सीधै सामग्रीमा जाने

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌ | अय्युब

“म . . . आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।”

“म . . . आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।”

यो दृश्‍य कल्पना गर्नुहोस्‌, तिनी घोसेमुन्टो लाएर एक्लै बसिरहेका छन्‌। तिनको शिरदेखि पैतालासम्म पीडादायी खटिराहरू छन्‌। आफ्नो घाउमा भुनभुनाइरहेका झिङ्‌गाहरू धपाउने तागतसमेत तिनमा छैन। तिनी खरानीको थुप्रोमा बसेर शोक मनाइरहेका छन्‌। अनि खपटा लिएर खटिरै खटिराले भरिएको जीउ कन्याइरहेका छन्‌। तिनले यति धेरै कुरा गुमाइसकेका छन्‌ कि तिनको अवस्था अत्यन्तै दयनीय भएको छ। तिनका साथी, छिमेकी अनि आफन्तहरू सबैले तिनलाई त्यागेका छन्‌। केटाकेटीले समेत तिनलाई जिस्क्याइरहेका छन्‌। तिनलाई आफ्ना परमेश्‍वर यहोवा आफूमाथि आइलाग्नुभयो जस्तो लागेको छ। तर तिनको त्यो सोचाइ गलत थियो।—अय्युब २:८; १९:१८, २२.

यी व्यक्‍ति हुन्‌ अय्युब। परमेश्‍वरले तिनीबारे यसो भन्‍नुभएको थियो: “पृथ्वीमा ऊजस्तो अरू कोही छैन।” (अय्युब १:८) शताब्दीऔँपछि पनि यहोवाले अय्युबलाई असल अर्थात्‌ धर्मी मानिसहरूमध्ये एक ठान्‍नुभयो।—इजकिएल १४:१४, २०.

के तपाईँले गाह्रो अवस्थाले गर्दा पीडा भोगिरहनुभएको छ? त्यसो हो भने अय्युबको विवरणबाट निकै सान्त्वना पाउन सक्नुहुन्छ। यस विवरणले परमेश्‍वरका सबै वफादार सेवकसित हुनुपर्ने एउटा गुणबारे राम्ररी बुझ्न पनि मदत गर्नेछ। त्यो गुण हो, सत्यनिष्ठा। मानिसहरू परमेश्‍वरप्रति पूर्णतया समर्पित छन्‌ भने तिनीहरू गाह्रो अवस्थामा पनि सत्यनिष्ठ रहन्छन्‌ र उहाँको इच्छाअनुसार चल्न छोड्‌दैनन्‌। आउनुहोस्‌, अय्युबबाट कस्ता पाठहरू सिक्न सकिन्छ, विचार गरौँ।

अय्युबलाई के थाह थिएन?

अय्युबको मृत्यु भएको केही समयपछि विश्‍वासी पुरुष मोसाले अय्युबको जीवनी लेखे जस्तो देखिन्छ। परमेश्‍वरको प्रेरणा पाएर मोसाले पृथ्वीमा अय्युबले भोगेका घटनाहरू मात्र नभई स्वर्गमा भएका केही घटनाबारे पनि लेखेका छन्‌।

अय्युबको विवरणको सुरुतिर हेर्ने हो भनी तिनले सुखी र आनन्दमय जीवन बिताइरहेका थिए भनेर थाह पाउँछौँ। तिनी धनी थिए अनि उज देशमा तिनलाई सबैले चिन्थे र आदर गर्थे। उज देश सम्भवतः उत्तरी अरेबियामा पर्छ। तिनी खाँचोमा परेकाहरूलाई खुला मनले सहयोग गर्थे र निस्सहायहरूलाई सक्दो मदत गर्थे। अय्युब र तिनकी पत्नीका दस जना छोराछोरी थिए। सबैभन्दा महत्त्वपूर्ण कुरा, अय्युब आध्यात्मिक कुराहरूको कदर गर्थे। आफ्ना पुर्खाहरू अब्राहाम, इसहाक, याकुब र युसुफले जस्तै तिनी यहोवालाई खुसी बनाउन प्रयास गर्थे। ती कुलपिताहरूले जस्तै अय्युब आफ्नो परिवारको लागि पुजारीको काम पनि गर्थे; तिनी आफ्ना छोराछोरीको लागि नियमित रूपमा अग्निभेटी चढाउँथे।—अय्युब १:१-५; ३१:१६-२२.

