परिवारका लागि | छोराछोरी हुर्काउने
छोराछोरीलाई लगनशील हुन सिकाउनुहोस्
तपाईँको छोराछोरीले भन्लान्: “यो काम त एकदमै गाह्रो छ। म यो कहिल्यै गर्न सक्दिनँ।” सायद आफूले गरिरहेको काम गाह्रो भएकोले तिनीहरू तुरुन्तै हार मान्छन्। हुनत त्यस्तो देख्दा तपाईँलाई नरमाइलो लाग्ला तर तपाईँ आफ्ना छोराछोरीले गाह्रो अवस्थाको सामना गर्न सिकेको पनि चाहनुहुन्छ। त्यसोभए के तपाईँ तिनीहरूलाई मदत गर्न हतार गर्नुहुन्छ? अथवा तिनीहरूलाई गाह्रो लागेकोले त्यो काम छोड्न पो दिनुहुन्छ कि? वा तपाईँ आफ्ना छोराछोरीलाई लगनशील हुन सिकाउनुहुन्छ?
तपाईँले के बुझ्नुपर्छ?
लगनशील हुनु महत्त्वपूर्ण छ। आमाबुबाले कुनै गाह्रो काम छोराछोरीलाई नै गर्न लगाउँदा तिनीहरूको क्षमता विकास गर्न मदत गरिरहेका हुन्छन्। त्यसो गर्दा तिनीहरू स्कुलमा अझ राम्रो गर्न सक्छन्। तिनीहरू स्वस्थ र खुसी हुनुको साथै अरूसित घनिष्ठ सम्बन्ध पनि गाँस्न सक्छन्। तर त्यसको ठीक उल्टो, आमाबुबाले छोराछोरीलाई गाह्रो परिस्थिति र असफलताबाट सधैँ जोगाउने गर्छन् भने तिनीहरू निराश हुने, आफू अझ असक्षम भएको महसुस गर्ने र वयस्क भए पछि पनि असन्तुष्ट जीवन बिताउने सम्भावना धेरै हुन्छ।
आमाबुबाले छोराछोरीलाई लगनशील हुन मदत गर्न सक्छन्। साना केटाकेटीहरूले समेत गाह्रो काम गर्ने र समस्या सुल्झाउने आफ्नो सङ्कल्प बलियो बनाउन सक्छन्। एउटा अध्ययनमा अनुसन्धानकर्ताहरूले यस्तो पत्ता लगाए, ‘१५ महिनाका बच्चाहरूले समेत वयस्कहरूलाई हेरेर मेहनत गर्न सिक्न सक्छन्। वयस्कहरूले मेहनतै नगरी काम गरेको भन्दा कडा मेहनत गरेको देख्दा उनीहरू पनि गाह्रो काम गर्न अझ प्रयास गर्न सक्छन्।’
“मेरा छोरीहरूलाई जुत्ताको तुना बाँध्न सिकाएको मलाई अझै याद छ। यो एकै दिनमा सिकिने कुरा होइन। हरेक पटक जुत्ता लगाउँदा तिनीहरू आफैले १० देखि १५ मिनेट लगाएर जुत्ताको तुना बाँध्ने प्रयास गर्थे। त्यसपछि मात्र म तिनीहरूलाई मदत गर्थेँ। हुनत तिनीहरूलाई सिक्न केही महिना लाग्यो; बेलाबेलामा दिक्क मानेर तिनीहरू रुने पनि गर्थे। तर अन्तमा तिनीहरूले तुना बाँध्न सिके। आफूलाई सजिलो होस् भनेर म तिनीहरूलाई तुना नभएको जुत्ता किनिदिन पनि सक्थेँ। तर कहिलेकाहीँ छोराछोरीलाई लगनशीलताबारे सिकाउन हामी आफै पनि लगनशील हुनुपर्छ।”—कोलिन।
आमाबुबाले छोराछोरीलाई लगनशील हुनदेखि बाधा पुऱ्याउन सक्छन्। केही आमाबुबाले अनजानमै आफ्नो छोराछोरीको लगनशील हुने क्षमतालाई कमजोर बनाइरहेका हुन सक्छन्। कसरी? तिनीहरू छोराछोरीको आत्मविश्वास बढाउन चाहन्छन्। त्यसैले केही आमाबुबा छोराछोरीले दुःखी र बेकम्मा महसुस नगरून् भनेर तिनीहरूलाई छिसिक्क केही हुने बित्तिकै मदत गर्न दौडिहाल्छन्। तर यसो गर्नुका केही नराम्रा पक्षहरू पनि छन्। एक लेखिका जेसिका लाही यसो भन्छिन्, “हरेक पटक गाह्रो काममा मदत गर्न अघि सरिहाल्दा आमाबुबाले छोराछोरी असक्षम छन् र भरोसायोग्य छैनन् भन्ने भान पारिरहेका हुन्छन्।” a नतिजा कस्तो हुन्छ? भविष्यमा गाह्रो परिस्थिति आउँदा तिनीहरूले समस्या सुल्झाउन सधैँ वयस्ककै मदत चाहिन्छ भनेर सोच्न सक्छन् र तुरुन्तै हार मान्न सक्छन्।
तपाईँ के गर्न सक्नुहुन्छ?
