युवाहरू सोध्छन्‌

बप्तिस्मा गरूँ कि नगरूँ?—भाग ३: बप्तिस्मा गर्नदेखि मलाई केले रोकिरहेको छ?

बप्तिस्मा गरूँ कि नगरूँ?—भाग ३: बप्तिस्मा गर्नदेखि मलाई केले रोकिरहेको छ?

 यहोवालाई आफ्नो जीवन समर्पण गर्न र बप्तिस्मा गर्न के तपाईँलाई डर लागिरहेको छ? त्यसो हो भने यस लेखले तपाईँलाई मदत गर्नेछ।

यस लेखमा

 बप्तिस्मापछि मैले गम्भीर गल्ती गरेँ भने नि?

 चिन्ता लाग्नुको कारण: गम्भीर गल्ती गरेकोले मण्डलीबाट हटाइएका कसैलाई तपाईँ चिन्‍नुहुन्छ होला। (१ कोरिन्थी ५:११-१३) तपाईँलाई पनि त्यस्तै हुने हो कि भनेर चिन्ता लागेको हुन सक्छ।

 “बप्तिस्मा गर्नेबारे पहिलो पटक सोच्दा मबाट गम्भीर गल्ती हुने हो कि भनेर एकदमै डराएँ। त्यस्तो भयो भने मेरो ममी-ड्याडीलाई कत्ति दुःख लाग्ला भनेर सोच्ने गर्थेँ।”—रिबेका।

 बाइबल पद: “दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागोस्‌; . . . ऊ यहोवाकहाँ फर्कोस्‌ र उहाँले उसलाई कृपा देखाउनुहुनेछ। ऊ हाम्रा परमेश्‍वरकहाँ आओस्‌ किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।”—यसैया ५५:७.

 यसबारे सोच्नुहोस्‌: गम्भीर गल्ती गरेर पश्‍चात्ताप नगर्नेहरूलाई मण्डलीबाट हटाइन्छ तर नम्र भई पश्‍चात्ताप गर्ने र अनुशासन स्विकार्नेहरूलाई परमेश्‍वरले कृपा देखाउनुहुन्छ।—भजन १०३:१३, १४; २ कोरिन्थी ७:११.

 त्यति मात्र होइन, त्रुटिपूर्ण भए पनि परमेश्‍वरको मदतले तपाईँ गलत काम गर्ने प्रलोभनलाई तिरस्कार गर्न सक्नुहुन्छ। (१ कोरिन्थी १०:१३) किनकि सही काम गर्ने कि गलत भन्‍ने निर्णय तपाईँ आफैले गर्ने हो, अरूले त होइन।

 “बप्तिस्मापछि मबाट गम्भीर गल्ती हुने हो कि भनेर डर लाग्थ्यो। तर बप्तिस्मा गर्नदेखि पछि हटेँ भने चाहिँ गल्ती गरिरहेको हुनेछु भनेर बुझेँ। भोलि के हुने हो भन्‍ने चिन्ताले गर्दा आज पछि हट्‌नु हुँदैन भनेर मैले महसुस गरे।”—क्यारेन।

 मुख्य कुरा: तपाईँले गम्भीर गल्तीहरू नगर्ने छनोट गर्न सक्नुहुन्छ। यहोवाका अरू थुप्रै सेवकले पनि यसो गर्दै छन्‌।—फिलिप्पी २:१२.

 थप मदतका लागि:म कसरी प्रलोभनको तिरस्कार गर्न सक्छु?” भन्‍ने लेख हेर्नुहोस्‌।

 बप्तिस्मा गरेपछि आउने जिम्मेवारीहरू पूरा गर्न सकिनँ भने नि?

 चिन्ता लाग्नुको कारण: उदाहरणको लागि, परिवार र साथीहरूबाट टाढा सरेर यहोवाको सेवा गरिरहेका जवानहरूलाई तपाईँ चिन्‍नुहुन्छ होला। अरूले तपाईँबाट पनि त्यस्तै आशा गर्ने हुन्‌ कि भनेर चिन्ता लाग्न सक्छ।

 “बप्तिस्मा गरेका ख्रिष्टियन थप सुअवसरहरूको लागि योग्य हुन्छन्‌। तर कसै-कसैले ती सुअवसरको लागि आफू तयार नभएको महसुस गर्छन्‌ वा तिनीहरूको परिस्थितिले गर्दा ती स्विकार्न सक्दैनन्‌।”—मारी।

 बाइबल पद: “हरेकले आफ्नो काम जाँचोस्‌, तब उसले अरूसित तुलना गरेर होइन तर आफ्नै काममा रमाउने कारण पाउनेछ।”—गलाती ६:४.

