सीधै सामग्रीमा जाने

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌ | अय्युब

यहोवाले तिनको पीडा निको पार्नुभयो

यहोवाले तिनको पीडा निको पार्नुभयो

बल्ल ती मानिसहरू बोल्न बन्द गरे। अब भने अरेबियन मरुभूमिबाट आएको मन्द बतासको आवाज मात्र सुनिन्थ्यो होला। अय्युबसित बोल्न कुनै शब्द बाँकी नै थिएन, तिनी लामो तर्कवितर्कपछि लखतरान भइसकेका थिए। कल्पना गर्नुहोस्‌, तिनी आफ्ना तीन जना साथी एलिपज, बिल्दद र जोपरलाई टोलाएर हेरिरहेका छन्‌। मानौं, अय्युबले तिनीहरूलाई अझै केही बोल्न चुनौती दिइरहेका छन्‌। तर तिनीहरूले शिर निहुराएर बस्न वा अन्तै हेर्नबाहेक केही गर्न सकेनन्‌। किनकि तिनीहरूका धूर्त तर्क, “वाहियात कुरा” र घोचपेच गर्ने शब्दहरूको कुनै सीप लागेन। (अय्युब १६:३) तर अय्युबचाहिँ जसरी भए पनि आफ्नो सत्यनिष्ठा कायम गर्न कटिबद्ध थिए।

सत्यनिष्ठाबाहेक आफूसित केही पनि बाँकी छैन जस्तो अय्युबलाई लागेको हुनुपर्छ। तिनले आफ्नो धनसम्पत्ति, दस जना छोराछोरी, साथीभाइ र छरछिमेकको साथ अनि आदर सबै गुमाइसकेका थिए। त्यति मात्र होइन, तिनको स्वास्थ्य पनि नाजुक भइसकेको थियो। रोग लागेर तिनको छाला डढिसकेको, जीउभरि पाप्रैपाप्रा भएको अनि शरीरमा स्याउँस्याउँती किरा परेको थियो। तिनको सास डुङडुङती गन्हाइसकेको थियो। (अय्युब ७:५; १९:१७; ३०:३०) तैपनि तीन जना साथी भनौँदाहरूको आरोप-प्रत्यारोपले गर्दा अय्युब रिसले चूर भएका थिए। तिनीहरूले भनेझैँ आफू भ्रष्ट पापी होइन भनी प्रमाणित गर्न अय्युब लागिपरेका थिए। अय्युबको अन्तिम भाषण सुनेपछि तिनीहरूको मुख बन्द भयो। अय्युबलाई नानाभाँति निर्दयी कुराहरू भनिसकेपछि तिनीहरूसित अब बोल्न केही बाँकी नै थिएन। तर अय्युबको पीडा भने ज्युँका त्युँ थियो। तिनलाई मदतको एकदम खाँचो परेको थियो!

हुनत अय्युब सही दृष्टिकोण राख्न चुकेका थिए। कसैले तिनको सोचाइ सच्याउनुपर्ने थियो। तिनलाई डोऱ्‍याइ, साँचो सान्त्वना र ढाडस चाहिएको थियो। अय्युबले आफ्ना तीन जना साथीबाट यी कुराहरू आशा गरेका थिए तर दुःखको कुरा, तिनले त्यो पाएनन्‌। के तपाईँ पनि आफूलाई डोऱ्‍याइ र सान्त्वनाको एकदम खाँचो परेको कुनै अवस्थामा पर्नुभएको छ? के तपाईँलाई आफूले साथी ठानेका व्यक्‍तिहरूले नै निराश बनाएका छन्‌? यहोवाले आफ्ना सेवक अय्युबलाई कसरी मदत गर्नुभयो अनि तिनले त्यो मदत कसरी स्विकारे भनी बुझ्यौँ भने तपाईँले पनि आशा र व्यावहारिक मदत पाउन सक्नुहुनेछ।

