नेपाली
शिक्षकसँगको सम्बन्ध कसरी राम्रो बनाउन सक्छु?
https://cms-imgp.jw-cdn.org/img/p/500600108/univ/art/500600108_univ_sqr_xl.jpg
ijwyp लेख १०६

युवाहरू सोध्छन्‌

शिक्षकसँगको सम्बन्ध कसरी राम्रो बनाउन सक्छु?

शिक्षकसँगको सम्बन्ध कसरी राम्रो बनाउन सक्छु?

 शिक्षकको अन्यायी व्यवहार

 विद्यार्थी जीवनको कुनै न कुनै समयमा प्राय: सबैले यस्तो शिक्षकको सामना गर्नुपर्छ, जो अन्यायपूर्ण व्यवहार गर्छन्‌, विद्यार्थीबाट एकदम धेरै माग गर्छन्‌ वा कठोर व्यवहार गर्छन्‌।

  •   एक्काइस वर्षीय लुइस यसो भन्छन्‌: “मेरो एक जना शिक्षिका हुनुहुन्थ्यो, जो सधैँ फोहोर बोली बोल्ने गर्नुहुन्थ्यो र आफ्ना विद्यार्थीहरूलाई अनादरपूर्ण व्यवहार गर्नुहुन्थ्यो। सायद आफू छिट्टै रिटायर हुन लागेकोले कामबाट निकालिनेछैन भनेर नै उहाँले यस्तो व्यवहार गरिरहनुहुन्थ्यो।”

  •   पच्चिस वर्षीया मेलानी शिक्षिकाले अरूलाई भन्दा आफूलाई नराम्रो व्यवहार गर्ने गरेको कुरा यसरी सम्झिन्छिन्‌: “मैले मान्‍ने धर्म यहाँको मुख्य धर्मभन्दा फरक भएकोले मसित नराम्रो व्यवहार गर्नुभएको हो भनेर उहाँले बहाना बनाउनुहुन्थ्यो। म ठूलो भएपछि अरूले गर्ने नराम्रो व्यवहार सहन सजिलो होस्‌ भनेर उहाँले त्यस्तो व्यवहार गरेको हो भनेर बताउनुभयो।”

 यदि तपाईँका शिक्षक कठोर छन्‌ भने पनि तपाईँको विद्यार्थी जीवन कष्टकर नहोस्‌ भनेर तपाईँले केही कदम चाल्न सक्नुहुन्छ। त्यसको लागि यी सुझावहरू लागू गर्नुहोस्‌।

 सामना गर्ने तरिकाहरू

  •   परिस्थितिअनुसार चल्नुहोस्‌। विद्यार्थीबाट माग गर्ने कुरा शिक्षकै पिच्छे फरक-फरक हुन्छ। तपाईँले के गरेको शिक्षकले चाहनुहुन्छ भनेर पत्ता लगाउने कोसिस गर्नुहोस्‌ र सकेसम्म त्यसै गर्नुहोस्‌।

     बाइबलको सिद्धान्त: “बुद्धिमान्‌ मानिसले सल्लाह सुन्छ र अझ धेरै कुरा सिक्छ।”—हितोपदेश १:५.

     “शिक्षिकाको तौरतरिकाअनुसार चल्नुपर्छ भनेर मैले महसुस गरे। त्यसपछि उहाँले चाहनुभएको तरिकामै आफ्नो काम पूरा गर्न सक्दो गरेँ। यसो गर्दा मैले उहाँसँग राम्रो सम्बन्ध कायम गर्न सकेँ।”—क्रिस्टोफर।

  •   आदर देखाउनुहोस्‌। शिक्षकसित रुखो भएर नबोल्नुहोस्‌। उनीहरूले जति नै नराम्रो व्यवहार गरे पनि मुखमुखै नलाग्नुहोस्‌। उनीहरूले तपाईँलाई साथीको रूपमा नभई विद्यार्थीको रूपमा हेर्छन्‌ भन्‍ने कुरा नबिर्सनुहोस्‌।

     बाइबलको सिद्धान्त: “तिमीहरूको बोली सधैँ नुनले स्वादिलो पारेको जस्तो दयालु होस्‌। यसो गऱ्‍यौ भने हरेकलाई तिमीहरूले कसरी जवाफ दिनुपर्ने हो, सो जान्‍नेछौ।”—कलस्सी ४:६.