तर अब अय्युबको विवरणका लेखक अर्कै दृश्‍यबारे बताउँछन्‌। अनि हामी स्वर्गमा भइरहेको घटनाबारे पढ्‌न सक्छौँ, जुन कुरा अय्युबलाई थाह थिएन। यहोवाका वफादार स्वर्गदूतहरू यहोवासामु भेला भएका थिए। त्यति नै बेला विद्रोही स्वर्गदूत सैतान पनि यहोवासामु उपस्थित भयो। सैतानले धर्मी मानिस अय्युबलाई घृणा गर्छ भनी यहोवालाई थाह थियो। त्यसैले परमेश्‍वरले सैतानलाई अय्युबले देखाइरहेको उल्लेखनीय सत्यनिष्ठा याद गरेको छ कि छैन भनेर सोध्नुभयो। तब सैतानले कुनै धक नमानी यस्तो जवाफ फर्कायो: “अय्युबले विनास्वार्थ तपाईँको डर मानेको हो र? तपाईँले उसलाई, उसको घरपरिवारलाई र ऊसँग भएका सबै कुरालाई चारैतिरबाट रक्षा गर्नुभएको छैन र?” सत्यनिष्ठ मानिसहरूलाई सैतान घृणा गर्छ। मानिसहरूले यहोवा परमेश्‍वरप्रति तनमनले भक्‍ति देखाउँदा तिनीहरूले सैतान वास्तवमा निष्ठुर धोकेबाज हो भनेर पर्दाफास गरिरहेका हुन्छन्‌। अय्युबले स्वार्थी उद्देश्‍यले परमेश्‍वरको सेवा गरिरहेका थिए भन्‍ने सैतानको दाबी थियो। अय्युबले आफूसित भएको सबै कुरा गुमाउने हो भने तिनले यहोवाकै मुखको सामुन्‍ने उहाँलाई सराप्नेछन्‌ भनेर सैतानले भनिरहेको थियो।—अय्युब १:६-११.

यो कुरा अय्युबलाई थाह थिएन तर यहोवाले तिनलाई एउटा ठूलो मौका दिँदै हुनुहुन्थ्यो। त्यो थियो: सैतानलाई गलत साबित गर्ने। अय्युबसित भएको सबै कुरा खोस्न यहोवाले सैतानलाई अनुमति दिनुभयो। तर उसले अय्युबको शरीरलाई भने छुन पाउँदैनथ्यो। त्यसैले सैतान क्रूर कदम चाल्न लागिपऱ्‍यो। एकै दिनमा त्यसले अय्युबमाथि एकपछि अर्को विपत्ति ल्यायो। अय्युबले एकपछि अर्को गर्दै आफ्ना सबै गोरु, गधा, भेडा र ऊँटहरू एक्कासि मारिएको खबर सुने। त्यति मात्र कहाँ हो र, ती गाईवस्तु चराइरहेका गोठालाहरू पनि मारिए। एकपटक भने ‘आकाशबाट परमेश्‍वरको आगो बर्सिएर’ सबै भेडाबाख्रा मारिएको कुरा पनि अय्युबले सुन्‍नुपऱ्‍यो। त्यतिबेला सम्भवतः बिजुली चम्किएको हुनुपर्छ। को-को मारिए, के-कति क्षति भयो अनि अब आफू कत्तिको दरिद्र भइयो भन्‍ने कुरा विचार गर्न पनि नपाउँदै तिनीमाथि अर्को ठूलो बज्रपात आइपऱ्‍यो। तिनका दस जना छोराछोरी जेठो छोराको घरमा भेला भएको बेला मरुभूमिबाट अकस्मात्‌ ठूलो हुरी आयो, त्यसले घरलाई गर्ल्यामगुर्लुम ढाल्यो र सबै मारिए!—अय्युब १:१२-१९.

