सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

२ कोरिन्थी ८:१-२४

 अब ए भाइहरू हो, म्यासिडोनियाका मण्डलीहरूलाई परमेश्वरले देखाउनुभएको असीम अनुग्रहको विषयमा हामी तिमीहरूलाई यो थाह दिन चाहन्छौं,  कि ठूलो परीक्षाले गर्दा तिनीहरूले दुःखकष्ट झेलिरहेका थिए तर आफू कङ्‌गाल हुँदाहुँदै पनि तिनीहरूले अपार आनन्द र उदारता देखाए।  तिनीहरूले आफ्नो औकातअनुसार, हो, मेरो कुरा विश्वास गर, आफ्नो औकातभन्दा पनि बढी गरे।  पवित्र जनहरूलाई दान दिएर उनीहरूका लागि छुट्टयाइएको सेवामा भाग लिने सुअवसर पाऊँ भनी तिनीहरूले हामीलाई स्वेच्छाले बिन्ती गरिरहे।  अनि तिनीहरूले हामीले आशा गरेभन्दा बढी गरे। पहिला तिनीहरूले आफूलाई प्रभुमा अर्पण गरे अनि परमेश्वरको इच्छाअनुसार हामीलाई दिए।  तीतसले तिमीहरूबीच पनि चन्दा उठाउने काम सुरु गरिसकेको हुनाले यो काम तिनले नै सिध्याऊन्‌ भनेर हामीले तिनलाई प्रोत्साहन दियौं।  तैपनि, जसरी तिमीहरू सबै कुरामा अर्थात्‌ विश्वासमा, वचनमा, ज्ञानमा, सबै उत्कटतामा र हामीले देखाएको जस्तै प्रेम देखाउनमा प्रशस्त हुँदै गएका छौ, त्यसरी नै चन्दा दिने यो काममा पनि प्रशस्त हुँदै जाओ।  तिमीहरूलाई हुकुम दिने किसिमले मैले यो कुरा बताएको होइन तर अरूको तत्परता देखेर अनि तिमीहरूको प्रेम निष्कपट हो कि होइन भनी जाँच्न म यसो भन्दैछु।  किनकि तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको असीम अनुग्रह थाह छ, उहाँ धनी हुनु भए तापनि तिमीहरूको खातिर गरिब बन्नुभयो, ताकि उहाँको गरिबीद्वारा तिमीहरू धनी बन्न सक। १०  अनि यस विषयमा म मेरो राय दिन्छु: यो काम पूरा गर्नु तिमीहरूको लागि फाइदाजनक हुन्छ, किनकि एक वर्षअघि नै तिमीहरूले यो काम सुरु गरेको मात्र होइन तर त्यसो गर्ने इच्छा पनि तिमीहरूमा थियो; ११  त्यसैले अब यो काम पूरा पनि गर, ताकि जसरी तिमीहरूसित यो काम गर्ने तत्परता थियो, त्यसरी नै तिमीहरूसित जे छ, त्यसअनुसार यो काम पूरा पनि गर्नुपर्छ। १२  किनकि यदि दिने तत्परता छ भने त्यो नै ग्रहणयोग्य हुन्छ, मानिसले आफूसित जे छ, त्यही दिएको आशा गरिन्छ, नभएको कुरा होइन। १३  अरूलाई सजिलो तर तिमीहरूलाई गाह्रो होस् भनेर मैले यसो भनेको होइन; १४  तर समानताको हिसाबले अहिले तिमीहरूको प्रशस्तताबाट तिनीहरूको खाँचो टरोस् र तिनीहरूको प्रशस्तताबाट पनि तिमीहरूको खाँचो टरोस् अनि यसरी सबैमा समानता होस्। १५  जस्तो लेखिएको छ: “जससित धेरै थियो, उसलाई अति नै धेरै भएन अनि जससित थोरै थियो, उसलाई अति नै थोरै भएन।” १६  अब परमेश्वरलाई धन्यवाद होस्, जसले तीतसको मनमा तिमीहरूप्रति त्यस्तै तत्परता राखिदिनुभयो, १७  किनकि तिनले हाम्रो अनुरोधलाई स्वीकारेका त हुन्‌ तैपनि आफै अति उत्सुक भएर तिनी स्वेच्छाले तिमीहरूकहाँ आउँदैछन्‌। १८  तर हामी तिनीसित ती भाइलाई पठाउँदैछौं, जसले सुसमाचार सुनाउने काममा जे-जति गरेका छन्‌, त्यसबारे सबै मण्डलीमा तारिफ भइरहेको छ। १९  यति मात्र होइन, तर मण्डलीहरूले यी भाइलाई हामीसित यात्रा गर्न नियुक्त पनि गरेका छन्‌, ताकि उदारचित्तले दिएको यो दान प्रभुको गौरवको लागि र हाम्रो तत्परताको प्रमाणस्वरूप बाँड्‌ने काममा तिनले हामीलाई साथ देऊन्‌। २०  उदारचित्तले दिएको यो दान हामीले बाँड्‌दा कुनै मानिसले हामीमा केही दोष भेट्टाउन नसकोस् भन्ने हामी चाहन्छौं। २१  किनकि हामी “यहोवाको नजरमा मात्र होइन तर मानिसहरूको नजरमा पनि सबै कुरा इमानदारीसाथ गर्छौं।” २२  यसबाहेक, तिनीहरूसित हामी ती भाइलाई पनि पठाउँदैछौं, जसले बारम्बार धेरै कुरामा आफ्नो तत्परता साबित गरेका छन्‌ तर तिमीहरूमाथिको ठूलो भरोसाले गर्दा अहिले तिनी झनै तत्पर भएका छन्‌। २३  तर तीतसबारे कुनै प्रश्न छ भने म तिमीहरूलाई के भनिहाल्छु भने तिनी मजस्तै तिमीहरूको भलाइको लागि काम गर्ने मेरा सहकर्मी हुन्‌; अनि भाइहरूको विषयमा हो भने चाहिं, तिनीहरू मण्डलीहरूका प्रेषितहरू र ख्रीष्टका गौरव हुन्‌। २४  त्यसैले मण्डलीहरूसामु तिनीहरूलाई आफ्नो प्रेमको प्रमाण देओ अनि यो पनि देखाओ कि तिमीहरूबारे हामीले गरेको घमन्ड उचित हो।

फुटनोटहरू