सीधै सामग्रीमा जाने

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌ | जोनाथन

‘यहोवा परमेश्‍वरलाई कुनै कुराले रोक्न सक्दैन’

‘यहोवा परमेश्‍वरलाई कुनै कुराले रोक्न सक्दैन’

यो दृश्‍य कल्पना गर्नुहोस्‌: सुक्खा र भिरालो डाँडामाथि सिपाहीहरूको एउटा चौकी बसालिएको छ। छ। त्यस चौकीमा तैनाथ पलिस्तियाली सिपाहीहरूले खोँचको पारिपट्टी दुई जना मानिस उभिरहेको देख्छन्‌। ती दुई मानिस इस्राएली हुन्‌। ती दुई जनाबाट आफूहरूलाई कुनै खतरा छैन जस्तो ती सिपाहीहरूलाई लाग्छ। त्यसैले उनीहरू ती दुई जनालाई बडो अचम्मका साथ हेरिरहन्छन्‌। पलिस्तियालीहरूले इस्राएलीहरूमाथि हैकम जमाएको लामो समय भइसक्यो। खेतीपातीका औजारहरू धार लगाउनसमेत इस्राएलीहरूले पलिस्तियालीहरूकै मदत माग्नुपर्ने बाध्यता छ। इस्राएली सिपाहीहरूसित आफ्नो रक्षाको लागि कुनै हतियार छैन। त्यसमाथि अहिले त केवल दुई जना मानिस मात्र आइरहेका छन्‌। तिनीहरूसित हतियार भएकै भए पनि के नै गर्न सक्थे र! त्यसैले ती दुई जनाको धज्जी उडाउँदै पलिस्तियालीहरू यसरी कराउँछन्‌: “हिम्मत छ भने माथि आओ! हामी तिमीहरूलाई पाठ सिकाउनेछौँ।”—१ समुएल १३:१९-२३; १४:११, १२.

हो, पाठ त सिकाइने नै थियो; तर पलिस्तियालीहरूले होइन, बरु इस्राएलीहरूले चाहिँ उनीहरूलाई पाठ सिकाउने थिए। ती दुई इस्राएली दौडँदै खोँचको पारिपट्टि जान्छन्‌ र चौकी भएतिर उक्लन थाल्छन्‌। डाँडा असाध्यै भिरालो भएकोले तिनीहरू चार हातखुट्टा टेकेर चढ्‌छन्‌। तिनीहरू हिम्मत हार्दैनन्‌, ठाडो भीर उक्लँदै चौकी भएतिर लाग्छन्‌। (१ समुएल १४:१३) अब भने पलिस्तियालीहरूले तिनीहरूलाई राम्ररी देख्न सक्छन्‌। अघि-अघि उक्लने नाइकेले हतियार भिरेका छन्‌ र पछि-पछि भने हतियार बोक्ने सेवक छन्‌। के यी जाबो दुई जना मानिस त्यत्रो सैन्यदललाई आक्रमण गर्न आउँदै छन्‌? के ती नाइके बहुलाएका त होइनन्‌?

तिनी बहुलाएका थिएनन्‌। तिनी बलियो विश्‍वास भएका मानिस थिए। तिनको नाम जोनाथन थियो र तिनको जीवनीबाट आज साँचो ख्रिष्टियनहरूले बहुमूल्य पाठहरू सिक्न सक्छन्‌। हुनत हामी अहिले साँच्चैको युद्धमा भाग लिँदैनौँ तैपनि जोनाथनले देखाएको साहस, वफादारी र निःस्वार्थ मनोभावबाट धेरै कुरा सिक्न सक्छौँ। यस्ता गुणहरूले हामीलाई साँचो विश्‍वास विकास गर्न मदत गर्नेछ।—यसैया २:४; मत्ति २६:५१, ५२.

