सीधै सामग्रीमा जाने

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌ | मरियम मग्दलिनी

“मैले प्रभुलाई देखेँ!”

“मैले प्रभुलाई देखेँ!”

मरियम मग्दलिनी आँसु पुछ्‌दै माथि आकाशतिर हेर्छिन्‌। तिनले माया गरेको तिनका प्रभु येसु खम्बामा टाँगिनुभएको छ। यो मध्यान्हको समय भए पनि ‘सारा देशभरि अन्धकार छाएको छ।’ (लुका २३:४४, ४५) तिनी गम्लङ्‌ङ पछ्यौरा ओढ्‌छिन्‌ र आफूसँगै उभिएकी स्त्रीको नजिकै जान्छिन्‌। तीन-तीन घण्टासम्म अन्धकार छाउनुको कारण सूर्य-ग्रहण होइन किनकि सूर्य-ग्रहण त केही मिनेट मात्र लाग्छ। सायद येसुको नजिकै उभिएकी मरियम र अरूले रातको समयमा मात्र सुनिने जनावरहरूको आवाज सुन्‍न थाल्छन्‌। त्यहाँ भएका केही मानिसहरू ‘असाध्यै डराउँछन्‌ अनि यसो भन्छन्‌: “यिनी साँच्चै परमेश्‍वरका छोरा रहेछन्‌।” ’ (मत्ति २७:५४) मानिसहरूले आफ्नो छोरासित यस्तो क्रूर व्यवहार गरेकोमा यहोवा आफ्नो दुःख र रिस पोखाउँदै हुनुहुन्छ जस्तो येसुका अनुयायीहरू र अरूलाई लागेको हुनुपर्छ।

आफ्नै आँखाअगाडि यी सब भइरहेको हेर्नुपर्दा मरियम मग्दलिनीलाई पक्कै पनि सजिलो भएन तर तिनी आफ्ना प्रभुलाई छोडेर जान पनि चाहँदिनन्‌। (युहन्‍ना १९:२५, २६) येसु असह्‍य पीडामा हुनुहुन्छ। यस्तो घडीमा उहाँकी आमालाई पनि साथ र सान्त्वना चाहिएको छ।

येसुले आफ्नो लागि जे-जति गरिदिनुभयो, त्यसबारे सोच्दा मरियम आफूले पनि उहाँको लागि सकेजति गर्न बाध्य महसुस गर्छिन्‌। कुनै समय तिनले असाध्यै दुःख पाएकी थिइन्‌, तिनको अवस्था दयनीय थियो। तर येसुले तिनलाई मदत गर्नुभयो। उहाँले गर्दा तिनले फेरि आत्मसम्मान पाउन सकिन्‌ र तिनको जीवन उद्देश्‍यपूर्ण भयो। तिनले येसुमाथि ठूलो विश्‍वास देखाइन्‌। कसरी? अनि तिनको विश्‍वासबाट आज हामी के सिक्न सक्छौँ?

‘आफ्नो सम्पत्ति खर्चेर येसु अनि उहाँका चेलाहरूको सेवा गरिन्‌’

बाइबलमा मरियम मग्दलिनीको कथा एउटा उपहारबाट सुरु भएको छ। येसुले तिनलाई एउटा डरलाग्दो अवस्थाबाट छुटकारा दिनुभयो। त्यतिबेलाको समयमा प्रेतहरूको प्रभाव निकै थियो। दुष्ट प्रेतहरूले मानिसहरूलाई दिनुसम्म दुःख दिइरहेका थिए। तिनीहरू मानिसभित्र बास गर्थे र उसलाई आफ्नो वशमा राख्थे। प्रेतहरूले मरियम मग्दलिनीलाई कुन तरिकामा सताएको थियो, त्यो त हामीलाई थाह छैन। तर तिनीभित्र त्यस्तै सात वटा प्रेत बास गरेको थियो। धन्‍न! येसु ख्रिष्टले तिनीबाट ती प्रेतहरूलाई निकालिदिनुभयो।—⁠लुका ८:⁠२.

