अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

२ कोरिन्थी ९:१-१५

 अब पवित्र जनहरूका लागि गरिने सेवाको विषयमा तिमीहरूलाई लेखिरहनु म आवश्यक ठान्दिनँ, २  किनकि बितेको एक वर्षदेखि अखैयाका भाइहरू मदत गर्न तत्पर छन्‌ र तिमीहरूको जोसले तिनीहरूमध्ये धेरै जनालाई उत्साहित बनाएको छ भनेर तिमीहरूले देखाएको तत्परताको विषयमा मैले म्यासिडोनियालीहरूसामु घमन्ड गरेको थिएँ। ३  तर यस विषयमा हामीले तिमीहरूबारे जे घमन्ड गरेका थियौं, त्यो व्यर्थ नहोस् तर मैले भन्ने गरेजस्तै तिमीहरू मदत गर्न साँच्चै तत्पर रहो भनेर म भाइहरूलाई पठाउँदैछु। ४  नत्र त यदि कसै गरी केही म्यासिडोनियालीहरू मसँगै आए र मदत गर्न तिमीहरू तत्पर भएको भेटेनन्‌ भने तिमीहरूमाथि भरोसा राखेकोले तिमीहरू मात्र होइन, हामी पनि सरममा पर्नेछौ। ५  तसर्थ, मैले भाइहरूलाई पहिल्यै तिमीहरूकहाँ जाने प्रोत्साहन दिन र तिमीहरूले उदारतासाथ दिन्छु भनी प्रतिज्ञा गरेको उपहार पहिल्यै तयार पार्न लगाउन आवश्यक ठानें, ताकि यो उपहार तिमीहरूले उदारतासाथ दिएको उपहार होस्, जबरजस्ती लिएको होइन। ६  तर यस विषयमा, जसले कन्जुस्याइँ गरेर छर्छ, उसले थोरै नै कटनी गर्नेछ; अनि जसले उदारतासाथ छर्छ, उसले प्रशस्तै कटनी गर्नेछ। ७  हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्, मन नलागी-नलागी वा करकापमा परेर होइन, किनकि खुसीसाथ दिनेलाई परमेश्वर प्रेम गर्नुहुन्छ। ८  यसबाहेक, परमेश्वरले तिमीहरूलाई आफ्नो असीम अनुग्रह प्रशस्त गरी देखाउन सक्नुहुन्छ जसले गर्दा तिमीहरूलाई आवश्यक पर्ने कुराहरू तिमीहरूसित सधैं प्रशस्त हुनेछ र हरेक असल कामको लागि चाहिने कुराहरू पनि तिमीहरूसित प्रशस्त हुनेछ। ९  (जस्तो लेखिएको छ: “उसले उदारतासाथ छरेको छ, उसले गरिबहरूलाई दिएको छ, उसको सद्गुण सधैंभरि रहिरहन्छ।” १०  अब जसले छर्नेलाई प्रशस्त गरी बीउ र खानलाई रोटी दिनुहुन्छ, उहाँले छर्नलाई तिमीहरूलाई बीउ दिनुहुनेछ र प्रशस्त गरी वृद्धि गराउनुहुनेछ अनि तिमीहरूको सद्गुणको फसल बढाउनुहुनेछ।) ११  हरेक कुरामा तिमीहरूले आशिष्‌ पाइरहेका छौ, ताकि हरतवरले उदार भई तिमीहरूले दिन सक र हाम्रो कामद्वारा परमेश्वरलाई धन्यवाद मिलोस्; १२  किनकि यो जनसेवा पवित्र जनहरूका आवश्यकता प्रशस्त गरी पूरा गर्नका लागि मात्र होइन तर परमेश्वरलाई धन्यवादका प्रशस्त अभिव्यक्ति चढाउनका निम्ति पनि हो। १३  यस सेवाले दिने प्रमाणद्वारा तिनीहरूले परमेश्वरको महिमा गर्छन्‌ किनभने आफूले जनघोषणा गरेजस्तै तिमीहरू ख्रीष्टसित सम्बन्धित सुसमाचारको अधीनमा बस्छौ र साथै उदारतासाथ तिनीहरू र सबैलाई तिमीहरू दान दिन्छौ; १४  अनि तिनीहरू तिमीहरूका निम्ति परमेश्वरलाई उत्कट बिन्ती चढाउँछन्‌ र तिमीहरूलाई भेट्ने तिर्सना गर्छन्‌ किनभने तिमीहरूमाथि परमेश्वरको उत्कृष्ट असीम अनुग्रह छ। १५  परमेश्वरले सित्तैंमा दिनुहुने अवर्णनीय वरदानको लागि उहाँलाई धन्यवाद होस्।

फुटनोटहरू