मेहनती हुन प्रोत्साहन दिनुहोस्। आमाबुबाले छोराछोरीलाई उमेर सुहाउँदो काम गर्न लगाएर लगनशील हुन सिकाउन सक्छन्। उदाहरणको लागि, आमाबुबाले स्कुल जाने उमेर नपुगेका बच्चाहरूलाई लुगा र खेलौनाहरू ठीक ठाउँमा राख्ने काम दिन सक्छन्। अलि हुर्किएका केटाकेटीहरूलाई चाहिँ किनमेल गरेर ल्याएको सामान मिलाएर राख्ने, खाना खानु अघि र पछि टेबुल सफा गर्ने, फोहोर फ्याँक्ने र पोखिएका सानातिना कुराहरू सफा गर्नेजस्ता कामहरू दिन सक्छन्। साथै किशोरकिशोरीहरूलाई भने आमाबुबाले सरसफाइ र मर्मतसम्भारको काम दिन सक्छन्। हुनत केटाकेटीलाई अह्राइएको काम गर्न सधैँ मन पर्छ भन्ने छैन तर आमाबुबाले सानैदेखि घरायसी काम गर्न लगाएर जिम्मेवार बनाउँदा तिनीहरूलाई नै फाइदा हुन्छ। कस्तो फाइदा? तिनीहरू मेहनती हुन सिक्छन्, जसले गर्दा वयस्क भइसकेपछि पनि गाह्रो काम गर्नुपर्दा तिनीहरूले हार मान्ने छैनन्।
बाइबलको सिद्धान्त: “मेहनतको फल मीठो हुन्छ।”—हितोपदेश १४:२३.
“छोराछोरीलाई व्यस्त राख्नको लागि मात्र काम दिएर समय खेर नफाल्नुहोस्। वास्तवमा यसो गरेको कसैलाई पनि मन पर्दैन। बरु उनीहरूले मदत गर्न सक्ने कुनै अर्थपूर्ण काम दिनुहोस्। तपाईँको बच्चा सानो छ भने उसले भेट्न सक्ने ठाउँहरूमा सफा गर्न दिनुहोस्। तपाईँ गाडी धुँदै हुनुहुन्छ भने उसलाई गाडीको तल्लो भाग सफा गर्न दिनुहोस्, जहाँ तपाईँलाई सफा गर्न अलि अप्ठ्यारो छ। अनि आफ्नो छोराछोरीले गरेको मेहनतको लागि तुरुन्तै प्रशंसा गर्नुहोस्।”—क्रिस।
गाह्रो काम गर्नुपर्दा छोराछोरीलाई डोऱ्याउनुहोस्। कहिलेकाहीँ छोराछोरीले कुनै काम कसरी पूरा गर्ने भनेर थाह नभएकोले सजिलै हार मान्छन्। त्यसैले तपाईँ छोराछोरीलाई नयाँ सीप सिकाउँदै हुनुहुन्छ भने यी तरिकाहरू अपनाउन सक्नुहुन्छ: सुरुमा, छोराछोरीको लागि त्यो काम आफैले गरेर देखाउनुहोस्। त्यसपछि सँगै मिलेर त्यो काम गर्नुहोस्। अनि छोराछोरीले त्यो काम कसरी गर्छन् भनेर हेर्नुहोस् र मदतकारी सुझाव दिनुहोस्। अन्तमा, छोराछोरीलाई नै त्यो काम पूरा गर्न लगाउनुहोस्।
बाइबलको सिद्धान्त: “मैले तिमीहरूका लागि नमुना बसालेको हुनाले मैले तिमीहरूका निम्ति जे गरेँ, तिमीहरूले पनि त्यसै गर्नुपर्छ।”—युहन्ना १३:१५.