प्रेतबाट छुटकारा पाउँदा मरियमलाई कत्ति हाइसन्चो भयो होला! एक अर्थमा तिनले येसुबाट नयाँ जीवन पाइन्‌। तिनले आफ्नो कृतज्ञता कसरी देखाउन सक्थिन्‌? तिनी येसुको वफादार अनुयायी बनिन्‌। तिनले येसु र उहाँका प्रेषितहरूलाई गाँस, बास र कपासको आवश्‍यकता छ भनेर बुझिन्‌ र उहाँहरूलाई मदत गर्न अग्रसर भइन्‌। उहाँहरू सम्पन्‍न हुनुहुन्‍नथ्यो। प्रचार गर्ने र सिकाउने काममा पूरै समय दिनुपर्ने भएकोले उहाँहरूलाई भौतिक सहयोगको खाँचो थियो।

मरियम र अरू केही स्त्रीहरूले उहाँहरूलाई आफ्नो आवश्‍यकता पूरा गर्न मदत गरे। ती स्त्रीहरूले “आफ्नो सम्पत्ति खर्चेर येसु अनि उहाँका चेलाहरूको सेवा गरिरहेका थिए।” (लुका ८:१, ३) उनीहरूमध्ये केही भौतिक रूपमा सम्पन्‍न थिए होलान्‌। उनीहरूले येसु र उहाँका चेलाहरूको लागि खाना पकाइदिएको, उहाँहरूको लुगा धोइदिएको वा उहाँहरू एउटा गाउँबाट अर्को गाउँमा जानुहुँदा बासको प्रबन्ध मिलाइदिएको विवरण बाइबलमा पाइँदैन। जेहोस्‌, उनीहरूले प्रचारकार्यमा भाग लिइरहेको करिब २० जनाको यस समूहलाई राजीखुसीले सहायता गरिरहे। यी स्त्रीहरूको मदतले गर्दा येसु र उहाँका प्रेषितहरूले तनमनले प्रचारकार्यमा भाग लिन सक्नुभयो। येसुले आफूलाई लगाएको गुनको साटो कहिल्यै तिर्न सक्दिनँ भनेर मरियमलाई थाह थियो तर उहाँको लागि आफूले जे गर्न सक्छ, त्यो गर्न पाएकोमा तिनी खुसी थिइन्‌।

आज थुप्रै मानिसहरू अरूको सेवा गर्ने कामलाई तुच्छ ठान्छन्‌ तर परमेश्‍वरको दृष्टिकोण भने फरक छ। मरियमले दिलोज्यान लगाएर येसु र उहाँका प्रेषितहरूलाई मदत गरेको देख्दा परमेश्‍वर कत्ति खुसी हुनुभयो होला, कल्पना गर्नुहोस्‌ त! आज पनि थुप्रै वफादार ख्रिष्टियनहरू नम्र भई अरूको सेवा गर्छन्‌। कहिलेकाहीँ कसैको लागि सानोतिनो काम गरिदिँदा वा दयालु वचन बोलिदिँदा तिनलाई ठूलो राहत मिल्न सक्छ। हामीले गर्ने यस्तो प्रयासको यहोवा मोल गर्नुहुन्छ।—⁠हितोपदेश १९:१७; हिब्रू १३:⁠१६.

“येसु टाँगिनुभएको यातनाको खम्बाको छेवैमा”

इस्वी संवत्‌ ३३ को निस्तार चाड मनाउन येसुसँगै यरुसलेम गएका थुप्रै स्त्रीहरूमध्ये मरियम मग्दलिनी पनि एक थिइन्‌। (मत्ति २७:५५, ५६) येसुलाई राती नै पक्राउ गरेर पुर्पक्षको लागि लगिएको कुरा थाह पाउँदा मरियम कत्ति आत्तिइन्‌ होला! तर तिनले योभन्दा अझ दुःखलाग्दो खबर सुन्‍न बाँकी नै थियो। यहुदी धर्मगुरुहरू र तिनीहरूले उक्साएको भीडको दबाबमा परेर राज्यपाल पन्तियस पिलातसले येसुलाई खम्बामा टाँगेर मृत्युदण्ड दिने फैसला सुनाएका छन्‌। मरियमले आफ्ना प्रभु रक्‍ताम्मे हुनुभएको अनि सकिनसकी यातनाको खम्बा बोकेर हिँडिरहनुभएको दृश्‍य देखेकी हुनुपर्छ।—⁠युहन्‍ना १९:६, १२, १५-१७.

