सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

२ तिमोथी २:१-२६

 त्यसैले हे मेरो छोरा, ख्रीष्ट येशूसित एकतामा हुँदा पाइने असीम अनुग्रहद्वारा आफूलाई बलियो बनाइराख। २  अनि तिमीले मबाट जे-जे सुन्यौ अनि जसबारे धेरैले साक्षी पनि दिए, ती कुराहरू विश्वासी पुरुषहरूलाई सुम्पिदेऊ, ताकि तिनीहरू पनि अरूलाई सिकाउन योग्य हुन सकून्‌। ३  ख्रीष्ट येशूको सुयोग्य सिपाहीको हैसियतले तिमीले पनि मैले जस्तै दुःख भोग। ४  सैन्य सेवामा लाग्ने कुनै पनि मानिसले व्यापारमा हात हाल्दैन, किनकि ऊ आफूलाई सैन्य सेवामा भर्ती गराउने व्यक्तिको अनुमोदन पाउन चाहन्छ। ५  त्यसैगरि, खेलकुदमा प्रतिस्पर्धा गर्ने मानिसले पनि नियमअनुसार नखेलेसम्म इनाम* पाउँदैन। ६  कडा परिश्रम गर्ने किसानले नै पहिला आफ्नो उब्जनी खान पाउनुपर्छ। ७  मैले भनेका कुराहरूमा निरन्तर ध्यान देऊ; प्रभुले अवश्य तिमीलाई सबै कुराको समझ दिनुहुनेछ। ८  येशू ख्रीष्ट मृत्युबाट ब्यूँतनुभयो अनि उहाँ दाऊदको सन्तान हुनुहुन्थ्यो भनेर नबिर्स। मैले प्रचार गर्ने सुसमाचार यही हो ९  अनि यसैको निम्ति कष्ट भोग्दै एक जना अपराधीझैं म बन्धनमा परेको छु तर परमेश्वरको वचन त बन्धनमा परेको छैन। १०  यसकारण, चुनिएका जनहरूको खातिर म सबै कुरा सहिरहन्छु, ताकि तिनीहरूले पनि ख्रीष्टसित एकतामा हुँदा पाइने उद्धार हासिल गर्नुका साथै अनन्त महिमा पनि पाऊन्‌। ११  यो भनाइ विश्वासयोग्य छ: यदि हामी सँगै मऱ्यौं भने अवश्य सँगै जीवित पनि हुनेछौं; १२  यदि हामीले कष्ट सहिरह्यौं भने उहाँसँगै राजाको रूपमा शासन पनि गर्नेछौं; यदि हामीले उहाँलाई तिरस्कार गऱ्यौं भने उहाँले पनि हामीलाई तिरस्कार गर्नुहुनेछ; १३  तर हामी अविश्वासी भयौं भने पनि उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ, किनकि उहाँले आफैलाई ढाँट्न सक्नुहुन्न। १४  परमेश्वरसामु साक्षी बसेर तिनीहरूलाई यी कुराहरू सम्झाइरहनू अनि शब्दहरूको विषयमा झगडा नगर्नू भनेर चेतावनी पनि दिनू, किनकि त्यसो गरेर केही फाइदा हुँदैन, बरु सुन्नेहरूलाई नोक्सान मात्र हुन्छ। १५  आफूलाई परमेश्वरको अनुमोदन पाउन योग्य सेवक, कुनै कुरामा सरम मान्नु नपर्ने कामदार अनि सत्यको वचन ठीकसित प्रयोग गर्ने मानिस साबित गर्न तिमीले भरसक कोसिस गर। १६  त्यसैगरि, पवित्र कुरालाई बिटुलो पार्ने खोक्रा बोलीहरूबाट टाढै बस; किनकि त्यस्तो बोली बोल्ने मानिसहरू झन्‌-झन्‌ भक्तिहीनतातर्फ बढ्दै जानेछन्‌ १७  अनि तिनीहरूको वचन सइनजस्तै फैलनेछ। हाइमेनियस र फिलेतस तिनीहरूमध्येका हुन्‌। १८  यी मानिसहरू सत्यबाट तर्केका छन्‌ र पुनर्जीवित* हुने काम भइसक्यो भनेर सिकाउँछन्‌; यसरी तिनीहरूले कसै-कसैको विश्वास ध्वस्त पारिरहेका छन्‌। १९  यी सबका बावजुद परमेश्वरको बलियो जग भने ज्यूँका त्यूँ रहिरहन्छ, जसमा यस्तो वचन कुँदिएको छ: “आफ्ना जतिलाई यहोवा चिन्नुहुन्छ,” अनि “यहोवाको नाम लिने जति सबैले कुकर्म त्यागून्‌।” २०  ठूलो घरमा सुन र चाँदीका भाँडाहरू मात्र होइन, काठ र माटोका भाँडाहरू पनि हुन्छन्‌, कुनै आदरणीय प्रयोगका लागि त कुनै मामुली कामका लागि। २१  तसर्थ, जो मामुली काममा प्रयोग हुने भाँडाहरूबाट टाढै बस्छ, ऊ आदरणीय प्रयोगका लागि छुट्याइएको, चोखो, मालिकका लागि उपयोगी अनि हरेक असल कामका लागि उपयुक्त भाँडा हुनेछ। २२  त्यसैले, युवावस्थामा उत्पन्न हुने इच्छाहरूदेखि भाग र स्वच्छ मनले प्रभुलाई पुकार्ने मानिसहरूसँगै तिमी पनि परमेश्वरको स्तरबमोजिमको असल काम, विश्वास, प्रेम र शान्तिको पछि लाग। २३  यसबाहेक, मूर्खता अनि अज्ञानताले भरिएका सवालजबाफमा नमुछिऊ, किनकि त्यसले झगडा गराउँछ। २४  प्रभुको दासले झगडा गर्नुहुँदैन, बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल व्यवहार गर्छ, जससित सिकाउने योग्यता छ, जो अरूले दुर्व्यवहार गर्दा समेत आफूलाई काबूमा राख्छ २५  र सल्लाह सुन्न अस्वीकार गर्नेहरूलाई नम्र भएर सम्झाउँछ। किनकि हुनसक्छ, यसरी सम्झाइबुझाइ गर्दा परमेश्वरले ती मानिसहरूलाई क्षमा दिएर सत्यको सही ज्ञान हासिल गर्न मदत दिनुहोला २६  अनि तिनीहरूको होस खुल्ला र दियाबलले* आफ्नो इच्छा पूरा गराउन आफूलाई जिउँदै पक्रेको रहेछ भन्ने कुरा बुझेर त्यसको पासोबाट उम्केर आउलान्‌।

फुटनोटहरू

२ति २:५ * शाब्दिक, “मुकुट।”
२ति २:१८ * वा, “पुनरुत्थान।”
२ति २:२६ * ग्रीकमा “दियाबोलोस,” जसको अर्थ हो “निन्दक।”