सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

२ कोरिन्थी ७:१-१६

 यसकारण, ए प्रियहरू हो, हामीलाई यी प्रतिज्ञाहरू गरिएको हुनाले तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराहरूबाट आफूलाई शुद्ध पारौं र परमेश्वरको डर राख्दै पूर्णतया पवित्र होऔं। २  हामीलाई तिमीहरूको मनमा ठाउँ देओ। हामीले कसैको बिगार गरेका छैनौं, कसैलाई भ्रष्ट पारेका छैनौं, कसैबाट फाइदा उठाएका छैनौं। ३  तिमीहरूलाई दोषी ठहराउन मैले यसो भनेको होइन, किनकि मैले तिमीहरूलाई पहिला पनि भनिसकें कि चाहे बाँचौं या मरौं, तिमीहरू हाम्रो मनमा छौ। ४  तिमीहरूसित निर्धक्क भई बोल्ने साहस मसित छ। म तिमीहरूमा निकै घमन्ड गर्छु। मैले पूरा सान्त्वना पाएको छु अनि हाम्रा सारा दुःखकष्टमा पनि मेरो मन खुसीले ओतप्रोत भएको छ। ५  वास्तवमा, म्यासिडोनिया पुग्दा हामीलाई पटक्कै चैन भएन, बरु हामीले हरतरहको दुःखकष्ट झेलिरह्यौं—बाहिर घोर विरोध र भित्रचाहिं डरैडर। ६  तैपनि, निराश भएकाहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले हामीलाई तीतसको उपस्थितिद्वारा सान्त्वना दिनुभयो; ७  तिनको उपस्थितिद्वारा मात्र होइन तर तिमीहरूले गर्दा तिनले जुन सान्त्वना पाए, त्यसबाट पनि सान्त्वना मिल्यो। तिमीहरूले मलाई भेट्न उत्कट इच्छा गरेको, शोक गरेको अनि मप्रति गहिरो चासो देखाएको खबर तिनले ल्याए; त्यसैले म झन्‌ धेरै रमाएँ। ८  यसकारण, यदि मैले आफ्नो पत्रबाट तिमीहरूलाई दुःखी तुल्याएको रहेछु भने पनि म पछुताउँदिनँ। हुन त, सुरुमा मलाई पछुतो लागेकै भए तापनि (मलाई थाह छ, त्यस पत्रले तिमीहरूलाई दुःखी तुल्यायो तर त्यो थोरै समयको लागि मात्र थियो,) ९  अहिले म रमाउँछु तर तिमीहरू दुःखी भएकोले मात्रै त होइन, बरु दुःखी भएर पश्‍चात्ताप गरेकोले; तिमीहरू परमेश्वरको इच्छाअनुसार दुःखी भयौ ताकि हाम्रो कारणले गर्दा तिमीहरूले कुनै क्षति बेहोर्नु नपरोस्। १०  किनकि परमेश्वरको इच्छाअनुसार दुःखी हुँदा त्यसले पश्‍चात्ताप गर्न लगाउँछ, जसले उद्धारतर्फ डोऱ्याउँछ र त्यसको लागि पछुताउनुपर्ने कुनै कारण हुँदैन; तर यस संसारको तरिकाअनुसार दुःखी हुँदा त्यसले मृत्यु उत्पन्न गराउँछ। ११  किनकि हेर, तिमीहरू परमेश्वरको इच्छाअनुसार दुःखी भएको हुँदा यसले तिमीहरूमा कत्ति धेरै उत्सुकता उत्पन्न गऱ्यो; हो, आफूलाई दोषमुक्त गर्ने कत्ति धेरै इच्छा, कत्ति धेरै आक्रोश, कत्ति धेरै डर, कत्ति धेरै तिर्सना, कत्ति धेरै जोस; हो, तिमीहरूले आफ्नो गल्ती सच्यायौ! यस सन्दर्भमा तिमीहरूले हरतरहमा आफूलाई चोखो साबित गरेका छौ। १२  मैले तिमीहरूलाई लेखेको भए तापनि वास्तवमा न गल्ती गर्नेको लागि, न त जसको विरुद्धमा गल्ती गरियो उसको लागि मैले लेखेको हुँ तर हामीप्रति तिमीहरूको उत्सुकता तिमीहरूमाझ र परमेश्वरको नजरमा प्रकट होस् भनेर लेखेको हुँ। १३  यसैकारण हामीले सान्त्वना पाएका छौं। तथापि, हामीले पाएको सान्त्वनाको अलावा तीतस आनन्दित भएकोले हामी अझ धेरै रमायौं किनभने तिमीहरू सबैले गर्दा तिनको मनले* स्फूर्ति पाएको छ। १४  किनकि मैले तिनको सामु तिमीहरूको विषयमा घमन्ड गरेकै भए पनि मैले सरम मान्नुपरेन; तर जसरी हामीले तिमीहरूलाई भनेको सबै कुरा सत्य थियो, त्यसरी नै तीतससामु हामीले गरेको घमन्ड पनि सत्य साबित भएको छ। १५  साथै, तिमीहरू सबैको आज्ञाकारिता र तिमीहरूले गहिरो आदरसाथ तिनलाई स्वागत गरेको कुरा सम्झँदा तिमीहरूप्रति तिनको कोमल स्नेह झनै बढ्छ। १६  म रमाउँछु, किनकि तिमीहरूकै कारणले गर्दा मैले सबै कुरामा साहस पाएको छु।

फुटनोटहरू

२को ७:१३ * ग्रीकमा न्युमा। अतिरिक्त लेख ७ख हेर्नुहोस्।