येसुलाई यातनाको खम्बामा टाँगिन्छ र दिउँसै अन्धकार छाउँछ। मरियम मग्दलिनी र अरू केही स्त्रीहरू “येसु टाँगिनुभएको यातनाको खम्बाको छेवैमा” उभिरहेका छन्‌। (युहन्‍ना १९:२५) मरियम अन्तसम्मै त्यहाँ बस्छिन्‌ र येसुले आफ्नी आमालाई आफ्नो प्रिय प्रेषित युहन्‍नाको जिम्मा लगाउनुभएको आफ्नै आँखाले देख्छिन्‌। येसुले आफ्ना बुबालाई ठूलो स्वरले पुकारेको तिनले सुन्छिन्‌। उहाँले आफ्नो मृत्युअघि भन्‍नुभएको यी अन्तिम शब्दहरू पनि तिनले सुन्छिन्‌: “सबै पूरा भयो!” त्यतिबेला मरियम मग्दलिनीलाई कत्ति पीडा भयो होला! येसुको मृत्यु भइसकेपछि पनि तिनी त्यहीँ थिइन्‌। पछि तिनी अरिमथियाका युसुफ नाम गरेको एक जना धनी मानिसले येसुको शव राखेको नयाँ चिहानमा गएर बस्छिन्‌।—⁠युहन्‍ना १९:३०; मत्ति २७:४५, ४६, ५७-६१.

हाम्रा दाजुभाइ दिदीबहिनीले गाह्रो परिस्थितिहरूको सामना गर्नुपर्दा हामी के गर्न सक्छौँ भनेर मरियमको उदाहरणबाट सिक्न सक्छौँ। हामी तिनीहरूलाई परीक्षा भोग्नदेखि जोगाउन नसकौँला वा तिनीहरूको पीडा हटाउन नसकौँला। तर हामी सहानुभूति र साहस भने देखाउन सक्छौँ। कठिन परिस्थितिमा हामीलाई माया गर्ने साथी हाम्रो साथमा भइदिँदा मात्रै पनि हामीलाई परीक्षा सहन धेरै सजिलो हुन्छ। दुःखमा परेको साथीलाई साथ दिँदा हामीले ठूलो विश्‍वास देखाइरहेका हुन्छौँ र तिनले निकै सान्त्वना पाउन सक्छन्‌।—⁠हितोपदेश १७:⁠१७.

मरियम मग्दलिनी आफ्नो साथमा भएकोले येसुकी आमाले पक्कै पनि सान्त्वना पाइन्‌

“म उहाँलाई लैजानेछु”

येसुको शवलाई चिहानमा राखिएपछि मरियम र अरू केही स्त्रीहरूले उहाँको शवमा दल्न सुगन्धित मसलाहरू किन्छन्‌। (मर्कुस १६:१, २; लुका २३:५४-५६) विश्राम दिन सिद्धिएपछि तिनी बिहान सबेरै उठ्‌छिन्‌। तिनी अरू स्त्रीहरूसँग झिसमिसेमै येसुको चिहानतर्फ जाँदै गरेको दृश्‍य कल्पना गर्नुहोस्‌। बाटोमा तिनीहरू चिहानको मुखमा राखिएको ठूलो ढुङ्‌गा कसले गुडाइदिने होला भनेर कुरा गर्दै छन्‌। (मत्ति २८:१; मर्कुस १६:१-३) तर तिनीहरू पछि हट्‌दैनन्‌। तिनीहरूको विश्‍वासले तिनीहरूलाई आफूले सकेजति गर्न अनि बाँकी यहोवाको हातमा छोडिदिन उत्प्रेरित गर्छ।

चिहानमा पुग्नै लाग्दा सायद मरियम अरू स्त्रीहरूभन्दा अघिअघि हिँडिरहेकी छिन्‌। तिनी टक्क अडिन्छिन्‌ र अचम्म मान्दै चिहानतर्फ हेर्छिन्‌। चिहानको मुखमा राखिएको ढुङ्‌गा हटाइसकिएको छ र चिहान रित्तो छ! यसबारे खबर दिन तिनी दौडेर पत्रुस र युहन्‍नाकहाँ जान्छिन्‌। तिनी हस्याङफस्याङ गर्दै पत्रुस र युहन्‍ना भएको ठाउँमा आइपुग्छिन्‌ र अत्तालिँदै यसो भन्छिन्‌, “तिनीहरूले प्रभुलाई चिहानबाट निकालेर लगेछन्‌! अनि उहाँलाई कहाँ राखेका छन्‌, हामीलाई थाह छैन।” पत्रुस र युहन्‍ना हतारहतार चिहानतर्फ लाग्छन्‌ र त्यहाँ पुग्दा त चिहान रित्तो देख्छन्‌। त्यसपछि तिनीहरू आ-आफ्नो घर फर्कन्छन्‌। *—⁠युहन्‍ना २०:१-१०.

