सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

म किन प्याच्च बोलिरहन्छु?

म किन प्याच्च बोलिरहन्छु?

“अक्सर म जिब्रोलाई नियन्त्रणमा राख्न सक्छु तर कहिलेकाहीँ भने के बोल्छु-बोल्छु, होसै हुँदैन।”—जेम्स।

“नर्भस भएको बेला म सोच्दै नसोची बोलिरहेको हुन्छु अनि नर्भस नभएको बेलामा चाहिँ फतरफतर बोलिरहेको हुन्छु। मलाई त बोल्नै आउँदैन।”—मारी।

बाइबलले बताएअनुसार “जिब्रो . . . आगै हो” अनि “बडेमानको जङ्‌गलमा डढेलो लगाउन आगोको सानो झिल्का मात्र भए पुग्छ।” (याकुब ३:५, ६) के तपाईँको बोलीले गर्दा तपाईँ अक्सर समस्यामा पर्नुहुन्छ? पर्नुहुन्छ भने, यो लेख तपाईँको लागि मदतकारी छ।

 म किन प्याच्च बोल्छु?

त्रुटिपूर्ण: बाइबल यसो भन्छ: “हामी सबै जना धेरै चोटि चुक्छौँ। यदि कोही आफ्नो वचनमा चुक्दैन भने ऊ आफ्नो सारा शरीरमा लगाम कस्न सक्ने सर्वगुणी मानिस हुन्छ।” (याकुब ३:२) हामी हिंड्‌ने बेलामा मात्र होइन बोल्ने बेलामा पनि ठेस खान्छौँ।

“मेरो दिमाग र जिब्रो दुवै त्रुटिपूर्ण छ। त्यसैले आफ्नो बोलीलाई पूरा नियन्त्रणमा राख्न सक्छु भन्‍नु आफूलाई झुक्याउनु मात्र हो।”—एना।

धेरै बोल्ने बानी। बाइबल यसो भन्छ: “मानिसले जति धेरै बोल्छ, उति नै धेरै गल्ती गर्छ।” (हितोपदेश १०:१९) आफू मात्र धेरै बोल्ने तर अरूको कुरा भने त्यति सुन्‍न नरुचाउने मानिसहरूले अक्सर अरूलाई झोँक चलाउने बोली बोल्ने सम्भावना हुन्छ।

“सधैँ बाठो-टाठो मानिसहरू नै बोल्नुपर्छ भन्‍ने छैन। पृथ्वीमा येसुजस्तो बुद्धिमान्‌ अरू कोही छैन तैपनि उहाँ कहिलेकाहीँ शान्त बस्नुहुन्थ्यो।”—जुलिया।

व्यङग्य हान्‍नु। बाइबल यसो भन्छ: “सोचविचार नगरी बोल्दा त्यसले तरबारले झैँ घोच्छ।” (हितोपदेश १२:१८) सोचविचार नगरी बोलिने बोलीको एउटा उदाहरण हो व्यङ्‌ग्य हान्‍नु, जुन अर्कालाई होच्याउन बोलिने घोच्ने बोली हो। व्यङ्‌ग्य हान्‍ने व्यक्‍तिले भन्ला, “मैले त ठट्टा मात्र पो गरेको नि!” तर कसैलाई हेपेर बोल्नु सानो कुरा होइन। बाइबलले हामीलाई “दुर्वचनका साथै हानि गर्ने सबै कुरा” त्याग भनेर बताउँछ।—एफिसी ४:३१.

“म कुरा गर्न खप्पिस छु अनि मलाई रमाइलो गर्न पनि मन पर्छ। मेरो यस्तो बानीले गर्दा अनजानमै व्यङ्‌ग्य हानिरहेको छु, जसले गर्दा म अक्सर फसाद्‌मा पर्छु।”—ओक्साना।

मन्जनलाई ट्युबभित्र फेरि छिराउन सम्भव नभएजस्तै एकचोटि बोलिसकेपछि त्यो फिर्ता लिन सकिँदैन

 जिब्रोलाई कसरी लगाम कस्ने?

जिब्रोलाई काबूमा राख्न त्यति सजिलो छैन तर तपाईँलाई बाइबलको सिद्धान्तले मदत गर्छ। तलका उदाहरणहरू विचार गर्नुहोस्‌,

“मनमनै गुन र चुपचाप बस”—भजन ४:४.

कहिलेकाहीँ एक छटाकको जिब्रो फट्‌कार्नुभन्दा एक धार्नीको टाउको हल्लाउनु बेस। लाओरा नाम गरेकी युवती यसो भन्छिन्‌ “शान्त भएको बेला मनमै नभएको कुरा पनि रिसको झोँकमा मुखसम्मै आइसकेको हुन्छ। त्यस्तो बेला आफूलाई भन्‍न मन लागेको कुराहरू नभनेकोमा प्रायः मलाई खुसी लाग्छ।” केही सेकेन्ड चुप लाग्दा पनि हामी गलत कुराहरू बोल्नदेखि जोगिन्छौं।

“जसरी जिब्रोले खानेकुरा चाख्छ, त्यसैगरि कानले पनि सुनेको कुरा जाँच्दैन र?”—अय्युब १२:११.

कुनै कुरा बोल्नुअघि यी प्रश्‍नहरू आफैलाई सोध्नुभयो भने तपाईँ पछि पछुताउनु पर्दैन:

  • म जे भन्दै छु, के त्यो सत्य हो? के त्यसो भन्‍नु दयालु कुरा हो? के यो मैले भन्‍नै पर्ने कुरा हो?—रोमी १४:१९.

  • त्यही कुरा मलाई अरूले भन्यो भने मलाई कस्तो लाग्छ?—मत्ति ७:१२.

  • के मैले अर्को व्यक्‍तिको धारणालाई आदर गरिरहेको हुन्छु?—रोमी १२:१०.

  • के यो कुरा भन्‍ने उपयुक्‍त समय वा अवस्था यही हो?—उपदेशक ३:७.

“नम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान”—फिलिप्पी २:३.

यस सल्लाहले तपाईँलाई अरूप्रति सकारात्मक सोचाइ राख्न मदत गर्छ। अनि यसरी सोच्यौं भने आफ्नो जिब्रोलाई नियन्त्रण गर्न अनि बोल्नुअघि एक पटक विचार गर्न तपाईँलाई मदत गर्छ। तर तपाईँले चित्त दुख्ने कुरा बोलिसक्नुभयो भने पनि चिन्ता नगर्नुहोस्‌, नम्र छौं भने हामी क्षमा माग्न अग्रसर हुन्छौँ। अनि हामीले जति छिटो क्षमा माग्यौँ, उति बेस। (मत्ति ५:२३, २४) त्यसपछि अर्को पटक बोल्ने बेला आफ्नो जिब्रोलाई लगाम कस्ने अठोट गर्नुहोस्‌।