अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

२ कोरिन्थी ५:१-२१

 हामीलाई थाह छ, जब हाम्रो पार्थिव घर अर्थात्‌ पालजस्तो यो शरीर रहँदैन, तब हामीले परमेश्वरबाट स्वर्गमा एउटा यस्तो सधैं रहिरहने भवन पाउनेछौं, जो हातले बनाइएको होइन। २  किनकि यस बासस्थानमा हामी साँच्चै सुस्केरा हाल्छौं र स्वर्गमा हाम्रो बासस्थान धारण गर्ने तीव्र इच्छा गर्छौं, ३  ताकि यो साँच्चै धारण गरेपछि हामी नाङ्गो भेटिनेछैनौं। ४  वास्तवमा, हामी जो यस पालमा छौं, बोझले दबिएर सुस्केरा हाल्छौं, किनकि हामी यो फुकाल्न होइन तर अर्को धारण गर्न चाहन्छौं, ताकि जे मरणशील छ, त्यसलाई जीवनले निलोस्। ५  यसका लागि हामीलाई तयार पार्ने परमेश्वर नै हुनुहुन्छ, जसले हामीलाई आउँदै गरेको कुराको बैनास्वरूप पवित्र शक्ति दिनुभयो। ६  यसकारण हामी सधैं साहसले भरपूर छौं र हामीलाई यो थाह छ कि यस शरीरमा हाम्रो बास छउन्जेल हामी प्रभुबाट टाढा हुन्छौं, ७  किनकि हामी विश्वासले हिंडिरहेका छौं, दृष्टिले होइन। ८  तर हामी साहसले भरपूर छौं र यस शरीरमा रहनभन्दा प्रभुसित बास गर्न औधी खुसी छौं। ९  त्यसैले हामीले पनि यो लक्ष्य राखेका छौं, हाम्रो बास उहाँसित भए पनि नभए पनि हामी उहाँका लागि ग्रहणयोग्य हुन सकौं। १०  किनकि हामी सबै ख्रीष्टको न्यायआसनसामु खडा हुनै पर्छ, ताकि हरेकले आफ्नो शरीरमा छँदा गरेका कामहरूको प्रतिफल पाउन सकोस्, चाहे ती असल होऊन्‌ वा खराब। ११  यसकारण प्रभुको डर मान्दै हामी मानिसहरूलाई हाम्रो कुरा सुन्न मनाइरहन्छौं। हामी कस्ता मानिसहरू हौं भनेर परमेश्वरलाई थाह छ तर तिमीहरूको अन्तस्करणलाई पनि हामी कस्ता मानिसहरू हौं भनी थाह हुनुपर्छ भन्ने आशा मैले गरेको छु। १२  हामीले फेरि आफूलाई तिमीहरूसामु सिफारिस गरेको होइन, बरु तिमीहरूलाई हाम्रो विषयमा घमन्ड गर्न उत्प्रेरित गर्ने हेतुले यी कुरा भन्दैछौं, ताकि मन नहेरी बाहिरी रूप मात्र हेरेर घमन्ड गर्नेहरूलाई तिमीहरूले जवाफ दिन सक। १३  किनकि यदि हाम्रो दिमाग ठेगानमा थिएन भने परमेश्वरको निम्ति थिएन; यदि हाम्रो दिमाग ठेगानमा छ भने त्यो तिमीहरूको निम्ति हो। १४  ख्रीष्टको प्रेमले हामीलाई बाध्य पार्छ, किनकि हामी यस्तो निष्कर्षमा पुगेका छौं: सबैका लागि एक जना मानिस मर्नुभयो; भनौं भने, सबै जना मरेका थिए, १५  अनि उहाँ सबैका लागि यसकारण मर्नुभयो कि बाँच्नेहरू अबउसो आफ्नो लागि होइन तर उहाँकै लागि बाँचून्‌, जो तिनीहरूका लागि मर्नुभयो र ब्यूँताइनुभयो। १६  यसकारण अबउसो हामी कोही मानिसलाई शारीरिक दृष्टिकोणले हेर्दैनौं। हामीले ख्रीष्टलाई शारीरिक दृष्टिकोणले हेरेको भए तापनि अहिले भने त्यसरी हेर्दैनौं। १७  यसकारण यदि कोही ख्रीष्टसँग एकतामा छ भने ऊ नयाँ सृष्टि हो; पुराना थोकहरू बितिसकेका छन्‌, हेर, नयाँ थोकहरू अस्तित्वमा आएका छन्‌। १८  तर सबै थोक परमेश्वरबाट आएका हुन्‌, जसले हामीलाई ख्रीष्टद्वारा आफूसित मिलाप गराउनुभयो र मिलापको सेवा सुम्पनुभयो, १९  अर्थात्‌ परमेश्वरले ख्रीष्टद्वारा संसारलाई आफूसित मिलाप गराउनुभयो, तिनीहरूको अपराधको लेखा लिनुभएन र हामीलाई मिलापको वचन सुम्पनुभयो। २०  त्यसैले हामी ख्रीष्टको सट्टामा काम गर्ने राजदूतहरू हौं, मानौं परमेश्वरले हामीमार्फत बिन्ती गरिरहनुभएको छ। ख्रीष्टको सट्टामा काम गर्नेहरूको हैसियतमा हामी यस्तो आग्रह गर्छौं: “परमेश्वरसित मिलाप गर।” २१  जसले कहिल्यै पाप गर्नुभएन, परमेश्वरले उहाँलाई नै हाम्रो निम्ति पापबलि तुल्याउनुभयो, ताकि उहाँद्वारा हामी परमेश्वरको नजरमा असल ठहरिन सकौं।

फुटनोटहरू