     “शिक्षकहरूले विद्यार्थीहरूबाट पाउनुपर्ने आदर पाइरहेका हुँदैनन्‌। त्यसैले आफ्नो शिक्षकलाई आदर देखाउन सक्दो गर्नुभयो भने उनीहरूले तपाईँलाई गर्ने व्यवहारमा निकै फरक पार्न सक्छ।”—सियरा।

  •   समझदार हुनुहोस्‌। आखिर शिक्षकहरू पनि मानिस नै हुन्‌। अरूलाई जस्तै तिनीहरूलाई पनि चिन्ता र तनाव हुन्छ। त्यसैले ‘मेरो शिक्षक कठोर हुनुहुन्छ’ वा ‘मेरो शिक्षकले मलाई फिटिक्कै मन पराउनुहुन्‍न’ भन्‍ने निष्कर्षमा पुग्न हतार नगर्नुहोस्‌।

     बाइबलको सिद्धान्त: “हामी सबै जना धेरै चोटि गल्ती गर्छौँ।”—याकुब ३:२, फुटनोट.

     “शिक्षकहरूको काम सजिलो छैन। सबै केटाकेटीलाई अनुशासनमा राख्न र शिक्षा दिन कत्ति गाह्रो हुन्छ भनेर म कल्पना समेत गर्न सक्दिनँ। मैले राम्रो व्यवहार गरेँ भने शिक्षकलाई एक जना विद्यार्थीको बोझ भए पनि कम हुन्छ भनेर सधैँ महसुस गर्छु।”—एलेक्सिस।

  •    आमाबुबासँग कुरा गर्नुहोस्‌। तपाईँको आमाबुबा तपाईँलाई साथ दिनुहुन्छ। उहाँहरू तपाईँ स्कुलमा सफल भएको चाहनुहुन्छ अनि उहाँहरूको सल्लाह-सुझावले तपाईँलाई धेरै माग गर्ने शिक्षकसित उचित तरिकामा व्यवहार गर्न मदत गर्नेछ।

     बाइबलको सिद्धान्त: “सरसल्लाह नगरी बनाएको योजना विफल हुन्छ।”—हितोपदेश १५:२२.

     “तपाईँसँग भन्दा आमाबुबासँग जीवनमा थुप्रै गाह्रो चुनौतीहरूको सामना गरेको अनुभव छ। त्यसैले उहाँहरूको सल्लाह सुन्‍नुहोस्‌। यसो गर्दा तपाईँ सफल हुन सक्नुहुनेछ।”—ओलिभिया।

 शिक्षकसँग कसरी कुरा गर्ने?

 कुनै-कुनै अवस्थामा तपाईँलाई शिक्षकको कुन कुराले गाह्रो भइरहेको छ भनेर तिनलाई बताउनुपर्ने हुन्छ। यदि शिक्षकलाई तिनको गल्ती देखाउन तपाईँलाई गाह्रो लाग्छ भने चिन्ता नगर्नुहोस्‌। तपाईँको उद्देश्‍य वादविवाद गर्नु होइन बरु कुराकानी गर्नु हो। यसरी कुराकानी गर्नु तपाईँले सोचेभन्दा सजिलो र प्रभावकारी साबित हुन सक्छ।

 बाइबलको सिद्धान्त: “शान्ति कायम हुने . . . कुराहरूको पछि लागौँ।”—रोमी १४:१९.