मरियम चिहानमा फर्केर आउँदा त्यहाँ कोही पनि थिएन। बिहानीको त्यो समयमा चारैतिर सुनसान छ। आफ्ना प्रभुको चिहान रित्तो देख्दा तिनी आफूलाई सम्हाल्नै सक्दिनन्‌। तिनको भक्कानो फुटेर आउँछ र तिनी धुरुधुरु रुन थाल्छिन्‌। आफ्ना प्रभु त्यहाँ हुनुहुन्‍न भन्‍ने कुराको तिनलाई अझै पनि पत्यार लागेको छैन। तिनले निहुरिएर चिहानभित्र हेर्छिन्‌ र एउटा अचम्मलाग्दो कुरा देख्छिन्‌। चिहानभित्र सेतो लुगा लगाएका दुई जना स्वर्गदूत छन्‌! उनीहरूले तिनलाई “ए नारी, तिमी किन रुँदै छ्यौ?” भनेर सोध्छन्‌। तिनी डरले हडबडाउँदै प्रेषितहरूलाई भनेको कुरा यसरी दोहोऱ्‍याउँछिन्‌: “तिनीहरूले मेरा प्रभुलाई लगेछन्‌ अनि तिनीहरूले उहाँलाई कहाँ राखेका छन्‌, मलाई थाह छैन।”—⁠युहन्‍ना २०:११-१३.

तिनले पछाडि फर्केर हेर्छिन्‌ र एक जना मानिस उभिरहेको देख्छिन्‌। तिनले ती मानिसलाई चिन्दिनन्‌ र उनी त्यस ठाउँको बगैँचे होलान्‌ भन्ठान्छिन्‌। त्यस मानिसले तिनलाई दयालुपूर्वक यस्तो सोध्छन्‌ “ए नारी, तिमी किन रुँदै छ्यौ? तिमी कसलाई खोज्दै छ्यौ?” मरियम यस्तो जवाफ दिन्छिन्‌: “हजुर, यदि तपाईँले उहाँलाई लैजानुभएको हो भने लगेर कहाँ राख्नुभएको छ, मलाई भन्‍नुहोस्‌ र म उहाँलाई लैजानेछु।” (युहन्‍ना २०:१४, १५) तिनले भनेको कुरा के तपाईँले याद गर्नुभयो? येसु ख्रिष्ट जस्तो बलियो र हट्टाकट्टा मानिसको शवलाई के तिनले एक्लैले बोकेर लैजान सक्थिन्‌ होला र? तर मरियमको ध्यान त्यसतर्फ थिएन। आफूले सकेजति गर्नुपर्छ भनेर तिनले बुझेकी थिइन्‌।

“म उहाँलाई लैजानेछु”

सहनै नसक्ने जस्तो देखिने दुःखकष्ट र कठिन परिस्थितिहरूको सामना गर्नुपर्दा के हामी मरियम मग्दलिनीको अनुकरण गर्न सक्छौँ? हामीले आफ्नो कमीकमजोरी र सीमिततामा ध्यान दियौँ भने डरले गर्दा केही गर्न नसक्ने अवस्थामा पुग्न सक्छौँ। तर आफूले सकेजति गर्ने सङ्‌कल्प गऱ्‍यौँ र बाँकी कुरा परमेश्‍वरकै हातमा छोडिदियौँ भने हामीले सोचेभन्दा धेरै गर्न सक्नेछौँ। (२ कोरिन्थी १२:१०; फिलिप्पी ४:१३) सबैभन्दा महत्त्वपूर्ण कुरा त, हामीले यहोवालाई खुसी बनाउन सक्नेछौँ। मरियमले पनि यहोवालाई खुसी बनाउन सकिन्‌ र तिनले उहाँबाट सोच्दै नसोचेको इनाम पाउन सकिन्‌।

“मैले प्रभुलाई देखेँ!”

मरियमको अगाडि उभिरहेका मानिस बगैँचे थिएनन्‌। उहाँ पहिला सिकर्मी अनि त्यसपछि शिक्षक हुनुहुन्थ्यो। पछि उहाँ मरियमको प्रिय प्रभु हुनुभयो। तर तिनी उहाँलाई चिन्दिनन्‌ र त्यहाँबाट जान लाग्छिन्‌। येसु एक जना शक्‍तिशाली अदृश्‍य व्यक्‍तिको रूपमा ब्युँतिसक्नुभएको छ भन्‍ने कुरा सायद मरियमले कल्पनासमेत गरेकी थिइनन्‌। येसुले मानव रूप धारण गर्नुभएको थियो तर उहाँको शरीर भने पहिलाको जस्तो थिएन। उहाँ फेरि जीवित हुनुभएपछि कति पटक त उहाँका चेलाहरूले समेत उहाँलाई चिनेनन्‌।—⁠लुका २४:१३-१६; युहन्‍ना २१:⁠४.

