बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ

क्षमा दिनु भनेको के हो?

नेपाली
क्षमा दिनु भनेको के हो?
https://cms-imgp.jw-cdn.org/img/p/502015232/univ/art/502015232_univ_sqr_xl.jpg
ijwbq लेख ९५

क्षमा दिनु भनेको के हो?

क्षमा दिनु भनेको के हो?

बाइबलको जवाफ

 क्षमा दिनु भनेको कसैले गरेको गल्ती वा अपराध माफ गरिदिनु हो। बाइबलमा “क्षमा दिनु” भनेर अनुवाद गरिएको ग्रीक शब्दको शाब्दिक अर्थ हो, “मुक्‍त गरिदिनु।” यो कसैको ऋण पूरै माफ गरिदिनुजस्तै हो। येसुले यो कुरा आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुहुँदा बताउनुभएको थियो। उहाँले यसो भन्‍नुभयो: “हाम्रा पापहरू क्षमा गर्नुहोस्‌ किनकि हामी पनि हाम्रो हरेक ऋणीलाई क्षमा गर्छौँ।”(लुका ११:४) त्यसैगरि येसुले कृपा नदेखाउने दासको उदाहरणमा क्षमा दिनु भनेको कसैको ऋण माफ गर्नुजस्तै हो भनेर बताउनुभयो।​—मत्ति १८:२३-३५.

 यदि हामीले मनमा रिस पालेनौँ अनि आफूले भोगेको पीडा र चोटको लागि अरूप्रति बदलाको भावना राखेनौँ भने हामी अरूलाई क्षमा दिन सक्छौँ। बाइबलले क्षमा दिनुको आधार निःस्वार्थ प्रेम हो भनेर सिकाउँछ। किनकि प्रेमले “खराबीको हिसाब राख्दैन।”​—१ कोरिन्थी १३:४, ५.

क्षमा दिनु भनेको के होइन?

  •   गल्ती बेवास्ता गर्नु होइन। आफूले गरेको खराब काम स्वीकार्य छ अनि यसले कसैलाई हानि पुऱ्‍याउँदैन भनेर सोच्ने मानिसहरूको बाइबलमा निन्दा गरिएको छ।​—यसैया ५:२०.

  •   गल्ती नै भएको थिएन भन्‍नु होइन। परमेश्‍वरले राजा दाउदका गम्भीर पापहरू क्षमा गरिदिनुभयो। तर त्यसले गर्दा निम्तिएका नतिजाहरूदेखि भने जोगाउनुभएन। तिनका गल्तीहरूबाट पाठ सिक्न सकौँ भनेर परमेश्‍वरले ती रेकर्ड गर्न लगाउनुभयो।​—२ समुएल १२:९-१३.

  •   अरूलाई आफ्नो फाइदा उठाउन दिनु होइन। उदाहरणको लागि, तपाईँले कसैलाई पैसा सापटी दिनुभयो। तर तिनले त्यो अनावश्‍यक कुरामा खर्च गरे अनि आफूले भनेअनुसार फिर्ता दिन सकेनन्‌। तिनी एकदमै दुःखी हुँदै तपाईँसित क्षमा माग्छन्‌। तिनीप्रति मनमा रिस नपालेर, त्यो कुरालाई बारम्बार नकोट्याएर अनि सम्भव भए त्यो ऋण माफ गरेर तपाईँ तिनलाई क्षमा दिन सक्नुहुन्छ। तर तपाईँ अबदेखि तिनलाई पैसा सापटी नदिने निर्णय पनि गर्न सक्नुहुन्छ।​—भजन ३७:२१; हितोपदेश १४:१५; २२:३; गलाती ६:७.

