नेपाली
डेटिङ​—भाग ३: हामीले ब्रेकअप गर्नुपर्ने हो कि?
https://cms-imgp.jw-cdn.org/img/p/500600129/univ/art/500600129_univ_sqr_xl.jpg
ijwyp लेख १२५

युवाहरू सोध्छन्‌

डेटिङ​—भाग ३: हामीले ब्रेकअप गर्नुपर्ने हो कि?

डेटिङ​—भाग ३: हामीले ब्रेकअप गर्नुपर्ने हो कि?

 तपाईँले डेटिङ गर्नुभएको केही समय भयो तर तपाईँको मनमा शङ्‌काहरू उब्जिन थालेका छन्‌। त्यसोभए के तपाईँले सम्बन्धलाई अगाडि बढाउनुपर्छ वा ब्रेकअप गर्नुपर्छ? यस लेखले तपाईँलाई सही निर्णय गर्न मदत गर्नेछ।

यस लेखमा

 शङ्‌काहरू उब्जिँदा के गर्ने?

 डेटिङ गरेको केही समयपछि उक्‍त जोडीलाई आफूहरू एकअर्काभन्दा बिलकुलै फरक छौँ भन्‍ने महसुस हुन सक्छ। जस्तै:

  •   एक जनालाई पार्कमा बस्न मन पर्छ, अर्कोलाई हाइकिङ जान मन पर्छ।

  •   एक जनालाई अरूसित घुलमिल हुन सजिलो लाग्छ, अर्कोलाई लाग्दैन।

  •   एक जना सधै सत्य बोल्छन्‌, अर्कोचाहिँ अक्सर झुट बोल्छन्‌।

 याद गर्नुहोस्‌, यी प्रत्येक फरक-फरक अवस्था हुन्‌। पहिलोमा सोख फरक थियो, दोस्रोमा व्यक्‍तित्व अनि तेस्रोमा मूल्यमान्यता।

 यसबारे सोच्नुहोस्‌: यदि तपाईँहरूको विवाह भयो भने यी तीनमध्ये कुनचाहिँ भिन्‍नताले गर्दा तपाईँलाई सबैभन्दा गाह्रो हुन सक्छ? अनि कुनचाहिँ कुरामा तपाईँहरू दुवै जना सम्झौता गर्न सक्नुहुन्छ?

 पतिपत्नीको सोख वा व्यक्‍तित्व फरक-फरक भए पनि तिनीहरूको वैवाहिक जीवन सुखी हुन सक्छ। हुन पनि एकअर्काको सुहाउँदो जोडी बन्‍न दुई जना उस्तै हुनुपर्छ भन्‍ने छैन। कुनै-कुनै अवस्थामा आफ्नो जोडीको सोख आफ्नो पनि सोख बन्‍न सक्छ। अनि आफ्नो जोडीको व्यक्‍तित्वबाट राम्रा कुराहरू सिक्न सकिन्छ। a

 अर्कोतर्फ तपाईँले विवाह गर्ने व्यक्‍तिको र तपाईँको मूल्यमान्यता एउटै हुनु जरुरी छ। जस्तै, धार्मिक, नैतिक अनि सहि र गलतबारे तपाईँहरूको सोचाइ। यदि यी कुराहरूमा तपाईँहरूको सोचाइ मिल्दैन भने त्यो सम्बन्ध अगाडि नबढाउनु नै बेस हुन सक्छ।

 जस्तै, फरक धार्मिक विश्‍वास भएका जोडीहरूबारे विचार गरौँ। विवाहसम्बन्धी लेखिएको एउटा किताब यसो भन्छ: “अध्ययनहरूले देखाएअनुसार फरक-फरक धार्मिक विश्‍वास भएका जोडीहरूको डिभोर्स हुने सम्भावना धेरै हुन्छ।”

 बाइबलको सिद्धान्त: “विश्‍वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ किनकि यस्तो जोडा मिल्दैन।”—२ कोरिन्थी ६:१४.

 सही निर्णय कसरी गर्ने?

