सीधै सामग्रीमा जाने

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌ | जोनाथन

“गहिरो मित्रता गाँसियो”

“गहिरो मित्रता गाँसियो”

भर्खरै युद्ध सकिएको छ अनि एलाह बेँसीमा शान्ति छाएको छ। दिउँसोको मन्द-मन्द हावामा सेनाको छाउनीका पालहरू हल्लिरहेका छन्‌। राजा साउल आफ्ना केही मानिसहरूसँग कुरा गरिरहेका छन्‌। तिनको जेठा छोरा जोनाथन पनि त्यहीँ छन्‌ अनि एक जवान गोठालोले बडो उत्साहका साथ तिनीहरूलाई आफूले हासिल गरेको जितबारे सुनाइरहेका छन्‌। जोस र उमङ्‌गले भरिएका ती जवान गोठालो दाउद हुन्‌। दाउदले भनेका एक-एक शब्द साउल एकाग्र भएर सुनिरहेका छन्‌। जोनाथनलाई चाहिँ कस्तो लागिरहेको छ? तिनले पनि वर्षौँदेखि यहोवाको सेनामा सेवा गरेर थुप्रै युद्धमा जित हासिल गरिसकेका छन्‌। तर आजको जित तिनको नभई त्यो जवान ठिटोको हो। दाउदले अजङ्‌गको गोल्यतलाई मारेका छन्‌! दाउदको यत्ति धेरै प्रशंसा गरिएकोमा के जोनाथन डाही भएका छन्‌?

जोनाथनले भनेको कुरा सुन्दा तपाईँ छक्क पर्नुहोला। हामी यस्तो लेखिएको पाउँछौँ: “दाउद र साउलबीच कुराकानी भएपछि जोनाथन र दाउदबीच गहिरो मित्रता गाँसियो। अनि जोनाथनले दाउदलाई आफूलाई जत्तिकै माया गर्न थाले।” जोनाथनले दाउदलाई आफ्नो हातहतियार दिए। जोनाथन प्रख्यात धनुर्धारी थिए र तिनले दाउदलाई आफ्नै धनु पनि दिए। कत्ति अनमोल उपहार! त्यति मात्र नभई, जोनाथन र दाउदले एकआपसमा करार गरे। तिनीहरूबीचको यो गम्भीर वाचाले गर्दा तिनीहरू एकअर्कासित मित्रताको बन्धनमा बाँधिने थिए।—१ समुएल १८:१-५.

बाइबलमा उल्लेख गरिएको एउटा अत्यन्तै गहिरो मित्रताको सुरुवात यसरी भयो। मित्रतालाई यहोवाका विश्‍वासी जनहरू महत्त्वपूर्ण ठान्छन्‌। हामी साथी छान्‍ने विषयमा होसियार भयौँ अनि आफू पनि मदतकारी र वफादार साथी भयौँ भने प्रेमरहित यस संसारमा आफ्नो विश्‍वास बलियो बनाउन सक्छौँ। (हितोपदेश २७:१७) त्यसोभए जोनाथनको उदाहरणबाट मित्रताबारे हामी के सिक्न सक्छौँ, विचार गरौँ।

मित्रताको जग

यस्तो बलियो मित्रता त्यति छिटो गाँस्न कसरी सम्भव भयो? यसको जवाफ पाउनको लागि त्यो मित्रता केमा आधारित थियो, त्यो बुझ्नुपर्छ। एकछिन त्यतिबेलाको अवस्था विचार गरौँ। जोनाथनले गाह्रो अवस्था भोगिरहेका थिए। तिनको बुबा राजा साउल झन्‌-झन्‌ खराब हुँदै गइरहेका थिए। कुनै बेला साउल यहोवाप्रति वफादार, नम्र अनि आज्ञाकारी थिए तर पछि उनी अहङ्‌कारी र अनाज्ञाकारी राजा भए।—१ समुएल १५:१७-१९, २६.

