नेपाली
बप्तिस्मापछि मैले के गर्नुपर्छ?—भाग १: आध्यात्मिक गतिविधिमा भाग लिइरहनुहोस्‌
https://cms-imgp.jw-cdn.org/img/p/500600116/univ/art/500600116_univ_sqr_xl.jpg
ijwyp लेख ११२

युवाहरू सोध्छन्‌

बप्तिस्मापछि मैले के गर्नुपर्छ?—भाग १: आध्यात्मिक गतिविधिमा भाग लिइरहनुहोस्‌

बप्तिस्मापछि मैले के गर्नुपर्छ?—भाग १: आध्यात्मिक गतिविधिमा भाग लिइरहनुहोस्‌

 घर वा गाडीजस्ता बहुमूल्य चीजहरूको राम्रोसँग ख्याल गर्नुपर्ने हुन्छ। त्यसैगरि परमेश्‍वरसितको साँचो मित्रताको पनि हामीले ख्याल गर्नुपर्ने हुन्छ। बप्तिस्मापछि पनि तपाईँ कसरी परमेश्‍वरसित नजिक भइरहन सक्नुहुन्छ?

यस लेखमा

 परमेश्‍वरको वचन नियमित पढ्‌नुहोस्‌

 बाइबल पद: “हरकिसिमको असल कामको फल फलाउँदै तिमीहरू परमेश्‍वरको सही ज्ञानमा पनि बढ्‌दै जाओ”—कलस्सी १:१०.

 यसको अर्थ के हो? बप्तिस्मापछि तपाईँले नियमित रूपमा बाइबल पढ्‌नुपर्छ र पढेको कुरामा मनन गर्नुपर्छ।—भजन २५:४; ११९:९७.

 पछि के हुन सक्छ? कहिलेकाहीँ तपाईँलाई पढ्‌न जाँगर नै लाग्दैन होला। तपाईँ यसो भन्‍नुहोला “मलाई पढ्‌न त्यत्ति मन पर्दैन।”

 तपाईँ के गर्न सक्नुहुन्छ? तपाईँलाई चासो लाग्ने विषयहरूबारे गहिरो अनुसन्धान गर्नुहोस्‌। व्यक्‍तिगत अध्ययन गर्ने बानी विकास गर्नुहोस्‌। राम्रो तालिका बनाउनुभएको छ भने तपाईँलाई पढ्‌न बोझ लाग्नेछैन। तपाईँको लक्ष्य भनेको यहोवा र उहाँको वचनप्रतिको प्रेम बढाउँदै लैजानु हो। यस्तो किसिमको अध्ययन प्रभावकारी अनि रमाइलो हुन्छ।—भजन १६:११.

 सुझाव: अध्ययनबाट पूरापूर लाभ उठाउन तपाईँको ध्यान भङ्‌ग नहुने शान्त ठाउँ रोज्नुहोस्‌।

 थप मदतका लागि

 यहोवालाई नियमित प्रार्थना गर्नुहोस्‌

 बाइबल पद: “कुनै कुराको विषयमा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर।”—फिलिप्पी ४:६.

 यसको अर्थ के हो? परमेश्‍वरसितको कुराकानी दुईतर्फी हुनुपर्छ: उहाँको वचन पढ्‌दा तपाईँले उहाँको कुरा सुनिरहनुभएको हुनेछ र प्रार्थना गर्दा उहाँसँग बोलिरहनुभएको हुनेछ। नबिर्सनुहोस्‌, तपाईँले प्रार्थनामा आफ्ना आवश्‍यकताहरू समावेश गर्न सक्नुहुन्छ, त्यसको साथै आफूले पाएको आशिष्‌हरूको लागि कृतज्ञता व्यक्‍त गर्न सक्नुहुन्छ।

 पछि के हुन सक्छ? समयको दौडान तपाईँलाई आफ्नो प्रार्थना एकैनासको भइरहेको छ जस्तो लाग्न सक्छ। त्यति मात्र होइन, यहोवाले तपाईँको प्रार्थना साँच्चै सुनिरहनुभएको छ कि छैन अथवा उहाँ तपाईँको कुरा सुन्‍न चाहनुहुन्छ कि चाहनुहुन्‍न भनेर शङ्‌का गर्ने हदसम्म पुग्न सक्नुहुन्छ।—भजन १०:१.

 तपाईँ के गर्न सक्नुहुन्छ? दिनभरिमा तपाईँ कुन-कुन विषयमा प्रार्थना गर्न सक्नुहुन्छ भनेर विचार गर्नुहोस्‌। तपाईँ लामो प्रार्थना गर्न नमिल्ने ठाउँ या परिस्थितिमा हुनुहुन्छ भने कस्तो विषयमा प्रार्थना गर्ने भनेर पहिल्यै विचार गर्नुहोस्‌ र दिनको अन्तमा त्यसैअनुसार प्रार्थना गर्नुहोस्‌। साथै आफ्नो बारेमा मात्र नभई अरूको आवश्‍यकताको लागि पनि प्रार्थना गर्नुहोस्‌।—फिलिप्पी २:४.

