अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

२ कोरिन्थी ३:१-१८

 के हामीले फेरि आफ्नो सिफारिस गर्नुपर्छ? अथवा कोही-कोही मानिसहरूले जस्तै के हामीले पनि तिमीहरूलाई सिफारिस-पत्र देखाउनुपर्छ वा के तिमीहरूबाट हामीलाई सिफारिस-पत्र चाहिन्छ र? २  तिमीहरू नै हाम्रा सिफारिस-पत्र हौ, जो सबै मानिसहरूले थाह पाउने र पढ्न सक्ने गरी हाम्रो मनमा कुँदिएको छ। ३  किनकि यो कुरा प्रस्ट छ कि तिमीहरू ख्रीष्टको पत्र हौ, जुन हामी सेवकहरूले मसीले लेखेका होइनौं तर जीवित परमेश्वरको पवित्र शक्तिद्वारा ढुङ्गाका पाटीमा नभई मनमा* कुँदिएको छ। ४  अब ख्रीष्टद्वारा हामीले परमेश्वरतर्फ यस्तो भरोसा राखेका छौं। ५  हाम्रो योग्यताको श्रेय हामी आफै लिंदैनौं न त यो आफ्नै प्रयासले गर्दा पाएका हौं तर हाम्रो योग्यता परमेश्वरबाट आउँछ, ६  जसले हामीलाई नयाँ करारको सेवक बन्न योग्य बनाउनुभयो र त्यो करार लिखित व्यवस्थाको होइन तर पवित्र शक्तिको हो; किनकि लिखित व्यवस्थाले मृत्युको सजाय दिन्छ तर पवित्र शक्तिले जीवन दिन्छ। ७  यसको साथै, यदि लिखित व्यवस्था, जसले मृत्युको सजाय दिन्छ अनि जसका अक्षरहरू ढुङ्गामा खोपिएका छन्‌, त्यो त यत्तिको गौरवशाली भएर आयो कि मोशाको मुहारको गौरव, जो हराएर जाने थियो, त्यसलाई इस्राएलीहरूले एक टक लगाएर हेर्न सकेनन्‌ भने ८  पवित्र शक्ति दिने काम अझ गौरवशाली हुनु नपर्ने के कुनै कारण छ र? ९  किनकि यदि सजाय दिने व्यवस्था गौरवशाली थियो भने परमेश्वरको नजरमा असल ठहराउने सेवाको काम झनै गौरवशाली हुन्छ। १०  भनौं भने, जो कुनै समय गौरवशाली बनाइएको थियो, त्यसको गौरव यस अर्थमा खोसिएको छ कि यसको सट्टामा जे आयो, त्यसको गौरव अझ उत्कृष्ट छ। ११  किनकि जो हराएर जाने थियो, त्यसलाई त गौरवका साथ ल्याइयो भने जो रहिरहन्छ, त्यो झन्‌ धेरै गौरवशाली हुनेछ। १२  यसकारण, हामीसित यस्तो आशा भएकोले हामीले निर्धक्क भई बोल्ने साहस गरेका छौं, १३  अनि हामी मोशाले जस्तो गर्दैनौं, किनकि तिनले आफ्नो मुहारमा घुम्टो लगाउँथे, ताकि हराएर जाने त्यसको परिणामलाई* इस्राएलीहरूले एक टक लगाएर हेर्न नसकून्‌। १४  तर तिनीहरूको दिमाग बोधो भएको थियो। किनकि अहिले वर्तमान समयसम्मै पुरानो करार पढ्ने बेला त्यो घुम्टो हट्दैन; यो ख्रीष्टद्वारा मात्र हटाइन्छ। १५  हो, आजसम्मै जब मोशाका लेखोटहरू पढिन्छ, तब तिनीहरूको मनमा घुम्टो लागिरहेकै हुन्छ। १६  तर जब कोही यहोवातिर फर्किन्छ, तब त्यो घुम्टो हटाइन्छ। १७  अब यहोवा अदृश्य व्यक्ति* हुनुहुन्छ; अनि जहाँ यहोवाको पवित्र शक्ति हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ। १८  अनि घुम्टो नलागेको मुहारद्वारा हामी सबै ऐनाले जस्तै यहोवाको गौरव प्रतिबिम्बित गर्छौं अनि थोरै गौरवबाट धेरै गौरव पाएर उहाँकै प्रतिरूपमा परिवर्तन हुन्छौं। यसरी यहोवा, जो अदृश्य व्यक्ति* हुनुहुन्छ, उहाँले हामीलाई जस्तो बनाउन चाहनुहुन्छ, ठीक त्यस्तै बन्छौं।

फुटनोटहरू

२को ३:३ * शाब्दिक, “मासुको पाटीमा, मनमा।”
२को ३:१३ * वा, “अन्तलाई।”
२को ३:१७ * ग्रीकमा न्युमा। अतिरिक्त लेख ७ख हेर्नुहोस्।
२को ३:१८ * ग्रीकमा न्युमा। अतिरिक्त लेख ७ख हेर्नुहोस्।