साउलमा आएको त्यस्तो परिवर्तनले गर्दा जोनाथन अत्यन्तै चिन्तित भएको हुनुपर्छ किनभने तिनी आफ्नो बुबासित निकै घनिष्ठ थिए। (१ समुएल २०:२) यहोवाले चुन्‍नुभएको राष्ट्रमाथि साउलले कुनै समस्या निम्त्याउने पो हुन्‌ कि भनी तिनलाई चिन्ता लागेको हुनुपर्छ। राजाको अनाज्ञाकारिताको कारण प्रजाहरू गलत मार्गतिर बरालिएर यहोवाको अनुमोदन गुमाउने पो थिए कि? जेहोस्‌, जोनाथनजस्तो विश्‍वासी व्यक्‍तिको लागि त्यो साँच्चै गाह्रो समय थियो।

यो कुरा विचार गर्दा जोनाथन जवान दाउदप्रति आकर्षित हुनुको कारण बुझ्न सक्छौँ। तिनले दाउदको बलियो विश्‍वास देखे। याद गर्नुहोस्‌, अजङ्‌गको गोल्यत देखेर साउलका सिपाहीहरू डराए पनि दाउद डराएनन्‌। यहोवाको नाम लिएर युद्धमा जाँदा सबै हातहतियार भिरेका गोल्यतभन्दा शक्‍तिशाली हुन्छु भन्‍ने कुरामा दाउद विश्‍वस्त थिए।—१ समुएल १७:४५-४७.

वर्षौँअघि जोनाथनले पनि यस्तै विश्‍वस्तता देखाएका थिए। आफू अनि आफ्नो हतियार बोक्ने सेवक गरी जम्मा दुई जनाले हतियारधारी एउटा फौजलाई आक्रमण गरेर हराउन सकिन्छ भन्‍ने कुरामा जोनाथन विश्‍वस्त थिए। किन? जोनाथनले यसो भने: “[यहोवालाई] कुनै कुराले रोक्न सक्दैन।” (१ समुएल १४:६) हो, जोनाथन र दाउदबीच थुप्रै समानता थियो: यहोवामा बलियो विश्‍वास र उहाँप्रति गहिरो माया। यी दुईबीच मित्रताको कत्ति बलियो आधार! जोनाथन ५० वर्ष पुग्न लागेका वीर राजकुमार थिए अनि दाउद सायद २० वर्ष पनि नपुगेका नम्र गोठालो थिए। तैपनि यस्तो भिन्‍नताले तिनीहरूलाई घनिष्ठ मित्र बन्‍नदेखि रोकेन।  *

तिनीहरूले गरेको करारले तिनीहरूको मित्रतालाई जोगाइरह्‍यो। कसरी? यो कुरा विचार गर्नुहोस्‌: यहोवाले आफूलाई भविष्यमा के बनाउनुहुनेछ भनेर दाउदलाई थाह थियो। साउलपछि इस्राएलको राजा तिनी नै हुने थिए! के तिनले यो कुरा जोनाथनबाट लुकाए? लुकाएनन्‌! दाउद र जोनाथनले जस्तै खुलस्त कुराकानी गर्दा मित्रता अझ बलियो हुन्छ, कुनै कुरा लुकाउँदा वा झूट बोल्दा होइन। दाउद राजा हुनेछन्‌ भनेर थाह पाउँदा जोनाथनलाई कस्तो लाग्यो होला? जोनाथनले पछि राजा हुने अनि बुबाले गरेका गल्तीहरू सच्याउने सपना देखेका भए नि? जोनाथनलाई कुनै पनि किसिमको तीतो भावनाले पिरोलेको विवरण हामी बाइबलमा पाउँदैनौँ। बरु तिनको वफादारी र विश्‍वासजस्ता महत्त्वपूर्ण गुणहरूबारे मात्र बताइएको पाउँछौँ। दाउदमाथि यहोवाको पवित्र शक्‍ति छ भनेर जोनाथनलाई थाह थियो। (१ समुएल १६:१, ११-१३) त्यसैले जोनाथनले आफ्नो वाचा पूरा गरे र दाउदलाई आफ्नो शत्रु होइन, मित्रको रूपमा हेरे। जोनाथन यहोवाको इच्छा पूरा भएको हेर्न चाहन्थे।