“छोराछोरीले लगनशीलता विकास गरेको चाहन्छौँ भने आमाबुबाले नै राम्रो उदाहरण बसाल्नुपर्छ भनेर मैले अनुभव गरेँ। त्यसैले उनीहरूले कुनै गुण विकास गरेको चाहन्छौँ भने पहिला हामी आफैले त्यो गुण देखाउनुपर्छ।”—डग।
सङ्घर्ष गर्नु र कहिलेकाहीँ असफल हुनु सामान्य कुरा हो भनेर छोराछोरीलाई बुझ्न मदत गर्नुहोस्। गाह्रो भए पनि हार नमानी सङ्घर्ष गर्दा तपाईँले कस्तो फाइदा उठाउनुभयो, छोराछोरीलाई बताउनुहोस्। कुनै नयाँ काम थाल्दा गाह्रो लाग्नु स्वाभाविक हो अनि हामीबाट गल्ती भइहाल्यो भने पनि त्यसबाट पाठ सिक्न सकिन्छ भनेर छोराछोरीलाई बुझाउनुहोस्। छोराछोरी असफल भइहाले भने पनि उनीहरूप्रतिको माया कम हुनेछैन भनेर विश्वस्त पार्नुहोस्। मांसपेशी चलाउँदै जाँदा त्यो बलियो हुँदै गएजस्तै छोराछोरीलाई चुनौतीहरूको सामना गर्न दिँदा हार नमानी काममा लागिरहने तिनीहरूको क्षमता विकास हुँदै जान्छ। त्यसैले छोराछोरीले कुनै गाह्रो काम गर्नुपर्दा उनीहरूलाई मदत गर्न तुरुन्तै अघि नसर्नुहोस्। कहिलेकाहीँ छोराछोरीलाई काममा लागिरहन दिक्क लाग्न सक्छ। तैपनि उनीहरूलाई त्यो काम राम्ररी सिध्याउन समय दिनुहोस्। यसबारे छोराछोरी कसरी सफल हुन सक्छन् भन्ने अङ्ग्रेजी किताबमा b यस्तो लेखिएको छ: “आफू असफल हुने सम्भावना देखे पनि हार नमानी प्रयास गर्दा केटाकेटीको व्यक्तित्व विकास हुन्छ र उनीहरू झन्झन् परिपक्व हुँदै जान्छन्।”
बाइबलको सिद्धान्त: “आफ्नो युवावस्थामै सङ्घर्ष गर्नु मानिसको लागि असल हो।”—विलाप ३:२७, समकालीन अङ्ग्रेजी संस्करण।
“छोराछोरीलाई केही हदसम्म सङ्घर्ष गर्न दिँदा अनि आवश्यक परेमा आमाबुबा मदत गर्न तयार छन् भनी महसुस गराउँदा उनीहरूकै फाइदा हुन्छ। हुनत केही समय सङ्घर्ष गर्नुपर्ला तर लगनशील हुँदा उनीहरूमा सीप र आत्मविश्वास दुवै बढ्छ।”—जोर्डन।
छोराछोरीको बौद्धिक क्षमताको नभई प्रयासको प्रशंसा गर्नुहोस्। उदाहरणको लागि, छोराछोरीलाई “तिमीले जाँचमा राम्रो गऱ्यौ! तिमी कस्तो स्मार्ट” भन्नुभन्दा “तिमीले जाँचमा राम्रो गऱ्यौ! तिमीले मेहनत गरेर पढेकोमा म निकै खुसी छु” भन्नुभए कसो होला? छोराछोरीको बौद्धिक क्षमताभन्दा उनीहरूको प्रयासको प्रशंसा गर्नु किन महत्त्वपूर्ण छ? यसबारे डा. क्यारोल ड्वेक यसो भन्छन्: “छोराछोरीको बौद्धिक क्षमताको मात्र प्रशंसा गर्नुभयो भने कुनै काम गाह्रो लाग्दा वा कुनै गल्ती हुँदा उनीहरूले तुरुन्तै आफूमाथि शङ्का गर्न थाल्छन्। आमाबुबाले छोराछोरीलाई समस्याहरूदेखि नभाग्न, गल्तीहरूबाट सिक्न, मेहनती हुन, कुनै काम गर्दा नयाँ तरिकाहरू खोज्न र हार नमानी सिकिरहन प्रोत्साहन दिन सक्छन्। यसो गर्दा छोराछोरीहरू प्रशंसाको भोको हुनेछैनन्।” c
बाइबलको सिद्धान्त: “मानिसको जाँच उसले पाउने प्रशंसाले गर्छ।”—हितोपदेश २७:२१.