बुद्धिमान्‌ र दयालु सल्लाहकार

अब अय्युबको विवरणमा अर्को एक जना नयाँ पात्रको प्रवेश हुन्छ। उनको नाम एलिहु हो। उनी आफूभन्दा पाका मानिसहरूको गन्थनमन्थन नजिकै बसेर चुपचाप सुनिरहेका थिए। अनि ती पाका मानिसहरूको कुरा उनलाई पटक्कै चित्त बुझेको थिएन।

एलिहुलाई अय्युबसित रिस उठेको थियो। धर्मी अय्युबले “परमेश्‍वरको सट्टा आफैलाई सही साबित गर्न खोजेको” देख्दा एलिहुलाई नमीठो लागेको थियो। तैपनि एलिहुले अय्युबप्रति समानुभूति देखाए। किनभने अय्युबको पीडा र तिनको निष्कपटता प्रस्टै देखिन्थ्यो अनि तिनी दयालु सल्लाह र सान्त्वना नभई नहुने अवस्थामा पुगेका थिए। त्यसैले ती तीन जना झूटा सान्त्वनादाताहरूको कुरा सुनेर एलिहुको धैर्यको बाँध टुटेको देख्दा हामी छक्क पर्दैनौँ। ती तीन जनाले अय्युबलाई निर्दयी कुराहरू भनेको अनि तिनको विश्‍वास, मर्यादा र सत्यनिष्ठालाई ढलपल गराउन खोजेको छर्लङ्‌गै देखिन्थ्यो। त्यति मात्र होइन, तिनीहरूको टेढोमेढो शब्दले परमेश्‍वरलाई दोषी ठहराइरहेको थियो। त्यसैले केही बोल्न एलिहुलाई असाध्यै सकसक लाग्नुको कारण हामी बुझ्न सक्छौँ—अय्युब ३२:२-४, १८.

एलिहुले यसो भने, “म त कलिलै छु तर तपाईँहरू पाको उमेरको हुनुहुन्छ। त्यसैले तपाईँहरूको अनादर नहोस्‌ भनेर म चुपचाप बसेँ र आफ्नो कुरा तपाईँहरूलाई बताउने आँट गरिनँ।” तर अब भने एलिहु चुपो लागेर बस्न सकेनन्‌। उनले भने, “उमेर खाँदैमा मानिस बुद्धिमान्‌ हुँदैन रहेछ अनि बूढो हुँदैमा सही कुरा थाह हुन्छ भन्‍ने छैन रहेछ।” (अय्युब ३२:६,) यो कुराको सत्यता एलिहुको लामो भाषणले प्रमाणित गरिदियो। उनले एलिपज, बिल्दद र जोपरले भन्दा बेग्लै तरिकामा बोले। एलिहुले अय्युबलाई हेपेर कुरा नगर्ने अनि तिनको दुःखमाथि दुःख नथप्ने कुरामा ढुक्क बनाए। उनले अय्युबको नामै लिएर सम्बोधन गरे अनि मानिसहरूले तिनको घोर अपमान गरेका छन्‌ भनी मानिलिए। यसरी एलिहुले अय्युब महत्त्वपूर्ण छन्‌, तिनको मोल छ भनी देखाए। * आदरपूर्वक एलिहुले यसो भने: “बिन्ती छ अय्युब, मेरो कुरा सुन्‍नुहोस्‌।”—अय्युब ३३:१, ७; ३४:७.

