनी “असाध्यै हिसी परेकी र राम्री” थिइन्‌।—उत्पत्ति २९:१७.

याकुबले राहेललाई मन पराउन थाले र उनलाई आफ्नी पत्नी बनाउन सात वर्ष लाबानकहाँ काम गर्न राजी भए। (उत्पत्ति २९:१८) तर लाबानले छल गरेर पहिला याकुबसित लेआको विवाह गराइदिए। पछि तिनले याकुबलाई राहेल पनि दिए।—उत्पत्ति २९:२५-२७.

याकुब लेआ र तिनीबाट जन्मेका छोराछोरीलाई भन्दा राहेल र उनका दुई छोरालाई धेरै माया गर्थे। (उत्पत्ति ३७:३; ४४:२०, २७-२९) यसले गर्दा यी दुई जना स्त्रीबीच शत्रुता बढ्यो।—उत्पत्ति २९:३०; ३०:१, १५.

राहेलबाट हामी के सिक्न सक्छौँ? आफ्नो पारिवारिक अवस्था निकै गाह्रो भए पनि परमेश्‍वरले आफ्नो प्रार्थनाको जवाफ दिनुहुन्छ भन्‍ने कुरामा उनले कहिल्यै आशा मारिनन्‌। (उत्पत्ति ३०:२२-२४) बहुविवाहले परिवारमा कत्ति धेरै समस्या खडा गर्छ भन्‍ने कुरा उनको विवरणबाट देखिन्छ। राहेलको अनुभवले विवाहबारे परमेश्‍वरको सुरुको स्तर अर्थात्‌ एक जना पुरुषको एक जना मात्र पत्नी हुनुपर्छ भन्‍ने स्तर कत्ति सही थियो भन्‍ने कुरा प्रस्ट पार्छ।—मत्ति १९:४-६.

  • राहेलबारे थप कुरा बुझ्न “दुई दिदीबहिनी जसबाट ‘इस्राएल राष्ट्रको जन्म भयो’” भन्‍ने अङ्‌ग्रेजी लेख हेर्नुहोस्‌।

  • परमेश्‍वरले केही समयको लागि आफ्ना जनहरूलाई बहुविवाह गर्ने अनुमति किन दिनुभएको थियो भनेर बुझ्न “के परमेश्‍वर बहुविवाहलाई अनुमोदन दिनुहुन्छ?” भन्‍ने अङ्‌ग्रेजी लेख हेर्नुहोस्‌।

  रिबेका

रिबेका को थिइन्‌? उनी इसहाककी पत्नी र जुम्ल्याहा दाजुभाइ याकुब र एसावकी आमा थिइन्‌।

उनले के गरिन्‌? गाह्रो अवस्थामा पनि रिबेका परमेश्‍वरको इच्छाअनुसार चलिन्‌। पानी भर्न इनारमा जाँदा एक जना मानिसले उनीसित अलिकता पानी मागे। रिबेकाले तिनलाई तुरुन्तै पानी दिइन्‌ र तिनका उँटहरूलाई पनि पानी खुवाउन अग्रसर भइन्‌। (उत्पत्ति २४:१५-२०) ती मानिस अब्राहामका नोकर थिए र अब्राहामका छोरा इसहाकको लागि पत्नी खोज्न धेरै टाढाबाट आएका थिए। (उत्पत्ति २४:२-४) तिनले परमेश्‍वरको डोऱ्‍याइको लागि पनि प्रार्थना गरे। रिबेकाको मेहनत र अतिथिसत्कार गर्ने मनोभाव देखेपछि परमेश्‍वरले आफ्नो प्रार्थनाको जवाफ दिनुभएको र इसहाकको लागि आफूले रोजेको स्त्री उनी नै हुन्‌ भनेर सङ्‌केत दिनुभएको तिनले महसुस गरे।—उत्पत्ति २४:१०-१४, २१, २७.

