सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

२ पत्रुस १:१-२१

 म सिमोन पत्रुस, येशू ख्रीष्टको दास अनि प्रेषित,* हाम्रा परमेश्वर अनि हाम्रा उद्धारक येशू ख्रीष्टको भलाइद्वारा विश्वास प्राप्त गरेर हामीले जस्तै सम्मान हासिल गर्नेहरूलाई लेख्दैछु: २  परमेश्वरको अनि हाम्रा प्रभु येशूको सही ज्ञानद्वारा तिमीहरूले पाइरहेको असीम अनुग्रह अनि शान्ति प्रशस्त हुँदै जाओस्, ३  किनकि परमेश्वरको भक्ति गर्दै जीवन बिताउन चाहिने सबै कुरा उहाँको शक्तिले हामीलाई सित्तैंमा दिएको छ। अनि हामीलाई आफ्नो महिमा अनि सद्गुणद्वारा बोलाउनुहुनेको सही ज्ञानद्वारा हामीले ती कुराहरू पाएका हौं। ४  हामी परमेश्वरजस्तै हुन सकोस् भनेर उहाँले यही महिमा अनि सद्गुणद्वारा उदारतासाथ बहुमूल्य अनि महान्‌ प्रतिज्ञाहरू गर्नुभएको छ। कामवासनाले गर्दा संसारमा व्याप्त भएको भ्रष्टताबाट हामी उम्किसकेको हुनाले उहाँले हामीसित ती प्रतिज्ञाहरू गर्नुभएको हो। ५  हो, यही कारणले गर्दा तिमीहरू पनि भरमग्दुर प्रयत्न गर्दै, तिमीहरूको विश्वासमा सद्गुण, तिमीहरूको सद्गुणमा ज्ञान, ६  तिमीहरूको ज्ञानमा आत्मसंयम, तिमीहरूको आत्मसंयममा सहनशीलता, तिमीहरूको सहनशीलतामा परमेश्वरको भक्ति, ७  परमेश्वरको भक्तिमा भ्रातृस्नेह, तिमीहरूको भ्रातृस्नेहमा प्रेम थप्दै जाओ। ८  यदि तिमीहरूसित यी कुराहरू प्रशस्त मात्रामा छन्‌ भने ती कुराहरूले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टबारे सिकेको सही ज्ञान प्रयोग गर्ने सन्दर्भमा निष्क्रिय वा निष्फल हुनदेखि रोक्नेछ। ९  जोसित यी कुराहरू छैन, ऊ अन्धा हो, जो ज्योति देख्न चाहँदैन अनि आफूले पहिले गरेका पापहरू पखालिइसकेका छन्‌ भनेर उसले बिर्सेको छ। १०  यसकारण, हे भाइहरू हो, परमेश्वरले ज-जसलाई बोलाउनुभएको छ अनि छान्नुभएको छ, तिनीहरूमध्ये एक भइरहन तिमीहरू यथासक्दो गर, किनकि तिमीहरूले यी कुराहरू गरिरह्यौ भने कुनै हालतमा असफल हुनेछैनौ। ११  भनौं भने, तिमीहरूले यसप्रकार हाम्रा प्रभु अनि उद्धारक येशू ख्रीष्टको चिरस्थायी राज्यभित्र महिमायुक्त प्रवेश पाउनेछौ। १२  यही कारणले गर्दा तिमीहरूलाई यी कुराहरू सम्झाइरहन म सधैं तत्पर भइरहनेछु। तथापि, तिमीहरूलाई यी कुरा थाहै छ अनि तिमीहरू आफूले सिकेको सत्यमा अडिग छौ। १३  तर म यस बासस्थानमा* छउन्जेल तिमीहरूलाई यी कुरा सम्झाएर उत्साहित बनाउनु उचित ठान्छु। १४  किनकि मेरो यो बासस्थान छिट्टै भत्काइँदैछ भनेर मलाई थाह छ र हाम्रा प्रभु येशू ख्रीष्टले पनि मलाई त्यस्तै सङ्केत दिनुभएको थियो। १५  त्यसैले म हरबखत तिमीहरूलाई सम्झाइरहने यथाशक्य कोसिस गरिरहनेछु, ताकि म गइसकेपछि पनि तिमीहरूले आफूलाई यी कुराहरू सम्झाइरहन सक। १६  अहँ, चतुऱ्याइँसाथ रचिएका मनगढन्ते कथाहरूद्वारा होइन तर आफ्नै आँखाले देखेको उहाँको वैभवद्वारा हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको शक्ति अनि उपस्थितिसित परिचित गराएका थियौं। १७  किनकि उहाँले परमेश्वर, हाम्रा बुबाबाटै आदर अनि महिमा पाउनुभयो, जतिबेला वैभवशाली महिमाद्वारा उहाँको विषयमा यस्तो वाणी भएको थियो: “यिनी मेरो प्यारो छोरा हुन्‌, जससित म आफै अति प्रसन्न छु।” १८  हो, हामी उहाँसित पवित्र पर्वतमा भएको बेला हामीले स्वर्गबाट त्यस्तो वाणी सुनेका थियौं। १९  यसप्रकार, हामीसित भएको भविष्यसूचक वचन झन्‌ पक्का भएको छ; झिसमिसे उज्यालो नभएसम्म अनि बिहानको तारा नउदाएसम्म तिमीहरूले आफ्नो मनमा त्यस वचनलाई अँध्यारो ठाउँमा चम्किरहेको दियोलाई झैं ध्यान दिएर राम्रै गरिरहेका छौ। २०  तिमीहरूले सबैभन्दा पहिला यो कुरा बुझिराख, कि धर्मशास्त्रमा भएको कुनै पनि भविष्यवाणी कसैको निजी धारणाको उपज होइन। २१  किनकि कुनै पनि भविष्यवाणी मानिसको इच्छाबाट कहिल्यै आएन तर पवित्र शक्ति पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोल्थे।

फुटनोटहरू

२प १:१ * वा, “पठाइएको जन।” ग्रीकमा “अपोस्टोलोस।”
२प १:१३ * वा, “पार्थिव शरीरमा।”