वफादार छोरा र बहादुर सिपाही

जोनाथन त्यस चौकीमा किन आक्रमण गर्न गए भनी बुझ्न हामीले तिनको पृष्ठभूमिबारे केही कुरा बुझ्नुपर्छ। जोनाथन इस्राएलका पहिलो राजा साउलको जेठो छोरा थिए। साउल राजा अभिषेक हुँदा जोनाथन वयस्क भइसकेका थिए, सायद त्यतिबेला तिनी लगभग २० वर्ष वा त्योभन्दा धेरै उमेरको भइसकेका थिए। जोनाथनले आफ्नो बुबासित घनिष्ठ सम्बन्ध गाँसेका थिए जस्तो देखिन्छ किनभने साउलले जोनाथनलाई सानो-ठूलो सबै कुरा बताउने गरेको विवरण हामी बाइबलमा पाउँछौँ। जोनाथनको लागि आफ्नो बुबा अग्लो, सुन्दर र साहसी योद्धा मात्र थिएनन्‌। बरु अझ महत्त्वपूर्ण कुरा, तिनले आफ्नो बुबालाई विश्‍वास र नम्रताको सशक्‍त उदाहरणको रूपमा हेरेका थिए। यहोवाले साउललाई राजा नियुक्‍त गर्नुको कारण जोनाथनले राम्ररी बुझेका थिए। भविष्यवक्‍ता समुएलले पनि इस्राएलीहरूमध्ये साउलजस्तो व्यक्‍ति अरू कोही छैन भनेका थिए।—१ समुएल ९:१, २, २१; १०:२०-२४; २०:२.

आफ्नो बुबाले नेतृत्व गरेको फौजमा रहेर यहोवाका शत्रुहरूविरुद्ध लड्‌न पाउनुलाई जोनाथनले ठूलो सम्मान ठानेको हुनुपर्छ। त्यस समयका लडाइँहरू अहिले हुने राष्ट्रवादी द्वन्द्वहरूजस्ता थिएनन्‌। यहोवाले आफ्नो प्रतिनिधित्व गर्न इस्राएल राष्ट्रलाई छान्‍नुभएको थियो र झूटा देवहरू पुज्ने राष्ट्रहरूले इस्राएलमाथि सधैँ आक्रमण गरिरहन्थे। पलिस्तियालीहरू दागोनजस्ता देवहरूको पूजा गर्थे र यहोवाका जनहरूलाई अक्सर थिचोमिचो गर्न वा तहसनहस गर्न खोज्थे।

त्यसैले जोनाथनजस्ता मानिसहरूको लागि लडाइँ लड्‌नु भनेको यहोवा परमेश्‍वरप्रति वफादार रहने या नरहने भन्‍ने गम्भीर विषय थियो। जोनाथनले वफादार रहने प्रयास गर्दा यहोवाले तिनलाई आशिष्‌ दिनुभयो। राजा हुनेबित्तिकै साउलले आफ्नो छोरा जोनाथनलाई १ हजार सिपाहीको दलको नेतृत्व गर्न नियुक्‍त गरे। अनि जोनाथनले ती सिपाहीहरूको दललाई लिएर गिबाहमा पलिस्तियाली सेनामाथि आक्रमण गरे। जोनाथनका सिपाहीहरूसित धेरै हातहतियार थिएन तर यहोवाको साथ पाएकोले तिनी विजयी भए। यसको प्रतिकार गर्न पलिस्तियालीहरूले ठूलो सैन्यदल जम्मा गरे। यो देखेर थुप्रै इस्राएली सिपाहीहरू आकुलव्याकुल भए। कोही-कोही भागेर लुक्न गए अनि केहीचाहिँ शत्रुहरूको दलमा मिसिन गए। तर जोनाथनको साहस भने अलिकता पनि कम भएन।—१ समुएल १३:२-७; १४:२१.

