सीधै सामग्रीमा जाने

पवित्र शक्‍ति के हो?

पवित्र शक्‍ति के हो?

बाइबलको जवाफ

पवित्र शक्‍ति भनेको परमेश्‍वरले आफ्नो काम पूरा गर्न प्रयोग गर्ने शक्‍ति अर्थात्‌ उहाँको सक्रिय शक्‍ति हो। (मिका ३:८; लुका १:३५) परमेश्‍वर आफ्नो उद्देश्‍य पूरा गर्न आफ्नो शक्‍ति जुनसुकै ठाउँमा पनि पठाउन सक्नुहुन्छ।—भजन १०४:३०; १३९:७.

हिब्रू शब्द रुवाक र ग्रीक शब्द न्युमा-लाई नेपाली बाइबलमा (नयाँ संसार अनुवाद) “शक्‍ति” भनेर अनुवाद गरिएको छ। प्रायजसो अवस्थामा यसले परमेश्‍वरको सक्रिय शक्‍ति अर्थात्‌ पवित्र शक्‍तिलाई बुझाउँछ। (उत्पत्ति १:२) तर बाइबलले ती शब्दहरूलाई अन्य अर्थमा पनि प्रयोग गरेको छ:

माथि बताइएका विभिन्‍न अर्थले मानिसको आँखाले नदेखे तापनि त्यसको असर महसुस हुने कुरालाई बुझाउँछ। त्यसरी नै, परमेश्‍वरको शक्‍ति “हावाजस्तै अदृश्‍य, अलौकिक र शक्‍तिशाली हुन्छ।”—डब्ल्यु. इ. भाइनको एन एक्सपोजिटरी डिक्सनरी अफ न्यु टेस्टामेन्ट वर्डस्‌।

बाइबलमा परमेश्‍वरको पवित्र शक्‍तिलाई उहाँको “हात” वा “औँला” पनि भनिएको छ। (भजन ८:३; १९:१; लुका ११:२०; तुलना गर्नुहोस्‌ मत्ति १२:२८) एक जना कालिगडले केही बनाउन आफ्नो हात र औँलाहरू चलाएझैँ परमेश्‍वरले निम्न कुराहरू गर्न आफ्नो पवित्र शक्‍ति प्रयोग गर्नुभयो:

पवित्र शक्‍ति एक जना व्यक्‍ति होइन

बाइबलमा परमेश्‍वरको पवित्र शक्‍तिलाई उहाँका “हात,” “औँला” वा “सास” भनेर सङ्‌केत गरिएकोले पवित्र शक्‍ति व्यक्‍ति होइन भनेर प्रस्ट हुन्छ। (प्रस्थान १५:८, १०) कालिगडले आफ्नो दिमाग र शरीरसित तालमेल नमिलाई हातले मात्र काम गर्न सक्दैन; त्यसरी नै परमेश्‍वरको पवित्र शक्‍तिले पनि उहाँले निर्देशन दिनुभएबमोजिम काम गर्छ। (लुका ११:१३) बाइबलले परमेश्‍वरको पवित्र शक्‍तिलाई पानी अनि विश्‍वास र ज्ञानजस्ता कुराहरूसित पनि तुलना गरेको छ। यस्ता तुलनाहरूले पवित्र शक्‍ति व्यक्‍ति होइन भनेर प्रस्ट पार्छ।—यसैया ४४:३; प्रेषित ६:५; २ कोरिन्थी ६:६.

बाइबलमा यहोवा परमेश्‍वर र उहाँको छोरा येसु ख्रिष्टको नाम उल्लेख गरिएको छ। तर पवित्र शक्‍तिको नाम भने कतै पनि उल्लेख गरिएको पाइँदैन। (यसैया ४२:८; लुका १:३१) ख्रिष्टियन सहिद स्तिफनसले चमत्कारपूर्ण तरिकामा स्वर्गको दर्शन देखे। त्यतिबेला तिनले तीन जना नभई दुई जना मात्र देखेका थिए। बाइबल यसो भन्छ: “तिनले पवित्र शक्‍तिले भरिपूर्ण भई एकटक लगाएर स्वर्गतिर हेरे अनि परमेश्‍वरको महिमा देख्नुका साथै येसुलाई उहाँको दाहिने हाततिर उभिरहनुभएको देखे।” (प्रेषित ७:५५) स्तिफनसले परमेश्‍वरको पवित्र शक्‍तिले गर्दा नै त्यो दर्शन देखेका थिए।