 सुझाव: तपाईँलाई आफ्नो प्रार्थना एकैनासको भइरहेको छ जस्तो लाग्दा त्यस विषयमा यहोवालाई प्रार्थना गर्नुहोस्‌। उहाँ तपाईँको सबै चिन्ताको विषयबारे सुन्‍न चाहनुहुन्छ, त्यसको साथै तपाईँले आफ्नो प्रार्थनासम्बन्धी व्यक्‍त गर्नुभएको चिन्ताबारे सुन्‍न पनि उहाँ इच्छुक हुनुहुन्छ।—१ युहन्‍ना ५:१४.

 थप मदतका लागि

 आफ्नो विश्‍वासबारे बताउनुहोस्‌

 बाइबल पद: “आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा तिमी सधैँ होसियार होऊ। . . . यसो गऱ्‍यौ भने तिमीले आफ्नो र तिम्रो कुरा सुन्‍नेहरूको उद्धार गर्नेछौ।”—१ तिमोथि ४:१६.

 यसको अर्थ के हो? आफ्नो विश्‍वासबारे अरूलाई बताउँदा तपाईँले आफ्नो विश्‍वास पनि बलियो बनाइरहनुभएको हुनेछ। नतिजास्वरूप तपाईँले आफ्नो साथसाथै तपाईँको कुरा सुन्‍नेहरूको जीवन बचाउन सक्नुहुनेछ।

 पछि के हुन सक्छ? कहिलेकाहीँ तपाईँलाई आफ्नो विश्‍वासबारे अरूलाई बताउन गाह्रो लाग्न सक्छ। विशेषगरि स्कुलमा त्यस्तो गर्न झनै डर लाग्न सक्छ।

 तपाईँ के गर्न सक्नुहुन्छ? तपाईँको निर्णयलाई नकारात्मक सोचाइ र डरले जित्‌न नदिनुहोस्‌। प्रेषित पावलले यस्तो लेखे: “तर नचाहँदा-नचाहँदै मैले [सुसमाचार सुनाउने] काम गरेँ भने पनि मैले आफूलाई सुम्पिइएको भण्डारेको काम गरिरहेको हुन्छु।”—१ कोरिन्थी ९:१६, १७.

 सुझाव: आमाबुबाको मदत लिएर साक्षीकार्यमा राम्रो उदाहरण बसालेका र तपाईँलाई मदत गर्न सक्ने कोही भाइबहिनीलाई साथी बनाउनुहोस्‌।—हितोपदेश २७:१७.

 थप मदतका लागि

 नियमित रूपमा ख्रिष्टियन सभाहरूमा उपस्थित हुनुहोस्‌

 बाइबल पद: “आपसमा गहिरो चासो राखेर हामी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔँ, कसै-कसैलाई एकसाथ भेला हुन छोड्‌ने बानी परेको छ तर हामी भने त्यसरी भेला हुन नछोडौँ”—हिब्रू १०:२४, २५.

 यसको अर्थ के हो? हामी सभा जानुको मुख्य कारण भनेको यहोवाको उपासना गर्न हो। तर सभामा जाँदा थप दुई वटा फाइदा हुन्छ। पहिलो, तपाईँ सङ्‌गी भाइबहिनीहरूबाट प्रोत्साहन पाउन सक्नुहुन्छ। दोस्रो, तपाईँ सभामा उपस्थित हुँदा अनि कुनै भाग प्रस्तुत गर्दा वा टिप्पणी दिँदा अरूलाई प्रोत्साहन दिइरहनुभएको हुन्छ।—रोमी १:११, १२.

 पछि के हुन सक्छ? कहिलेकाहीँ सभाको दौडान तपाईँको ध्यान अन्तै मोडिन सक्छ, जसको कारण सभामा सिकाइएको महत्त्वपूर्ण कुरा छुट्‌छ। अथवा स्कुलको पढाइ अनि होमवोर्कजस्ता कुरामा ध्यान दिएकोले सभाको लागि समय निकाल्न गाह्रो हुन सक्छ र सभा छुट्‌न सक्छ।

 तपाईँ के गर्न सक्नुहुन्छ? स्कुलको कामलाई बेवास्ता नगरी नियमित रूपमा सभामा उपस्थित हुने सङ्‌कल्प गर्नुहोस्‌ र सकेसम्म सभाबाट धेरै कुरा सिक्ने लक्ष्य राख्नुहोस्‌। सभाको दौडान टिप्पणीहरू दिन अग्रसर हुनुहोस्‌। सभा सकिएपछि कम्तीमा एक जनालाई तिनले प्रस्तुत गरेको भागको लागि अथवा तिनले दिएको टिप्पणीको लागि प्रशंसा गर्नुहोस्‌।

 सुझाव: सभाको लागि पहिल्यै तयारी गर्नुहोस्‌। JW लाइब्रेरी एप डाउनलोड गर्नुहोस्‌ र प्रत्येक सभामा छलफल गरिने भाग हेर्न “सभाहरू” भन्‍ने ट्याब प्रयोग गर्नुहोस्‌।

 थप मदतका लागि