एलिहुले अय्युबको नामै लिएर सम्बोधन गरे, तिनीसित दयालु व्यवहार गरे अनि तिनको मोल गरे

एलिहुले अय्युबलाई यस्तो सुस्पष्ट सल्लाह दिए: “तपाईँले घरीघरी यसो भन्‍नुभएको मैले सुनेँ, ‘म निर्दोष छु, मैले गल्ती गरेको छैनँ। म चोखो छु, मबाट भूल भएको छैन। तर परमेश्‍वर विभिन्‍न बहाना खोजेर मेरो विरोध गर्नुहुन्छ।’” एलिहुले अय्युबको मुख्य समस्या औँल्याउन यस्तो प्रश्‍न सोधे: “‘म परमेश्‍वरभन्दा धर्मी छु!’ आफू सही छु भन्‍ने कुरामा के तपाईँ त्यति धेरै विश्‍वस्त हुनुहुन्छ?” अय्युबले त्यस्तो सोचाइ राख्नु सही होइन भनेर एलिहुलाई थाह थियो। त्यसैले उनले भने, “तपाईँको यो कुरा सरासर गलत हो।” (अय्युब ३३:८-१२; ३५:२) आफूले गुमाउनुपरेका कुराहरू अनि झूटा साथीहरूको दुर्व्यवहारले गर्दा अय्युब रिसले चूर भएका छन्‌ भनेर एलिहुलाई थाह थियो। तर एलिहुले अय्युबलाई यसरी सचेत गराए: “होस गर्नुहोस्‌! तपाईँको मन क्रोध अनि द्वेषले नभरियोस्‌।”—अय्युब ३६:१८.

एलिहु यहोवाको दयालाई जोड दिन्छन्‌

सबैभन्दा महत्त्वपूर्ण कुरा, एलिहुले यहोवा परमेश्‍वरको पक्षमा बोले। एकदमै सरल शब्दहरूमा उनले यो गहन सत्यलाई प्रस्ट पारे: “साँचो परमेश्‍वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्‍न, सर्वशक्‍तिमान्‌ परमेश्‍वरले कसैको हानि गर्नुहोला भनेर सोच्न समेत सकिँदैन। . . . सर्वशक्‍तिमान्‌ परमेश्‍वरले कहिल्यै कसैमाथि अन्याय गर्नुहुन्‍न।” (अय्युब ३४:१०, १२) यहोवा असाध्यै कृपालु र न्यायी हुनुहुन्छ भनी बुझ्न एलिहुले अय्युबलाई मदत गरे। अय्युबले बेलगाम बोली र अनादरपूर्ण कुराहरू गर्दा समेत यहोवाले हस्तक्षेप गरेर सजाय नदिनुभएको कुरा एलिहुले तिनलाई सम्झाए। (अय्युब ३५:१३-१५) अनि एलिहुले आफूसित सबै प्रश्‍नको जवाफ भएजस्तो देखाउनुको साटो नम्र भई यो कुरा मानिलिए: “परमेश्‍वर मानिसले सोचेभन्दा कता हो कता महान्‌ हुनुहुन्छ।”—अय्युब ३६:२६.

एलिहुले अय्युबलाई सुस्पष्ट सल्लाह दिए तापनि उनले दयालु व्यवहार गरिरहे। यहोवाले पछि अय्युबलाई पहिलेजस्तै स्वस्थ बनाउनुहुनेछ भन्‍ने सुन्दर आशाबारे एलिहुले बताए। त्यतिबेला परमेश्‍वरले आफ्ना वफादार सेवकबारे यसो भन्‍नुहुनेछ: “उसको शरीर युवावस्थाको बेलाभन्दा हृष्टपुष्ट होस्‌ र युवावस्थाको बल उसमा फर्केर आओस्‌।” अनि एलिहु आफैले भाषण छाँट्‌नुको साटो अय्युबलाई बोल्न आग्रह गरेर फेरि पनि दयालु व्यवहार देखाए। एलिहुले भने, “तपाईँलाई केही भन्‍न मन लागेको छ भने भन्‍नुहोस्‌। किनकि म तपाईँलाई सही साबित गर्न चाहन्छु।” (अय्युब ३३:२५, ३२) तर अय्युबले केही पनि भनेनन्‌। सायद यस्तो दयालु र सान्त्वनादायी शब्दहरू सुन्दा तिनले आफ्नो विषयमा केही बोल्नुपर्ने खाँचो नै महसुस गरेनन्‌। बरु लामो सास तानेर आँसुको धारा बगाए होलान्‌!