रिबेकाले ती मानिस त्यहाँ आउनुको कारण थाह पाएपछि उनी तिनीसँगै जान र इसहाकको पत्नी हुन राजी भइन्‌। (उत्पत्ति २४:५७-५९) पछि रिबेकाले जुम्ल्याहा छोराहरू जन्माइन्‌। जेठो छोरा एसावले कान्छो छोरा याकुबको सेवा गर्नेछन्‌ भनेर परमेश्‍वरले रिबेकालाई बताउनुभएको थियो। (उत्पत्ति २५:२३) त्यसकारण इसहाकले एसावलाई जेठो छोराले पाउनुपर्ने आशिष्‌ दिन लागेको कुरा थाह पाएपछि रिबेकाले त्यो आशिष्‌ याकुबले पाओस्‌ भनेर तुरुन्तै कदम चालिन्‌।—उत्पत्ति २७:१-१७.

रिबेकाबाट हामी के सिक्न सक्छौँ? रिबेका नम्र र मेहनती थिइन्‌ अनि उनमा अतिथिसत्कार गर्ने मनोभाव थियो। यस्ता गुणहरूले नै उनलाई एक जना पत्नी, आमा र साँचो परमेश्‍वरको उपासकको रूपमा सफल हुन मदत गऱ्‍यो।

  • रिबेकाबारे थप कुरा बुझ्न “अँ, म जान्छु” भन्‍ने अङ्‌ग्रेजी लेख हेर्नुहोस्‌।

  रुथ

रुथ को थिइन्‌? रुथ एक मोआबी थिइन्‌। उनी आफूले मान्दै आएको देवीदेवता र जन्मभूमि छोडेर इस्राएल गइन्‌ र यहोवाको उपासक बनिन्‌।

उनले के गरिन्‌? रुथ आफ्नी सासू नाओमीलाई धेरै माया गर्थिन्‌। इस्राएलमा अनिकाल परेपछि नाओमी आफ्नो पति र दुई जना छोरासँगै मोआब गएकी थिइन्‌। तिनका छोराहरूले मोआबी स्त्रीहरू रुथ र ओर्पासित विवाह गरे। तर पछि नाओमीको पति र दुवै जना छोराको मृत्यु भयो र ती तीनै जना स्त्री विधवा भए।

खडेरी अन्त भएपछि नाओमीले इस्राएल फर्कने निर्णय गरिन्‌। रुथ र ओर्पाले पनि तिनीसँगै जाने निर्णय गरे। तर नाओमीले तिनीहरूलाई आफ्नै नातेदारहरूकहाँ फर्कन सल्लाह दिइन्‌। ओर्पा फर्किन्‌। (रुथ १:१-६, १५) तर रुथ भने आफ्नी सासूलाई एक्लै छोडेर जान मानिनन्‌। उनी नाओमीलाई माया गर्थिन्‌ र नाओमीकै परमेश्‍वर यहोवाको उपासना गर्न चाहन्थिन्‌।—रुथ १:१६, १७; २:११.

नाओमीको गृहनगर बेतलेहेमका मानिसहरूले रुथलाई एक जना असल बुहारी र परिश्रमी स्त्री भनेर चिन्‍न थाले। बोअज नाम गरेका एक धनी जमिनदार रुथको काम देखेर प्रभावित भए अनि तिनले उदार भएर उनी र नाओमीको लागि खानेकुराको प्रबन्ध मिलाइदिए। (रुथ २:५-७, २०) पछि रुथले बोअजसित विवाह गरिन्‌ अनि राजा दाउद र येसु ख्रिष्टको पुर्खा बन्‍ने सुअवसर पाइन्‌।—मत्ति १:५, ६, १६.