 यसबारे सोच्नुहोस्‌: आफूलाई अरूसित तुलना गर्नुको सट्टा मर्कुस १२:३० मा लेखिएको यो कुरामा ध्यान दिनुहोस्‌: “यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले . . . प्रेम गर्नू।”

 यो कुरा नबिर्सनुहोस्‌, तपाईँले यहोवाको सेवा आफ्नो सारा हृदयले गर्नुपर्छ, अरूले के सोच्लान्‌ भन्‍ने डरले होइन। तपाईँ यहोवालाई साँच्चै प्रेम गर्नुहुन्छ भने उहाँको सेवामा आफ्नो तर्फबाट सक्दो गर्ने थुप्रै मौका पाउनुहुनेछ।

 “बप्तिस्मा एउटा महत्त्वपूर्ण कदम हो, यो बोझिलो जिम्मेवारी होइन। तपाईँले असल साथीहरू बनाउनुभयो भने तिनीहरूले तपाईँलाई मदत गर्नेछन्‌। तपाईँले जिम्मेवारीहरू स्विकार्दै जानुभयो भने तपाईँ साँच्चै खुसी हुन सक्नुहुनेछ। तर बप्तिस्मा गर्नदेखि पछि हट्‌नुभयो भने यसले तपाईँलाई नै हानि पुऱ्‍याउँछ।”—जुलिया।

 मुख्य कुरा: यहोवाले तपाईँलाई देखाउनुभएको प्रेमप्रति कृतज्ञता बढाउनुहोस्‌। यसो गर्नुभयो भने तपाईँ आफ्नो तर्फबाट सकेजति गर्न उत्प्रेरित हुनुहुनेछ।—१ युहन्‍ना ४:१९.

 थप मदतको लागि:म कत्तिको जिम्मेवार छु?” भन्‍ने लेख हेर्नुहोस्‌।

 यहोवाको सेवा गर्न अयोग्य छु जस्तो लाग्छ भने नि?

 चिन्ता लाग्नुको कारण: यहोवा ब्रह्‍माण्डकै सार्वभौम परमेश्‍वर हुनुहुन्छ। उहाँको तुलनामा मानिस केही पनि होइन। त्यसैले तपाईँलाई यस्तो लाग्न सक्छ: “के यहोवालाई मेरो अस्तित्वबारे थाह छ होला र?”

 “ममी-ड्याडी यहोवाको साक्षी हुनुभएकोले मात्र म यहोवाको साथी बनेको हुँ जस्तो मलाई लाग्थ्यो। त्यसैले यहोवाले मलाई व्यक्‍तिगत रूपमा खिच्नुभएको होइन कि भनेर चिन्तित हुने गर्थे।”—नताली।

 बाइबल पद: “मलाई पठाउनुहुने बुबाले नखिचेसम्म कुनै मानिस मकहाँ आउन सक्दैन।”—युहन्‍ना ६:४४.

 यसबारे सोच्नुहोस्‌: तपाईँ बप्तिस्मा गर्नेबारे सोच्दै हुनुहुन्छ भने यस कुराले यहोवा तपाईँलाई अझ घनिष्ठ साथी बनाउन चाहनुहुन्छ भनेर देखाउँछ। के तपाईँ यो निम्तो स्विकार्न चाहनुहुन्‍न र?

 यो कुरा पनि याद गर्नुहोस्‌, कसलाई आफूतर्फ खिच्ने भनेर यहोवा आफैले तय गर्नुहुन्छ, तपाईँले वा अरूले होइन। साथै परमेश्‍वरको वचनले यस्तो आश्‍वासन दिन्छ: “परमेश्‍वरसित नजिक होओ . . . उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकुब ४:८.

 “तपाईँ यहोवालाई चिन्‍नुहुन्छ र उहाँको नजिक हुनुहुन्छ। यो नै उहाँ तपाईँलाई माया गर्नुहुन्छ भन्‍ने कुराको प्रमाण हो। त्यसैले उहाँको सेवा गर्न आफू अयोग्य छु जस्तो लाग्यो भने यहोवा त्यस्तो सोच्नुहुन्‍न भनेर सधैँ मनमा राख्नुहोस्‌। यहोवामाथि भरोसा गर्नुहोस्‌।”—सेलिना।

 मुख्य कुरा: बप्तिस्मा गर्नको लागि बाइबलमा दिइएका आवश्‍यकताहरू पूरा गर्नुभएको छ भने तपाईँले यहोवाको सेवा गर्न चाहिने योग्यता हासिल गरिसक्नुभएको छ। नबिर्सनुहोस्‌, यहोवा तपाईँको उपासना पाउन योग्य हुनुहुन्छ।—प्रकाश ४:११.

 थप मदतका लागि:मैले किन प्रार्थना गर्नुपर्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।