यी दुवै वफादार पुरुषबाट हामी धेरै कुरा सिक्न सक्छौँ। सल्लाह र सान्त्वना चाहिएकाहरूलाई कसरी त्यो दिनुपर्छ भनेर हामी एलिहुबाट सिक्न सक्छौँ। आफ्नो साथीको गम्भीर दोष वा उसले चालेको कदमको परिणाम खतरनाक हुन सक्छ भनेर देखाइदिन साँचो साथी पछि हट्‌दैन। (हितोपदेश २७:६) हामी पनि त्यस्तै साथी बन्‍न चाहन्छौँ। कसै-कसैले सोच्दै नसोची जथाभाबी बोल्दासमेत हामी तिनीहरूप्रति दयालु हुन र सान्त्वनादायी शब्द बोल्न चाहन्छौँ। हामी आफैलाई पनि त्यस्तो सल्लाह चाहिँदा बेवास्ता गर्नुको साटो नम्र भई स्विकार्नुपर्ने कुरा अय्युबको उदाहरणबाट सिक्न सक्छौँ। हो, हामी सबैलाई सल्लाह चाहिन्छ र कहिलेकाहीँ हाम्रो सोचाइ कसैले सच्याइदिनुपर्ने हुन्छ। यस्तो सल्लाह स्विकार्नु या नस्विकार्नुमा हाम्रो जीवन निर्भर हुन्छ।—हितोपदेश ४:१३.

“आँधीबेहरीको बीचबाट”

एलिहुले बोल्दा धेरै चोटि हावा, बादल, गर्जन र बिजुली चम्काइबारे उल्लेख गरे। उनले यहोवाबारे यसो भने: “उहाँको आवाजको गडगडाहट . . . ध्यान दिएर सुन्‍नुहोस्‌।” त्यसको एकछिनपछि एलिहुले “आँधीबेहरी”-बारे बताए। (अय्युब ३७:२,) उनले कुरा गर्दै गर्दा आकाशमा कालो बादल मडारिएर आँधीबेहरी चल्न लागेको सङ्‌केत देखिन्थ्यो। पछि भीषण आँधीबेहरी चल्यो। अनि त्यसपछि सोच्दै नसोचेको अचम्मको घटना घट्यो। आँधीबेहरीको बीचबाट यहोवा बोल्नुभयो!—अय्युब ३८:१.

कल्पना गर्नुहोस्‌, प्रकृतिमा पाइने विभिन्‍न जीवजीवातबारे ब्रह्‍माण्डकै सृष्टिकर्ताबाट लेक्चर सुन्‍न पाउनु कत्ति ठूलो सुअवसर!

अय्युबको किताब पढ्‌दै जाँदा अब भने यहोवाले अय्युबलाई भन्‍नुभएका कुराहरू पढ्‌न पाउँदा खुसी लाग्छ। उहाँले बोल्नुहुँदा सत्यको आँधीबेहरीले एलिपज, बिल्दद र जोपरका खोक्रो बोली र झूटा कुराहरू कता हो कता उडाइदिएसरह भयो। यहोवाले ती मानिसहरूसित निकै पछि मात्र कुरा गर्नुभयो। उहाँको मुख्य ध्यान अय्युबमा नै थियो; बुबाले आफ्नो छोरालाई सच्याएझैँ उहाँले आफ्नो प्यारो सेवकसित कुरा गर्नुभयो।

