सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

बाइबलले मलाई कसरी मदत गर्न सक्छ?—भाग १: बाइबलसित परिचित हुनुहोस्‌

बाइबलले मलाई कसरी मदत गर्न सक्छ?—भाग १: बाइबलसित परिचित हुनुहोस्‌

“मैले बाइबल पढ्‌ने कोसिस नगरेको होइन तर यत्ति धेरै कहिले पढेर सिद्ध्याउने!”—१५ वर्षीया ब्रिआना

के तपाईँ पनि त्यस्तै महसुस गर्नुहुन्छ? त्यसोभए यो लेखले तपाईँलाई मदत गर्न सक्छ!

बाइबल किन पढ्‌ने?

धेरैलाई बाइबल पढ्‌न त्यति रमाइलो नलाग्न सक्छ। यदि तपाईँलाई पनि त्यस्तै लाग्छ भने, त्यो कुनै नौलो कुरा होइन। यसो हेर्दा बाइबल एक हजारभन्दा धेरै पाना भएको, स-सानो अक्षर भएको अनि एउटा पनि चित्र नभएको किताबजस्तो देखिएला। त्यसको तुलनामा टिभी वा भिडियो हेर्नु कता हो कता रमाइलो जस्तो लाग्न सक्छ।

तर यसरी विचार गर्नुहोस्‌: तपाईँले खजानाहरू राखिएको पुरानो बाकस भेट्टाउनुभयो भने त्यसभित्र के-के होला भनेर हेर्न उत्सुक हुनुहुन्‍न र?

बाइबल त्यो बाकसजस्तै हो। यो बुद्धिका खजानाहरूले भरिएको छ। बाइबलमा पाइने बुद्धिले तपाईँलाई यी कुराहरू गर्न मदत गर्छ:

  • सही निर्णयहरू गर्न

  • आमाबुबासित राम्रो सम्बन्ध बनाइराख्न

  •   असल साथीहरू भेट्टाउन

  • तनाव कम गर्न

हुनत बाइबल पुरानो किताब हो, तैपनि यो हाम्रो लागि उत्तिकै उपयोगी छ। किन? किनकि “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो।” (२ तिमोथी ३:१६) यसको मतलब बाइबलमा दिइएका सल्लाहहरू सबैभन्दा उत्तम स्रोतबाट आएको हो।

बाइबल बुद्धिका अमूल्य खजानाहरूले भरिएको बाकस हो

म बाइबल कसरी पढ्‌न सक्छु?

एउटा तरिका, सुरुदेखि अन्तसम्मै पढ्‌नुहोस्‌। यसरी पढ्‌दा बाइबलको मूल सन्देश बुझ्न सक्नुहुनेछ। बाइबल थुप्रै तरिकाले पढ्‌न सकिन्छ। दुई वटा तरिका विचार गर्नुहोस्‌:

  •  तपाईँ बाइबलका ६६ वटा किताबहरू जुन क्रमअनुसार राखिएका छन्‌ त्यही क्रमअनुसार उत्पत्तिदेखि प्रकाशसम्म पढ्‌न सक्नुहुन्छ।

  •  तपाईँ कालक्रमअनुसार बाइबल पढ्‌न सक्नुहुन्छ। मतलब, बाइबलमा उल्लिखित घटनाहरू जुन क्रमअनुसार घटे, त्यसैअनुसार बाइबलका किताबहरू पढ्‌दै जान सक्नुहुन्छ।

सुझाव: नयाँ संसार अनुवाद-को अतिरिक्‍त लेख १२ मा येशू पृथ्वीमा हुनुहुँदा उहाँको जीवनमा घटेका घटनाहरूको क्रमबद्ध सूची पाउन सक्नुहुन्छ।

दोस्रो तरिका, तपाईँले हालै सामना गरिरहनुभएको चुनौतीसित मिल्ने विवरण छानेर पढ्‌नुहोस्‌। उदाहरणको लागि:

  • के तपाईँ भरोसायोग्य साथीहरू भेट्टाउन चाहनुहुन्छ? (अङ्‌ग्रेजी) त्यसोभए जोनाथन र दाऊदको कथा पढ्‌नुहोस्‌। (१ शमूएल, अध्याय १८-२०) त्यसपछि “वफादार साथीहरू भेट्टाउने तरिका” भन्‍ने अभ्यास सामग्री हेर्नुहोस्‌ र त्यो विवरणबाट सिक्न सकिने व्यावहारिक पाठ विचार गर्नुहोस्‌।

  • के तपाईँ प्रलोभनहरू सामना गर्न अझै सक्षम हुन चाहनुहुन्छ? (अङ्‌ग्रेजी) यूसुफले प्रलोभनको सामना गरेको विवरण पढ्‌नुहोस्‌। (उत्पत्ति, अध्याय ३९) त्यसपछि “प्रलोभन आइपर्दा इन्कार गर्ने तरिका . . . यूसुफ—भाग १” अनि “झूटो आरोप लगाइयो! यूसुफ—भाग २” भन्‍ने अभ्यास सामग्री हेर्नुहोस्‌ र त्यो विवरणबाट सिक्न सकिने व्यावहारिक पाठ विचार गर्नुहोस्‌।

  • के तपाईँ प्रार्थनाले कसरी मदत गर्न सक्छ भनेर बुझ्न चाहनुहुन्छ? (अङ्‌ग्रेजी) नहेम्याहको अनुभव पढ्‌नुहोस्‌। (नहेम्याह, अध्याय २) त्यसपछि “परमेश्‍वरले तिनको प्रार्थनाको जवाफ दिनुभयो” भन्‍ने अभ्यास सामग्री हेर्नुहोस्‌ र त्यो विवरणबाट सिक्न सकिने व्यावहारिक पाठ विचार गर्नुहोस्‌।

सुझाव: सधैँ शान्त ठाउँमा बसेर बाइबल पढ्‌नुहोस्‌। त्यसो गर्दा पढेको कुरामा ध्यान दिन सजिलो हुन्छ।

तेस्रो तरिका, कुनै विवरण वा भजन रोज्नुहोस्‌, त्यो पढ्‌नुहोस्‌, त्यसपछि त्यो कुरा तपाईँलाई कसरी लागू हुन्छ विचार गर्नुहोस्‌। पढिसकेपछि आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌:

  •   यहोवाले यो विवरण बाइबलमा किन लेख्न लगाउनुभयो?

  •  यसबाट यहोवाको व्यक्‍तित्व वा काम गर्ने तरिकाबारे म के सिक्न सक्छु?

  •  यो कुरा म आफ्नो जीवनमा कसरी लागू गर्न सक्छु?

सुझाव: एउटा लक्ष्य राख्नुहोस्‌! तपाईँ कहिलेदेखि बाइबल पढाइ सुरु गर्न चाहनुहुन्छ, त्यो मिति लेख्नुहोस्‌।