  •   कुनै आधारविना क्षमा दिनु होइन। परमेश्‍वर जानाजानी गलत काम गर्ने, गल्ती नस्विकार्ने, आफूलाई परिवर्तन नगर्ने र आफूले हानि पुऱ्‍याएकाहरूसित माफी नमाग्ने मानिसहरूलाई क्षमा गर्नुहुन्‍न। (हितोपदेश २८:१३; प्रेषित २६:२०; हिब्रू १०:२६) त्यस्ता अपश्‍चात्तापी मानिसहरू परमेश्‍वरको शत्रु बन्छन्‌। अनि परमेश्‍वरले क्षमा नदिनुभएका मानिसहरूलाई हामीले पनि क्षमा दिनु आवश्‍यक छैन।​—भजन १३९:२१, २२.

     यदि तपाईँले कसैबाट दुर्व्यवहार भोग्नुभएको छ तर तिनले माफी माग्दैनन्‌ अथवा आफ्नो गल्ती स्विकार्दैनन्‌ भने नि? बाइबल यसो भन्छ: “रिसाउन छोड र क्रोध त्यागिदेऊ।” (भजन ३७:८) माफी दिन नसके पनि तपाईँ आफ्नो रिसलाई काबूमा राख्न सक्नुहुन्छ। परमेश्‍वरले तिनको लेखा लिनुहुनेछ भनेर ढुक्क हुनुहोस्‌। (हिब्रू १०:३०, ३१) अब चाँडै परमेश्‍वरले यस्तो समय ल्याउनुहुनेछ, जब तपाईँलाई दुःख अनि पीडा दिने कुनै पनि कुरा अस्तित्वमा रहनेछैन। यो कुरा विचार गर्दा पनि तपाईँ सान्त्वना पाउन सक्नुहुन्छ।​—यसैया ६५:१७; प्रकाश २१:४.

  •   अरूले गरेको सानोतिनो गल्ती कोट्याउँदै “क्षमा” दिन खोज्नु होइन। कहिलेकाहीँ अरूको सानोतिनो गल्ती कोट्याउनुभन्दा आफू रिसाउनुपर्ने कुनै कारणै थिएन भनेर सोच्नुपर्ने हुन सक्छ। बाइबल यसो भन्छ: “कुनै पनि कुरामा चित्त दुखाइहाल्ने नगर। त्यो मूर्ख मानिसको चिनारी हो।”​—उपदेशक ७:९, फुटनोट।

अरूलाई कसरी क्षमा दिन सकिन्छ?

  1.  १. क्षमा दिनुमा के-के समावेश छ, याद गर्नुहोस्‌। क्षमा दिनु भनेको गल्ती नै भएको छैन भन्‍ने सोचाइ राख्नु होइन बरु मनमा रिस नपाल्नु हो।

  2.  २. क्षमा दिनुका फाइदाहरू विचार गर्नुहोस्‌। मनमा रिस नपाल्दा तपाईँ शान्त रहन सक्नुहुन्छ, अझ स्वस्थ हुन सक्नुहुन्छ अनि आफ्नो आनन्द बढाउन सक्नुहुन्छ। (हितोपदेश १४:३०; मत्ति ५:९) अझ महत्त्वपूर्ण कुरा, अरूलाई क्षमा दिनुभयो भने तपाईँले पनि परमेश्‍वरबाट आफ्ना पापहरूको लागि क्षमा पाउनुहुनेछ।​—मत्ति ६:१४, १५.

  3.  ३. समानुभूति देखाउनुहोस्‌। हामी सबै जना त्रुटिपूर्ण छौँ। (याकुब ३:२) अरूले हामीलाई क्षमा दिँदा हाम्रो मन हल्का हुन्छ। त्यसैले हामीले पनि अरूलाई क्षमा दिनुपर्छ।​—मत्ति ७:१२.

  4.  ४. व्यावहारिक हुनुहोस्‌। यदि कसैको विरुद्धमा सानोतिनो गुनासो छ भने पनि हामी बाइबलको यो सल्लाह लागू गर्न सक्छौँ: “एकअर्कालाई सहिरहो।”​—कलस्सी ३:१३.

  5.  ५. तुरुन्तै कदम चाल्नुहोस्‌। रिसलाई बढ्‌न दिनुको साटो सकेसम्म छिटो क्षमा दिनुहोस्‌।​—एफिसी ४:२६, २७.