अब सुरुमा उल्लेख गरिएको घटनालाई विचार गरौँ। त्यस दिन जोनाथनले आफू र हतियार बोक्ने सेवक मात्र सुटुक्क जाने निर्णय गरे। मिक्मासस्थित पलिस्तियालीहरूको चौकी पुग्नै लाग्दा जोनाथनले हतियार बोक्ने सेवकलाई आफ्नो योजनाबारे बताए। तिनीहरू पलिस्तियाली सिपाहीहरूले देख्ने ठाउँमा उभिने थिए। पलिस्तियालीहरूले तिनीहरूलाई लड्‌न चुनौती दिए भने त्यसको मतलब यहोवाले आफ्ना सेवकहरूलाई मदत गर्ने चिन्ह दिनुभएको हुनेथियो। हतियार बोक्ने सेवकले जोनाथनको कुरा सहजै स्विकारे। ती हतियार बोक्ने सेवक सायद जोनाथनको यो सशक्‍त कुरा सुनेर तुरुन्तै राजी भएका हुन सक्छन्‌: ‘चाहे हामी धेरै होऔँ वा थोरै, तिनीहरूलाई जित्न यहोवा परमेश्‍वरलाई कुनै कुराले रोक्न सक्दैन।’ (१ समुएल १४:६-१०) जोनाथन के भन्‍न खोज्दै थिए?

जोनाथनले यहोवा परमेश्‍वरलाई राम्ररी चिनेका थिए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। विगतमा यहोवाले आफ्ना जनहरूलाई साथ दिनुभएकोले गर्दा तिनीहरूले शत्रुहरूको विशाल दललाई परास्त गरेका घटनाहरूबारे जोनाथनलाई राम्ररी थाह थियो। कहिलेकाहीँ यहोवाले एक जना व्यक्‍ति मात्र प्रयोग गरेर पनि आफ्ना जनहरूलाई विजयी बनाउनु भएको थियो। (न्यायकर्ता ३:३१; ४:१-२३; १६:२३-३०) त्यसैले परमेश्‍वरका जनहरूसित ठूलो र शक्‍तिशाली सेना अनि प्रशस्त हातहतियार हुँदैमा लडाइँ जितिने होइन बरु त्यसको लागि विश्‍वास अत्यावश्‍यक छ भनेर जोनाथनले राम्ररी बुझेका थिए। यस्तै विश्‍वास देखाउँदै जोनाथन र हतियार बोक्ने सेवक चौकीतर्फ उक्लिए अनि पलिस्तियालीहरूलाई आक्रमण गर्ने कि नगर्ने भन्‍ने निर्णय यहोवाकै हातमा छोडिदिए। यहोवाबाट चिन्ह पाएपछि जोनाथन निडर भई शत्रुलाई आक्रमण गर्न अघि बढे।

जोनाथनले देखाएको विश्‍वासको दुइटा पक्ष विचार गर्नुहोस्‌। पहिलो, यहोवा परमेश्‍वरप्रति तिनको गहिरो श्रद्धा थियो। सर्वशक्‍तिमान्‌ परमेश्‍वर आफ्नो उद्देश्‍य पूरा गर्न मानव बलमा भर पर्नुहुन्‍न भनेर जोनाथनलाई थाह थियो। तर उहाँ आफ्ना वफादार सेवकहरूलाई आशिष्‌ दिन पाउँदा रमाउनुहुन्छ भनेर पनि तिनलाई थाह थियो। (२ इतिहास १६:९) दोस्रो, कदम चाल्नुअघि जोनाथनले यहोवाबाट अनुमोदन पाएको चिन्ह खोजे। आज, हामी आफूले चाल्ने कदममा यहोवाको अनुमोदन छ कि छैन भनेर पक्का गर्न उहाँबाट अलौकिक चिन्हहरू खोज्दैनौँ। बरु अहिले हामीसित परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको वचन छ र त्यसैबाट हामी उहाँको इच्छा बुझ्न सक्छौँ। (२ तिमोथि ३:१६, १७) के हामी महत्त्वपूर्ण निर्णयहरू गर्नुअघि बाइबलमा दिइएका सल्लाहहरू राम्ररी विचार गर्छौँ? गर्छौँ भने हामीले पनि जोनाथनले जस्तै आफ्नो भन्दा परमेश्‍वरको इच्छा पूरा गर्नुलाई महत्त्वपूर्ण ठानेको देखाइरहेका हुन्छौँ।