रुथबाट हामी के सिक्न सक्छौँ? नाओमी र यहोवाप्रतिको प्रेमले गर्दा रुथ आफ्नो जन्मभूमि र परिवार छोडेर इस्राएल आउन तयार भइन्‌। उनी परिश्रमी र लगनशील थिइन्‌ अनि गाह्रो अवस्थामा समेत वफादार भइरहिन्‌।

  लुतकी पत्नी

लुतकी पत्नी को थिइन्‌? बाइबलमा उनको नाम उल्लेख गरिएको छैन। तर उनको दुई जना छोरी थिए र उनीहरूले सदोम सहरमा घर बनाएका थिए भन्‍ने कुरा भने बताइएको छ।—उत्पत्ति १९:१, १५.

उनले के गरिन्‌? उनले परमेश्‍वरको निर्देशन पालन गरिनन्‌। परमेश्‍वरले सदोम र त्यस वरपरका सहरहरूलाई विनाश गर्ने निर्णय गर्नुभएको थियो किनकि ती सहरहरूमा यौन अनैतिकता अत्यन्तै बढेको थियो। तर सदोममा बस्ने धर्मी लुत र तिनको परिवारलाई परमेश्‍वर प्रेम गर्नुहुन्थ्यो। त्यसैले उहाँले तिनीहरूलाई त्यस सहरबाट सुरक्षितसाथ निकाल्न दुई जना स्वर्गदूत पठाउनुभयो।—उत्पत्ति १८:२०; १९:१, १२, १३.

स्वर्गदूतहरूले लुतको परिवारलाई त्यो ठाउँ छोडेर भाग्न र पछाडि फर्केर नहेर्न निर्देशन दिएका थिए। पछाडि फर्केर हेरेमा तिनीहरूले आफ्नो ज्यान गुमाउनुपर्ने थियो। (उत्पत्ति १९:१७) तर लुतकी पत्नीले “पछाडि फर्केर हेर्न थालिन्‌ र तिनी नुनको खम्बा भइन्‌।”—उत्पत्ति १९:२६.

लुतकी पत्नीबाट हामी के सिक्न सक्छौँ? परमेश्‍वरप्रति अनाज्ञाकारी हुने हदसम्म भौतिक कुराहरूको प्रेममा फस्नु कत्ति खतरनाक छ भनेर उनको विवरणले देखाउँछ। येसुले उनलाई चेतावनीमूलक उदाहरणको रूपमा उल्लेख गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “लुतकी पत्नीलाई सम्झ!”—लुका १७:३२.

  लेआ

लेआ को थिइन्‌? उनी कुलपिता याकुबको पहिलो पत्नी थिइन्‌। उनकी बहिनी राहेल याकुबको अर्की पत्नी थिइन्‌।—उत्पत्ति २९:२०-२९.

उनले के गरिन्‌? लेआले याकुबबाट छ जना छोरा जन्माइन्‌। (रुथ ४:११) याकुब लेआसँग नभई राहेलसँग विवाह गर्न चाहन्थे। तर लेआ र राहेलका बुबा लाबानले याकुबलाई झुक्क्याएर राहेलको सट्टा लेआ दिए। लाबानले आफूलाई छल गरेको कुरा थाह पाएपछि याकुब लाबानसँग कुरा गर्न गए। लाबानले तिनीहरूको चलनअनुसार जेठी हुँदाहुँदै कान्छीको बिहे पहिला गरिदिनु हुँदैन भनेर बताए। एक हप्तापछि याकुबले राहेलसँग विवाह गरे।—उत्पत्ति २९:२६-२८.

याकुब लेआलाई भन्दा राहेललाई धेरै माया गर्थे। (उत्पत्ति २९:३०) यो देखेर लेआलाई डाह लाग्यो र उनले याकुबको माया पाउन आफ्नी बहिनीसित प्रतिस्पर्धा गर्न थालिन्‌। परमेश्‍वरले लेआको भावना बुझ्नुभयो अनि उनलाई छ जना छोरा र एक जना छोरी दिनुभयो।—उत्पत्ति २९:३१.