आफू येसु हुँ भनेर उहाँ मरियमलाई कसरी चिनाउनुहुन्छ? उहाँ तिनलाई सदाको जस्तै तरिकामा “मरियम!” भनेर बोलाउनुहुन्छ। फनक्क फर्केर तिनी उहाँलाई “रब्बोनी!” भन्छिन्‌। येसुलाई सम्बोधन गर्न तिनले यो हिब्रू शब्द पक्कै पनि थुप्रै चोटि प्रयोग गरेकी थिइन्‌। उहाँ तिनको प्रिय गुरु हुनुहुन्छ। उहाँ फेरि देख्न पाउँदा तिनको खुसीको सीमा नै रहँदैन। तिनले उहाँलाई च्याप्प समात्छिन्‌ र त्यहाँबाट जान दिँदिनन्‌।—⁠युहन्‍ना २०:⁠१६.

येसु तिनको भावना बुझ्नुहुन्थ्यो। उहाँले तिनलाई “मसित टाँसिन छोड” भन्‍नुहुन्छ। उहाँले मरियमलाई यी शब्दहरू दयालु तरिकामा अनि न्यानो मुस्कानसहित भन्‍नुभएको हामी कल्पना गर्न सक्छौँ। बिस्तारै मरियमको हात हटाउँदै येसु तिनलाई यस्तो आश्‍वासन दिनुहुन्छ: “म बुबाकहाँ गइसकेको छैन।” उहाँ स्वर्ग जाने बेला भइसकेको छैन। उहाँले पृथ्वीमा अझै पनि केही काम गर्न बाँकी छ र यसको लागि उहाँ मरियमसित मदत माग्नुहुन्छ। मरियम उहाँको कुरा ध्यान दिएर सुनिरहेकी छिन्‌। उहाँ तिनलाई यसो भन्‍नुहुन्छ: “तिमी मेरा भाइहरूकहाँ जाऊ र तिनीहरूलाई भनिदेऊ: ‘मेरा बुबा र तिमीहरूका बुबा अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ म जाँदै छु।’ ”—⁠युहन्‍ना २०:⁠१७.

मरियमले आफ्ना प्रभुबाट ठूलो जिम्मेवारी पाइन्‌। मृत्युबाट जीवित हुनुभएको येसुलाई देख्ने पहिलो चेला मरियम नै थिइन्‌ र अब तिनले यो सुसमाचार अरूलाई पनि बाँड्‌ने सुअवसर पाएकी छिन्‌। चेलाहरूलाई खोजेर यो खबर दिन मरियम कत्ति उत्साहित थिइन्‌ होला, हामी कल्पना गर्न सक्छौँ। तिनले चेलाहरूलाई रमाउँदै “मैले प्रभुलाई देखेँ!” भनेर सुनाउँछिन्‌। यी शब्दहरू तिनको अनि तिनको कुरा सुन्‍नेहरूको कानमा पछिसम्म पनि गुञ्जिरहेको हुनुपर्छ। तिनी येसुले बताउनुभएको सबै कुरा सुनाउँछिन्‌। यो खबर सुनाउन पाउँदा तिनी यत्ति उत्साहित छिन्‌ कि तिनी हत्तारिँदै बोलिरहेकी छिन्‌। (युहन्‍ना २०:१८) चेलाहरूले अरू स्त्रीहरूबाट येसुको चिहान रित्तो छ भनेर सुनेका थिए तर अब भने मरियमबाट थप कुरा सुन्‍न पाए।—⁠लुका २४:१-३, १०.

“मैले प्रभुलाई देखेँ!”