यहोवाले अय्युबको पीडा बुझ्नुभएको थियो। अनि उहाँको मनमा अय्युबप्रति दया जाग्यो किनकि आफ्ना प्यारा छोराछोरीले दुःख भोगेको देख्दा उहाँलाई असाध्यै दुःख लाग्छ। (यसैया ६३:९; जकरिया २:८) तर अय्युबले ‘केही नजानी बोलेकोले’ आफ्नो दुःखमाथि दुःख थपिरहेको छ भनेर यहोवालाई थाह थियो। त्यसैले यहोवाले अय्युबलाई सच्याउन थुप्रै प्रश्‍न सोध्नुभयो। उहाँले सुरुमा यस्तो प्रश्‍न गर्नुभयो, “मैले पृथ्वीको जग बसाल्दा तिमी कहाँ थियौ? तिमीलाई थाह छ भने मलाई जवाफ देऊ।” परमेश्‍वरले सृष्टि गर्नुहुँदा “बिहानका ताराहरूले” अर्थात्‌ स्वर्गदूतहरूले सृष्टिका कामहरू हेरेर खुसीले जयजयकार गरेका थिए। (अय्युब ३८:२, ४,) अनि स्वर्गमा भएको यी सबै कुराबारे अय्युबलाई केही पनि थाह थिएन।

यहोवाले आँधीबेहरीको बीचबाट बोल्नुभयो र दयालु तरिकामा अय्युबको सोचाइ छाँटकाँट गर्नुभयो

आफूले गरेका सृष्टिहरूबारे यहोवाले अझै बताउनुभयो। भनौँ भने, उहाँले अय्युबलाई अहिले प्राकृतिक विज्ञान भनिने कुराहरूको एक झलक दिइरहनुभएको थियो। जस्तै: खगोलविज्ञान, जीवविज्ञान, भूगर्भविज्ञान र भौतिकविज्ञान। यहोवाले अय्युब बाँचिरहेको समयमा तिनको वरपर पाइने जीवजन्तुबारे व्याख्या गर्नुभयो। जस्तै: सिंह, काग, घोरल, जङ्‌गली गधा, जङ्‌गली साँढे, अस्ट्रिज, घोडा, बाज, चील, बेहेमोथ (जलगैँडा) र लेवियातान (यसले गोहीलाई सङ्‌केत गरेको हुन सक्छ)। कल्पना गर्नुहोस्‌, प्रकृतिमा पाइने विभिन्‍न जीवजीवातबारे ब्रह्‍माण्डकै सृष्टिकर्ताबाट लेक्चर सुन्‍न पाउनु कत्ति ठूलो सुअवसर! *

नम्रता र प्रेमबारे पाठ

यी सबै कुरा बताउनुको कारण के थियो? अय्युबले अझ नम्र हुन सिक्नै पर्नेथियो। यहोवाबाट आफूले दुःख भोग्नुपरेको ठानेर तिनले गुनासो गरिरहेका थिए। यसो गर्दा तिनले आफ्नो पीडा अझै बढाउनुका साथै मायालु बुबाबाट आफूलाई टाढा लगिरहेका थिए। त्यसैले यहोवाले अय्युबलाई सृष्टिका कुराहरू कहिले अस्तित्वमा आए अनि उहाँले सृष्टि गर्नुभएका जीवहरूलाई तिनले खुवाउन र तह लगाउन सक्छन्‌ कि भनेर पटक-पटक सोध्नुभयो। यहोवाले सृष्टि गर्नुभएका कुराहरूमध्ये सबैभन्दा सरल कुरालाई त अय्युबले वशमा राख्न सक्दैनन्‌ भने सृष्टिकर्ताको कुरा ठीक भएन भनेर तिनले कसरी औँला ठड्याउन सक्थे र? के यहोवाको तौरतरिका अनि सोचाइ अय्युबको सीमित दृष्टिकोणभन्दा कता हो कता महान्‌ थिएन र?

अय्युबले यहोवासित तर्कवितर्क गरेनन्‌, आफ्नो सफाइ दिएनन्‌ वा बहाना बनाएनन्‌

यहोवाले भन्‍नुभएको सबै कुरामा अय्युबप्रति उहाँको प्रेम पनि लुकेको थियो। मानौँ, यहोवाले अय्युबसित यस्तो तर्क गरिरहनुभएको थियो: ‘बाबु, म यी सबै कुरा सृष्टि गर्न र हेरचाह गर्न सक्छु भने तिमीलाई चाहिँ मैले हेरचाह गर्दिनँ होला त? के मैले तिमीलाई त्यागुँला र? के मैले तिम्रा छोराछोरी, तिम्रो सुरक्षित जीवन अनि तिम्रो सुस्वास्थ्य खोस्छु होला र? तिमीले भोगेका सबै क्षतिको पूर्ति गर्ने र तिम्रो असह्‍य पीडा निको पार्न सक्ने के म मात्र होइन र?’