 “यदि तपाईँको शिक्षकले तपाईँसँग मात्र कठोर व्यवहार गर्नुभएको हो जस्तो लागेको छ भने आफूले उहाँलाई दुःखी बनाउने केही कुरा गरेको छु कि भनेर सोध्नुहोस्‌। उहाँको जवाफले तपाईँलाई आफूले सुधार्नुपर्ने क्षेत्र भेट्टाउन मदत गर्नेछ।”—जुलियाना।

 “कक्षाको अघि वा पछि शिक्षक मात्र भएको बेला शान्त हुँदै त्यस विषयमा तपाईँलाई कस्तो लागिरहेको छ भनेर बताउनुहोस्‌। तपाईँले त्यस समस्यालाई समाधान गर्न राम्रो तरिका अपनाएको देखेर उहाँले त्यसको कदर गर्न र तपाईँप्रति व्यवहारिक हुन सक्नुहुनेछ।”—बेन्जामिन।

 अनुभव

 “म पढाइमा एकदमै कमजोर थिएँ तर मैले शिक्षिकाबाट कुनै मदत पाइनँ। मलाई पढाइ नै छोडूँ कि जस्तो पनि लाग्यो किनभने उहाँले गर्दा मेरो विद्यार्थी जीवन निकै कष्टकर भयो।

 “म अर्को शिक्षकसँग यस विषयमा सल्लाह माग्न गएँ। उहाँले भन्‍नुभयो: ‘उनलाई तिमीबारे राम्रोसँग थाह छैन र तिमीलाई पनि उनीबारे राम्रोसँग थाह छैन। तिमीलाई पढाइमा गाह्रो भइरहेको छ भनेर उनलाई बताउनुपर्छ। यसो गऱ्‍यौ भने उनीसँग कुरा गर्न डराइरहेका अरू विद्यार्थीहरूले पनि साहस बटुल्न सक्नेछन्‌।’

 “हुनत म त्यसो गर्न चाहन्‍नथेँ। तर मैले यस विषयमा सोच्दा उहाँले दिनुभएको सुझाव सही हो जस्तो लाग्यो। यदि म परिस्थिति सुध्रिएको चाहन्थेँ भने मैले केही त गर्नै पर्थ्यो।

 “त्यसैले भोलिपल्टै म शिक्षिकासँग कुरा गर्न गएँ र हामीलाई पढाउन उहाँले गर्नुभएको मेहनतको कदर गर्छु अनि अझै धेरै सिक्न चाहन्छु भनेर आदरपूर्वक बताएँ। मलाई अप्ठेरो लागिरहेको थियो र के गर्ने भनेर पनि थाह थिएन। तर उहाँले मलाई सुझावहरू दिनुभयो र कक्षापछि वा इमेलमार्फत मदत गर्न इच्छुक भएको कुरा समेत बताउनुभयो।

 “म त छक्कै परेँ। कुराकानी गरेर मैले मेरो र शिक्षिकाबिचको सम्बन्ध राम्रो बनाउन सकेँ। त्यसपछि मेरो विद्यार्थी जीवन अझै सजिलो भयो।”—मारिया।

 सुझाव: यदि तपाईँले कुनै शिक्षकबाट अन्यायपूर्ण व्यवहार भोगिरहनुभएको छ भने यसलाई भविष्यको तालिमको रूपमा हेर्नुहोस्‌। बाइस वर्षीया केटीई यसो भन्छिन्‌: “पढाइ सकिएपछि पनि तपाईँले अख्तियारमा भएका त्यस्ता व्यक्‍तिहरूलाई भट्‌नुहुनेछ, जसले अरूसित राम्रो व्यवहार गर्दैनन्‌। यदि तपाईँले नराम्रो व्यवहार गर्ने शिक्षकसँग राम्रो सम्बन्ध कायम राख्न सिक्नुभएको छ भने भविष्यमा त्यस्तै व्यवहार गर्ने मानिसहरूसँग पनि राम्रो सम्बन्ध कायम राख्न सक्नुहुनेछ।”