यस्तो अवस्थामा अय्युबले कस्तो महसुस गरे होलान्‌ भनेर कल्पना गर्न गाह्रो मात्र होइन असम्भव नै छ। तिनले आफ्नो लुगा च्याते, कपाल खौरे र भुइँमा घोप्टो परे। आफूसित जे-जति थियो, त्यो परमेश्‍वरले दिनुभएको हो र उहाँले नै लानुभयो भन्‍ने निष्कर्षमा अय्युब पुगे। हो, परमेश्‍वरले गर्दा नै तिनीमाथि सबै विपत्ति आएका थिए भनेर देखाउन सैतानले एकदमै धूर्त चाल चल्यो। यस्ता विपत्ति भोग्नुपर्दा अय्युबले परमेश्‍वरलाई सराप्नेछन्‌ भनेर सैतानले दाबी गरेको थियो। तर अय्युबले परमेश्‍वरलाई सरापेनन्‌ बरु तिनले यसो भने: “यहोवाको नामको सधैँ प्रशंसा होस्‌।”—अय्युब १:२०-२२.

सैतानले अय्युबबारे परमेश्‍वरलाई दुष्ट कुराहरू बताइरहेको तिनलाई थाह थिएन

“उसले . . . तपाईँलाई सराप्नेछ”

सैतान रिसले चूर भयो तैपनि त्यसले हार मानेन। स्वर्गदूतहरू यहोवासामु भेला भएको बेला सैतान फेरि त्यहाँ आयो। त्यतिबेला पनि यहोवाले अय्युबको सत्यनिष्ठाको प्रशंसा गर्नुभयो किनभने सैतानले जस्तोसुकै दुःख दिए तापनि तिनी सत्यनिष्ठ रहिरहेका थिए। सैतानले यसो भन्यो: “छालाको सट्टा छाला। आफ्नो ज्यान जोगाउन मानिस जे गर्न पनि तयार हुन्छ। त्यसैले एकचोटि आफ्नो हात पसारेर उसको शरीरमा प्रहार गरेर त हेर्नुहोस्‌, उसले तपाईँकै मुखको सामुन्‍ने तपाईँलाई सराप्नेछ।” अय्युब असाध्यै बिरामी परेको खण्डमा तिनले पक्कै यहोवालाई सराप्नेछन्‌ भन्‍ने कुरामा सैतानलाई कुनै शङ्‌का थिएन। तर यहोवाले भने अय्युबमाथि पूरा भरोसा राख्नुभएको थियो। त्यसैले अय्युबको ज्यान लिन नपाउने सर्तमा तिनको शरीरमाथि प्रहार गर्न उहाँले सैतानलाई अनुमति दिनुभयो।—अय्युब २:१-६.

त्यसपछि अय्युबले भोगेको अवस्थाबारे सुरुको अनुच्छेदमा वर्णन गरिएको छ। बिचरी तिनकी पत्नीको हालत कस्तो भयो होला! उनी आफ्ना दस छोराछोरी गुमाउनुको पीडाले विक्षिप्त भएकी थिइन्‌। त्यसमाथि आफ्नो पतिले भोगिरहेको दयनीय अवस्था उनले लाचार भएर हेरिरहनुपरेको थियो! आफ्नो पतिको यस्तो हालत देखेर उनले यसो भनिन्‌: “के तपाईँ अझै आफ्नो निष्ठामा अडिग हुनुहुन्छ? यस्तो दुःख भोग्नुभन्दा त परमेश्‍वरलाई सरापेर मर्नु नै बेस!” आफूले माया गरेकी पत्नीले सामान्य अवस्थामा यस्तो तीतो वचन मुखबाट निकाल्ने थिइनन्‌। तर अचाक्ली पीडा भोगेकी हुँदा उनी यस्तो मूर्ख कुरा गर्न पुगेकी थिइन्‌ जस्तो अय्युबलाई लाग्यो। तैपनि अय्युबले परमेश्‍वरलाई सरापेनन्‌। तिनले परमेश्‍वरविरुद्ध एउटै अपशब्द बोलेनन्‌।—अय्युब २:७-१०.

यो मार्मिक सत्य कथाले तपाईँलाई व्यक्‍तिगत तवरमा असर गर्छ भनेर के तपाईँलाई थाह थियो? याद गर्नुहोस्‌, सैतानले अय्युबविरुद्ध मात्र होइन तर सम्पूर्ण मानवजातिमाथि निर्दयी आरोप लगाएको थियो। त्यसले यसो भन्यो: “आफ्नो ज्यान जोगाउन मानिस जे गर्न पनि तयार हुन्छ।” अर्को शब्दमा भन्‍ने हो भने, हामी परमेश्‍वरप्रति पूर्ण रूपमा निष्ठावान्‌ हुन असम्भव छ भनेर त्यसले भनिरहेको छ। तपाईँ परमेश्‍वरलाई साँच्चै प्रेम गर्नुहुन्‍न अनि आफ्नो ज्यान जोगाउन उहाँलाई त्याग्न कत्ति बेर पनि लगाउनुहुन्‍न भनेर सैतान दाबी गर्छ। सैतानले भनेअनुसार तपाईँ पनि त्योजस्तै स्वार्थी हुनुहुन्छ! के तपाईँ त्यसलाई गलत साबित गर्न चाहनुहुन्छ? हामी सबैले त्यसो गर्ने मौका पाएका छौँ। (हितोपदेश २७:११) आउनुहोस्‌, अय्युबले अरू कस्तो गाह्रो अवस्था भोग्नुपऱ्‍यो, विचार गरौँ।