यहोवाले अय्युबलाई सोध्नुभएका प्रश्‍नहरूले तिनलाई निकै सोच्न लगायो र तिनले दुई चोटि मात्र जवाफ दिए। तिनले तर्कवितर्क गरेनन्‌, आफ्नो सफाइ दिएनन्‌ वा बहाना बनाएनन्‌। तिनले आफूलाई केही पनि थाह रहेनछ भन्‍ने कुरा नम्र भई स्विकारे अनि आफ्नो बेलगाम बोलीको लागि पश्‍चात्ताप गरे। (अय्युब ४०:४, ५; ४२:१-६) अब भने हामी अय्युबको विश्‍वासको उत्कृष्ट उदाहरण देख्न सक्छौँ। आफूले यतिविघ्न कष्ट भोग्नुपरे तापनि यहोवामाथि तिनको विश्‍वास ढलपल भएन। यहोवाले सच्याउनुहुँदा तिनले नम्र भई स्विकारे अनि आफ्नो सोचाइ छाँटकाँट गरे। त्यसैले हामी पनि यस्तो गहन प्रश्‍न सोध्न उत्प्रेरित हुन्छौँ: ‘अरूले सच्याउँदा वा सल्लाह दिँदा के म नम्र भई स्विकार्छु?’ हामी सबैलाई यस्तो मदत चाहिन्छ। हामीले मदत स्विकाऱ्‍यौँ भने अय्युबको विश्‍वास अनुकरण गरिरहेका हुन्छौँ।

“तिमीहरूले . . . मेरो विषयमा सत्य कुरा बोलेनौ”

यहोवालाई अय्युबले पीडा भोगिरहेको कुरा थाह थियो। त्यसैले तिनलाई सान्त्वना दिन कदम चाल्नुभयो। तीन जना झूटा सान्त्वनादाताहरूमध्ये सम्भवतः सबैभन्दा जेठो एलिपजलाई यहोवाले यसो भन्‍नुभयो: “मलाई तिमी र तिम्रा दुई जना साथीसित असाध्यै रिस उठेको छ। किनकि तिमीहरूले मेरो सेवक अय्युबले जस्तो मेरो विषयमा सत्य कुरा बोलेनौ।” (अय्युब ४२:७) ती शब्दहरूबारे विचार गर्नुहोस्‌ त! के यहोवाले ती तीन जनाले भनेको सबै कुरा गलत अनि अय्युबले भनेको एक-एक कुरा सही हो भन्‍न खोजिरहनुभएको थियो? अहँ, त्यसो त पटक्कै होइन। * तर अय्युब र तिनका आरोपीहरूबीच आकाश-जमिनको भिन्‍नता थियो। अय्युबको मन भाँचिएको थियो, तिनी शोकमा डुबेका थिए अनि गलत आरोपहरू सुन्दासुन्दा तिनी असाध्यै निराश भएका थिए। त्यसैले कहिलेकाहीँ तिनको बोली बेलगाम हुनुको कारण हामी बुझ्न सक्छौँ। तर एलिपज र तिनका दुई जना साथी भने अय्युबको जस्तो अवस्थामा परेका थिएनन्‌। विश्‍वास कमजोर भएकोले तिनीहरूले जानाजानी र अहङ्‌कारी भई त्यस्ता निर्दयी कुराहरू भनेका थिए। तिनीहरूले एक निर्दोष मानिसलाई क्षतविक्षत बनाए। तर त्योभन्दा पनि गम्भीर कुरा, तिनीहरूले यहोवालाई क्रूर र दुष्ट परमेश्‍वरजस्तो देखाइरहेका थिए।