यसरी जोनाथन र हतियार बोक्ने सेवक ठाडो भीर उक्लँदै चौकीतिर गए। ती दुई इस्राएली आफूहरूलाई आक्रमण गर्न आउँदै छन्‌ भनेर पक्का भएपछि पलिस्तियालीहरूले तिनीहरूको प्रतिकार गर्न सिपाहीहरूलाई पठाए। पलिस्तियाली सिपाहीहरूको सङ्‌ख्या धेरै हुनुका साथै उनीहरू भीरको माथिपट्टि थिए। त्यसैले ती दुई जनालाई सजिलै परास्त गर्न सकिने अवस्थामा थिए। तर जोनाथनले एकपछि अर्को गर्दै पलिस्तियाली सिपाहीहरूलाई प्रहार गरे। अनि तिनको पछि-पछि आइरहेका हतियार बोक्ने सेवकले उनीहरूलाई मारे। ती दुई जनाले ठाउँको ठाउँ शत्रु पक्षका २० जना सिपाहीलाई मारे! त्यसपछि यहोवाले अर्को कुरा गरिदिनुभयो। त्यसबारे बाइबल यसो भन्छ: “तब छाउनीमा भएका पलिस्तियालीहरू, चौकीमा भएका सिपाहीहरू अनि लुटपाट गर्न निस्केका सिपाहीहरू सबै असाध्यै डराए। जमिन बेसरी हल्लियो र परमेश्‍वरले पलिस्तियालीहरूमाझ त्रास फैलाइदिनुभयो।”—१ समुएल १४:१५.

जोनाथन र हतियार बोक्ने सेवक गरी दुई जनाले शत्रुहरूको चौकीमाथि आक्रमण गरे

पलिस्तियालीहरूमाझ गोलमाल मच्चिरहेको र उनीहरूले एकअर्कालाई तरबारले काटाकाट गरिरहेको दृश्‍य साउल र तिनका सिपाहीहरूले टाढैबाट हेरिरहेका थिए। (१ समुएल १४:१६, २०) तब इस्राएलीहरू साहसी भए र सायद मरेका पलिस्तियालीहरूकै हतियार थुतेर आक्रमण गर्न थाले। त्यस दिन यहोवाले आफ्ना जनहरूलाई ठूलो जित हासिल गर्न मदत गर्नुभयो। त्यसबेलादेखि अहिलेसम्म यहोवा परिवर्तन हुनुभएको छैन। जोनाथनले र हतियार बोक्ने तिनका सेवकले जस्तै यहोवामाथि विश्‍वास राख्दै कदम चाल्यौँ भने हामी कहिल्यै निराश हुनेछैनौँ।—मलाकि ३:६; रोमी १०:११.

“परमेश्‍वरको मदत पाएरै आज उहाँले यी सबै काम गर्नुभएको हो”