जोनाथन र दाउद दुवैको यहोवामाथि बलियो विश्‍वास थियो अनि तिनीहरू उहाँलाई गहिरो प्रेम गर्थे

त्यो मित्रता ठूलो आशिष्‌ साबित भयो। जोनाथनको विश्‍वासबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? परमेश्‍वरको प्रत्येक जनले मित्रताको महत्त्व बुझेर त्यसलाई कायम राख्न सकेजति गर्छन्‌। हाम्रा साथीहरू एउटै उमेर वा पृष्ठभूमिको हुनै पर्छ भन्‍ने छैन तर यदि तिनीहरूमा साँचो विश्‍वास छ भने तिनीहरूसँगको मित्रताले हामीलाई निकै फाइदा पुऱ्‍याउनेछ। जोनाथन र दाउदले थुप्रै चोटि एकअर्कालाई बलियो पार्न अनि प्रोत्साहन दिन सके। अनि तिनीहरू दुवैलाई त्यस्तो मदतको आवश्‍यकता थियो किनभने तिनीहरूको मित्रतालाई असर गर्न सक्ने ठूलठूला परीक्षाहरू आइपर्ने थिए।

वफादारीको जाँच

पहिले साउल दाउदलाई असाध्यै मन पराउँथे। त्यसैले तिनले दाउदलाई आफ्नो सेनाको नाइके नियुक्‍त गरेका थिए। तर केही समय नबित्दै साउलमा एउटा दुर्गुण देखा पऱ्‍यो, जुन जोनाथनले आफूमाथि हाबी हुन दिएका थिएनन्‌। त्यो थियो, डाह। दाउदले इस्राएलको शत्रु पलिस्तियालीहरूमाथि एकपछि अर्को विजय हासिल गर्दै जाँदा तिनले प्रशंसा र आदर कमाए। केही इस्राएली स्त्रीहरूले यस्तो गीतसमेत गाए: “साउलले हजारौँलाई मारे, दाउदले लाखौँलाई मारे।” साउललाई त्यो गीत फिटिक्कै मन परेन। “त्यस दिनदेखि साउलले दाउदलाई सधैँ शङ्‌कालु नजरले हेर्न थाले” भनी बाइबल बताउँछ। (१ समुएल १८:७, ९) दाउदले राज्याधिकार खोस्ने हुन्‌ कि भनेर साउल डराए। उनको यो सोचाइ मूर्खतापूर्ण थियो। हो, साउलपछि आफू राजा हुने कुरा दाउदलाई थाह थियो तर यहोवाले नियुक्‍त गर्नुभएको राजाले शासन गरुन्जेल उनको ठाउँ ह़डप्ने कुरा दाउदले सोचेका समेत थिएनन्‌।

दाउद युद्धमा मारियोस्‌ भनेर साउलले थुप्रै षड्यन्त्र रचे तर सफल भएनन्‌। दाउदले थुप्रै युद्धमा विजय हासिल गरेर मानिसहरूको मन जित्दै गए। तर साउलले फेरि अर्को चाल चले। दाउदलाई मार्ने षड्यन्त्र रच्न तिनले आफ्ना सबै सेवक अनि जेठो छोरालगायत पूरै घरानालाई एकजुट गराउने कोसिस गरे। आफ्नो बुबाको त्यस्तो कुविचारबारे थाह पाउँदा जोनाथनलाई कत्ति नमीठो लाग्यो होला! (१ समुएल १८:२५-३०; १९:१) जोनाथन वफादार छोरा मात्र होइन, वफादार साथी पनि थिए। यस्तो अवस्थामा जोनाथन कोप्रति वफादार रहने थिए?