झूटा सान्त्वनादाताहरू

अय्युबका तीन जना साथी तिनलाई भेट्‌न आए। तिनीहरूले अय्युबले दुःख भोगेको कुरा सुनेका थिए र तिनलाई सान्त्वना दिन आएका थिए। तिनीहरूले अय्युबलाई टाढैबाट देखे तर चिन्‍नै सकेनन्‌। तिनले असह्‍य पीडा भोगिरहेका थिए र घाउले तिनको छाला कालो भइसकेको थियो। त्यसैले अय्युब अर्कै मान्छे जस्तो देखिन्थे। तीन जना साथी एलिपज, बिल्दद र जोपरले दुःख मनाएको ढोँग गर्न डाँको छोडेर रोए अनि आ-आफ्नो टाउकोमा धुलो हाले। त्यसपछि तिनीहरू अय्युबसँगै भुइँमा बसे र एक शब्द पनि बोलेनन्‌। तिनीहरू पूरै एक हप्तासम्म दिनरात त्यहाँ चुपचाप बसे। अय्युबलाई सान्त्वना मिलोस्‌ भनेर तिनीहरू चुपचाप बसेका थिएनन्‌। तिनीहरूले अय्युबलाई कुनै चासो देखाएनन्‌ किनभने तिनीहरूले एउटा प्रश्‍न पनि सोधेनन्‌। तिनीहरूले अय्युबलाई असाध्यै पीडा भइरहेको छ भनेर स्वतः बुझ्न सक्थे।—अय्युब २:११-१३; ३०:३०.

अन्तमा, अय्युब आफैले कुराकानी थाले। अय्युब पीडाले छटपटाइरहेकोले आफू जन्मेको दिनलाई धिक्कार्न थाले। तिनलाई आफूले दुःख भोग्नुको मूल कारण परमेश्‍वरले गर्दा नै हो जस्तो लाग्न थाल्यो। (अय्युब ३:१, २, २३) अय्युब बलियो विश्‍वास भएको मानिस भए तापनि तिनलाई साँच्चै सान्त्वना चाहिएको थियो। तर जब ती साथीहरूले बोल्न थाले, तब अय्युबलाई तिनीहरू चुपचाप नै बसेका भए हुन्थ्यो जस्तो लाग्यो।—अय्युब १३:५.

ती तीन जनामध्ये र अय्युबभन्दा पनि सम्भवतः जेठो एलिपजले सुरुमा बोले। पछि अरू दुई जनाले पनि बोले। सरसरती हेर्दा तिनीहरूले एलिपजले जस्तै मूर्खतापूर्ण कुरा दोहोऱ्‍याइरहेका थिए। तिनीहरूले भनेका कुनै-कुनै कुरा ठीकै जस्तो देखिन्थ्यो किनभने तिनीहरूले परमेश्‍वरबारे धेरैजसो मानिसले विश्‍वास गर्ने कुराहरू नै दोहोऱ्‍याइरहेका थिए। जस्तै: परमेश्‍वर महान्‌ हुनुहुन्छ, उहाँले दुष्ट मानिसलाई सजाय दिनुहुन्छ अनि असल मानिसलाई इनाम दिनुहुन्छ। तर सुरुदेखि नै तिनीहरूले अय्युबलाई दयालु शब्द भनिरहेका थिएनन्‌ भनेर स्पष्ट हुन्थ्यो। एलिपजले तर्कसङ्‌गतजस्तो सुनिने कुरा गरेर यदि परमेश्‍वर असल हुनुहुन्छ र उहाँले खराब मानिसलाई सजाय दिनुहुन्छ भने अय्युबले सजाय भोग्नुको कारण पनि स्पष्ट छ भनेर बताइरहेका थिए। एलिपजको तर्कअनुसार अय्युबले कुनै गलत काम गरेको हुनुपर्छ भन्‍ने देखिँदैनथ्यो र?—अय्युब ४:१, ७, ८; ५:३-६.