‘उनीहरूले ती स्त्रीहरूको कुरा पत्याएनन्‌’

ती पुरुषहरूले कस्तो प्रतिक्रिया देखाए? सुरुमा त उनीहरू यो कुरा मानिलिन तयार भएनन्‌। बाइबल यसो भन्छ, “उनीहरूलाई यो कुरा वाहियात लाग्यो र ती स्त्रीहरूको कुरा पत्याएनन्‌।” (लुका २४:११) तर उनीहरूको मनसाय गलत थिएन। किनकि उनीहरू स्त्रीहरूमाथि भरोसा नगर्ने समाजमा हुर्केका थिए। रब्बीहरूको चलनअनुसार स्त्रीहरूले अदालतमा बयान दिन पाउँदैन थिए। आफू हुर्केबढेको समाजले आफ्नो सोचाइलाई कुन हदसम्म असर गरिरहेको छ भन्‍ने कुराको सायद ती प्रेषितहरूलाई हेक्का थिएन। तर येसु र उहाँको बुबा पक्षपाती हुनुहुन्‍न। उहाँहरूले यी विश्‍वासी स्त्रीलाई ठूलो सुअवसर दिनुभयो।

ती पुरुषहरूले आफूमाथि विश्‍वास नगर्दा मरियम पक्कै पनि दुःखी भइनन्‌। तिनका प्रभुले तिनलाई भरोसा गर्नुहुन्छ भनेर मरियमलाई थाह थियो र तिनको लागि यो नै काफी थियो। आज पनि येसुका सबै अनुयायीहरूले यस्तै एउटा सुसमाचार घोषणा गर्ने सुअवसर पाएका छन्‌। बाइबलले यस सन्देशलाई “परमेश्‍वरको राज्यको सुसमाचार” भनेको छ। (लुका ८:⁠१) येसुले आफ्ना अनुयायीहरूलाई यो सन्देश सबैले स्विकार्नेछन्‌ वा तिनीहरूले गरेको कामको कदर गर्नेछन्‌ भनेर प्रतिज्ञा गर्नुभएको छैन। बरु मानिसहरूको प्रतिक्रिया यसको ठीक उल्टो हुने थियो। (युहन्‍ना १५:२०, २१) त्यसैले ख्रिष्टियनहरूले मरियम मग्दलिनीको उदाहरण सधैँ मनमा राख्नुपर्छ। तिनका आफ्नै आध्यात्मिक भाइहरूले तिनीमाथि विश्‍वास गरेनन्‌। तैपनि तिनले आनन्दित हुँदै येसु मृत्युबाट जीवित हुनुभयो भन्‍ने सुसमाचार सुनाइन्‌।

पछि येसु प्रेषितहरूसामु अनि अरू चेलाहरूसामु पनि देखा पर्नुभयो। एकचोटि त उहाँ ५०० भन्दा धेरै चेलाकहाँ देखा पर्नुभयो। (१ कोरिन्थी १५:३-८) येसुलाई आफ्नै आँखाले देख्न पाउँदा वा उहाँ चेलाहरूसामु देखा पर्नुभयो भन्‍ने खबर सुन्‍न पाउँदा मरियमको विश्‍वास पक्कै पनि झन्‌झनै बलियो हुँदै गयो। पेन्तिकोसको दिनमा यरुसलेममा भेला भएका येसुका चेलाहरूमाथि पवित्र शक्‍ति खन्याइँदा त्यहाँ उपस्थित भएका केही स्त्रीहरूमध्ये सायद मरियम मग्दलिनी पनि थिइन्‌।—⁠प्रेषित १:१४, १५; २:१-४.

जेहोस्‌, हामीसित यस कुरामा विश्‍वस्त हुने पर्याप्त कारण छ: मरियम मग्दलिनीले आफ्नो जीवनभर विश्‍वास कायम राखिन्‌। हामी प्रत्येकले पनि त्यस्तै सङ्‌कल्प गरौँ। येसुले हाम्रो लागि गरिदिनुभएको सबै कुराको लागि कृतज्ञता देखाइरह्‍यौँ अनि यहोवाको मदतमा भर पर्दै नम्र भएर अरूको सेवा गरिरह्‍यौँ भने हामीले मरियम मग्दलिनीको विश्‍वासको अनुकरण गरिरहेका हुन्छौँ।

^ अनु. 17 एक जना स्वर्गदूतले मरियमसँगै चिहानमा गएका स्त्रीहरूलाई ख्रिष्ट मृत्युबाट जीवित हुनुभएको कुरा बताउँदा सायद मरियम त्यहाँबाट गइसकेकी थिइन्‌। नत्र त मरियमले येसुको शव चिहानमा नहुनुको कारणबारे स्वर्गदूतले भनेको कुरा पत्रुस र युहन्‍नालाई पक्कै बताउने थिइन्‌।—⁠मत्ति २८:२-४; मर्कुस १६:१-८.