जोनाथनले यसो भने: “महाराजले आफ्नो सेवक दाउदको विरुद्धमा पाप गर्नु राम्रो होइन किनभने दाउदले हजुरको विरुद्धमा कुनै पाप गरेका छैनन्‌। उनले हजुरको लागि जे-जति गरेका छन्‌, त्यसले हजुरकै भलाइ भएको छ। गोल्यतलाई मार्न उनले आफ्नो ज्यानै जोखिममा हाले। यहोवा परमेश्‍वरले त्यतिबेला सारा इस्राएललाई ठूलो जित हासिल गर्न मदत गर्नुभयो। त्यो घटना तपाईँ आफैले देख्नुभएको थियो। अनि तपाईँ खुसीले गद्‌गद हुनुभएको थियो। अहिले त्यही दाउदलाई मारेर तपाईँ किन निर्दोष मानिसको रगत बगाउन चाहनुहुन्छ?” त्यसबेला साउलले जोनाथनको कुरा सुने अनि दाउदलाई हानि नपुऱ्‍याउने कसमसमेत खाए। तर उनले आफ्नो कसम तोडे। दाउदले झनै सफलता हासिल गर्दै गएपछि साउल डाहले यत्ति क्रोधित भए कि तिनले दाउदलाई भालाले हाने! (१ समुएल १९:४-६, ९, १०) तर दाउद उम्किए अनि त्यहाँबाट भागे।

के तपाईँको वफादारीको कहिल्यै जाँच भएको छ? त्यस्तो अवस्था सहन साह्रै गाह्रो हुन सक्छ। त्यस्तो अवस्थामा कोही-कोहीले सधैँ परिवारप्रति नै वफादार रहनुपर्छ भनेर सल्लाह देलान्‌। तर जोनाथनलाई त्यसो गर्नु गलत हो भनेर थाह थियो। यहोवाप्रति वफादार र आज्ञाकारी दाउदलाई नभई तिनी कसरी आफ्नो बुबालाई साथ दिन सक्थे र? यहोवाप्रतिको वफादारीलाई नै जोनाथनले पहिलो स्थान दिए र दाउदको पक्षमा बोले। हुनत जोनाथन पहिला यहोवाप्रति वफादार भए तैपनि तिनले साउललाई सच्याएर आफ्नो बुबाप्रति वफादार भएको पनि देखाए। तिनले बुबाको ‘होमा हो’ मिलाएनन्‌। जोनाथनले देखाएको वफादारी अनुकरण गऱ्‍यौँ भने हामीले पक्कै लाभ उठाउनेछौँ।

वफादारीको मोल

जोनाथनले फेरि पनि साउल र दाउदको मिलाप गराउन खोजे तर तिनको प्रयास बेकार भयो। दाउदले गुप्तमा जोनाथनलाई भेटे अनि आफ्नो ज्यानको खतरा महसुस भएको कुरा बताए। “मेरो मृत्यु अब धेरै टाढा छैन!” भनेर तिनले आफ्नो पाको साथीलाई बताए। आफ्नो बुबाको मनसाय बुझेर त्यसबारे खबर गर्नेछु भनी जोनाथनले दाउदलाई बताए। दाउद लुकेर बस्ने थिए अनि जोनाथनले काँड हानेर तिनलाई सङ्‌केत दिने थिए। जोनाथनले दाउदलाई यो एउटा कसमचाहिँ खान लगाए: “यहोवा परमेश्‍वरले तपाईँका सबै शत्रुलाई यस धर्तीबाट नामेट पार्नुहुँदा समेत मेरो घरानालाई अटल प्रेम देखाउन नछोड्‌नुहोस्‌।” जोनाथनको घरानाको सधैँ ख्याल राख्ने कुरामा दाउद राजी भए।—१ समुएल २०:३, १३-२७.

