युवाहरू सोध्छन्
अरूले मबारे कुरा काट्दा के गरूँ?
अरूले तपाईँबारे कुरा काट्दा किन चित्त दुख्छ?
कुनै-कुनै गफ हानिकारक हुन्छ। जस्तै, कसैले तपाईँको बदनाम गर्न तपाईँबारे जानाजानी गलत हल्ला फैलाउँदा तपाईँलाई पक्कै पनि दुःख लाग्छ। तर तपाईँबारे फैलिएको हल्ला त्यति गम्भीर किसिमको होइन भने पनि तपाईँको चित्त दुख्छ। खासगरि त्यो हल्ला तपाईँको नजिकको साथीले फैलाएको हो भने झनै चित्त दुख्छ।—भजन ५५:१२-१४.
“एक जना साथीले मेरो कुरा काटिरहेको थाह पाएँ। मैले अरूको वास्तै गर्दैन भनेर उसले भन्दै थियो। कस्तो नमज्जा लाग्यो! उसले किन त्यस्तो भनेको होला, मैले बुझ्नै सकिनँ।”—एस्ली।
तथ्य: तपाईँबारे कुरा काट्ने व्यक्ति तपाईँको नजिकको साथी होस् वा नहोस्, अरूले तपाईँबारे गलत हल्ला फैलाएको सुन्दा तपाईँलाई पक्कै दुःख लाग्छ।
दुःखको कुरा—तपाईँ कुरा काट्नेहरूलाई रोक्न सक्नुहुन्न
मानिसहरू विभिन्न कारणले गर्दा अरूबारे कुरा गर्छन्। जस्तै:
अरूप्रतिको साँचो चासोले गर्दा। हामी मानिसहरूलाई अरूको हालखबर बुझ्न र अरूबारे कुरा गर्न मन पर्छ। बाइबलले पनि हामीलाई ‘अरूको कुरामा ध्यान दिन’ प्रोत्साहन दिन्छ।—फिलिप्पी २:४.
“हामीलाई अक्सर अरूबारे कुरा गर्न मन पर्छ।”—बियाङ्का।
“मलाई मानिसहरूको जीवनमा के भइरहेको छ भनेर बुझ्न अनि त्यसबारे अरूसित कुरा गर्न मन पर्छ। त्यसो गर्न त नहुने हो तर खै किन हो, मलाई भने रमाइलो लाग्छ।”—केइटी।
बोर लागेकोले। विगतमा केही मानिसहरू “फुर्सत हुनेबित्तिकै नौला-नौला कुराहरू सुनाएर अनि सुनेर समय कटाउँथे” भनी बाइबल बताउँछ। (प्रेषित १७:२१) आज पनि मानिसहरू त्यस्तै छन्।
“कहिलेकाहीँ मानिसहरू यत्ति फुर्सदिला हुन्छन् कि तिनीहरू अरूबारे हुँदै नभएको कुराहरू गरेर बस्छन्।”—जोआना।
आफूलाई अरूसित तुलना गरेकोले। बाइबलले हामीलाई आफूलाई अरूसित तुलना नगर्न सल्लाह दिएको छ। (गलाती ६:४) तर दुःखको कुरा, केही मानिस आफूलाई अर्को व्यक्तिभन्दा राम्रो देखाउन ऊबारे गलत हल्ला फैलाउँदै हिँड्छन्।
“यदि तपाईँ अरूबारे नराम्रो हल्ला फैलाउनुहुन्छ भने तपाईँ वास्तवमा कस्तो व्यक्ति हो भनेर त्यसबाटै देखिन्छ। तपाईँ जसको कुरा काट्दै हुनुहुन्छ तिनको ईर्ष्या गर्नुहुन्छ भन्ने देखिन्छ र आफूलाई तिनीभन्दा राम्रो छु भनेर देखाउन खोजिरहनुभएको हुन्छ।”—फिल।
तथ्य: हुनत तपाईँलाई यो कुरा मन नपर्ला तर मानिसहरूले अरूबारे कुरा गर्न छोड्नेछैनन् र तिनीहरूले तपाईँबारे पनि कुरा गर्नेछन्।
खुसीको कुरा—तपाईँ डराउनु पर्दैन
हुनत तपाईँ कुरा काट्नेहरूलाई रोक्न सक्नुहुन्न तर त्यसप्रति कस्तो प्रतिक्रिया देखाउने भनेर चाहिँ छनौट गर्न सक्नुहुन्छ। यदि कसैले तपाईँबारे हल्ला फैलाइरहेको थाह पाउनुभयो भने तपाईँ कम्तीमा पनि दुई वटा कुरा गर्न सक्नुहुन्छ।
पहिलो: त्यो हल्लालाई बेवास्ता गर्नुहोस्। यदि तपाईँबारे फैलिएको हल्ला त्यत्ति ठूलो होइन भने त्यसलाई बेवास्ता गर्नु नै राम्रो हो। त्यस्तो अवस्थामा बाइबलको यो सल्लाह लागू गर्नुहोस्: “कुनै पनि कुरामा चित्त दुखाइहाल्ने नगर।”—उपदेशक ७:९.