जोनाथनले यहोवाको आशिष्‌ पाएकोले गर्दा त्यो विजय हासिल गर्न सके तर साउलको सन्दर्भमा भने त्यस्तो थिएन। साउलले गम्भीर गल्तीहरू गरेका थिए। तिनी यहोवाले नियुक्‍त गर्नुभएका भविष्यवक्‍ताप्रति अनाज्ञाकारी भए। भविष्यवक्‍ता समुएल, जो लेवी थिए, उनले चढाउनुपर्ने अग्निभेटी साउल आफैले चढाए। त्यसपछि समुएल त्यहाँ आइपुगे अनि साउल अनाज्ञाकारी भएको हुँदा तिनको राज्य सदाको लागि स्थिर रहनेछैन भनी समुएलले सुनाए। पछि, साउलले आफ्ना सिपाहीहरूलाई रणभूमिमा पठाउँदा एउटा अव्यावहारिक कसम खान लगाए। तिनले यसो भने: “आज साँझसम्म मैले आफ्ना शत्रुहरूसित बदला नलिउन्जेल कसैले पनि केही नखाओस्‌, नत्र ऊ श्रापित हुनेछ!”—१ समुएल १३:१०-१४; १४:२४.

साउलका यी शब्दहरूले तिनी खराब हुँदै गइरहेको सङ्‌केत दियो। के पहिलाको नम्र र आध्यात्मिक पुरुष अहिले ‘मै हुँ’ भन्‍ने अहङ्‌कारी मानिस बन्दै थिए? किनकि ती साहसी र परिश्रमी सिपाहीहरूलाई त्यस्तो अव्यवाहारिक निषेधाज्ञा दिन यहोवाले पटक्कै आज्ञा दिनुभएको थिएन। साथै “मैले आफ्ना शत्रुहरूसित बदला नलिउन्जेल” भनेर साउलले भनेका शब्दहरू नि? के साउललाई त्यो लडाइँ आफ्नै शक्‍तिमा जित्न सकिन्छ जस्तो लाग्यो? लडाइँ गर्नुको मुख्य उद्देश्‍य यहोवाको न्याय कार्यान्वयन गर्नु हो भन्‍ने कुरा बिर्सेर के साउल बदला, महिमा वा विजयको भोको भएका थिए?

जोनाथनलाई आफ्नो बुबाले सिपाहीहरूलाई खान लगाएको अव्यावहारिक कसमबारे केही पनि थाह थिएन। घमासान लडाइँपछि जोनाथन लखतरान भएर फर्के। त्यसपछि तिनले आफ्नो लौरोको टुप्पाले महको चाकामा घोचे र अलिकति मह खाए। खानेबित्तिकै तिनले तागत पाए। त्यसपछि एक जना सिपाहीले तिनलाई बुबाले खान निषेध गर्नुभएको कुराबारे बताए। तब जोनाथनले भने: “मेरो बुबाले गर्दा मानिसहरूलाई साह्रै कष्ट भएको छ। हेर त! मैले अलिकता मह चाख्दा मात्रै पनि कत्ति तागत पाएँ। शत्रुहरूबाट लुटेको सरसामानबाट सिपाहीहरूले पेटभरि खान पाएका भए कत्ति राम्रो हुने थियो! तिनीहरूले अझ धेरै पलिस्तियालीलाई मार्न सक्ने थिए।” (१ समुएल १४:२५-३०) जोनाथनको कुरा सही थियो। तिनी वफादार छोरा थिए तर तिनले अन्धाधुन्ध त्यस्तो वफादारी देखाएका थिएनन्‌। बुबाले भनेका वा गरेका हरेक कुरामा तिनले कुनै सोचविचारै नगरी सहमति जनाउने गरेनन्‌। यस्तो सन्तुलित दृष्टिकोणले गर्दा तिनले अरूबाट आदर कमाउन सके।