जोनाथनले साउललाई दाउदको विषयमा राम्रो कुरा सुनाउन खोजे तर राजा रिसाए। उनले जोनाथनलाई “विद्रोही आइमाईको छोरा” भने अनि दाउदसित तिनको मित्रताले परिवारको अपमान गर्छ पनि भने। उनले जोनाथनलाई आफ्नै बारेमा सोच्न उक्साए: “यिसैको छोरा यस धर्तीमा रहुन्जेल तँ र तेरो राजपद सुरक्षित हुनेछैन।” तर त्यसले जोनाथनमा कुनै असर पारेन। तिनले फेरि पनि आफ्नो बुबालाई बिन्ती गरे: “उनलाई किन मार्ने? उनले के गरेका छन्‌ र?” तर त्यो सुनेर साउल रिसले चूर भए र जोनाथनमाथि प्रहार गर्न सुरिए। वृद्ध भए तापनि साउल एक वीर योद्धा थिए। उनले आफ्नो छोरालाई भालाले हाने। भाला हान्‍नमा निपुण भए तापनि उनी चुके। बुबाको यस्तो चाला देखेर जोनाथनको एकदमै चित्त दुख्यो र तिनले अपमानित महसुस गरे अनि रिसाउँदै तिनी त्यहाँबाट निस्के।—१ समुएल २०:२४-३४, फुटनोट।

गाह्रो परिस्थितिमा पनि जोनाथनले रत्तीभर स्वार्थी भावना देखाएनन्‌

भोलिपल्ट बिहान जोनाथन दाउद लुकेको ठाउँ नजिकैको मैदानमा गए। आफूले वचन दिएअनुसारै तिनले काँड हाने, जसले गर्दा साउल अझै पनि आफूलाई मार्न खोजिरहेका छन्‌ भनेर दाउदले थाह पाए। त्यसपछि जोनाथनले आफूसँगै आएको सेवकलाई सहरमा फिर्ता पठाए। त्यहाँ जोनाथन र दाउद मात्र भएकोले तिनीहरूलाई कुरा गर्न छोटो समय मिल्यो। दुवै जना रोए अनि जोनाथनले दाउदलाई दुःखी हुँदै बिदा गरे। त्यसपछि दाउदले भगुवा जीवन बिताउनुपऱ्‍यो।—१ समुएल २०:३५-४२.

यस्तो गाह्रो परिस्थितिमा पनि जोनाथनले रत्तीभर स्वार्थी भावना देखाएनन्‌। जोनाथनले पनि आफ्नो बुबाको पदचिन्ह पछ्याएको अनि स्वार्थी भई शक्‍ति र सम्मानको पछि लागेको सैतान पक्कै हेर्न चाहन्थ्यो होला। सैतान सबै विश्‍वासी जनहरूको शत्रु हो। याद गर्नुहोस्‌, सैतानले मानिसहरूलाई तिनीहरूको स्वार्थी चाहनाको पछि लाग्न उक्साउँछ। हाम्रो पहिलो आमाबुबा आदम र हव्वालाई झुक्क्याउन त्यो सफल भएको थियो। (उत्पत्ति ३:१-६) तर जोनाथन भने त्यसको पासोमा फसेनन्‌। त्यो देखेर सैतान कत्ति रिसायो होला! के तपाईँ पनि त्यस्ता प्रलोभनहरूको प्रतिरोध गर्नुहुन्छ? स्वार्थी झुकाव छ्यासछ्यास्ती भएको संसारमा हामी बाँचिरहेका छौँ। (२ तिमोथि ३:१-५) के हामी जोनाथनको निःस्वार्थी मनोभाव र वफादारीको राम्रो उदाहरणबाट पाठ सिक्नेछौँ?

वफादार मित्र भएकोले दाउदलाई खतराबाट जोगाउन जोनाथनले सङ्‌केत दिए

“तिमी मेरो लागि अतिप्रिय थियौ”

दाउदप्रतिको घृणाले साउललाई अन्धो बनायो। एक जना निर्दोष व्यक्‍तिको हत्या गर्न साउल पूरै सेना लिएर देशभरि भौँतारिए। आफ्नो बुबाको यस्तो पागलपन देखे तापनि जोनाथनले केही गर्न सकेनन्‌। (१ समुएल २४:१, २, १२-१५; २६:२०) तर के जोनाथन त्यसमा सहभागी भए? रोचक कुरा, बाइबलमा तिनी त्यस्ता अभियानहरूमा सहभागी भए भनी कतै उल्लेख गरिएको छैन। यहोवाप्रति, दाउदप्रति अनि आफ्नो मित्रताको वाचाप्रति वफादार भएकोले तिनले त्यस्तो गलत मार्गमा हिँड्‌ने कुरा सोच्नसमेत सक्दैन थिए।