“खै कसले पो हो, म एक जना केटासँग डेटिङ गर्दै छु भनेर हल्ला फैलाएछ, जबकि मैले त्यो केटालाई चिनेकै थिइनँ। यो कुरा सुनेर मलाई एकदमै हाँस उठ्यो।”—एलिस।
“सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको राम्रो नाम कमाउनु हो। तपाईँले राम्रो नाम कमाउनुभएको छ भने तपाईँबारे गलत हल्ला फैलिए पनि मानिसहरूले त्यो कुरा पत्याइहाल्ने छैनन्। नबिर्सनुहोस्, सधैँ सत्यको नै जित हुन्छ।”—एलिसन।
सुझाव: (१) तपाईँबारे कस्तो हल्ला फैलिएको हो र (२) त्यो सुन्दा तपाईँलाई कस्तो लाग्यो, लेख्नुहोस्। अनि त्यसबारे ‘मनमनै गुन्नुहोस्।’ यसो गर्नुभयो भने तपाईँलाई त्यो कुरा बिर्सन सजिलो हुनेछ।—भजन ४:४.
दोस्रो: तपाईँबारे गलत हल्ला फैलाएको व्यक्तिसित कुरा गर्नुहोस्। कुनै-कुनै अवस्थामा तपाईँबारे फैलाइएको हल्ला गम्भीर किसिमको पनि हुन सक्छ। यदि त्यसो हो भने तपाईँले त्यो व्यक्तिसित कुरा गर्नुपर्ने हुन्छ।
“तपाईँबारे हल्ला फैलाएको व्यक्तिसित कुरा गर्नुभयो भने मात्र त्यो हल्लाले तपाईँलाई कस्तो असर पुगेको छ भनेर तिनले थाह पाउनेछन्। साथै हल्ला अझै फैलिनदेखि रोकिनेछ अनि समस्या पनि सुल्झनेछ।”—एलिस।
तपाईँबारे हल्ला फैलाएको व्यक्तिसित कुरा गर्नुअघि निम्न बाइबल सिद्धान्तहरू विचार गर्नुहोस् अनि सँगै दिइएका प्रश्नहरू आफैलाई सोध्नुहोस्।
“जसले राम्ररी कुरा सुन्नुअघि नै जवाफ दिन्छ, उसले मूर्खता प्रकट गर्छ।” (हितोपदेश १८:१३) ‘के मलाई सबै सत्यतथ्य राम्ररी थाह छ? मबारे हल्ला सुनेको व्यक्तिलाई नै केही गलतफहमी भएको हो कि?’
“हरेक मानिस सुन्नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन अनि हतपती रिसाउनु हुँदैन।” (याकुब १:१९) ‘मबारे हल्ला फैलाएको व्यक्तिसित कुरा गर्ने के यो उचित समय हो? वा केही समय पर्खेर रिस शान्त भएपछि मात्र कुरा गर्न जानु ठीक हो कि? के म भावनामा नबही त्यो मामिलालाई राम्ररी सुल्झाउन कोसिस गर्दै छु?’
“मानिसहरूले तिमीहरूलाई जे-जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ति ७:१२) ‘यदि म हल्ला फैलाउने व्यक्तिको ठाउँमा भएको भए अर्को पक्षले मसित कसरी कुरा गरेको चाहन्थेँ? म त्यो समस्याबारे कस्तो माहोलमा कुरा गर्न चाहन्थेँ? अर्को पक्षले मसित कुरा गर्दा कस्ता शब्दहरू चलाएको वा कस्तो व्यवहार गरेको चाहन्थेँ?’
सुझाव: हल्ला फैलाउने व्यक्तिसित कुरा गर्न जानुअघि तपाईँ तिनलाई के भन्न चाहनुहुन्छ, लेख्नुहोस्। त्यसपछि एक-दुई हप्ता कुर्नुहोस्, आफूले लेखेको कुरा फेरि एकचोटि पढ्नुहोस् अनि त्यसमा केही छाँटकाँट गर्नुपर्छ कि, याद गर्नुहोस्। साथै ममीड्याडी वा परिपक्व साथीसित त्यसबारे छलफल गर्नुहोस् र केही सुझाव पनि माग्नुहोस्।
तथ्य: हाम्रो जीवनमा हुने कतिपय कुराहरूलाई जस्तै हामीबारे फैलने हल्लालाई पनि हामी सधैँ नियन्त्रण गर्न सक्दैनौँ। तर यसको मतलब त्यस्ता हल्लाहरूलाई हामीमाथि हाबी हुन दिनुपर्छ भन्ने चाहिँ होइन।