त्यसैले यहोवाले ती मानिसहरूलाई चर्को मोल तिर्न लगाउनुको कारण बुझ्न सक्छौँ। तिनीहरूले सात वटा बहर र सात वटा थुमा बलिदान चढाउनुपर्ने थियो। यस्तो बलिदान चढाउन तिनीहरूले निकै खर्च गर्नुपर्ने थियो। किनकि मोसाको व्यवस्थाअनुसार प्रधान पुजारीको पापले गर्दा सम्पूर्ण राष्ट्र दोषी भयो भने तिनले बहर चढाउनुपर्थ्यो। (लेवी ४:३) मोसाको व्यवस्थाअनुसार बलिदान चढाइने जनावरहरूमध्ये बहर सबैभन्दा महँगो जनावर थियो। त्यति मात्र होइन, अय्युबका आरोपीहरूको खातिर अय्युबले प्रार्थना गरिदिएमा मात्र यहोवाले त्यो बलिदान स्विकार्नु हुनेथियो। * (अय्युब ४२:८) यहोवाले नै अय्युबलाई सही साबित गर्नुभएको र उहाँको निष्पक्ष न्याय देख्न पाउँदा तिनको मन कति हलुका भयो होला!

“मेरो सेवक अय्युबले तिमीहरूको निम्ति प्रार्थना गरिदिनेछन्‌।”—अय्युब ४२:८.

यहोवाले भन्‍नुभएको कुरा अय्युबले मान्‍नेछन्‌ र तिनको असाध्यै चित्त दुखाएका मानिसहरूलाई क्षमा दिनेछन्‌ भन्‍ने कुरामा उहाँ ढुक्क हुनुहुन्थ्यो। अनि अय्युबले यहोवाले भन्‍नुभएझैँ गरे। (अय्युब ४२:९) अय्युबको आज्ञाकारिताले गर्दा तिनी यहोवाप्रति सत्यनिष्ठ छन्‌ भन्‍ने सबैभन्दा जोडदार प्रमाण दियो। यो प्रमाण तिनले व्यक्‍त गर्ने शब्दहरूभन्दा कता हो कता प्रभावकारी थियो। अनि यसले गर्दा अय्युबको लागि अझै ठूलठूला आशिष्‌ पाउने ढोका खुल्यो।

“कोमल स्नेहले भरिपूर्ण”

यहोवाले अय्युबप्रति “कोमल स्नेहले भरिपूर्ण अनि कृपालु” व्यवहार गर्नुभयो। (याकुब ५:११) कसरी? यहोवाले अय्युबलाई पहिलेजस्तै स्वस्थ बनाउनुभयो। एलिपजले भनेझैँ साँच्चै आफ्नो “शरीर युवावस्थाको बेलाभन्दा हृष्टपुष्ट” हुँदा अय्युबले कस्तो महसुस गरे होलान्‌, कल्पना गर्नुहोस्‌ त! बल्ल तिनका परिवार र साथीभाइले तिनलाई सान्त्वना दिन आए! अनि तिनीहरूले उपहारहरू पनि ल्याए। यहोवाले अय्युबलाई पहिलेभन्दा दोब्बर धनसम्पत्ति दिनुभयो। अनि आफ्ना छोराछोरी गुमाउँदाको गहिरो चोट नि? अय्युब र तिनकी पत्नीले अर्को दस जना छोराछोरी पाउँदा केही हदसम्म सान्त्वना पाउन सके। अनि यहोवाले चमत्कार गरेर अय्युबको आयु लम्ब्याइदिनुभयो। अय्युब अरू १४० वर्ष बाँचे र तिनले आफ्नो छोरानाति गरी चौथो पुस्तासम्म देखे। बाइबलमा यस्तो लेखिएको छ, “यसरी लामो र सुखी जीवन बिताएर अय्युब मरे।” (अय्युब ४२:१०-१७) अनि प्रमोदवनमा अय्युब र तिनकी प्यारी पत्नीले आफूले गुमाएका सबै छोराछोरीलाई भेट्‌न पाउनेछन्‌, जसलाई सैतानले तिनीहरूबाट खोसेका थिए।—युहन्‍ना ५:२८, २९.