आफ्नो जवान साथीप्रति तिनको भावना कहिल्यै परिवर्तन भएन। पछि तिनले दाउदसित फेरि भेट्‌ने जुक्‍ति निकाले। तिनले दाउदलाई होरेस भन्‍ने ठाउँमा भेटे, जसको अर्थ हो, “जङ्‌गली क्षेत्र।” होरेस हेब्रोनदेखि केही किलोमिटर पर दक्षिणपूर्वको पहाडी क्षेत्रमा पर्ने निर्जनभूमि थियो। जोनाथनले किन भगुवा जीवन बिताइरहेको साथीलाई भेट्‌न आफ्नो जीवन खतरामा पारे? तिनको उद्देश्‍य दाउदलाई ‘यहोवा परमेश्‍वरमाथिको भरोसा अझ बलियो बनाउन हौसला दिनु’ थियो भनी बाइबल बताउँछ। (१ समुएल २३:१६) जोनाथनले कसरी त्यसो गरे?

जोनाथनले आफ्नो जवान साथीलाई यस्तो आश्‍वासन दिए: “नडराउनुहोस्‌, मेरो बुबाले तपाईँलाई भेट्टाउन सक्नुहुन्‍न।” यस्तो आश्‍वासन केमा आधारित थियो? यहोवाको उद्देश्‍य पक्कै पूरा हुनेछ भन्‍ने कुरामा जोनाथन विश्‍वस्त थिए। तिनले अझै यसो भने: “तपाईँ इस्राएलका राजा हुनुहुनेछ।” यो कुरा यहोवाले वर्षौँअघि भविष्यवक्‍ता समुएललाई भन्‍न लगाउनुभएको थियो अनि अहिले जोनाथनले पनि यही कुरा दोहोऱ्‍याएर यहोवाको वचन सधैँ भरोसायोग्य छ भनी दाउदलाई सम्झाए। जोनाथनले आफ्नो भविष्यबारे कस्तो सोचाइ राखेका थिए? तिनले यसो भने: “मचाहिँ दोस्रो दर्जामा हुनेछु।” कत्ति नम्र व्यक्‍ति! आफूभन्दा ३० वर्ष कान्छो व्यक्‍तिको अधीनमा बसेर तिनको मुख्य सहयोगीको रूपमा सेवा गर्नुपरे तापनि तिनी सन्तुष्ट हुने थिए। अन्तमा जोनाथनले यसो भने: “मेरो बुबालाई पनि यो कुरा थाह छ।” (१ समुएल २३:१७, १८) यहोवाले राजा नियुक्‍त गर्नुभएको व्यक्‍तिसितको लडाइँमा आफू विजयी हुनेछैनँ भनेर साउललाई थाह थियो।

दाउद गाह्रो परिस्थितिमा हुँदा जोनाथनले तिनलाई प्रोत्साहन दिए

त्यसपछिका वर्षहरूमा दाउदले जोनाथनसितको त्यो भेट बेला-बेलामा सम्झे होलान्‌। अनि त्यसबारे सम्झँदा तिनलाई पक्कै पनि खुसी लागेको हुनुपर्छ। तर त्यो तिनीहरूको अन्तिम भेट थियो। दुःखको कुरा, दाउदपछि दोस्रो दर्जाको व्यक्‍ति बन्‍ने जोनाथनको चाहना पूरा हुन सकेन।

