सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

२ तिमोथी ४:१-२२

 परमेश्वरसामु अनि जीवित र मृत दुवैको न्याय गर्न नियुक्त हुनुभएका ख्रीष्ट येशूसामु म उहाँको प्रकटीकरण र उहाँको राज्यको नाममा तिमीलाई यो गम्भीर आज्ञा दिन्छु,  चाहे अवस्था अनुकूल होस् वा प्रतिकूल, जोडतोडले वचन प्रचार गर। त्यसैगरि, असाध्यै धीरजी भएर अनि शिक्षणकलाको पूर्ण सदुपयोग गरेर सुधार, हप्काऊ र अर्ती देऊ।  किनकि यस्तो समय आउनेछ, जब तिनीहरूले साँचो शिक्षालाई तिरस्कार गर्नेछन्‌। तिनीहरू आफूखुसी चल्नेछन्‌ अनि आफूलाई जे सुन्न मनपर्छ, त्यही मात्र सुनाउने शिक्षकहरू भेला पार्नेछन्‌।  तिनीहरूले सत्य सुन्न नपरोस् भनेर कान थुन्नेछन्‌ र झूटा कथाहरूतर्फ आफ्नो कान फर्काउनेछन्‌।  तर तिमी भने सबै कुरामा सचेत भएर बस, कष्ट भोग, प्रचारकको काम गर र आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर।  किनकि म अहिले दाखमद्य-भेटीको रूपमा अर्पित भइरहेको छु अनि मेरो छुटकारा हुने समय अत्यन्तै नजिक छ।  मैले उत्तम लडन्त लडेको छु, मैले दौड पूरा गरेको छु, मैले विश्वासलाई जोगाइराखेको छु।  परमेश्वरको स्तरबमोजिम असल काम गर्दा पाइने मुकुट मेरो लागि अहिलेदेखि साँचेर राखिएको छ। असल न्यायाधीश, प्रभुले न्यायको दिनमा इनामस्वरूप मलाई त्यो मुकुट दिनुहुनेछ, मलाई मात्र होइन तर उहाँको प्रकटीकरणको तीव्र प्रतीक्षा गर्नेहरू सबैलाई।  मकहाँ छिट्टै आउन सक्दो कोसिस गर। १०  किनकि वर्तमान युगको प्रेममा फसेर डेमसले मलाई त्यागेका छन्‌ र तिनी थिस्सलोनिका गएका छन्‌। क्रेसेन्स गलातिया र तीतस दलमतिया गएका छन्‌। ११  लूका मात्र मसित छन्‌। मर्कूसलाई सँगै लिएर आऊ, किनकि सेवाको काममा तिनी मेरो लागि उपयोगी छन्‌। १२  टाइकिकसलाई चाहिं मैले एफिसस पठाएको छु। १३  मैले त्रोआसमा कार्पसकहाँ छोडेको खास्टोका साथै मुठाहरू, विशेष गरी चर्मपत्रहरू पनि तिमी आउँदा आफूसितै लिएर आऊ। १४  अलेक्जेन्डर भन्ने तमौटेले मलाई धेरै दुःख दियो। यहोवाले उसलाई कामअनुसारको फल दिनुहुनेछ। १५  अनि तिमी पनि ऊदेखि होसियार बसनू, किनकि उसले हाम्रो वचनको असाध्यै विरोध गऱ्यो। १६  मैले पहिलो चोटि प्रतिवाद गर्दा कसैले मेरो पक्ष लिएन तर तिनीहरू सबैले मलाई त्याग्न थाले। यसको हिसाब तिनीहरूसित नलिइयोस्। १७  तर प्रभु मेरो नजिकै खडा हुनुभयो र उहाँले ममा शक्ति भरिदिनुभयो, ताकि मद्वारा प्रचारको काम राम्ररी पूरा होस् अनि सबै जातिले यो सुनून्‌। उहाँले मलाई सिंहको मुखबाट छुटाउनुभयो। १८  प्रभुले मलाई हरकिसिमका दुष्ट कामहरूबाट बचाउनुहुनेछ र स्वर्गको राज्यको लागि जोगाइराख्नुहुनेछ। उहाँले सदासर्वदा महिमा पाइरहून्‌। आमिन। १९  प्रिस्का* र अक्वीलालाई अनि ओन्सिफरसको घरमा हुनेहरूलाई मेरो अभिवादन छ भनिदेऊ। २०  इरास्तस कोरिन्थमै बसे तर त्रोफिमस भने बिरामी परेकोले मैले मिलेटसमै छोडें। २१  हिउँदअघि नै मकहाँ आउन सक्दो कोसिस गर। युबलसले तिमीलाई अभिवादन पठाएका छन्‌; त्यसैगरि, पुडेस, लिनस, क्लौडिया र अरू सबै भाइहरूले पनि। २२  तिमीले देखाउने मनोभावमा प्रभुको आशिष्‌ होस्। उहाँको असीम अनुग्रह तिमीहरूमाथि रहोस्।

फुटनोटहरू

वा, “प्रिस्किला।”