पवित्र शक्‍तिबारे गलत धारणाहरू

गलत धारणा: मत्ति २८:१९, २० मा उल्लेख गरिएको “पवित्र शक्‍ति” त्रिएकको भाग हो।

सत्य: मत्ति २८:१९, २० मा बुबा, छोरा र पवित्र शक्‍तिलाई सँगै उल्लेख गरिएको छ। त्यसैले कोही-कोही यसले त्रिएकलाई बुझाउँछ भन्‍ने गर्छन्‌। तर ती पदहरू तपाईँ आफै पढ्‌नुहोस्‌ त। के त्यसमा उल्लेख गरिएका बुबा, छोरा र पवित्र शक्‍ति एकै जना ईश्‍वर हुन्‌, जो शक्‍ति, ओहदा र बुद्धिमा बराबर छन्‌ भन्‍ने कुनै सङ्‌केत पाइन्छ? अहँ, पटक्कै पाइँदैन। बुबा, छोरा र पवित्र शक्‍ति सँगै उल्लेख गरिएका अरू पदहरूको कुरा पनि त्यही हो।

गलत धारणा: बाइबलले पवित्र शक्‍तिलाई व्यक्‍तिको रूपमा चित्रण गर्छ, त्यसैले यो व्यक्‍ति नै हुनुपर्छ।

सत्य: बाइबलले कहिलेकाहीँ पवित्र शक्‍तिलाई व्यक्‍तिको रूपमा चित्रण गर्छ। जस्तै, येसुले पवित्र शक्‍तिलाई “मदतगार” (पाराक्लिट) भन्‍नुहुँदा व्यक्‍तिको रूपमा चित्रण गर्नुभयो, जसले प्रमाण दिनेछ, डोऱ्‍याउनेछ, बोल्नेछ, सुन्‍नेछ, बताउनेछ र ग्रहण गर्नेछ। (युहन्‍ना १६:७-१५) तर यसले पवित्र शक्‍ति व्यक्‍ति हो भनेर प्रमाणित गर्दैन। बाइबलले बुद्धि, मृत्यु र पापलाई पनि व्यक्‍तिको रूपमा चित्रण गरेको छ। (हितोपदेश १:२०; रोमी ५:१७, २१) उदाहरणको लागि, बाइबलमा बुद्धिका “काम”-बारे अनि पापले फुस्ल्याउने, मार्ने र लोभ उत्पन्‍न गराउनेबारे बताइएको छ।—मत्ति ११:१९; लुका ७:३५; रोमी ७:८, ११.

गलत धारणा: पवित्र शक्‍तिको नाममा बप्तिस्मा गर्नुले यो एक व्यक्‍ति हो भनेर प्रमाणित गर्छ।

सत्य: बाइबलले शक्‍ति वा अख्तियारलाई बुझाउन कहिलेकाहीँ “नाम” प्रयोग गर्छ। (व्यवस्था १८:५, १९-२२; एस्तर ८:१०) यो “कानुनको नाममा” भन्‍ने भनाइसित मिल्दोजुल्दो छ; यसले कानुनलाई एक व्यक्‍ति भन्‍ने अर्थ दिँदैन। पवित्र शक्‍तिको “नाममा” बप्तिस्मा गर्ने व्यक्‍तिले परमेश्‍वरको उद्देश्‍य पूरा गर्न पवित्र शक्‍तिको अख्तियार र भूमिकालाई मानिलिन्छ।—मत्ति २८:१९.

गलत धारणा: येसुका प्रेषितहरू अनि सुरु-सुरुतिरका चेलाहरूले पवित्र शक्‍ति एक व्यक्‍ति हो भनेर विश्‍वास गर्थे।

सत्य: त्यसलाई बाइबलले वा इतिहासले समर्थन गर्दैन। इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: ‘पवित्र शक्‍ति एक छुट्टै ईश्‍वरीय व्यक्‍ति हुन्‌ भनेर परिभाषा गर्न थालेको इस्वी संवत्‌ ३८१ मा कन्स्टान्टिनोपलको सभामा हो।’ यो अन्तिम प्रेषितको मृत्यु भएको २५० वर्षभन्दा पछिको कुरा हो।