आफूले दिएको निषेधाज्ञा जोनाथनले तोडे भनेर पछि साउलले थाह पाए। तैपनि साउलले आफूले दिएको निषेधाज्ञा अव्यावहारिक थियो भनेर मानिलिन चाहेनन्‌। बरु आफ्नो छोरालाई मृत्युदण्ड दिइनै पर्छ भन्‍ने सोचाइ राखे। यो कुरा सुनेपछि जोनाथनले तर्कवितर्क गरेनन्‌ न त दयाको भीख नै मागे। त्यसपछि तिनले दिएको जवाफ साँच्चै उल्लेखनीय छ। आफ्नो ज्यानको पर्बाह नराखी तिनले यसो भने: “म मर्न तयार छु।” तर सिपाहीहरूले यसो भने: “जोनाथनले गर्दा नै इस्राएलीहरूको यत्ति ठूलो जित भयो; अब उल्टै उहाँलाई मार्नु उचित होला र? यस्तो कुरा त हामी सोच्न पनि सक्दैनौँ! जीवित परमेश्‍वर यहोवाको कसम खाएर हामी भन्छौँ, उहाँको शिरको एउटा केशसमेत भुईँमा खस्नेछैन। किनकि परमेश्‍वरको मदत पाएरै आज उहाँले यी सबै काम गर्नुभएको हो।” त्यसपछि के भयो? साउलले सिपाहीहरूको कुरा माने। बाइबल यसो भन्छ: “यसरी सिपाहीहरूले जोनाथनलाई बचाए र तिनी मारिएनन्‌।”—१ समुएल १४:४३-४५.

“म मर्न तयार छु।”

जोनाथन साहसी, कडा मेहनत गर्ने र आफ्नो ज्यानको पर्बाह नराख्ने स्वभावका थिए। त्यसैले तिनले असल नाम कमाएका थिए। त्यही असल नामले तिनलाई आफ्नो ज्यान खतरामा पर्दा जोगायो। आफूले हरेक दिन कस्तो नाम कमाइरहेको छु भनेर हामीले पनि विचार गर्नु राम्रो हो। बाइबलले बताएअनुसार असल नाम असाध्यै बहुमूल्य हुन्छ। (उपदेशक ७:१) जोनाथनजस्तै हामी पनि यहोवासामु असल नाम कमाउन सजग छौँ भने त्यही असल नाम हाम्रो लागि अनमोल धन साबित हुनेछ।

साउल झन्‌झन्‌ खराब हुँदै गए

साउलले गलत कदमहरू चाले तापनि जोनाथनले वफादार रहँदै वर्षौँसम्म आफ्नो बुबाको लागि लडाइँहरू लडिरहे। आफ्नो बुबा अनाज्ञाकारी र घमन्डी हुँदै गइरहेको देख्दा तिनको मन कत्ति खिन्‍न भयो होला, हामी कल्पना गर्न सक्छौँ। तिनको बुबाको स्वभाव झन्‌झन्‌ खराब हुँदै गइरहेको थियो तर त्यसलाई रोक्न जोनाथनले गर्न सक्ने कुरा केही थिएन।

यहोवाले साउललाई अमालेकीहरूविरुद्ध युद्ध लड्‌न आज्ञा दिनुहुँदा उनको अनाज्ञाकारिता प्रस्टै देखियो। ती अमालेकीहरू अत्यन्तै दुष्ट थिए। त्यसैले उनीहरूको पूरै जातिको नामोनिसान मेटिनेछ भनेर यहोवाले मोसाको समयमा भविष्यवाणी गर्नुभएको थियो। (प्रस्थान १७:१४) साउललाई उनीहरूको सबै वस्तुभाउ नाश गर्न र उनीहरूका राजा अगागलाई मार्न आज्ञा दिइएको थियो। हुनत साउलले त्यो लडाइँ जिते तर त्यो जित हासिल गर्न जोनाथनले ठूलो भूमिका खेले। तिनले आफ्नो बुबाको अधीनमा रहेर साहसी भई युद्ध लडे। तर साउलले भने यहोवाको आज्ञा ठाडै उल्लङ्‌घन गरे; तिनले अगागलाई मारेनन्‌ अनि सबै सम्पत्ति र वस्तुभाउलाई नाश गरेनन्‌। त्यसैले भविष्यवक्‍ता समुएलले साउललाई यहोवाको अन्तिम न्याय सन्देश यसरी सुनाए: “तपाईँले यहोवा परमेश्‍वरको आज्ञालाई तिरस्कार गर्नुभएकोले उहाँले पनि तपाईँलाई राजाको रूपमा तिरस्कार गर्नुभएको छ।”—१ समुएल १५:२, ३, ९, १०, २३.