लेआबाट हामी के सिक्न सक्छौँ? लेआले प्रार्थना गरेर परमेश्‍वरमा भर परिन्‌ र परिवारमा समस्याहरू भए तापनि परमेश्‍वरप्रति कृतज्ञ भइरहिन्‌। (उत्पत्ति २९:३२-३५; ३०:२०) यहोवाले केही समयको लागि बहुविवाहलाई अनुमति दिनुभएको भए तापनि उनको विवरणबाट बहुविवाहले वैवाहिक जीवनमा समस्या मात्र खडा गर्छ भनेर देखाउँछ। विवाहको लागि परमेश्‍वरको स्तर स्पष्ट छ; उहाँ एक जना पुरुष वा स्त्रीको एक जना मात्र जीवनसाथी भएको चाहनुहुन्छ।—मत्ति १९:४-६.

  • लेआबारे थप कुरा बुझ्न “दुई दिदीबहिनी जसबाट ‘इस्राएल राष्ट्रको जन्म भयो’” भन्‍ने अङ्‌ग्रेजी लेख हेर्नुहोस्‌।

  • परमेश्‍वरले केही समयको लागि आफ्ना जनहरूलाई बहुविवाह गर्ने अनुमति किन दिनुभएको थियो भनेर बुझ्न “के परमेश्‍वर बहुविवाहलाई अनुमोदन दिनुहुन्छ?” भन्‍ने अङ्‌ग्रेजी लेख हेर्नुहोस्‌।

  सारा

सारा को थिइन्‌? उनी अब्राहामकी पत्नी र इसहाककी आमा थिइन्‌।

उनले के गरिन्‌? साराले सम्पन्‍न सहर उरको आरामदायी जीवन त्यागिन्‌ किनकि उनी आफ्नो पति अब्राहामसित परमेश्‍वरले गर्नुभएको प्रतिज्ञामा विश्‍वास गर्थिन्‌। परमेश्‍वरले अब्राहामलाई उर छोडेर कनान देशमा जान आदेश दिनुभयो। परमेश्‍वरले तिनलाई आशिष्‌ दिने र तिनीबाट एउटा ठूलो जाति बनाउने प्रतिज्ञा पनि गर्नुभयो। (उत्पत्ति १२:१-५) सायद त्यतिबेला साराको उमेर ६० वर्ष कटिसकेको थियो। त्यसपछि सारा र उनका पतिले एक ठाउँबाट अर्को ठाउँमा सर्दै पालमा जीवन बिताउन थाले।

त्यसरी पालमा जीवन बिताउनु पक्कै पनि खतरनाक थियो। तैपनि आफ्नो पतिले परमेश्‍वरको निर्देशन पालन गर्दा साराले तिनलाई साथ दिइन्‌। (उत्पत्ति १२:१०, १५) वर्षौँसम्म साराको एउटा पनि सन्तान भएन। त्यसैले तिनी असाध्यै निराश थिइन्‌। तर परमेश्‍वरले अब्राहामको सन्तानलाई आशिष्‌ दिने प्रतिज्ञा गर्नुभएको थियो। (उत्पत्ति १२:७; १३:१५; १५:१८; १६:१, २, १५) पछि परमेश्‍वरले साराले एउटा छोरा जन्माउनेछिन्‌ भनेर प्रतिज्ञा गर्नुभयो। नभन्दै वृद्ध भइसकेकी साराले एउटा छोरा जन्माइन्‌। त्यतिबेला उनी ९० वर्ष र उनका पति १०० वर्ष पुगिसकेका थिए। (उत्पत्ति १७:१७; २१:२-५) तिनीहरूले छोराको नाम इसहाक राखे।

साराबाट हामी के सिक्न सक्छौँ? परमेश्‍वरले गर्नुभएको कुनै-कुनै प्रतिज्ञा असम्भव जस्तो देखिए पनि उहाँका सबै प्रतिज्ञामा भरोसा राख्न सक्छौँ भन्‍ने कुरा हामी साराको उदाहरणबाट सिक्न सक्छौँ। (हिब्रू ११:११) अनि पत्नीको रूपमा उनले बसालेको राम्रो उदाहरणले वैवाहिक सम्बन्धमा आदरको महत्त्वपूर्ण भूमिका छ भनेर देखाउँछ।—१ पत्रुस ३:५, ६.