यस्तो तर्क अय्युबलाई चित्त नबुझेको देख्दा हामी छक्क पर्दैनौँ। तिनले त्यस्तो तर्कलाई ठाडै इन्कार गरे। (अय्युब ६:२५) तर ती तीन जनालाई अय्युबले गोप्यमा कुनै पाप गरेको हुनुपर्छ भनेर झनै लाग्न थाल्यो; तिनीहरूलाई अय्युबमाथि आइपरेको सबै दुःख जायज हुन्‌ जस्तो लाग्यो। एलिपजले अय्युबलाई अहङ्‌कारी र दुष्ट भएको अनि परमेश्‍वरको डर नमानेको आरोप लगाए। (अय्युब १५:४, ७-९, २०-२४; २२:६-११) जोपरले अय्युबलाई खराब काम गर्न छोड्‌नू र पाप गर्न नरमाउनू भने। (अय्युब ११:२, ३, १४; २०:५, १२, १३) बिल्ददले झनै घोच्ने कुरा भने। तिनले अय्युबका छोराछोरीले पाप गरे होलान्‌, त्यसैले तिनीहरू मारिन योग्य थिए भने!—अय्युब ८:४, १३.

अय्युबका तीन जना साथीले सान्त्वना नभई पीडा मात्र दिए

सत्यनिष्ठामाथि आक्रमण!

ती झूटा साथीहरूले अझ नराम्रो कुरा गरे। तिनीहरूले वास्तवमा अय्युब परमेश्‍वरप्रति पूर्णरूपमा सत्यनिष्ठ रहेका थिएनन्‌ भने। त्यति मात्र होइन, परमेश्‍वरप्रति सत्यनिष्ठ रहन कोसिस गर्नु नै बेकार छ पनि भने। एलिपजले आफ्नो कुरा सुरु गर्दा एउटा अदृश्‍य शक्‍तिसित भेटेको त्रासदीपूर्ण घटनाबारे बताए। दुष्ट प्रेतसित भएको त्यो भेटबाट एलिपज यस्तो डरलाग्दो निष्कर्षमा पुगे: परमेश्‍वर “आफ्ना सेवकहरूलाई भरोसै गर्नुहुन्‍न; स्वर्गदूतहरूमा समेत उहाँ खोट देख्नुहुन्छ।” यदि त्यसो हो भने मानिसहरूले परमेश्‍वरलाई कहिल्यै खुसी पार्न सक्दैनन्‌! पछि बिल्ददले अय्युब परमेश्‍वरप्रति सत्यनिष्ठ रहे पनि नरहे पनि उहाँलाई कुनै फरक पर्दैन, मानिस त केवल एउटा औँसाबराबर हो भन्‍ने दाबी गरे।—अय्युब ४:१२-१८; १५:१५; २२:२, ३; २५:४-६.

असाध्यै पीडा भोगिरहेको व्यक्‍तिलाई के तपाईँले कहिल्यै सान्त्वना दिन प्रयास गर्नुभएको छ? त्यसो गर्न सजिलो छैन। तर अय्युबका झूटा साथीहरूबाट हामी धेरै कुरा सिक्न सक्छौँ, खासगरि सान्त्वना दिँदा के भन्‍नु हुँदैन भन्‍नेबारे। ती तीन जना पुरुषले थुप्रै ठूल-ठूला शब्दहरू अनि गलत तर्कहरू प्रयोग गर्दा एक चोटि पनि अय्युबलाई नामले सम्बोधन गरेनन्‌। अय्युबको मुटु छियाछिया भएको छ भन्‍ने कुरा तिनीहरूले वास्तै गरेनन्‌ र तिनीसित कोमल व्यवहार गर्नुपर्ने खाँचो पनि देखेनन्‌। * त्यसैले तपाईँले माया गर्नुहुने व्यक्‍तिले निराश महसुस गरिरहेका छन्‌ भने उनीसित न्यानो र मायालु चासो देखाउन प्रयास गर्नुहोस्‌। ती व्यक्‍तिको विश्‍वास र साहस बढाउन कोसिस गर्नुहोस्‌ र तिनलाई परमेश्‍वरमाथि भरोसा राख्न अनि उहाँको महान्‌ दया, कृपा र न्यायमा विश्‍वास गर्न मदत गर्नुहोस्‌। यदि अय्युब ती तीन जनाको ठाउँमा हुँदो हो त तिनले त्यसै गर्नेथिए। (अय्युब १६:४, ५) साथीहरूले तिनको सत्यनिष्ठामाथि एकपछि अर्को प्रहार गरिरहँदा अय्युबले कस्तो प्रतिक्रिया देखाए?

