अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

२ कोरिन्थी ४:१-१८

 यसकारण, हामीलाई देखाइएको कृपाले गर्दा हामीलाई यो सेवा सुम्पिइएकोले हामी हरेस खाँदैनौं; २  तर हामीले सरम मान्नुपर्ने छलकपट त्यागेका छौं। हामी धूर्त चालमा हिंड्दैनौं न त परमेश्वरको वचनलाई बङ्ग्याउँछौं* तर सत्य प्रकट गरेर परमेश्वरको नजरमा हामी आफैलाई हरेक मानिसको अन्तस्करणसामु सिफारिस गर्छौं। ३  अब यदि हामीले घोषणा गर्ने सुसमाचारमा घुम्टो लागेको छ भने यो नष्ट हुनेहरूका लागि घुम्टो लागेको हो। ४  विश्वास नगर्ने ती मानिसहरूमाथि परमेश्वरको प्रतिरूप, ख्रीष्टसित सम्बन्धित गौरवशाली सुसमाचारको ज्योति नचम्कोस् भनेर यस युगको ईश्वरले तिनीहरूको दिमागलाई अन्धो तुल्याइदिएको छ। ५  किनकि हामी आफ्नो विषयमा होइन तर ख्रीष्ट येशू, प्रभु हुनुहुन्छ भनी प्रचार गर्छौं र हामीचाहिं येशूको खातिर तिमीहरूका दास हौं भनी घोषणा गर्छौं। ६  किनकि यसो भन्नुहुने परमेश्वर नै हुनुहुन्छ: “अन्धकारबाट ज्योति चम्कोस्।” अनि ख्रीष्टको मुहारद्वारा परमेश्वरको गौरवशाली ज्ञान तिनीहरूमाथि चम्काउन उहाँ हाम्रो मनमा चम्कनुभएको छ। ७  तथापि, हामीसित यो धन माटाका भाँडाहरूमा छ, ताकि हामीले पाएको असाधारण शक्ति हाम्रो आफ्नै होइन तर परमेश्वरको हो भनेर प्रकट होस्। ८  हामी सबैतिरबाट थिचिएका छौं तर चल्नै नसक्ने गरी चेपिएका छैनौं; हामी अन्योलमा परेका छौं तर उम्कने कुनै बाटो नै नरहने गरी होइन; ९  हाम्रो खेदो गरिएको छ तर अलपत्र छोडिएका छैनौं; हामी लोटेका छौं तर नाश भएका छैनौं। १०  हामी जहाँसुकै जान्छौं, येशूलाई गरिएजस्तै घातक व्यवहार हामी आफ्नो शरीरमा सधैं भोगिरहन्छौं, ताकि हाम्रो शरीरमा येशूको जीवन पनि प्रकट होस्। ११  किनकि हामी जो जीवित छौं, येशूको खातिर सधैं मृत्युको मुखैमा परिरहन्छौं, ताकि हाम्रो मरणशील शरीरमा येशूको जीवन पनि प्रकट होस्। १२  यसकारण हामीमा मृत्युले काम गरिरहेको छ तर तिमीहरूमा जीवनले। १३  अब हामीसित विश्वासको त्यही मनोभाव छ, जसको विषयमा यस्तो लेखिएको छ: “मैले विश्वास गरें, त्यसैले मैले बोलें।” हामी पनि विश्वास गर्छौं, त्यसैले हामी बोल्छौं, १४  यो थाह पाएर कि येशूलाई ब्यूँताउनुहुनेले हामीलाई पनि येशूसँगै ब्यूँताउनुहुनेछ र तिमीहरूसँगै हामीलाई पनि उहाँसामु प्रस्तुत गर्नुहुनेछ। १५  किनकि सबै कुरा तिमीहरूकै खातिर भएका हुन्‌, ताकि असीम अनुग्रह जुन प्रशस्त छ, त्यो धेरै जनाले चढाएको धन्यवादले गर्दा झन्‌ प्रशस्त होस् र फलस्वरूप परमेश्वरलाई गौरव मिलोस्। १६  त्यसैले हामी हरेस खाँदैनौं, बरु हाम्रो शरीर क्षीण हुँदै गइरहेको भए तापनि हाम्रो भित्री मनुष्यत्वचाहिं निश्चय पनि दिनदिनै नयाँ हुँदै गइरहेको छ। १७  किनकि सङ्कष्ट क्षणिक र हलुका भए तापनि यसले हामीमा यस्तो गौरव पैदा गर्छ, जुन अतुलनीय र अनन्त हुन्छ। १८  यस दौडान हामी आफ्नो नजर देखिने कुराहरूमा होइन तर नदेखिने कुराहरूमा राख्छौं, किनकि देखिने कुराहरू अस्थायी हुन्छन्‌ तर नदेखिने कुराहरू चिरस्थायी हुन्छन्‌।

फुटनोटहरू

२को ४:२ * शाब्दिक, “वचनमा मिसावट गर्छौं।”