  सुलम्मेनी युवती

सुलम्मेनी युवती को थिइन्‌? उनी एक सुन्दरी गाउँले ठिटी थिइन्‌ र उनी श्रेष्ठगीत भनिने बाइबलको किताबको मुख्य पात्र हुन्‌। बाइबलमा उनको नाम खुलाइएको छैन।

उनले के गरिन्‌? सुलम्मेनी युवती आफ्नो प्रेमीप्रति वफादारी रहिन्‌, जो एक जना गोठालो थिए। (श्रेष्ठगीत २:१६) उनी बिछट्टै सुन्दरी भएकीले धनाढ्य राजा सुलेमानले उनीमाथि आँखा गाडे र उनको मन जित्न प्रयास गरे। (श्रेष्ठगीत ७:६) अरूले सुलेमानलाई रोज्न दबाब दिए पनि उनले त्यसो गरिनन्‌। उनी गोठालो ठिटोलाई माया गर्थिन्‌ र तिनीप्रति वफादार रहिन्‌।—श्रेष्ठगीत ३:५; ७:१०; ८:६.

सुलम्मेनी युवतीबाट हामी के सिक्न सक्छौँ? उनी सुन्दरी भए पनि र अरूले आफूलाई बढ्‌तै ध्यान दिए पनि उनले घमन्ड गरिनन्‌। साथीहरूको दबाबमा परेर अथवा धन र मान पाउने लोभमा फसेर उनले आफ्नो प्रेमीलाई धोका दिइनन्‌। उनले आफ्नो भावनालाई काबूमा राखिन्‌ र नैतिक रूपमा स्वच्छ रहिन्‌।

  हन्‍ना

हन्‍ना को थिइन्‌? उनी एल्कानाकी पत्नी र समुएलकी आमा थिइन्‌। समुएल पछि इस्राएलको एक जना चिरपरिचित भविष्यवक्‍ता भए।—१ समुएल १:१, २, ४-७.

उनले के गरिन्‌? हन्‍ना निस्सन्तान छँदा उनले सान्त्वनाको लागि परमेश्‍वरको बाटो हेरिन्‌। एल्कानाका दुई जना पत्नी थिए। तिनको अर्की पत्नी पनिन्‍नाहको छोराछोरी थिए तर हन्‍नाको भने विवाह भएको लामो समयसम्म पनि कुनै सन्तान थिएन। पनिन्‍नाहले उनको खिल्ली उडाउँथिन्‌ तर हन्‍ना सान्त्वनाको लागि परमेश्‍वरलाई प्रार्थना गर्थिन्‌। उनले परमेश्‍वरसित एउटा भाकल गरिन्‌। परमेश्‍वरले एउटा छोरा दिनुभयो भने उसलाई वासस्थानमा सेवा गर्न पठाउनेछु भनेर उनले वाचा गरिन्‌। (१ समुएल १:११) वासस्थान भनेको इस्राएलीहरूले परमेश्‍वरको उपासना गर्न प्रयोग गरेको पाल हो र त्यसलाई यताउता लैजान सकिन्थ्यो।

परमेश्‍वरले हन्‍नाको प्रार्थनाको जवाफ दिनुभयो र उनले समुएललाई जन्माइन्‌। हन्‍नाले आफ्नो भाकल पूरा गरिन्‌। उनले बालक समुएललाई वासस्थानमा सेवा गर्न पठाइन्‌। (१ समुएल १:२७, २८) उनी हरेक वर्ष समुएलको लागि अलखा बनाएर लगिदिने गर्थिन्‌। परमेश्‍वरको आशिष्‌ले गर्दा पछि हन्‍नाले तीन छोरा र दुई छोरी पनि जन्माइन्‌।—१ समुएल २:१८-२१.