त्यसको केही समय नबित्दै यहोवाले साउलबाट आफ्नो पवित्र शक्‍ति हटाउनुभयो। यहोवाको मायालु साथ नपाएपछि साउलले आफूमा भावनात्मक उथलपुथल महसुस गर्न थाले। तिनी कहिले झडङ्‌ग रिसाउँथे त कहिले अचाक्ली डराउँथे। आफ्नो पवित्र शक्‍ति हटाउनुभएपछि यहोवाले साउलको मन बेचैन हुन दिनुभयो जस्तो देखिन्छ। (१ समुएल १६:१४; १८:१०-१२) आफ्नो असल बुबा अहिले यत्ति खराब भएको देख्दा जोनाथनलाई कत्ति दुःख लाग्यो होला! तैपनि जोनाथन यहोवाप्रति वफादार रहिरहे। तिनले सकेसम्म आफ्नो बुबालाई साथ दिए र कहिलेकाहीँ बुबालाई सीधै सम्झाए। तर तिनी स्वर्गमा हुनुहुने आफ्ना परमेश्‍वर र बुबा यहोवाप्रतिको वफादारीमा कहिल्यै ढलपल भएनन्‌।—१ समुएल १९:४, ५.

के तपाईँले आफूले माया गरेको व्यक्‍ति, जो तपाईँको परिवारको सदस्य हुन सक्छन्‌, तिनी अत्यन्तै खराब हुँदै गएको देख्नुभएको छ? यस्तो अनुभव असाध्यै पीडादायी हुन्छ। जोनाथनको उदाहरणले हामीलाई भजनरचयिताले लेखेका शब्दहरूको सम्झना गराउँछ। उनले यस्तो लेखे: “मेरा आमाबुबाले मलाई त्यागे पनि यहोवा आफैले मलाई अङ्‌गाल्नुहुनेछ।” (भजन २७:१०) हो, यहोवा वफादार हुनुहुन्छ। उहाँले तपाईँलाई कहिल्यै त्याग्नुहुनेछैन र सबैभन्दा असल बुबा बन्‍नुहुनेछ। त्रुटिपूर्ण मानिसहरूले तपाईँलाई निराश वा दुःखी बनाए तापनि यहोवाले तपाईँलाई सधैँ साथ दिइरहनुहुनेछ।

यहोवाले अब साउलको हातबाट शासन खोस्नुहुनेछ भनेर सम्भवतः जोनाथनले पनि थाह पाए। त्यसपछि तिनले कस्तो प्रतिक्रिया देखाए? के तिनले ‘म राजा हुन पाएको भए कस्तो राजा भएर देखाउँथेँ’ भनेर सोचे कि? के तिनले बुबाका केही गल्तीहरू सच्याउने अनि वफादार र आज्ञाकारी राजाको रूपमा राम्रो उदाहरण बसाल्ने आशा राखेका थिए कि? तिनको मनमा कस्ता कुराहरू खेलिरहेका थिए भनेर हामीलाई थाह छैन। तर त्यस्ता आशाहरू कहिल्यै पूरा हुने थिएनन्‌ भनेर चाहिँ हामीलाई थाह छ। के यसको मतलब यहोवाले त्यस विश्‍वासी पुरुषलाई त्याग्नुभयो भन्‍ने हो? त्यसो त बिल्कुलै होइन किनभने उहाँले वफादार मित्रको उत्कृष्ट उदाहरणको रूपमा जोनाथनको विवरण बाइबलमा समावेश गर्नुभएको छ। त्यस अनमोल मित्रताबारे जोनाथनको अर्को लेखमा चर्चा गर्नेछौँ।