 बाइबलमा बताइएअनुसार ‘जसले विवाह गर्छ, उसले दुःखकष्ट झेल्नेछ।’ (१ कोरिन्थी ७:२८) त्यसैले डेटिङ गर्दा नै केही समस्याहरू आइपरे भने पनि छक्क नपर्नुहोस्‌।

 सानोतिनो कुरामा मतभेद भयो भन्दैमा तपाईँहरूको जोडी मिल्दैन भन्‍ने होइन। बरु आफैलाई सोध्नुहोस्‌: के म शान्तपूर्वक झगडा सुल्झाउन सक्छु? यदि विवाह गर्नुभयो भने तपाईँहरू दुवै जनाले त्यसो गर्न सक्नुपर्छ।

 बाइबलको सिद्धान्त: “एकअर्काप्रति दयालु होओ अनि कोमलताले भरिएको करुणा देखाओ।”—एफिसी ४:३२.

 तर अर्कोतर्फ घरीघरी वा गम्भीर विषयहरूमा तपाईँहरूको मतभेद हुन्छ भने त्यो तपाईँहरू एकअर्काको लागि सुहाउँदो जोडी हुनुहुन्‍न भन्‍ने सङ्‌केत हुन सक्छ। अनि यो कुरा विवाह गरेपछि थाह पाउनुभन्दा विवाहअघि नै थाह पाउनु राम्रो हो।

घरीघरी वा गम्भीर विषयहरूमा तपाईँहरूको मतभेद हुन्छ भने त्यो तपाईँहरू एकअर्काको लागि सुहाउँदो जोडी हुनुहुन्‍न भन्‍ने सङ्‌केत हुन सक्छ

 निष्कर्ष: आफूले डेटिङ गरिरहेको व्यक्‍ति आफ्नो लागि सुहाउँदो जोडी हो कि होइन वा आफू विवाह गर्न तयार छु कि छैन भन्‍नेबारे शङ्‌का लाग्यो भने त्यस्ता शङ्‌काहरूलाई बेवास्ता नगर्नुहोस्‌।

 बाइबलको सिद्धान्त: “चतुर मानिस खतरा आएको देखेर लुक्छ तर अनुभवहीन मानिस भने सरासर अघि बढ्‌छ र दुःख पाउँछ।”—हितोपदेश २२:३.

 ब्रेकअप गर्ने निर्णय गर्नुभयो भने?

 ब्रेकअप हुँदा भावनात्मक रूपमा गाह्रो हुन सक्छ। तर यदि तपाईँहरूमध्ये एक जनालाई वा दुवै जनालाई सम्बन्ध अगाडि बढाउनु उचित होइन जस्तो लागिरहेको छ भने सम्बन्धलाई त्यही टुङ्‌ग्‌याउनु नै बेस हुन सक्छ।

 ब्रेकअप गर्ने निर्णय गर्नुभयो भने के गर्न सक्नुहुन्छ? सम्भव भएसम्म मेसेज वा फोनमार्फत ब्रेकअप नगर्नुहोस्‌। बरु उपयुक्‍त समय र ठाउँ रोजेर त्यस गम्भीर विषयबारे कुरा गर्नुहोस्‌।

 बाइबलको सिद्धान्त: “एकअर्कासित साँचो बोल्नू।”—जकरिया ८:१६.

 के ब्रेकअप हुनु भनेको तपाईँ असफल हुनुभयो भन्‍ने हो? त्यस्तो त होइन। नबिर्सनुहोस्‌, डेटिङको उद्देश्‍य भनेको उक्‍त व्यक्‍तिसित विवाह गर्ने कि नगर्ने भन्‍नेबारे सही निर्णयसम्म पुग्न मदत गर्नु हो। यदि सम्बन्ध टुट्यो भने पनि तपाईँले त्यस अनुभवबाट महत्त्वपूर्ण पाठहरू सिक्न सक्नुहुन्छ।

 आफैलाई सोध्नुहोस्‌: ‘यो अनुभवबाट मैले आफैबारे के सिक्न सकेँ? मैले आफूमा सुधार गर्नुपर्ने कुनै कुरा छ कि? फेरि डेटिङ गरेँ भने म कुन कुरामा ध्यान पुऱ्‍याउन सक्छु?’

a यी चुनौतीहरूले पतिपत्नीको सम्बन्धमा कस्तो असर पुऱ्‍याउँछ भनेर थाह पाउन “परिवारका लागि—भिन्‍नताहरूको सामना गर्नुहोस्‌” र “परिवारका लागि—के तपाईँलाई जीवनसाथीको कुनै बानीले गर्दा दिक्क लाग्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।