जोनाथन आफ्ना बुबासँगै पलिस्तियालहरूविरुद्ध युद्ध गर्न गए। पलिस्तियालीहरूले खुल्लमखुल्ला इस्राएलीहरूविरुद्ध शत्रुताको घोषणा गरेका थिए। जोनाथन सधैँ यहोवाको सेवालाई प्रथम स्थान दिन्थे। त्यसैले आफ्नो बुबाले यहोवाविरुद्ध जति नै गलत काम गरे पनि तिनी सफा अन्तस्करण राख्दै बुबासँगै युद्धमा गए। तिनले सदाजस्तै साहसी र वफादार भई युद्ध लडे। तैपनि त्यो युद्धमा इस्राएलीहरूले ठूलो क्षति बेहोर्नुपऱ्‍यो। साउलले भूतप्रेत खेलाउने हदसम्म दुष्ट काम गरेर परमेश्‍वरको व्यवस्थाविरुद्ध घोर अपराध गरेका थिए। त्यसैले यहोवाले साउललाई आशिष्‌ दिन छोडिसक्नुभएको थियो। युद्धमा साउलका तीन छोरा मारिए, जसमध्ये जोनाथन पनि थिए। साउल गम्भीर घाइते भए अनि तिनले आफ्नै ज्यान लिए।—१ समुएल २८:६-१४; ३१:२-६.

जोनाथनले भने: “तपाईँ इस्राएलका राजा हुनुहुनेछ र मचाहिँ दोस्रो दर्जामा हुनेछु।”—१ समुएल २३:१७.

त्यो खबर सुनेर दाउद शोकले व्याकुल भए। तिनी असाध्यै दयालु भएकोले आफूलाई त्यतिबिघ्न दुःख अनि पीडा दिने साउलको लागि समेत तिनले शोक गरे! तिनले साउल र जोनाथनको लागि शोकगीत लेखे। तीमध्ये सबैभन्दा मन छुने शब्दहरू दाउदले आफ्नो प्यारो सल्लाहकार अनि साथी जोनाथनको लागि लेखे: “हे मेरा दाइ जोनाथन, तिम्रो वियोगमा म असाध्यै दुःखी छु, तिमी मेरो लागि अतिप्रिय थियौ; मप्रति तिम्रो प्रेमले स्त्रीहरूको प्रेमलाई जित्थ्यो।”—२ समुएल १:२६.

दाउदले जोनाथनसित खाएको कसम कहिल्यै बिर्सेनन्‌। केही वर्षपछि तिनले जोनाथनको कूँजो छोरा मपिबोसेतलाई खोजेर आफ्नो दरबारमा ल्याए र तिनको हेरविचार गरे। (२ समुएल ९:१-१३) जोनाथनको वफादारी, सही कुराप्रतिको अडान र जति नै गाह्रो भए तापनि आफ्नो मित्रलाई साथ दिइरहने इच्छुकताबाट दाउदले पक्कै पनि धेरै कुरा सिके। के हामी पनि त्यस्तो पाठ सिक्नेछौँ? के हामी जोनाथनजस्तै व्यक्‍तिहरूलाई साथी बनाउनेछौँ? के हामी आफू पनि अरूको लागि त्यस्तै साथी बन्‍नेछौँ? हामीले आफ्ना साथीहरूलाई यहोवामाथि विश्‍वास खेती गर्न अनि बढाउँदै लैजान मदत गऱ्‍यौँ, यहोवाप्रतिको वफादारीलाई पहिलो स्थानमा राख्यौँ अनि आफ्नै फाइदा खोज्नुको साटो वफादार भइरह्‍यौँ भने हामी पनि जोनाथनजस्तै मित्र बन्‍न सक्नेछौँ। यसरी हामीले तिनको विश्‍वास अनुकरण गरिरहेका हुनेछौँ।

^ अनु. 10 साउलको शासनको सुरुतिर जोनाथनबारे बाइबलमा पहिलो पटक उल्लेख गरिँदा तिनी सेनापति भइसकेका थिए। त्यसैले त्यतिबेला जोनाथन कम्तीमा २० वर्ष पुगिसकेको हुनुपर्छ। (गन्ती १:३; १ समुएल १३:२) साउलले ४० वर्ष शासन गरे। त्यसैले साउलको मृत्यु हुँदा जोनाथन लगभग ६० वर्षका र दाउदचाहिँ ३० वर्षका थिए। (१ समुएल ३१:२; २ समुएल ५:४) त्यसैले जोनाथन दाउदभन्दा करिब ३० वर्ष जेठो हुनुपर्छ।