हन्‍नाबाट हामी के सिक्न सक्छौँ? हन्‍नाले मनैदेखि प्रार्थना गरेकीले आफ्नो पीडा सहन सकिन्‌। पहिलो समुएल २:१-१० मा रेकर्ड गरिएको उनको प्रार्थनामा परमेश्‍वरमाथिको उनको बलियो विश्‍वास झल्किन्छ।

  • हन्‍नाबारे थप कुरा बुझ्न “तिनले प्रार्थनामा परमेश्‍वरलाई मनको बह पोखाइन्‌” भन्‍ने लेख हेर्नुहोस्‌।

  • पुरातन समयमा परमेश्‍वरले आफ्ना जनहरूलाई बहुविवाह गर्ने अनुमति किन दिनुभएको थियो भनेर बुझ्न “के परमेश्‍वर बहुविवाहलाई अनुमोदन दिनुहुन्छ?” भन्‍ने अङ्‌ग्रेजी लेख हेर्नुहोस्‌।

  हव्वा

हव्वा को थिइन्‌? उनी सबैभन्दा पहिलो स्त्री थिइन्‌ र बाइबलमा उल्लेख गरिएको पहिलो स्त्री पनि उनी नै हुन्‌।

उनले के गरिन्‌? हव्वाले परमेश्‍वरको स्पष्ट आज्ञा उल्लङ्‌घन गरिन्‌। उनको पति आदमजस्तै हव्वा पनि त्रुटिरहित थिइन्‌ अनि उनलाई पनि प्रेम र बुद्धिजस्ता ईश्‍वरीय गुणहरू खेती गर्न सक्ने क्षमता र स्वतन्त्र इच्छासहित सृष्टि गरिएको थियो। (उत्पत्ति १:२७) बगैँचामा भएको एउटा रूखको फल खायो भने मर्नुपर्छ भनेर परमेश्‍वरले आदमलाई दिनुभएको आज्ञा हव्वालाई पनि थाह थियो। तर सैतानले उनलाई त्यो फल खाए पनि मर्नु पर्दैन बरु उनको जीवन अझै राम्रो हुन्छ भनेर झुक्क्यायो। त्यसैले उनले त्यो फल खाइन्‌ र आफ्नो पतिलाई पनि दिइन्‌।—उत्पत्ति ३:१-६; १ तिमोथि २:१४.

हव्वाबाट हामी के सिक्न सक्छौँ? मनमा खराब इच्छा खेलाइरह्‍यो भने नतिजा कस्तो हुन्छ भन्‍ने सन्दर्भमा हव्वा हाम्रो लागि चेतावनीमूलक उदाहरण हुन्‌। उनले परमेश्‍वरको स्पष्ट आज्ञालाई बेवास्ता गरिन्‌ अनि आफ्नो अधिकारमै नभएको कुरा प्राप्त गर्ने तृष्णा जगाइन्‌।—उत्पत्ति ३:६; १ युहन्‍ना २:१६.

 बाइबलमा उल्लिखित स्त्रीहरूको समयरेखा

  1.  हव्वा

  2. जलप्रलय (ई.पू. २३७०)

  3.  सारा

  4.  लुतकी पत्नी

  5.  रिबेका

  6.  लेआ

  7.  राहेल

  8. प्रस्थान (ई.पू. १५१३)

  9.  मरियम (मोसाकी दिदी)

  10.  राहाब

  11.  रुथ

  12.  दबोरा

  13.  याएल

  14.  दलिला

  15.  हन्‍ना

  16. इस्राएलको पहिलो राजा (ई.पू. १११७)

  17.  अबिगेल

  18.  सुलम्मेनी युवती

  19.  ईजेबेल

  20.  एस्तर

  21.  मरियम (येसुकी आमा)

  22. येसुको बप्तिस्मा (इ.सं. २९)

  23.  मार्था

  24.  मरियम (मार्थाकी बहिनी र लाजरसकी दिदी)

  25.  मरियम मग्दलिनी

  26. येसुको मृत्यु (इ.सं. ३३)