अय्युब दृढ रहे

बिचरा अय्युब त्यो लामो कुराकानी सुरु हुनुअघि नै निराश भइसकेका थिए। तिनले आफ्नो बोलीलाई कहिलेकाहीँ ‘सम्हाल्नै नसकेको’ अनि ‘दुःखी मानिसको’ जस्तो भएको कुरा सुरुदेखि नै मानिलिए। (अय्युब ६:३, २६) त्यसको कारण हामी बुझ्न सक्छौँ। तिनका शब्दहरूबाट तिनलाई असाध्यै पीडा भइरहेको थियो भनेर थाह पाउन सक्छौँ। साथै तिनले आफ्नो जीवनमा के भइरहेको थियो भनेर बुझेका थिएनन्‌। तिनी र तिनको परिवारमाथि दुःखलाग्दा घटनाहरू अचानक आइपरेकोले अनि त्यसको पछाडि कुनै अलौकिक शक्‍ति भएजस्तो देखिएकोले पनि ती सबैको पछाडि यहोवा नै हुनुहुन्छ भनेर अय्युबले सोचे। कुनै-कुनै महत्त्वपूर्ण घटनाहरूबारे अय्युबलाई केही थाह थिएन, त्यसैले तिनको निष्कर्ष कुनै-कुनै अवस्थामा गलत थियो।

तर अय्युब बलियो विश्‍वास भएका मानिस थिए। तिनले ती साथीहरूलाई भनेको कुराबाट तिनको विश्‍वास स्पष्ट देखिन्थ्यो। तिनले भनेका कुराहरू सही, मनमोहक अनि आज हाम्रो लागि पनि प्रोत्साहनदायी छन्‌। तिनले सृष्टिका अद्‌भुत कुराहरूबारे बताउँदा परमेश्‍वरको मदतविना मानिसले कहिल्यै थाह पाउन नसक्ने कुराबारे पनि उल्लेख गरे। जस्तै, यहोवाले ‘पृथ्वीलाई कुनै आडविना झुन्ड्याइरहनुभएको छ’ भनेर तिनले बताए; यो तथ्य वैज्ञानिकहरूले थुप्रै शताब्दीपछि मात्र पत्ता लगाए। * (अय्युब २६:७) साथै अय्युबले भविष्यको आफ्नो आशाबारे बताउँदा तिनको भनाइमा अरू विश्‍वासी मानिसहरूको जस्तै विश्‍वस्तता देखिन्थ्यो। आफू मरे तापनि परमेश्‍वरले तिनलाई सम्झनुहुनेछ, तिनलाई फेरि हेर्न तीव्र इच्छा गर्नुहुनेछ अनि फेरि जीवित पार्नुहुनेछ भनेर अय्युबसित बलियो विश्‍वास थियो।—अय्युब १४:१३-१५; हिब्रू ११:१७-१९, ३५.

तर सत्यनिष्ठ रहने विषय नि? एलिपज र तिनका दुई जना साथीले मानिस परमेश्‍वरप्रति सत्यनिष्ठ रहे पनि नरहे पनि कुनै फरक पर्दैन भन्‍ने दाबी गरे। के अय्युब यस्तो भ्रष्ट सोचाइमा सहमत भए? अहँ, बिल्कुलै भएनन्‌! मानिसको सत्यनिष्ठाले परमेश्‍वरलाई फरक पार्छ भनी अय्युबले बताए। अय्युबले यहोवाबारे निर्धक्क भई यसो भने: “उहाँले म सत्यनिष्ठ रहेछु भनेर थाह पाउनुहुनेछ।” (अय्युब ३१:६) साथै, सान्त्वना दिन टोपलेका यी तीन जना साथीको झूटो तर्कले आफ्नो सत्यनिष्ठामाथि नै प्रश्‍न उठाउँछ भनेर अय्युबलाई थाह थियो। यसले गर्दा अय्युब लामो भाषण छाँट्‌न जुरमुरिए र बल्ल ती तीन जनाको मुखमा बुजो लाग्यो।