यहोवाले किन अय्युबलाई प्रचुर मात्रामा आशिष्‌ दिनुभयो? बाइबल यस्तो जवाफ दिन्छ: “तिमीहरूले अय्युबको सहनशीलताको विषयमा त सुनेकै छौ।” (याकुब ५:११) हामीले कल्पना गर्न सक्नेभन्दा कैयौँ गुणा धेरै दुःखकष्ट अय्युबले सहनुपऱ्‍यो। “सहनशीलता” भन्‍ने शब्दले अय्युबले केवल दुःखकष्ट सहे भन्‍ने अर्थ दिँदैन। बरु आफ्नो विश्‍वास र यहोवाप्रतिको प्रेम अलिकता पनि ढलपल हुन नदिई तिनले सहे भन्‍न सक्छौँ। अय्युब रिसले चूर हुनु अनि मनमा बदलाको भाव राख्नुको साटो आफूलाई जानाजानी चित्त दुखाउनेहरूलाई समेत क्षमा दिन इच्छुक भए। अनि आफूले साँचेको सुन्दर आशा अनि आफ्नो बहुमूल्य सम्पत्ति सत्यनिष्ठालाई तिनले कहिल्यै छोडेनन्‌।—अय्युब २७:५.

हामी सबैले सहनुपर्छ। सैतानले अय्युबलाई जस्तै हामीलाई पनि निराश बनाउन खोज्नेछ। तर हामी यहोवामाथि विश्‍वास राख्छौँ, नम्र हुन्छौँ, अरूलाई क्षमा दिन इच्छुक हुन्छौँ अनि आफ्नो सत्यनिष्ठा नछोड्‌न सङ्‌कल्प गर्छौँ भने सुन्दर भविष्यको आशामा ढुक्क हुन सक्छौँ। (हिब्रू १०:३६) हामीले अय्युबको विश्‍वास अनुकरण गऱ्‍यौँ भने सैतानजत्तिको दुःखी तर यहोवाजत्तिको खुसी अरू कोही हुनेछैन!

^ अनु. 9 एलिपज, बिल्दद र जोपरले अय्युबलाई धेरै कुरा भने। तिनीहरूले भनेका कुराले बाइबलको नौ वटाजति अध्याय ओगटेको छ। तर बाइबल पल्टाएर हेर्ने हो भने तिनीहरूले एक चोटि पनि अय्युबको नामै लिएर सम्बोधन गरेको पाउँदैनौँ।

^ अनु. 19 कहिलेकाहीँ यहोवाले शाब्दिक र प्रतीकात्मक वा कवितात्मक अभिव्यक्‍तिहरू सँगसँगै प्रयोग गर्नुहुन्छ। (उदाहरणको लागि, अय्युब ४१:१, ७, ८, १९-२१ हेर्नुहोस्‌) जे होस्‌, परमेश्‍वरको उद्देश्‍य अय्युबलाई सृष्टिकर्ताप्रति श्रद्धा जगाउन मदत गर्नुथियो।

^ अनु. 25 प्रेषित पावलले एलिपजको एउटा भनाइ उद्धरण गरे र त्यो सत्य हो भने। (अय्युब ५:१३; १ कोरिन्थी ३:१९) एलिपजले भनेको कुरा सत्य थियो तर तिनले अय्युबलाई दोषी ठहराउन त्यसलाई गलत तरिकामा लागू गरे।

^ अनु. 26 अय्युबले आफ्नी पत्नीको खातिर पनि त्यस्तै बलिदान चढाउनुपऱ्‍यो भनेर बाइबलमा कतै बताइएको छैन।