दैनिक जीवनको हरेक कुरामा सत्यनिष्ठ रहनु महत्त्वपूर्ण छ भनेर अय्युबले बुझेका थिए। त्यसैले हरेक गतिविधिमा आफू कसरी सत्यनिष्ठ रहेको छु भनेर अय्युबले प्रतिवाद गरे। उदाहरणको लागि, तिनी सबै किसिमको मूर्तिपूजाबाट अलग्गै बसेका थिए; अरूलाई दयालु र मर्यादापूर्ण व्यवहार गरेका थिए; नैतिक तवरमा स्वच्छ रहेर तिनले आफ्नो वैवाहिक बन्धनलाई अत्यन्तै कदर गरेका थिए। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनी एक मात्र साँचो परमेश्‍वर यहोवाप्रति वफादार रहेका थिए। त्यसैले अय्युबले मनैदेखि यसो भन्‍न सके: “म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।”—अय्युब २७:५; ३१:१, २, ९-११, १६-१८, २६-२८.

अय्युबले कुनै हालतमा आफ्नो सत्यनिष्ठा छोडेनन्‌

अय्युबको विश्‍वास अनुकरण गर्नुहोस्‌

सत्यनिष्ठ रहनुलाई के तपाईँ अय्युबले जत्तिकै महत्त्वपूर्ण ठान्‍नुहुन्छ? सत्यनिष्ठ छु भनेर भन्‍न त सजिलो छ तर त्यसलाई कामद्वारा पनि देखाउनुपर्छ भनेर अय्युबले बुझेका थिए। हामी दैनिक जीवनमा अनि गाह्रो अवस्था आइपर्दा समेत यहोवाको आज्ञा पालन गरेर अनि उहाँको नजरमा जे सही छ, त्यो गरेर पूरा तनमनले उहाँमा समर्पित भएको देखाउँछौँ। त्यसरी जीवन बितायौँ भने पुरातन समयका अय्युबले जस्तै यहोवालाई खुसी बनाउन र उहाँको शत्रु सैतानलाई हराउन सक्नेछौँ। यो नै अय्युबको विश्‍वास अनुकरण गर्ने सबैभन्दा राम्रो तरिका हो!

तर यत्तिकैमा अय्युबको कथा सिद्धिँदैन। तिनले सबैभन्दा महत्त्वपूर्ण कुरा बिर्सिरहेका थिए र आफूलाई धर्मी ठहराउन लागिपरेकोले यहोवाको नाममा कस्तो असर परिरहेको छ भनेर याद गर्नदेखि चुके। तिनलाई सुधार र आध्यात्मिक मदत चाहिएको थियो। तर तिनले अझै पनि असह्‍य पीडा र दुःख भोगिरहेका थिए। त्यसैले तिनलाई साँचो सान्त्वना चाहिन्थ्यो। यस्तो बलियो विश्‍वास भएका सत्यनिष्ठ व्यक्‍तिलाई यहोवाले कसरी मदत गर्नुहुने थियो? यस श्रृङ्‌खलाको अर्को लेखले यसको जवाफ दिनेछ।

^ अनु. 23 अचम्मको कुरा, एलिपजलाई आफू र आफ्ना साथीहरूले अय्युबसित कोमल ढङ्‌गमा बोलिरहेको जस्तो लागेको थियो किनभने तिनीहरूले ठूलो स्वरले बोलेका थिएनन्‌। (अय्युब १५:११) तर सानो स्वरमा बोलेका शब्दहरू पनि कठोर र घोच्ने खालका हुन सक्छन्‌।

^ अनु. 26 हालसम्म थाह भएअनुसार लगभग ३,००० वर्षपछि मात्र वैज्ञानिकहरूले पृथ्वी कुनै वस्तुमा अडिनुपर्ने आवश्‍यकता छैन भन्‍ने सिद्धान्त अघि सारे। अन्तरिक्षबाट खिचिएका तस्बिरहरू आम मानिसले देखेपछि मात्र अय्युबले भनेका शब्दहरू सही रहेछन्‌ भनेर विश्‍वास गर्न सम्भव भयो।